अमेरिकामा ३ महिनामा घटे झण्डै ५ सय नेपाली विद्यार्थी, कुल संख्या ३४,३६६ कायम



प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार

अमेरिकामा ३ महिनामा घटे झण्डै ५ सय नेपाली विद्यार्थी, कुल संख्या ३४,३६६ कायम

न्युयोर्कमा नेपाली विद्यार्थीहरूको पहिलो रोजाइ: लाग्वाडिया कम्युनिटी कलेज। तस्बिर सौजन्य: जिम हेन्डरसन, सीसी बाई-एसए ४.०, विकिमिडिया कमन्स मार्फत

अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरूको संख्यामा विगत तीन महिनामा उल्लेख्य गिरावट आएको छ। सेभिसद्वारा सार्वजनिक गरिएको ताजा तथ्याङ्क अनुसार तीन महिनाको अवधिमा झण्डै ५ सय नेपाली विद्यार्थी घटेका छन्।

मार्चमा कुल विद्यार्थी संख्या ३४ हजार ८ सय ५३ रहेकोमा अप्रिलमा यो संख्या घटेर ३४ हजार ६ सय ८० कायम भएको थियो। मे महिनामा यसमा अझ गिरावट आएर ३४ हजार ३ सय ६६ कायम भएको छ। अर्थात् अप्रिलको तुलनामा मे महिनामा ३१४ जना नेपाली विद्यार्थी घटेका छन्। हाल २८१ जना नेपाली विद्यार्थी भाषा कक्षामा अध्ययनरत छन्।

टेक्सस पहिलो रोजाइ

राज्यगत आधारमा हेर्दा नेपाली विद्यार्थीहरूको सबैभन्दा ठूलो रोजाइ टेक्सस बनेको छ। तथ्याङ्क अनुसार टेक्ससमा मात्रै ८ हजार २ सय ८ जना नेपाली विद्यार्थी अध्ययनरत छन्। टेक्ससमा अध्ययनरत नेपाली विद्यार्थीको संख्या अप्रिलमा ८ हजार ३ सय १० रहेकोमा मे महिनामा केही गिरावट आएको हो।

टेक्ससपछि ओहायो दोस्रो स्थानमा छ, जहाँ २ हजार ४ सय नेपाली विद्यार्थी अध्ययनरत छन्। ओहायोमा पनि अप्रिलमा २ हजार ४ सय २० नेपाली विद्यार्थी रहेकोमा मे महिनामा संख्या घटेको छ। त्यस्तै, न्युयोर्कमा मे महिनामा २ हजार ३ सय ३६ जना नेपाली विद्यार्थी अध्ययनरत छन्, जुन संख्या अप्रिलमा २ हजार ३ सय ४१ थियो। यी तीन राज्य नेपाली विद्यार्थीहरूका मुख्य शैक्षिक गन्तव्यका रूपमा देखिएका छन्।

पुरुष विद्यार्थीकै संख्या बढी

शैक्षिक स्तर र लैंगिक आधारमा विश्लेषण गर्दा कुल ३४ हजार ३ सय ६६ विद्यार्थीमध्ये पुरुषको संख्या १९ हजार ९१ र महिलाको संख्या १५ हजार ४ सय ७५ रहेको छ।

अधिकांश नेपालीहरू उच्च शिक्षाका लागि अमेरिका आएका छन्, जसमा ब्याचलर्स तहमा १२ हजार ४ जना नेपाली विद्यार्थी अध्ययनरत छन्। यो संख्या अप्रिलमा १२ हजार १ सय १७ रहेको थियो। त्यस्तै, मास्टर्स तहमा ९ हजार ७ सय ४७ जना नेपाली विद्यार्थी अध्ययनरत छन्। यो संख्या पनि अप्रिलमा ९ हजार ८ सय ३२ रहेको थियो।

यसैगरी, ७ हजार ७ सय ४६ जना एसोसिएट डिग्रीमा अध्ययनरत छन्, जुन संख्या अप्रिलमा ७ हजार ८ सय २५ रहेको थियो। ४ हजार २ सय ७२ जना डक्टरेट तहमा अध्ययन गरिरहेका छन्; अप्रिलमा यो संख्या ४ हजार २ सय ७३ थियो।





Source link

Leave a Comment