News Summary
Generated by OK AI. Editorially reviewed.
- उत्तर अमेरिकामा आयोजित विश्वकप फुटबलले स्थानीय अर्थतन्त्रमा अर्बौं डलरको कारोबार गर्दै हजारौं रोजगारीका अवसरहरू सिर्जना गरेको छ ।
- विश्वकपका लागि प्रयोग भएका खेल सामग्री तथा प्रविधिको करिब ७० प्रतिशत हिस्सा चीनमा निर्माण भएकाले चीनले यसबाट ठूलो आर्थिक लाभ लिएको छ ।
- फुटबलमा राजनीतिक हस्तक्षेप तथा स्पोर्टवासिङका आरोपहरूका बीच विश्वकपको आयोजनाले अमेरिकाको राजनीतिक प्रभाव विस्तारमा समेत भूमिका खेलेको छ ।
अर्थतन्त्र र रोजगारी
यसपटक फुटबलको महाकुम्भ उत्तर अमेरिकाभर छरिएर आयोजना भयो । मेक्सिको, संयुक्त राज्य अमेरिका र क्यानडाका विभिन्न शहरमा प्रतिस्पर्धाहरू आयोजना गरिए ।
तर, खेलका धेरै अंश (७८ म्याच) संयुक्त राज्य अमेरिकाका विभिन्न शहरमा खेलाइए । जसले गर्दा खेलबाट हुने आर्थिक तथा राजनीतिक लाभमाथि लगभग अमेरिकाको वर्चस्व रह्यो । थोरै थोरै लाभ जरुर अरू दुई वटा देशमा पनि बाँडियो ।
२०२६ को जून ११ बाट जुलाई १९ सम्म खेल नै हुनेछन् भने त्यस अगाडि र पछाडिका गतिविधि समेत गर्दा डेढ महिनाको यो इभेन्ट्समा लाखौं अतिरिक्त मानिस यी शहरमा आउजाउ गर्नेछन् । विश्वभरबाट दर्शक, खेलाडी र अफिसियल गरेर कम्तीमा पनि ६० लाख जति मानिस ती शहरमा पुग्नेछन् ।
खेलको तयारीका लागि पूर्वाधारहरूको निर्माणदेखि खेल पर्यटक, खेलाडी र अफिसियलहरूको आगमन, होटलको बसाइ, रेस्टुरेन्ट, बार, पव, क्लबमा तिनले गर्ने खर्च, वरपर तिनले गर्ने घुमघाम, प्रयोग गर्ने सवारी साधन र खरिदले स्थानीय अर्थतन्त्रमा अर्बौंको कारोबार भएको छ ।
खेल आयोजनको समयमा हुने मानिसहरूको ओइरो व्यवस्थापन गर्नकै लागि, त्यतिबेला हुने उच्च माग अनुसार सप्लाई दुरुस्त राख्नका लागि सवारी साधनहरू थपिएपछि तिनका चालकहरूले रोजगारी पाए, होटल, खाजा पसल, रात्रि जीवनका अनेक झिलीमिलीको लागि हुने माग आपूर्ति गर्न हजारौं अस्थायी रोजगारीहरू सिर्जना भए ।
सीबीएस न्युजले खेल शुरु हुने दिन गरेको प्रक्षेपण अनुसार १६ वटा शहरमा आयोजना हुने यो गेम विश्वको अहिलेसम्मकै ठूलो खेल समारोह हुनेछ । ६ अर्ब मानिसले कुनै न कुनै रूपमा खेल हेर्नेछन् ।
हाम्रो देशमा फुटबल हेर्न लगभग १ हजार रुपैयाँमा लाइभ प्रसारण खरिद गर्नुपर्थ्यो । त्यसरी १० लाख परिवारले हेरे भने त्यो कारोबार लगभग १० करोडको हुन आउँछ । ६५ लाख दर्शक त खेल हेर्न रंगशालाहरूमा पुग्नेछन् । विश्व व्यापार संगठनको हवाला दिंदै उसले लेखेको छ कि खेलका क्रममा अमेरिकी अर्थतन्त्रमा १७.२ अर्ब डलर योगदान गर्नेछ । विश्वकै अर्थतन्त्रमा ४०.९ अर्ब डलरको ।
