प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार

अमेरिकी प्रतिनिधि सभाका डेमोक्र्याट सदस्य एरिक स्वालवेलले क्यालिफोर्नियाको गभर्नर दौडबाट बाहिरिने घोषणा गरेका छन्। यौन दुर्व्यवहारसम्बन्धी आरोपहरू सार्वजनिक भएपछि उनको चुनावी अभियान कमजोर बनेको थियो।
विवादका कारण कर्मचारीहरूले राजीनामा दिएका थिए भने प्रमुख डेमोक्रेटिक समर्थकहरूले उनलाई प्रतिस्पर्धाबाट हट्न आग्रह गरेका थिए। उनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै भनेका छन्, “म गभर्नरका लागि मेरो अभियान स्थगित गर्दैछु। मेरो परिवार, कर्मचारी, साथीहरू र समर्थकहरूप्रति म विगतमा गरेका गलत निर्णयहरूका लागि क्षमाप्रार्थी छु। ममाथि लगाइएका गम्भीर र झूटा आरोपहरूविरुद्ध लड्नेछु, तर त्यो मेरो व्यक्तिगत लडाइँ हो, अभियानको होइन।”
स्वालवेललाई यसअघि क्यालिफोर्नियाको गभर्नर पदका लागि प्रमुख दावेदार मानिएको थियो। आगामी जुन २ मा हुने गैर-दलीय प्राथमिक चुनावअघि उनी अन्य डेमोक्रेट र दुई रिपब्लिकन उम्मेदवारसँग प्रतिस्पर्धामा थिए। तर, गत शुक्रबार केही महिलाहरूले उनीमाथि यौन दुर्व्यवहारको आरोप लगाएको समाचार प्रकाशित भएपछि उनको अभियान संकटमा परेको थियो।
उनका प्रमुख सहयोगीहरू अभियानका अध्यक्ष जिमी गोमेज, सिनेटर रुबेन गालेगो र एडम शिफले तुरुन्तै आफ्नो समर्थन फिर्ता लिएका थिए। उनलाई समर्थन गर्दै आएको स्वतन्त्र समूहले पनि आफ्नो प्रचार अभियान बन्द गर्ने घोषणा गरेको थियो।
यस घटनापछि गभर्नरको दौड अझ अनिश्चित बनेको छ। अहिलेका प्रमुख डेमोक्रेट उम्मेदवारहरूमा अर्बपति टम स्टेयर, पूर्व प्रतिनिधि केटी पोर्टर, पूर्व स्वास्थ्य तथा मानव सेवा मन्त्री जेभियर बेसेरा र लस एन्जलसका पूर्व मेयर एन्टोनियो भिल्लाराइगोसा रहेका छन्।
रिपब्लिकन तर्फबाट रिभरसाइड काउन्टीका शेरिफ च्याड बियान्को र पूर्व फक्स न्युज प्रस्तोता स्टिभ हिल्टन प्रतिस्पर्धामा छन्।
स्वालवेलले आफ्नो कार्यकाल सकिनुअघि नै जनवरीमा अमेरिकी प्रतिनिधि सभाबाट राजीनामा दिने वा नदिने भन्ने विषयमा अझै स्पष्ट भइसकेको छैन। यद्यपि, आइतबार केही डेमोक्रेट नेताहरूले उनलाई संसदबाट पनि बाहिरिन आग्रह गरेका छन्।