फुटबलको विश्वमञ्चमा तहल्का मच्चाउन तयार यी २० नयाँ अनुहार


अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुन गइरहेको सन् २०२६ को फिफा विश्वकपमा कीर्तिमानी १ हजार २४८ खेलाडी सहभागी हुँदै छन्। तीमध्ये ८९१ खेलाडी विश्वकपमा पहिलो पटक खेल्दै छन्।

प्रिमियर लिग र स्कटिस प्रिमियरसिप बाहिरका क्लबहरूमा रहेर उत्कृष्ट प्रदर्शन गरिरहेका तर आम दर्शकमाझ त्यति परिचित नभएका २० युवा खेलाडीहरूलाई यसपटक विशेष रुपमा हेरिएको छ।

बीबीसी स्पोर्टका प्रतिष्ठित फुटबल कमेन्टेटर र विश्लेषकहरूले यी उदीयमान प्रतिभाहरूले यस विश्वकपमा बलियो प्रभाव छाड्ने दाबी गरेका छन्।

यी हुन् २० नयाँ अनुहार

 

गिल्बर्टो मोरा (मेक्सिको)

उमेर: १७ वर्ष

पोजिसन: मिडफिल्डर

क्लब: तिजुआना

यस विश्वकपकै सबैभन्दा कान्छा खेलाडीको रूपमा गिल्बर्टो मोरा मैदानमा उत्रने सम्भावना छ। बीबीसीका फुटबल संवाददाता जोन मरेका अनुसार गत वर्षको गोल्ड कपमा उनलाई वन्डरकिडको रूपमा हेरिएको थियो।

मात्र १६ वर्षको उमेरमा मेक्सिकोको सिनियर टोलीबाट डेब्यु गर्दै उनले सबैभन्दा कम उमेरको खेलाडीको कीर्तिमान बनाएका थिए।

प्रशिक्षक हाभियर अग्विरेले ह्युस्टनमा माउरिसियो पोचेटिनोको नेतृत्वमा रहेको अमेरिकी टोलीविरुद्धको फाइनल खेलमा उनलाई सुरुवाती ११ मै उतारेका थिए। सो खेलमा मेक्सिको २-१ ले विजयी भएको थियो।

विश्लेषक स्टिभ विल्सनले मोरा मेक्सिकोको लिगा एमएक्स इतिहासकै सबैभन्दा कम उमेरका गोलकर्ता भएको बताउँछन्। अगस्ट २०२४ मा १५ वर्षको छँदै उनले तिजुआनाका लागि गोल गरेका थिए।

मेक्सिकोले एज्टेका स्टेडियममा दक्षिण अफ्रिकाविरुद्ध उद्घाटन खेल खेल्दा घरेलु समर्थकको आशा मोरामाथि हुनेछ। यद्यपि, स्पेनिस मूलका अल्भारो फिडालगोले मेक्सिकोबाट खेल्ने निर्णय गरेपछि मोराले सुरुवाती खेलहरूमा बेन्चमा बस्नुपर्ने अवस्था आउन सक्ने बताइएको छ।

रिकार्डो पेपी (संयुक्त राज्य अमेरिका)

उमेर: २३ वर्ष

पोजिसन: स्ट्राइकर

क्लब: पीएसभी आइन्डहोभेन

सह-आयोजक अमेरिकामाथि समूह चरण पार गरेर अघि बढ्ने ठूलो दबाब छ। कमेन्टेटर जोनाथन पियर्सका अनुसार यस दबाबबीच पीएसभी आइन्डहोभेनका स्ट्राइकर रिकार्डो पेपी अमेरिकी टोलीका चम्किला तारा बन्न सक्छन्।

गत सिजन डच लिगको उपाधि जित्ने क्रममा पेपीले उत्कृष्ट प्रदर्शन गर्दै १९ गोल गरेका थिए। सो मा अन्तिम पाँच खेलमा ६ गोल सामेल थियो।

अन्तर्राष्ट्रिय स्तरमा ३५ खेल खेल्दै १३ गोल गरिसकेका भए पनि नोभेम्बर २०२४ देखि अप्रिल २०२५ को बीचमा उनले मात्र ३६ मिनेट खेल्न पाउनुलाई पियर्सले अनौठो मानेका छन्।