ह्वाइटहाउसले त यो खेलको आयोजना हुँदा अमेरिकी अर्थतन्त्रमा ३० अर्ब डलरको योगदान हुने अनुमान गरेको थियो । सबैभन्दा बढी कमाइ फिफाले गर्नेछ । उसको कमाइ ११ अर्ब डलर हुने अनुमान छ । त्यही कमाइ पूर्ण उपयोग या दुरुपयोग गर्दै फिफा अध्यक्षले गेम अवधिमा ७० घण्टा त आकाशमै उडेर यो शहरबाट त्यो शहर गर्दै बिताए । सहभागी टिमहरूले पनि राम्रै पैसा पाउने छन् ।
यस्तो पैसाको स्रोत भने विभिन्न देशका खेलकुद समितिहरूले गर्ने खर्च, फिफाले गर्ने खर्च, खेलाडी, अफिसियल र दर्शकले गर्ने खर्च तथा पूर्वाधारका समयमा राज्यले गर्ने लगानी तथा खेल आयोजनाका समयमा फिफाले गर्ने विविध लगानी हो । फिफाले भने टिकट बेचेर, प्रत्यक्ष प्रसारणको अधिकार बेचेर अनि स्पोन्सरहरूबाट संकलन गर्छ ।
कतारले खेलको आयोजना आफ्नो देशले विगत तीस–चालीस वर्षमा गरेको प्रगति विश्वभर देखाउन गरेको थियो । अमेरिकाले पनि यसको राजनीतिक लाभ हासिल गर्ने नै छ । जस्तो कि खेलको बीचमा नै अमेरिकाको स्थापनाको २५० वर्ष पुगेको थियो । खेलमार्फत ट्रम्पको व्यक्तित्व उजिल्याउन उनलाई फिफाले खेलशान्ति पुरस्कार पनि दिएको थियो ।
आफ्नो शान विश्वमा देखाउन उसले प्रयास गर्ने नै भयो । विश्वभरबाट अमेरिका घुम्न र विश्वकप हेर्न जानेहरूले उसको वैभवको प्रचार गर्नेछन् र त्यसले अमेरिका नरमशक्तिको निःशुल्क प्रचार हुनेछ ।
फुटबल टिम विना विश्वकप खेलिरहेको चीन
जहाँ नाफा त्यहाँ व्यापारी । अहिले विश्वको ठूलो मध्येको एउटा व्यापारी देश चीनलाई मानिन्छ । फुटबलमा चैं जति बल गर्दा पनि चिनियाँहरू खासै उन्नति गर्न सकिरहेका छैनन् । उनीहरूका लागि ओलम्पिक आफ्नो जस्तो लाग्दो हो ।
तर माल बेचेर नाफा कमाउन र आफ्ना ब्रान्डहरूको प्रचार गर्नमा भने यसपालिको विश्वकप चीनले जितेको जस्तो छ । चीनका तर्फबाट एकजना रेफ्री र दुई जना सहायक रेफ्री बाहेक कोही पनि खेलमा पुगेका छैनन् । फिल्डका रेफ्री फु मिङ, भीएआर रेफ्रीमा निङ उपस्थित हुनुलाई नै चिनियाँहरूले खुशी मानिरहेका छन् र उनको नाम सेलिब्रिटीमा उक्लेको छ ।
तर कोठामा राखिएको भिडियो सहयोगी रेफ्रीको भूमिका खेल्ने प्रविधि र सामग्री भने चीनकै कम्पनी हिसेनेको छ । प्रयोग भएका आईटी र एआई चीनकै ।
विश्वकपभर आयोजक, होस्ट सिटी, खेलाडी पठाउने देश र खेलाडी तथा दर्शकहरूले प्रयोग गर्ने ७० प्रतिशत जति विभिन्न सामग्री चीनमा बनेका रहेछन् । ग्लोबल टाइम्सका अनुसार फुटबल, जर्सी, झण्डा, बुट, स्कार्फ, ह्याट, मस्कट खेलौना र कि रिङहरू, चियरिङ हर्न (खुशी व्यक्त गर्ने बाजाहरू जसमा अफ्रिकी भुभुजेला लोकप्रिय थियो एकपटक) पनि मेड इन चाइना ।
इरानी खेलाडी र अफिसियलले खेल सकिएको दुई घण्टाभित्र अमेरिका छाड्नुपर्ने किन बनाइयो ? उनीहरूले मेक्सिकोमा बसेर अमेरिकाका खेलमा भाग लिनुपर्ने किन भयो ? किन कतिपय देशका अफिसियल र प्रशंसकले अमेरिका प्रवेशका लागि अनुमति नै पाएनन् ?
