स्वरको जादुमय तरङ्ग


समयको प्रवाहले धेरै कुरा बगाएर लैजान्छ तर केही स्वर र केही स्मृतिहरू भने शिलापत्रमा कुँदिएका अक्षरझैं अमिट भएर मनको किनारामा अल्झिएर रहँदा रहेछन् । नेपाली संगीताकाशका लोकप्रिय गायक दीपक खरेलका कालजयी गीति आवाज सुन्दा आज पनि मेरो मनको कुनै कुनामा पुरानो स्मृति झंकृत हुन पुग्छ । ‘पूर्णिमाको रात पनि’, ‘तिम्रो त्यो हँसिलो मुहारको’ र ‘प्रतीक्षा गर मेरी मायालु’जस्ता गीतहरू शब्द र संगीतका सम्मिश्रण नेपाली जनजीवनका सदाबहार ढुकढुकी हुन्।

‘यो कर्मभूमिको आँगनमा’, ‘बादल बनाइदेऊ’, ‘गरुँ कि मिठो भुल’ र ‘बिहानीको सिरेटोमा’जस्ता सिर्जनाहरूले आज पनि श्रोतालाई उस्तै भावुक र रोमाञ्चित बनाउँछन्।

मेरो मानसपटलमा २०३४ साल एउटा विशेष रंगमञ्च बनेर उभिएको छ । यो त्यही वर्ष थियो, जतिबेला दीपक खरेलले रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरी ‘मैले रचेको गीत’बाट आफ्नो औपचारिक गायन यात्राको गोरेटो हिँड्ने थालनी गर्नुभएको थियो।

संयोग पनि कस्तो ! ठ्याक्कै त्यही समय उहाँ व्यवस्थापनमा स्नातकोत्तर शिक्षा हासिल गरी राष्ट्रसेवामा संलग्न रहँदै राष्ट्रिय विकास सेवा (राविसे) को सिलसिलामा खोटाङ जिल्लाको चिसापानी माध्यमिक विद्यालयमा शिक्षकका रूपमा आउनुभयो।

त्यो बेला म बाल्यकालको अबोध र रमाइलो संसारमा हराइरहेको थिएँ । विद्यालयमा सांस्कृतिक कार्यक्रमको रौनक बेग्लै हुन्थ्यो । साहित्यका विभिन्न विधाका किताबहरू संकलित ‘विकास पुस्तकालय’ उहाँकै आगमन र सक्रियतामा खुलेको थियो । नाटकका दृश्यहरू, नाचगान र त्यो सांगीतिक माहोलले पहाडी गाउँको शान्त वातावरणलाई उत्सवमय बनाउँथ्यो । जब दीपक सर मञ्चमा उभिनुहुन्थ्यो, तब माहोल निःशब्द र मन्त्रमुग्ध हुन्थ्यो।

उहाँलाई सुन्न, हेर्न र मनमा सजाएर राख्न गाउँका बालवृद्धको भेलाले सानोतिनो उत्सवको स्वरूप लिएको हुन्थ्यो । उहाँको गलाबाट निस्किने जादुमयी स्वर सुनेर हुरुक्क नहुने सायदै कोही हुन्थे होलान् । रेडियो नेपालबाट गुन्जिएका स्वर–तरंगले लोभिएका ग्रामीणजन प्रत्यक्ष गायकको स्वर सुन्न पाउँदा उहाँलाई हेर्न मान्छेको ओइरो लाग्थ्यो । उहाँका गीति स्वर सुन्न श्रोता–संसार उर्लिएको हुन्थ्यो । रेडियोको सानो बाकसबाट मात्र सुन्दै आएको त्यो दिव्य आवाजलाई आफ्नै आँखै अगाडि प्रत्यक्ष सुन्न पाउँदा गाउँले र मजस्तो विद्यार्थीको खुसीको सीमा रहँदैनथ्यो।

म चकित पर्थें, एउटा अबोध बालकका लागि त्यो दृश्य कुनै अलौकिक सपनाभन्दा कम थिएन । हातमा गितार लिएर लय हाल्दै गर्दा उहाँको वरिपरि एउटा सांगीतिक प्रभामण्डल तयार हुन्थ्यो । रेडियोमा बज्ने त्यो विख्यात गायकलाई साक्षात् देख्न पाउनु मेरा लागि एउटा विस्मयकारी अनुभूति थियो।