मे महिनामा सेनेगलविरुद्धको ३–२ को जितमा सुरुवाती टोलीमा फर्किएका उनले एक असिस्ट प्रदान गरेका थिए भने जर्मनीविरुद्धको खेलमा पनि मैदान प्रवेश गरेका थिए।

आर्मान्डो गोन्जालेज (मेक्सिको)

उमेर: २३ वर्ष

पोजिसन: स्ट्राइकर

क्लब: ग्वाडालाहारा

गत सिजन ग्वाडालाहाराका लागि २५ गोल गरेका आर्मान्डो गोन्जालेजलाई मेक्सिकोको भविष्यको प्रमुख हतियार मानिएको छ। जोन मरेका अनुसार नोभेम्बरमा पहिलो क्याप जितेका उनले फेब्रुअरीमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए।

उनलाई मेक्सिकोका महान् स्ट्राइकर जाभियर ‘चिचारितो’ हेर्नान्डेजसँग तुलना गरिएको छ। म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी चिचारितोले ग्वाडालाहाराबाटै सन्यास लिँदै गर्दा गोन्जालेजले उनीबाट धेरै कुरा सिकेको बताइएको छ।

जोनाथन पियर्सले मेक्सिकोको अग्रपंक्तिको भार फुलहमका राहुल जिमेनेजमाथि भए पनि गोन्जालेज भविष्यको बलियो सम्भावना भएको बताउँछन्। लिगा एमएक्सको प्लेअफ सेमिफाइनलसम्म पुर्‍याउन निर्णायक भूमिका खेलेका उनले राष्ट्रिय टोलीबाट सात खेल खेल्दै आइसल्यान्डविरुद्ध एक गोल गरेका छन्।

ब्रायन गुटिएरेज (मेक्सिको)

उमेर: २२ वर्ष

पोजिसन: मिडफिल्डर

क्लब: चिभास दे ग्वाडालाहारा

अमेरिकाको इलिनोइसमा जन्मिएका गुटिएरेजले सन् २०२५ मा अमेरिकाका लागि दुई खेल खेलेका थिए। तर, गत नोभेम्बरमा उनले आफ्ना आमाबुबाको देश मेक्सिकोबाट खेल्ने निर्णय लिए।

जोनाथन पियर्सका अनुसार जनवरीमा शिकागो फायर छाडेर ग्वाडालाहारा पुगेका उनले क्लबलाई लिगा एमएक्सको सेमिफाइनलसम्म पुर्‍याएका थिए।

सन् २०२६ मा मेक्सिकोले खेलेका आठमध्ये सात खेलमा उनी मैदानमा उत्रिसकेका छन्। ४–१–४–१ को संरचनामा उनको ऊर्जा र सिर्जनशीलताले घरेलु समर्थकलाई निकै उत्साहित बनाउन सक्ने पियर्सले बताएका छन्।

जोहान मान्जाम्बी (स्विट्जरल्यान्ड)

उमेर: २० वर्ष

पोजिसन: मिडफिल्डर

क्लब: एससी फ्राइबर्ग

स्विट्जरल्यान्डले ठूला प्रतियोगितामा सधैं युवा खेलाडीलाई स्थापित हुने मञ्च दिने गरेको छ। स्टिभ बावरका अनुसार विगतमा ब्रिल एम्बोलो र ड्यान एन्डोयले पाएको यो अवसर यसपटक जोहान मान्जाम्बीको पोल्टामा पर्न सक्छ।

फ्राइबर्गलाई युरोपा लिगको फाइनलसम्म पुर्‍याउन उनको भूमिका महत्त्वपूर्ण थियो। मिडफिल्डका विभिन्न पोजिसन र अट्याकिङ थर्डमा प्रभावशाली मान्जाम्बीलाई स्विस कप्तान ग्रानिट झाकाले समेत खुबै प्रशंसा गरेका छन्।

भिकी स्पार्क्सका अनुसार उनी स्विट्जरल्यान्ड टोलीका सबैभन्दा कान्छा खेलाडी हुन्। प्रशिक्षक मुराट याकिनले उनमा गोल गर्ने असाधारण भोक रहेको टिप्पणी गरेका छन्।