मेक्सिकोमा आयोजक शहरहरूले दर्शक र खेलाडीलाई स्टेडियम जाने आउने गरी चलाएका सटल बस, ११५ वटा हल्का रेल चीनकै । चीनको एउटा कारखानाले विश्वकपका लागि झन्डै तीन करोड त झण्डा बनाउने रहेछ । ट्रिओण्डा नाम गरेको आधिकारिक फुटबल ग्वाङदोङमा बनेको । विश्वभर मुख्य टिमका अनुकूल जर्सी र हाफप्यान्ट प्रयोग हुन्छ ।
साना–साना बच्चादेखि उमेर ढलेकाहरू सम्मले यस्ता जर्सी लगाइरहेका हुन्छन् । सबैभन्दा लोकप्रिय अर्जेन्टिना, ब्राजिल, पोर्चुगल, फ्रान्स, जर्मन र बेलायती टिमका समर्थकहरूले गरेर करोडौंका जर्सी नेपालमा पनि बिके । सिजन छोप्नेले पैसो कमाए । यस्ता जर्सीहरू नै संसारमा करोडौंको संख्यामा बिके ।
भएन भनेर स्पोन्सरहरूमा लेनोभो, हिसेने, मेङनिउ डेरी, ड्रिम टेक्नोलोजी, लुकिङ र कोट्टी कफी । यसो समाचार खोज्दै गएको स्टारवक पपुलर मानिने अमेरिकी शहरमा चिनियाँ कफी ब्रान्डको प्रचार थप रमाइलो लाग्यो । चिनियाँ ब्रान्डहरू खेलका अनिवार्य हिस्सा बन्दै गएका छन् । खेल जसले आयोजना गरोस् नाफा कुम्ल्याउनेमा चीनले अरूलाई उछिनेकै हुन्छ ।
विश्वकप र विजय
फुटबलको विश्वकप प्रतियोगिता राजनीति बाहिरको विशुद्ध खेल हो भन्ने कसैले मान्नुहुन्छ भने तपाईं भ्रममा हुनुहुन्छ । यसै विश्वकपलाई हेरौं । किन इजिप्टका खेलाडी र टिमले मैदानमा प्यालेस्टाइनी झण्डा देखाए ? किन इरानी खेलाडी र अफिसियललाई अमेरिका प्रवेशमा बाधा हालियो ? इराकका मुख्य खेलाडीलाई जसले इराकका लागि एकमात्र गोल गरेका थिए, अमेरिका प्रवेशमा किन लामो समय केरकार गरियो ? अथवा इरानी खेलाडी र अफिसियलले खेल सकिएको दुई घण्टाभित्र अमेरिका छाड्नुपर्ने किन बनाइयो ? उनीहरूले मेक्सिकोमा बसेर अमेरिकाका खेलमा भाग लिनुपर्ने किन भयो ? किन कतिपय देशका अफिसियल र प्रशंसकले अमेरिका प्रवेशका लागि अनुमति नै पाएनन् ?
रेडकार्ड पाइसकेका अमेरिकी खेलाडी फोलारिन बालोगनको रेडकार्ड राष्ट्रपति ट्रम्पको दबाबमा फिफाले फिर्ता लिएको कुरा खेलमाथि राजनीतिक हस्तक्षेपको ऐतिहासिक र विवादास्पद नमूना नै भयो । फिफाका वर्तमान अध्यक्षले अमेरिकी राष्ट्रपतिको दलाली गर्न कुनै कसर बाँकी नराखेको भन्ने कुरा त धेरैले भन्दै आएका छन् । र डोनाल्ड ट्रम्पले आफ्नो राजनीतिक करिअर राम्रो बनाउनकै लागि यस वर्ष वर्ल्डकप र दुई वर्षपछि ओलम्पिक अमेरिकामा आयोजना गर्न अघिल्लो कार्यकालमा भूमिका खेलेका थिए भन्ने विश्लेषण पनि भइरहेकै छ ।
स्पोर्टवासिङ भन्ने एउटा शब्द धेरै प्रयोग हुन्छ खेलकुदमा । यस्तो प्रचार गर्नेहरू प्रायः अमेरिका या युरोपका सञ्चारगृहहरू नै हुन् । जसले कतार र रूसले आयोजना गरेका विश्वकपलाई उनीहरूको मानवअधिकारको रेकर्डसँग जोडेर, अथवा पश्चिमा मापदण्डलाई बढाइँचढाइ प्रयोग गरेर आलोचना गरेका थिए । तर तिनले यस्तो शब्द अहिले अमेरिकाका लागि भने फिटिक्कै प्रयोग गरेनन् ।
