अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानलाई चेतावनी: युद्धविरामको समय सकिँदै



प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानलाई चेतावनी: युद्धविरामको समय सकिँदै

फोटो : एएफपी/रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको समय सकिँदै गएको भन्दै इरानलाई चेतावनी दिएका छन्। युद्ध अन्त्यका लागि भइरहेको वार्ता रोकिएको अवस्थामा “समय सकिँदै गएको” ट्रम्पले बताएका हुन्।

उनले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत लेखेका छन्, “उनीहरूले छिट्टै निर्णय लिनुपर्छ, नत्र उनीहरूको केही पनि बाँकी रहने छैन। समय अत्यन्त महत्त्वपूर्ण छ।” यो चेतावनी ट्रम्पले आइतबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग वार्ता गर्नुअघि दिएका हुन्।

यता इरानी सञ्चारमाध्यमहरूले युद्ध अन्त्यका लागि तेहरानले पेस गरेको पछिल्लो प्रस्तावमा अमेरिकाले कुनै ठोस सहमति नदिएको बताएका छन्। अमेरिकाले सम्झौतामा लचकता नदेखाए वार्ता पूर्ण गतिरोधमा पुग्ने इरानको समाचार संस्थाले जनाएको छ।

ट्रम्पको पछिल्लो अभिव्यक्तिले अप्रिलको सुरुआतमा युद्धविराम घोषणा हुनुअघि दिएको चेतावनीको सम्झना गराएको छ। त्यतिबेला उनले इरानले सम्झौता नगरे पूरै सभ्यता नष्ट हुन सक्ने बताएका थिए। यसै साताको सुरुआतमा पनि ट्रम्पले इरानका मागलाई “पूर्ण रूपमा अस्वीकार्य” भन्दै युद्धविराम “गम्भीर सङ्कटमा” रहेको बताएका थिए।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाएईले भने इरानका प्रस्तावहरू जिम्मेवार र उदार रहेको दाबी गरेका छन्। इरानले अमेरिकी नौसैनिक घेराबन्दी हटाउन, भविष्यमा कुनै आक्रमण नगर्ने प्रत्याभूति दिन, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन तथा होर्मुज जलमार्गमाथि इरानको सार्वभौमिक अधिकार स्वीकार गर्न अमेरिकासँग माग गरेको बताइएको छ। जवाफमा अमेरिकाले पाँचवटा सर्त अघि सारेको छ।

ती सर्तमध्ये इरानले एउटा मात्र आणविक केन्द्र सञ्चालन गर्न पाउने र उच्च स्तरमा प्रशोधन गरिएको युरेनियमको मौज्दात अमेरिका पठाउनुपर्ने माग पनि रहेको जनाइएको छ। ट्रम्पले शुक्रबार इरानले आफ्नो आणविक कार्यक्रम २० वर्षका लागि स्थगित गर्ने प्रस्ताव स्वीकार गर्न सकिने सङ्केत दिएका थिए। यो दुवै देशबीचको प्रमुख विवादको विषय मानिएको छ।

फेब्रुअरी २८ देखि अमेरिकी र इजरायली सेनाले इरानमाथि व्यापक हवाई आक्रमण सुरु गरेका थिए। वार्तालाई सहज बनाउन गरिएको युद्धविराम अधिकांश समय कायम रहे पनि बीच–बीचमा गोली हानाहानका घटना भएका छन्। इरानले अझै पनि विश्वको करिब २० प्रतिशत तेल तथा तरलीकृत प्राकृतिक ग्यास ओसारपसार हुने रणनीतिक होर्मुज जलमार्ग नियन्त्रणमा राखेको छ।

इरानले जलमार्ग बन्द गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा बढेको छ। उता अमेरिकाले इरानमाथि दबाब बढाउन इरानी बन्दरगाहहरूमा घेराबन्दी जारी राखेको छ।





Source link

Leave a Comment