स्टिभ विल्सनले मान्जाम्बीलाई युरोपा लिगको ‘रेभिलेसन अफ द सिजन’ को रूपमा व्याख्या गरेका छन्। गत सिजन मिडफिल्डबाट ७ गोल गरेका उनले सेमिफाइनलमा ब्रागाविरुद्ध उत्कृष्ट गोल गरेका थिए।

समग्र युरोपेली अभियानमा उनले ३३ पटक गोलको प्रयास गरेका थिए। यो आफ्ना अन्य सहकर्मीभन्दा ११ ले बढी हो। जेनेभामा हुर्किएका उनले अमेरिकाविरुद्धको खेलमा राष्ट्रिय टोलीका लागि पहिलो गोल गरेका थिए।

इयान डेनिसले युरोपा लिग फाइनलमा एस्टन भिल्लाविरुद्ध उनलाई फ्राइबर्गको उत्कृष्ट खेलाडीका रूपमा औंल्याएका छन्। गत जुनमा डेब्यु गरेयता उनले लगातार ११ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् र छिट्टै उनलाई प्रिमियर लिग वा जर्मनीका ठूला क्लबले भित्र्याउन सक्ने दाबी गरिएको छ।

कान उजुन (टर्की)

उमेर: २० वर्ष

पोजिसन: मिडफिल्डर

क्लब: आइन्ट्राख्ट फ्रान्कफर्ट

जर्मनीमा जन्मिएका तर टर्कीको प्रतिनिधित्व गर्ने उजुनले फ्रान्कफर्टका समर्थकको मन जितिसकेका छन्। दुई वर्षअघि न्युरेम्बर्गबाट आएका उनले गत सिजन बुन्डेसलिगाका सुरुवाती पाँच खेलमै पाँच गोल र तीन असिस्ट गरेर सनसनी मच्चाएका थिए।

स्टिभ विल्सनका अनुसार जाडोयाममा ह्यामस्ट्रिङ चोटका कारण उनको खेल प्रभावित भए पनि उनी उत्कृष्ट प्लेमेकर हुन्। प्रशिक्षक भिन्सेन्जो मोन्टेलाले उनलाई ओर्कुन कोक्चु वा केनान यिल्डिजको विकल्पका रूपमा बेन्चबाट प्रयोग गर्न सक्ने विश्लेषण गरिएको छ।

केरिम अलाजबेगोभिच (बोस्निया–हर्जेगोभिना)

उमेर: १८ वर्ष

पोजिसन: विंगर

क्लब: रेड बुल साल्जबर्ग

भिकी स्पार्क्सका अनुसार साल्जबर्गमा अलाजबेगोभिचले उत्कृष्ट प्रदर्शन गरेपछि उनको पूर्व क्लब बायर लेभरकुसेनले एक सिजनपछि नै बाइ-ब्याक क्लज प्रयोग गरेर उनलाई फर्काउने निर्णय गरिसकेको छ।

कलिलै उमेरमा उनले ठूलो मञ्चमा दबाब झेल्ने क्षमता देखाइसकेका छन्। वेल्सविरुद्धको प्लेअफ सेमिफाइनलमा उनले निर्णायक पेनाल्टी गोल गरेका थिए भने फाइनलमा इटालीविरुद्धको सुटआउटमा पनि गोल गर्न सफल भए।

जर्मनमा जन्मिएका यी विंगरलाई बोस्नियाली फुटबलको नयाँ पोस्टर ब्वाईका रूपमा हेरिएको छ। अन्तर्राष्ट्रिय स्तरमा वैकल्पिक खेलाडीका रूपमा प्रयोग हुँदै आए पनि विश्वकपअघिका दुवै मैत्रीपूर्ण खेलमा उनले सुरुवाती मौका पाएका थिए।

लुका भुस्कोभिच (क्रोएसिया)

उमेर: १९ वर्ष

पोजिसन: सेन्टर–ब्याक

क्लब: टोटनहम (२०२५–२६ मा ह्याम्बर्गमा ऋणमा)

स्टिभ विल्सनले टोटनहमले ट्रान्सफर बजारमा गरेका थोरै मात्र उत्कृष्ट निर्णयमध्ये भुस्कोभिचको अनुबन्धन एक रहेको बताए। गत सिजनमा हाजडुक स्प्लिटबाट उनलाई भित्र्याउने सम्झौता १८ महिनाअघि नै तय भइसकेको थियो।