वास्तवमा अमेरिकी राष्ट्रपतिमा ट्रम्प दोहोरिएपछि उनले विश्वमा फैलाएको मशल, ग्रिनल्याण्डमाथिको दाबी, दक्षिण अमेरिकाका निर्वाचनमा कसले जित्न हुन्छ कसले हुन्न भन्ने हस्तक्षेप, क्युवा र भेनेजुएलामाथि गरिरहेको आक्रमण र धम्की, इरानमाथि जोरजुलुम सिविलियनहरूमाथि बमवर्षा र केटाकेटीको हत्या, विश्वका स्थापित संस्था र अन्तर्राष्ट्रिय सम्बन्धलाई निर्देशित गर्दै आएका संस्था र नियमहरूमाथि गरेको हस्तक्षेप तथा आफ्नै देशमा आप्रवासीहरूमाथि गरिएको घिनलाग्दो दमनले बद्नाम अमेरिकाको छवि उजिल्याउन यो इभेन्टलाई भरपूर प्रयोग गरियो । अर्थात् स्पोर्टवासिङ गरियो ।

यस अगाडि २०२२ को विश्वकपको आयोजना कतारले गरेको थियो । उक्त फुटबल आयोजना गर्न कतारले फिफाका सदस्य राष्ट्र र पदाधिकारीहरूलाई आर्थिक ढंगले प्रभावित पारेको आरोप लागेकै हो (म स्पष्ट त छैन, हाम्रै गणेश थापाको खेल राजनीतिको अवसानको एउटा कारण त्यो पनि थियो कि ? प्रश्न त उठेकै थियो) । र मानवअधिकारको प्रश्न गरेर कतारलाई हैरान पनि पारिएकै हो । बीबीसीले उद्घाटन सत्रको प्रत्यक्ष प्रसारण नगरेर सोही समयमा कतारका विरुद्धका सामग्रीहरू प्रसारण गरेको थियो । उनीहरूलाई आफ्नो पूर्व उपनिवेशले यस्तो कार्यक्रम आयोजना गरेको पटक्कै चित्त बुझेको थिएन । यसमा त्यतिबेला नेपाली र दक्षिण एशियाली आप्रवासी कामदारहरूको अधिकारको कुरा निकै उठाइयो तर खेल सकिएपछि यस्तो विषय ओझेलमा पारियो ।
हेर्नुस् त यसपालि अमेरिकी समर्थनमा गाजामा भएको आमहत्या, इरानमाथिको आक्रमण, र अमेरिकामा लाखौं आप्रवासीमाथि गरिएको दुर्व्यवहार, निष्कासन र हत्याको विषयमा कुनै प्रश्न उठाइएन । अमेरिकाले इरानमाथि आक्रमण गरिरहेकै बेला ऊm खेलको आयोजक बन्यो । यता युक्रेनमाथि आत्रमण गरेको आरोपमा रूसलाई विश्वकपको प्रक्रियामा नै सामेल गराइएन ।
बेलायती टिमसँग अर्जेन्टिनाले खेल्नु अगाडि उपराष्ट्रपति भिक्टोरिया भिल्लारुएलले आफ्नो एक्स ह्याण्डलमा भनिन् ः हामी माल्भिनास द्वीप समूह (फकल्याण्ड) कब्जा गर्ने समुद्री डाँकुहरूसँग खेल्दैछौं । यो लियो (मेस्सी) को अन्तिम खेल हो र यसले आक्रमणकारीहरूलाई रोक्ने छ । यसको अर्थ उनी खेललाई पनि ब्रिटिशहरूसँगको लडाइँका रूपमा लिन्छिन् भन्ने लाग्छ जसले अर्जेन्टिनाको एउटा मनोविज्ञानको प्रतिनिधित्व गर्छ । जस्तो त्यहाँको फुटबल सम्बन्धी गीतले भन्छः हामी हाम्रो अन्तिम सास रहुञ्जेल हाम्रो जे हो त्यसमाथि दाबी गरिरहने छौं । यो पनि फकल्याण्ड द्वीप समूहको सन्दर्भतिर लक्षित छ । अब कसरी भन्नु खेलमा राजनीति हुँदैन ?
