न्यूयोर्कमा रेलवे कर्मचारीको हड्ताल, लाखौँ यात्रु प्रभावित



प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार

a train station with a city in the background

तस्बिर:स्टिभ क्यान्सेल/अनस्प्ल्यास

अमेरिकाको न्यूयोर्कस्थित लङ आइल्याण्ड रेल रोडमा कार्यरत कर्मचारीहरू हड्तालमा उत्रिएपछि लाखौँ यात्रु प्रभावित हुने खतरा बढेको छ। बिहानको कार्यालय समयअघि नै सुरु भएको यस अवरोधले न्यूयोर्क सहर आसपासको यातायातमा ठूलो असर पार्ने अनुमान गरिएको छ।

लङ आइल्याण्ड रेल रोडका कर्मचारीहरूको प्रतिनिधित्व गर्ने श्रमिक सङ्घहरूले तलब र कार्यसम्बन्धी नियममा सहमति हुन नसकेपछि शनिबारदेखि हड्ताल सुरु गरेका हुन्। करिब ३ हजार ५ सय कर्मचारी सहभागी भएको यस आन्दोलन ३० वर्षयताकै पहिलो ठूलो हड्ताल हो। यसअघि सन् १९९४ मा दुई दिन रेल सेवा बन्द भएको थियो।

मेट्रोपोलिटन ट्रान्सपोर्टेसन अथोरिटी (एमटीए) ले रेल सेवाको विकल्प नभएको भन्दै सम्भव भए घरबाटै काम गर्न यात्रुहरूलाई आग्रह गरेको छ। श्रमिक सङ्घ र व्यवस्थापनबीच कुनै औपचारिक वार्ता तय नभएकाले सोमबारको व्यस्त समयमा पनि समस्या जारी रहने सम्भावना छ। केही सीमित सटल सेवा सञ्चालन गरिए पनि एमटीएले गम्भीर ट्राफिक जाम र ढिलाइ हुने चेतावनी दिएको छ।

क्वीन्स क्षेत्रका बरो अध्यक्ष डोनोभन रिचर्ड्स जुनियरले सहर यस्तो ठूलो अवरोधका लागि पूर्ण रूपमा तयार नरहेको बताएका छन्। उनले भने, “कामदार वर्गका मानिसलाई ‘घरमै बस’ भनेर मात्र पुग्दैन। सबै वाल स्ट्रिटका बैंकर होइनन्। कामदारहरू सहरसम्म पुग्न सक्ने वैकल्पिक व्यवस्था हुनुपर्छ।”

हड्तालका कारण न्यूयोर्क क्षेत्रका यात्रा र कार्यक्रमहरू पनि प्रभावित भएका छन्। न्यूयोर्क मेट्स बेसबल टोलीले क्वीन्सस्थित सिटी फिल्डमा खेल हेर्न आउने समर्थकहरूलाई यातायातमा कठिनाइ हुन सक्ने चेतावनी दिएको छ।

लङ आइल्याण्डका एक यात्रुले आफ्नो म्यानहट्टन यात्रा निकै लामो बनेको भन्दै पोर्ट वासिङ्टनबाट दुईवटा बस चढ्नुपरेको दुखेसो पोखेका छन्।

न्यूयोर्ककी गभर्नर क्याथी होचुलले दुवै पक्षलाई छिट्टै सहमतिमा पुग्न आग्रह गर्दै लामो समय सेवा बन्द रहे ठूलो समस्या सिर्जना हुने चेतावनी दिएकी छन्। श्रमिक सङ्घहरूले लामो समयदेखि तलब वृद्धि नभएको भन्दै राम्रो पारिश्रमिक र सुविधाको माग गरिरहेका छन्।

यता एमटीएका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत जानो लिबरले भने अत्यधिक तलब वृद्धि स्वीकार गर्दा संस्थाको बजेट नै सङ्कटमा पर्ने बताएका छन्।





Source link

Leave a Comment