१६ वर्षमै हाजडुकबाट डेब्यु गरेका उनले बेल्जियमको वेस्टरलोमा ऋणमा रहँदा उत्कृष्ट सिजन बिताए र क्रोएसियाको यू–२१ टोलीमा तीव्र गतिमा स्थान बनाए।

गत सिजन ह्याम्बर्गमा ऋणमा रहँदा उनले बलियो सेन्टर–ब्याकका रूपमा मात्र पहिचान बनाएनन्, ६ गोल समेत गरेर आफ्नो बहुआयामिक क्षमता प्रदर्शन गरे। विश्वकप सकिएलगत्तै उनी टोटनहम फर्किएर पहिलो टोलीमै स्थान बनाउने अपेक्षा गरिएको छ।

गेसिम यासिन (मोरक्को)

उमेर: २० वर्ष

पोजिसन: दायाँ विंगर

क्लब: स्ट्रासबर्ग

लियाम म्याक्लियोडका अनुसार यासिन मोरक्कोका वाइल्ड कार्ड हुन्। बार्सिलोनाको नजरमा परिसकेका उनलाई फ्रेन्च क्लब स्ट्रासबर्गले जनवरीमा करिब ७० लाख युरो तिरेर दोस्रो डिभिजनको डन्कर्कबाट अनुबन्ध गरेको थियो।

नयाँ प्रशिक्षक मोहम्मद औहाबीको नेतृत्वमा मोरक्कोलाई यू-२० विश्वकप जिताउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए। मार्चमा इक्वेडरविरुद्ध डेब्यु गरेका उनी कतार विश्वकपमा सेमिफाइनल पुगेको टोलीमा स्थायी स्थान बनाउन संघर्षरत छन्।

इयान डेनिसका अनुसार देब्रे खुट्टाले खेल्ने उनी दायाँ विंगमा निकै खरो उत्रिन्छन्। बललाई नजिकबाट नियन्त्रण गर्ने र उत्कृष्ट ड्रिब्लिङ गर्ने क्षमता उनमा छ। जनवरीमा साढे चार वर्षको सम्झौता गरेका उनी स्ट्रासबर्गको साझेदार क्लब चेल्सीको पनि राडारमा रहेको दाबी गरिएको छ।

अय्युब बुआद्दी (मोरक्को)

उमेर: १८ वर्ष

पोजिसन: मिडफिल्डर

क्लब: लिल

स्टिभ बावरले बुआद्दीलाई फ्रान्सको यू-२१ टोलीबाट खेल्दा नजिकबाट नियालेका थिए। तर, फ्रान्सको सिनियर टोलीमा स्थान नपाएपछि गत महिना उनले मोरक्कोबाट खेल्ने निर्णय गरे।

१६ वर्ष पूरा भएको तीन दिनपछि नै लिलबाट कन्फरेन्स लिगमा डेब्यु गरेका उनीसँग च्याम्पियन्स लिग र युरोपा लिग खेलेको यथेष्ट अनुभव छ।

यान डियोमान्डे (आइभरी कोस्ट)

उमेर: १९ वर्ष

पोजिसन: विंगर

क्लब: आरबी लाइपजिग

स्टिभ विल्सनका अनुसार डियोमान्डे युरोपेली ट्रान्सफर बजारमा सबैभन्दा बढी माग भएका किशोर विंगर हुन्। यद्यपि जर्मन क्लब लाइपजिग उनलाई बेच्न तयार छैन। बुन्डेसलिगाको ‘रुकी अफ द सिजन’ अवार्ड जितेका उनलाई जुलाई २०२५ मा स्पेनिस क्लब लेगानेसबाट २ करोड युरोमा भित्र्याइएको थियो।

पहिलो सिजनमै ३३ लिग खेलमा १२ गोल र ९ असिस्टसहित २१ गोलको योगदान दिँदै उनले क्लबलाई च्याम्पियन्स लिगमा पुर्‍याएका थिए।

१५ वर्षको उमेरमा अमेरिका पुगेका डियोमान्डेले फ्लोरिडामा तीन वर्ष बिताएका थिए। मार्चमा काँधको चोटका कारण दक्षिण कोरिया र स्कटल्यान्डविरुद्धको खेल गुमाए पनि गत हप्ता फ्रान्सविरुद्धको खेलमा पुनरागमन गर्दै उनले आफ्नो स्थान पक्का गरेका छन्।