यसपालि स्पेन र अर्जेन्टिना विश्वकपको फाइनलमा पुगेका छन् । त्यसो त प्रकारान्तरले अर्जेन्टिनी खेलाडीहरू पनि स्पेनियार्ड नै हुन् । अर्जेन्टिना लामो समय स्पेनकै उपनिवेश थियो स्पेनिश आप्रवासीहरू नै त्यहाँको बहुसंख्यक समुदाय हो । अहिले गोरो छालाका जति पनि खेलाडी छन् अर्जेन्टिनी टिममा तिनीहरू धेरैजसोको पुर्ख्यौली स्पेनसँग जोडिन्छ ।
फुटबलमा अहिले पनि विश्व च्याम्पियन टिमहरू युरोपेली देशहरू या उनीहरूले उपनिवेश बनाएका देशबाटै आएका छन् । जसरी युरोपको फुटबलमा स्पेन, पोर्चुगल, फ्रान्स, जर्मनी र बेलायतीहरूको वर्चस्व छ त्यसरी नै अरू मुख्य खेलाडीहरू अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड, इजिप्ट, इराक, कुनै समयका ब्रिटिश उपनिवेश या ब्रिटिशहरूकै विस्तारित समुदाय हुन् ।
अमेरिकामा खेल भइरहेको छ । अमेरिका नै इरानमाथिको युद्ध, होर्मुज जलडमरुमा पारवहन अवरोध र विश्वव्यापी आपूर्ति शृंखलाको अवरोधक र आर्थिक मन्दीको कारण बनिरहेको छ । नेपालमा तेल, ग्याँस, रासायनिक मल र अरू कतिपय कच्चापदार्थको अभाव र अहिलेको महँगीको कारण पनि अमेरिका बनिरहेको छ ।
ब्राजिल पोर्चुगलकै उपनिवेश हो उताको रोनाल्डो होस् या यताको पोर्चुगिज नै हुन् । अलिकति ब्राजिलमा जातीय अन्तरघुलन भएको छ । यसैगरी मेक्सिको, चिली, उरुग्वे, पाराग्वे, अर्जेन्टिनाहरू र कोलम्बिया स्पेनकै उपनिवेश हुन् । मोरक्को स्पेन र फ्रेन्चहरूको उपनिवेश थियो । दक्षिण अफ्रिका ब्रिटिशहरूको । कतार १९७१ सम्म नै ब्रिटिश अन्तर्गत थियो, उपनिवेश । सेनेगल र अल्जेरिया फ्रेञ्चहरूका उपनिवेश हुन् ।
र अहिले सबैभन्दा चर्चामा रहेको केप भर्डे नामको सानो टापु मुलुक त पोर्चुगिजहरू जानु अगाडि निर्जन भूमि थियो । उनीहरूले दास व्यापारको थलो बनाएको पोर्चुगाली र अफ्रिकी मूलका मानिसहरूको बसोबास रहेको यो देशको फुटबल खेलमा पनि उपनिवेशको प्रभाव हुने नै भयो ।
अर्थात् यसो भन्न सकिन्छः जुन टिम फुटबल खेल्न उत्तर अमेरिका पुगे उनीहरूमध्ये धेरैको योग्यताको जिनमा पनि उपनिवेशी शासनको लिगेसी छ । जस्तो अहिले पनि क्रिकेट मूलतः ब्रिटिश उपनिवेश रहेका देशहरूको साझा खेल जस्तो छ ।
अँ, यतिबेला अर्को सन्दर्भ महत्वपूर्ण छ जसले मलाई विश्वकप स्पेनले नै जितोस् भन्ने लागेको छ । खेल मेस्सीको या उनको टिमकै राम्रो छ, म खेलको त्यो जादुमय कलालाई प्रशंसा गर्छु । तर हेर्नुस् त भर्खरै स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले के के गरे ? अनि उता अर्जेन्टिनी मिलेइ कति गरिबमारा छन् ? म मिलेइ नेतृत्वको अर्जेन्टिनाले उनले जस पाउने गरी कप नजितोस् भन्ने चाहन्छु । अनि जे भए पनि साञ्चेज प्रधानमन्त्री रहेको बेला उनले जस पाउने गरी स्पेनले नै जितोस् भन्ने चाहन्छु । मलाई जेसुकै आक्षेप लगाइयोस् या गाली नै किन नगरियोस् म आफ्नो अडानमा स्पष्ट छु । र मलाई थाहा छ खेलको हारजितका लागि मेरो शुभकामनाको शून्य बराबर योगदान पनि हुनेछैन ।