आज वर्षौं बिते पनि खोटाङको त्यो चिसो सिरेटो र उहाँले गितारको तारमा उनेका ती न्यानो धुनहरू मेरो स्मृतिमा अझै ताजै छन् । उहाँका गीतहरूले त नेपाली संगीतलाई सिँगारेकै छन्, तर उहाँसँग जोडिएको त्यो बाल्यकालको एउटा स्वर्णिम अध्याय मेरो जीवनको अमूल्य साहित्यिक पुँजी बनेर रहेको छ।

स्वरको जादुमय तरङ्ग

समयको एउटा लामो अन्तरालपछि, २०८२ चैत २७ गते शुक्रबारको त्यो साँझ काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रेक्षागृह एउटा ऐतिहासिक सांगीतिक संगमको साक्षी बन्यो । झन्डै पाँच दशकअघि खोटाङको पहाडी चिसापानीमा गितारको तारसँगै सुनिएको त्यो आत्मीय स्वर फेरि एकपटक राजधानीको भव्य मञ्चमा गुन्जियो । ‘सुधाकर भ्वाइलिन स्कुल’द्वारा आयोजित अर्केस्ट्रासहितको उहाँको एकल संगीत साँझ नेपाली सुगम संगीतको एउटा जीवन्त उत्सव थियो।

मञ्चमा जब प्रिय गायक दीपक खरेल देखा पर्नुभयो, हलभित्रको तालीको गडगडाहटले समयलाई एकछिन टक्क रोकिदिएजस्तो लाग्यो।

वर्षौंअघिको त्यो बाल्यकालीन कौतूहल आज श्रद्धा र सम्मानमा बदलिएको थियो । ५२ जना दक्ष वाद्यवादकहरूको बृहत् अर्केस्ट्रा र १६ जना नेपाली कलाकारहरूको मधुर कोरसको सम्मिश्रणले वातावरणलाई दिव्य बनाएको थियो।

विशेषतः युरोपेली मुलुक नर्वेबाट आएका चार जना कलाकारहरूको उपस्थिति र उनीहरूको वाद्यवादनको कौशलले नेपाली धुनहरूलाई विश्वव्यापी उचाइ प्रदान गरेको महसुस हुन्थ्यो।

जब उहाँका सदाबहार गीतहरू एकपछि अर्को गर्दै गुञ्जन थाले, हलमा उपस्थित दर्शकहरू भावुकताको गहिराइमा डुबे । धेरै समयको प्रतीक्षापछि आफ्ना प्रिय गायकलाई प्रत्यक्ष सुन्न पाउँदा धेरैका आँखा रसाएका थिए भने ओठमा खुसीको मुस्कान खेलिरहेको थियो । गितारको सरल झंकारबाट सुरु भएको उहाँको त्यो सांगीतिक यात्रा आज ‘आर्केस्ट्रा’को विशाल क्यानभासमा पोखिँदा लाग्थ्यो– केही आवाजहरू कहिल्यै पुराना हुँदैनन्, ती त समयसँगै अझै निखारिएर र अमर बनेर आउँछन्।

चिसापानी विद्यालयको त्यो सादा मञ्चदेखि प्रज्ञा–प्रतिष्ठानको यो भव्य अर्केस्ट्रासम्म आइपुग्दा दीपक खरेलको स्वरले नेपाली मनहरूलाई एउटै मालामा उनिरह्यो । त्यो साँझ उहाँका गीतहरू मात्र गुन्जिएनन्, हामीजस्ता कैयौंका स्मृतिहरू, बाल्यकालका यादहरू र नेपाली संगीतप्रतिको अथाह प्रेम पनि सँगसँगै झल्झली दृश्यमय चित्रमा झल्किरह्यो।

वास्तवमै, त्यो रात ‘अनन्तसम्म गुन्जिरहने एउटा सुमधुर प्रतिध्वनि’ (इकोज अफ इटरनिटी) बनेर जनमानसमा अंकित भयो । यो समयको गर्तबाट ब्युँतिएको धुन थियो । दीपक खरेलसँगको एक अविस्मरणीय सांगीतिक साँझ मेरा लागि प्रथमतः ती बाल्यकालीन दिनहरूतिर फर्केर सम्झिने अवसर पनि प्रदान गरिदियो।

