पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: उडान भर्ने तयारीमा फ्लाई दुबई


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको तीन वर्ष पूरा हुँदा पनि अन्तर्राष्ट्रिय उडान नियमित हुन सकेको छैन। सरकार र निजी क्षेत्रको पहलमा तीन फरक अन्तर्राष्ट्रिय गन्तव्यमा पोखराबाट उडान सुरु गर्ने प्रयास भए पनि सफलता मिलेको छैन। करिब २२ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको विमानस्थलबाट सुरुमा उत्तरी छिमेकी देश चीनको छेन्दु र ल्हासा उडान भएको थियो।

चीनको सिचुवान एयरलाइन्सले छेन्दुमा चार्टर्ड उडान र हिमालयन एयरलाइन्सले छेन्दुमा नियमित उडान गरेका थिए। त्यसले पोखराबाट अन्तर्राष्ट्रिय उडान सम्भव छ भन्ने पुष्टि त भयो तर नियमित भने हुन सकेन। सिचुवान एयरलाइन्सले छेन्दुमा ११ वटा उडान गर्‍यो। ती उडान चार्टर्डमा सीमित रहे। हिमालयन एयरलाइन्सले भने २०२५ मार्चदेखि ल्हासा नियमित उडान थाले पनि यात्रु नभएकाले एक वर्ष नबित्दै बन्द भयो।केही समय भुटानको पारो एयरलाइन्सले पोखरा–थिम्पु उडान ग¥यो तर त्यसले पनि निरन्तरता पाउन सकेन।

त्यसपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भएको छैन। तर अन्तर्राष्ट्रिय उडानका लागि प्रयास भने जारी छ। यसैक्रममा फ्लाई दुबईले पोखरा–दुबई उडान गर्ने तयारी थालेको छ। यो विमानस्थलले सेप्टेम्बर २३ (असोज ७) देखि पोखरा–दुबई उडान गर्ने तालिका सार्वजनिक गरी भाडादर तोकेर टिकट बुकिङ पनि खुला गरेको छ।

पोखरा पर्यटकीय राजधानी, प्राकृतिक सुन्दरताले भरिपूर्ण, पोखरासहित आसपास क्षेत्रबाट वैदेशिक रोजगारीका लागि दुबई, कतार, साउदी अरेबिया र मलेसिया जानेको संख्या धेरै भएकाले उडान सहजै चल्ने फ्लाई दुबईको विश्वास छ।

२०२७ सम्मका लागि टिकट बुकिङ खुला गरेको फ्लाई दुबईको बुकिङ भने हाललाई उत्साहजनक छैन। दुबईबाट पोखरा आउन टिकट बुकिङ राम्रै भए पनि पोखराबाट दुबई जान एकाधबाहेक अन्यले टिकट बुकिङ नगरेको एयरलाइन्सनिकट स्रोतले जनाएको छ। यसबाट दबाबमा परेको फ्लाई दुबईले उडान दिगो बनाउन साझा पहलकदमी लिनुपर्ने भन्दै तीन तहका सरकार र निजी क्षेत्रलाई सहकार्यका लागि आग्रह गरेको छ।

संघीय सरकारसँग नियमित संवाद गरिरहेका फ्लाई दुबईका अधिकारीहरूले केही दिनअघि पोखरा आएर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङसमेतलाई भेटेर पोखरा–दुबई उडान दिगो बनाउन सहजीकरण गरिदिन आग्रह गरेको छ। उनीहरूले पोखरा उद्योग वाणिज्य संघ, नाट्टा, हान, टान, रेवान र एनवाइइएफका प्रतिनिधिसँग पनि भेटेर व्यावसायिक साझेदारीसँगै उडान प्रवद्र्धनमा सघाउन आग्रह गरेका छन्।

मुख्यमन्त्री, मन्त्री र महानगर प्रमुखसँगको भेटमा फ्लाई दुबईको टोलीले सरकारले दिने छुट र श्रम स्वीकृतिका विषयमा चासो व्यक्त गरेको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने एयरलाइन्सलाई सरकारले हवाई इन्धनमा एक सय डलर छुट दिने घोषणा गरेको छ। त्यसबाहेक विमान उडान र अवतरणमा एक वर्षसम्म शतप्रतिशत छुट, सञ्चार तथा उड्डयन शुल्क र सुरक्षा जाँच शुल्कमा पनि छुट दिने सरकारको घोषणा छ तर यो छुट दिने अवधि आगामी सेप्टेम्बर १७ मा सकिने भएकाले त्यसबारे फ्लाई दुबईको टोलीले चासो व्यक्त गरेको हो। उसले शुल्क छुट पाँच वर्षसम्म कायम गरिए अन्तर्राष्ट्रिय उडान दिगो बनाउन सकिने भएकाले अवधि लम्ब्याउन आग्रह गरेको छ।

फ्लाई दुबईका लागि नेपालका जनरल म्यानेजर नवराज शाहीले छुट अवधि नबढाइए तत्काल उडान सुरु गरे पनि निरन्तरता दिन कठिन हुने कुरा आफूहरूले भेटमा राखेको बताए। उनले भने, ‘हामी उडानका लागि तयारी अवस्थामा छौं तर यसलाई दिगो बनाउन शुल्क छुट आवश्यक हुने भएकाले यससम्बन्धी चाँडो निर्णय गरिदिनुप¥यो भनेका छौं।’