स्पेनिस प्रधानमन्त्री साञ्चेजले गरेको महत्वपूर्ण काम हो उनले गाजामा भइरहेको जातीय सफायाको विरोध गरे । अमेरिकाको संरक्षणमा इजरायलले ७० हजारभन्दा बढी प्यालेस्टाइनीहरूको हत्या गरेको थियो जसमा २० हजार भन्दा बढी बालबालिका मात्र छन् । साञ्चेजले प्यालेस्टाइनलाई राज्यको मान्यता दिए । हालै उनले इजरायलसँग कूटनीतिक सम्बन्ध खारेज गरेका छन् । इजरायली प्रधानमन्त्री नेतेन्याहु विरुद्ध नरसंहारको मुद्दाको समर्थन गरेका छन् । युरोपेली युनियनमा पनि उनले इजरायलसँगको सम्बन्ध कटौती गर्न लविइङ गरेका छन् ।

साञ्चेजले पश्चिम एशियाका मामिलामा अमेरिकी नीतिहरूका विरुद्ध पनि अडान राखेका छन् । उनले इरान विरुद्धको युद्धमा अमेरिकीहरूलाई आफ्नो देशको हवाई क्षेत्रको प्रयोग गर्न, स्पेनमा रहेका अमेरिकी सैन्य अखडाहरू उपयोग गर्न समेत रोक लगाए । उनले इरानमाथि अमेरिकी हमलाको निन्दा गरे । अमेरिकाले व्यापारिक सम्बन्ध कटौती गर्ने निर्णय गर्दा पनि त्यसको डटेर सामना गरे ।
यस अगाडि उनले मेक्सिकन राष्ट्रपति क्लाउडिया शिनबाउम र कोलम्बियन राष्ट्रपति गुस्तावो फेड्रोसँग मिलेर अमेरिकाले क्युवा विरुद्ध दिइरहेको धम्की र गरिरहेको नाकाबन्दी विरुद्ध संयुक्त वत्तव्य जारी गरे । यसरी, उनले युरोपेली समुदायमा खेलिरहेको भूमिका र नेटोका विषयमा अमेरिकी दबाबका विपक्षमा लिइरहेको अडानले उनलाई प्रगतिशील शक्तिहरूको एउटा भरपर्दो मित्र बनाएको छ ।
अमेरिकामा खेल भइरहेको छ । अमेरिका नै इरानमाथिको युद्ध, होर्मुज जलडमरुमा पारवहन अवरोध र विश्वव्यापी आपूर्ति शृंखलाको अवरोधक र आर्थिक मन्दीको कारण बनिरहेको छ । नेपालमा तेल, ग्याँस, रासायनिक मल र अरू कतिपय कच्चापदार्थको अभाव र अहिलेको महँगीको कारण पनि अमेरिका बनिरहेको छ । लेवनानमाथिको इजरायली युद्धको मुख्य पृष्ठपोषक रहेको छ । भेनेजुएलामाथि हस्तक्षेप गरेर सार्वभौम देशको राष्ट्राध्यक्षको अपहरण र त्यहाँको खनिज तेल तथा ग्याँस भण्डार कब्जा गरेको छ । यस्तो बेला, अमेरिकामै भइरहेको खेलमा साञ्चेज नेतृत्वको स्पेनले जितेर ट्रफी हात पार्नु राजनीतिक रूपले अमेरिकाको अलिकति नैतिक हार जस्तो हुनेछ । १९८६ मा क्वाटरफाइनलमा र अहिले सेमिफाइनलमा बेलायतलाई हराएको अर्जेन्टिनाको एकप्रकारले जीत भई नै सकेको छ । यस अर्थमा म यसपटक लिजेन्ड मेस्सीको अर्जेन्टिना भन्दा नवखेलाडी किशोर यामालले खेलिरहेको स्पेनले जितेको हेर्न चाहन्छु ।
खेलाडीहरू व्यक्तिगत रूपमा कुनै पार्टीका या विचारका हुनसक्छन् तर तिनले सोलोडोलो देशको प्रतिनिधित्व गर्छन् । को प्रधानमन्त्री छ/छैन भन्ने कुरासँग उनीहरूको योगदान विभाजित हुँदैन । तर कसलाई समर्थन गर्ने भन्ने छनोटको अधिकार त हामीलाई हुने नै भयो ।
तपाइँहरूको टिम छनोटप्रति मेरो कुनै गुनासो छैन । कसैको जित–हारमा पनि हाम्रो नियन्त्रण छैन । मन परेको टिमलाई दिलै खोलेर समर्थन गर्नुस् र खेलको आनन्द लिन नबिर्सनुस् !