संगीतको कुनै भूगोल र स्मृतिको कुनै निश्चित आयु हुँदैन । २०३४ सालमा खोटाङको चिसो सिरेटोमा सिउसिउ गर्दै चिसापानी माध्यमिक विद्यालयको प्रांगणमा जुन स्वरले मेरो बालमस्तिष्कलाई झंकृत बनाएको थियो, ठ्याक्कै ४८ वर्षपछि त्यही स्वरले काठमाडौंको प्रज्ञा–प्रतिष्ठानमा एउटा भव्य इतिहास रचिरहेको थियो । त्यो साँझ लोकप्रिय गायकको एउटा ‘कन्सर्ट’ वास्तवमा मेरो बाल्यकाल र वर्तमानको एउटा सुमधुर  ‘मिलन विन्दु’ थियो।

५२ जना वाद्यवादकहरूको विशाल अर्केस्ट्राको लहरमा दीपक खरेलको मखमली स्वर मिसिन पुग्दा, लाग्थ्यो– नेपाली सुगम संगीतले एउटा नयाँ र भव्य अवतार ग्रहण गरेको छ । नर्वेका कलाकारहरूका भ्वाइलिनका तारहरू र नेपाली माटोको सुगन्ध बोकेका बाजा र शब्दहरूबिचको त्यो तालमेलले दशकौं पुराना ती कालजयी गीतहरूलाई नयाँ उचाइमा पुर्‍याएको थियो । ‘पूर्णिमाको रात पनि’ या ‘प्रतीक्षा गर मेरी मायालु’ गुन्जिँदा हलमा उपस्थित हरेक श्रोताको आँखामा एक खालको चमक र हृदयमा एउटा नौलो तरंग छचल्किन्थ्यो।

म भने श्रोता–संसारले खचाखच भिडको एउटा कुनामा बसेर समयको लामो यात्रालाई नियालिरहेको थिएँ । मेरा आँखा अगाडि प्रज्ञाको भव्य मञ्च होइन, खोटाङको त्यो धुलाम्य विद्यालयको सामान्य सजावट तयार पारिएको मञ्च नाचिरहेको थियो, जहाँ एउटा सानो बालक रेडियोमा सुनिने गायकलाई साक्षात् देखेर मुखबाट र्‍याल चुहाउँदै र आँखाबाट आँसु झार्दै दंग परेको थियो । वर्षौंपछि उही जादुमयी स्वरलाई पुनः यसरी जीवन्त रूपमा सुन्न पाउँदा मेरो मन हर्ष र भावुकताले विभोर भयो । संगीतले मानिसलाई कसरी समयको सीमाभन्दा पर पु¥याउन सक्छ भन्ने कुराको प्रमाण थियो त्यो साँझ।

गीतहरू सकिए पनि मेरो मनको हुटहुटी सकिएको थिएन । जति पटक सुने पनि र जतिबेर सुनिरहे पनि उहाँको गीत सुन्न पुग्दैन । सुन्ने धोको बाँकी नै रहिरहन्छ । त्यसले सदावर मखमली स्वरका गायकका रूपमा उहाँको पहिचान स्थापित छ । दर्शकहरूको भिड र तालीको गडगडाहटबिच मेरो अन्तर्मन कताकता उहाँसँग एकछिन भेट्न र त्यो पुरानो चिसापानीको संस्मरण साट्न आतुर भइरहेको थियो । ती सदाबहार गीतहरूका सर्जक, जसलाई मैले पहिलोपटक ‘शिक्षक’ र ‘गायक’ दुवै एकै रूपमा चिनेको थिएँ, उहाँसँग केही बेर भलाकुसारी गर्न र बाल्यकालको त्यो धुमिल सम्झनालाई ताजा बनाउन मेरो मन निकै उत्सुक थियो।

साँच्चै, स्वरको जादुमय तरङ्गमा दीपक खरेलका गीतहरू कर्णप्रीय झंकारहरू मात्र होइनन्, ती त हामी जस्ता कैयौंका जीवनको विभिन्न कालखण्डका साक्षी पनि हुन् । त्यो साँझले सिर्जना यदि इमानदार छ भने त्यसले अनन्तसम्म आफ्नो प्रतिध्वनि छोडिरहन्छ भन्ने सत्यलाई साबित गरिदिएको थियो।

प्रकाशित: ९ जेष्ठ २०८३ ०६:४० शनिबार





Source link

Leave a Comment