अमेरिका-इरान द्वन्द्व चर्किँदै: २ अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता



प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार

अमेरिका-इरान द्वन्द्व चर्किँदै: २ अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता

अमेरिकी रक्षामन्त्री पीट हेगसेथ ।
तस्बिर : रासस/ एपी

इरानले जोर्डनमा गरेको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा दुई अमेरिकी सैनिकको ज्यान गएको छ भने एकजना सैनिक हराइरहेका छन्। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार मार्च महिनापछि इरानी आक्रमणबाट अमेरिकी सेनाले व्यहोरेको यो पहिलो प्रत्यक्ष सैन्य क्षति हो।

सेन्टकमले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जुलाई १७ मा जोर्डनमा रहेका अमेरिकी तथा साझेदार राष्ट्रका सेनाले इरानद्वारा प्रहार गरिएका ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमणको प्रतिरक्षा गर्ने क्रममा दुई अमेरिकी सैनिकको ज्यान गएको हो।”

आक्रमणमा घाइते भएका अन्य चार अमेरिकी सैनिकलाई उपचारका लागि जोर्डनकै एक अस्पतालमा भर्ना गरिएको थियो, जो उपचारपछि डिस्चार्ज भइसकेका छन्। सामान्य घाइते भएका अन्य सैनिकहरू भने पुनः आफ्नो जिम्मेवारीमा फर्किसकेका छन्। मृतक सैनिकका परिवारलाई औपचारिक जानकारी नदिइएसम्म उनीहरूको नाम सार्वजनिक नगरिने सेन्टकमले स्पष्ट पारेको छ।

यस घटनाबारे प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैनिकहरूको मृत्युलाई “अत्यन्त दुःखद” भन्दै उनीहरूले देशको सेवामा जीवन बलिदान दिएको बताएका छन्। अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले पनि सामाजिक सञ्जाल ‘एक्स’ मार्फत श्रद्धाञ्जली व्यक्त गर्दै यो बलिदानले अमेरिकी संकल्पलाई अझ दृढ बनाएको उल्लेख गरेका छन्।

यता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले जोर्डनको अल-अज्राकस्थित अमेरिकी सेनाले प्रयोग गर्ने सैन्य अखडामा गरिएको उक्त आक्रमणको जिम्मेवारी लिएको छ। आईरजीसीले मिसाइल र ड्रोनमार्फत गरिएको आक्रमणमा अमेरिकी पक्षका धेरै विमान पूर्ण रूपमा ध्वस्त पारिएको दाबी गरेको छ। यद्यपि, अमेरिकी पक्षले भने यस दाबीको स्वतन्त्र पुष्टि गरेको छैन।

यस घटनालगत्तै अमेरिकी सेनाले इरानमाथि नयाँ हवाई आक्रमण सुरु गरेको छ। अमेरिकी सेनाले आफ्ना सैनिकको हत्याको तत्काल सजाय दिन इरानमाथि जवाफी कारबाही गरिएको उल्लेख गरेको छ। अमेरिकी रक्षा विभागको सैन्य क्षति विश्लेषण प्रणालीका अनुसार, यो घटनासँगै पछिल्लो पाँच महिनाको द्वन्द्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या १६ पुगेको छ।

यो घटना इरान र अमेरिकाबीच केही समयअघि भएको युद्धविराम लगभग भङ्ग (विफल) भएको अवस्थामा सार्वजनिक भएको हो। पछिल्ला दिनहरूमा दुवै पक्षले एकअर्कामाथि लगातार आक्रमण गरिरहेका छन्। अमेरिकी हवाई आक्रमणपछि इरानले पनि ड्रोन र क्षेप्यास्त्र प्रहारलाई तीव्र बनाएको छ, जसको प्रभाव अमेरिकी सैन्य अखडा रहेका विभिन्न देशसम्म फैलिएको छ।

इरानी अधिकारीहरूले पछिल्लो २४ घण्टामा अमेरिकी आक्रमणबाट १२ इरानी नागरिकको मृत्यु भएको दाबी गरेका छन्। यससँगै युद्धको पछिल्लो चरणमा इरानतर्फ मृत्यु हुनेको संख्या ५० पुगेको उनीहरूको भनाइ छ।





Source link

Leave a Comment