फ्लाई दुबईको टोलीले पोखराबाटै श्रम स्वीकृतिका लागि पहल गरिदिन पनि मुख्यमन्त्रीदेखि महानगर प्रमुखसम्मलाई आग्रह गरेको छ। ‘श्रम स्वीकृति पोखराबाटै दिने व्यवस्था भए उडान नियमित गर्न सहज हुन्छ,’ शाहीले भने, ‘श्रम स्वीकृति लिन काठमाडौं नै पुग्नुपर्ने बाध्यता रहिरह्यो भने पोखराबाटै उड्नुपर्छ भन्ने नरहन पनि सक्छ। त्यसैले पोखराबाटै श्रम स्वीकृति दिने व्यवस्था गर्न हामीले भेटमा कुरा राखेका छौं।’

पोखरा–दुबई उडान प्रवद्र्धन, प्रचार–प्रसारलगायतमा पनि सहयोग गर्न फ्लाई दुबईले सरकारी र निजी क्षेत्रका अधिकारीसँग आग्रह गरेको छ।

शाहीका अनुसार जवाफमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्न आवश्यक सबै सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताएका छन्। ‘हामी पोखराबाट अन्तर्राष्ट्रिय उडान नियमित होस् भन्ने चाहन्छौं’ मुख्यमन्त्री पाण्डेलाई उद्धृत गर्दै शाहीले भने, ‘त्यसका लागि हामी हाम्रो प्रदेशबाट गर्नुपर्ने सबै सहयोग गर्छौं र नजिकका प्रदेशका नागरिकलाई पनि पोखराबाटै उड्न प्रेरित गर्न आवश्यक पहल गर्छाैं।’

उनले शुल्क छुट अवधि बढाउन र श्रम स्वीकृति पोखराबाटै दिने व्यवस्थाका लागि पनि पहल गर्ने आश्वासन दिएका छन्।

उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले पनि पोखरा–दुबई उडानपछि पोखराको पर्यटनले फड्को मार्ने विश्वास व्यक्त गर्दै उडान दिगो बनाउन आवश्यक पहल गर्ने आश्वासन दिएकी छन्। ‘हामीले हाम्रातर्फबाट आवश्यक सबै सहयोग गर्छौं, तपाईंहरूले पनि यात्रुलाई विभिन्न छुट दिएर आकर्षित गर्नुस्,’ मन्त्री रिमाललाई उद्धृत गर्दै शाहीले भने।

भेटमा पोखरा महानगरपालिकाका प्रमुख आचार्यले पनि फ्लाई दुबईका प्रतिनिधिलाई पोखरा–दुबई उडान दिगो बनाउन महानगरले आवश्यक सबै सहयोग गर्ने बताएका थिए। निजी क्षेत्रका अधिकारीसँगको भेटमा फ्लाई दुबईको टोलीले व्यावसायिक साझेदारीदेखि पोखरा–दुबई उडान प्रवर्धनका लागि सहयोगको प्रस्ताव राखेको थियो। उद्योगी, व्यवसायीले पनि यो उडान पोखराका लागि महत्त्वपूर्ण भएकाले आवश्यक सहयोग गर्ने वचन दिएका छन्। निजी क्षेत्रका तर्फबाट पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा–दुबई उडानका लागि आवश्यक सबै सहयोग गर्ने भेटमा बताएका थिए।

उनले भनेका थिए, ‘यो तपाईंहरूका लागि जति आवश्यक छ त्यत्ति नै हाम्रा लागि पनि। त्यसैले पोखराको दिगो पर्यटनमा सघाउने यो उडानलाई दिगो बनाउन हामी मन, वचन र कर्मले सहयोग गर्छौं।’

पोखरामा सरकार र निजी क्षेत्रका पदाधिकारीसँगको भेटपछि फ्लाई दुबईको टोली उत्साहित भएर फर्केको छ। मौखिक आश्वासन पाएको टोलीले चाँडै औपचारिक निर्णय होस् भन्ने अपेक्षा राखेको छ। सबै पक्षले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएपछि पोखराबाट फ्लाई दुबईको टोली उत्साहित हुँदै फर्किएको पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले बताए। भेटघाटका लागि समन्वय गरेका उनले भने, ‘उहाँहरू पोखरा–दुबई उडानको वातावरण बनेको निष्कर्षसहित उत्साहित भएर फर्किनुभएको छ।’

फ्लाई दुबईले आगामी सेप्टेम्बर २३ देखि एक महिना दैनिक एउटा उडान गर्ने तालिका बनाएर अनुमति लिइसकेको छ। सन् २०२७ सम्मकै लागि टिकट बुकिङ गरिरहेको जानकारी फ्लाई दुबईका लागि नेपालका जनरल म्यानेजर शाहीले दिएका छन्।

प्रकाशित: ३१ असार २०८३ १०:०५ बुधबार





Source link

Leave a Comment