बाजुमाना टुरे (आइभरी कोस्ट)

उमेर: २० वर्ष

पोजिसन: बायाँ विंगर

क्लब: होफेनहाइम

स्टिभ विल्सनका अनुसार आइभरी कोस्टसँग डियोमान्डे मात्र होइन, बाजुमाना टुरे जस्ता रोमाञ्चक युवा खेलाडी पनि छन्। जनवरी २०२५ मा स्विडेनको हामार्बीबाट होफेनहाइम पुगेलगत्तै समर्थकहरूमाझ बाजुमानिया शब्द नै लोकप्रिय बन्यो।

यस सिजन ३० लिग खेलमा उनले १२ असिस्ट प्रदान गरेका छन्। अफ्रिका कप अफ नेसन्समा वैकल्पिक खेलाडीका रूपमा तीन खेल खेल्दै दुई गोल गरेपछि प्रशिक्षक एमर्स फाएमाथि उनलाई सुरुवाती टोलीमा राख्न चर्को दबाब परेको छ।

यद्यपि डियोमान्डे र अमाद डियालो जस्ता खेलाडीका कारण विंग्समा स्थान बनाउन उनलाई सहज भने छैन।

हुसेम आउआर (अल्जेरिया)

उमेर: २७ वर्ष

पोजिसन: मिडफिल्डर

क्लब: अल–इत्तिहाद

जोनाथन पियर्सले चार वर्षअघि मोरक्कोले जस्तै यसपटक अल्जेरियाले सनसनीपूर्ण प्रदर्शन गर्न सक्ने दाबी गर्दै तीन खेलाडीलाई औंल्याएका छन्। लियोनबाट किशोर खेलाडीका रूपमा उदाएदेखि नै पियर्सले आउआरलाई नजिकबाट नियाल्दै आएका छन्।

साउदी प्रो लिगमा अल–इत्तिहादका लागि यस सिजन १५ गोल गरेका यी प्रतिभाशाली प्लेमेकरले युरोपकै उत्कृष्ट मिडफिल्डरका रूपमा बनाएको आफ्नो पुरानो लय पुनः फेला पारेका छन्।

मोहम्मद अमोउरा (अल्जेरिया)

उमेर: २६ वर्ष

पोजिसन: स्ट्राइकर/विंगर

क्लब: वोल्फ्सबर्ग

पियर्सको दोस्रो छनोटमा अमोउरा परेका छन्। उनले विश्वकप छनोटका पछिल्ला ६ खेलमा १० गोल गरेर सनसनी मच्चाएका छन्। यद्यपि जर्मन क्लब वोल्फ्सबर्ग यस सिजन रेलिगेसनमा पर्‍यो, तर अन्तर्राष्ट्रिय फुटबलमा उनको प्रदर्शन अत्यन्तै उत्कृष्ट रह्यो। अल्जेरियाको अग्रपंक्तिको नेतृत्व गर्ने उनले बायाँ विंगमा पनि उत्तिकै सशक्त भूमिका खेल्न सक्छन्।

इब्राहिम माजा (अल्जेरिया)

उमेर: २० वर्ष

पोजिसन: मिडफिल्डर

क्लब: बायर लेभरकुसेन

२० वर्षीय माजाले यस सिजन बायर लेभरकुसेनका लागि उत्कृष्ट प्रदर्शन गरेका छन्। अफ्रिका कप अफ नेसन्समा अल्जेरियाका लागि दुई गोल गरेका यी युवा खेलाडीलाई प्राविधिक रूपमा अत्यन्तै दक्ष मानिन्छ।

स्टिभ बावरका अनुसार मिडफिल्ड र रक्षापंक्तिबीचको खाली स्थानमा रहेर खेल्न रुचाउने माजालाई अल्जेरियामा राष्ट्रिय टोलीका लेजेन्ड रियाद महरेजसँग तुलना गर्न थालिएको छ।

यस सिजन क्लबका लागि ४० भन्दा बढी र राष्ट्रिय टोलीबाट १५ खेल खेलिसकेका उनी आफ्नो उमेरभन्दा निकै परिपक्व देखिन्छन्। विश्वकपमा मौका पाएको खण्डमा उनले विश्व फुटबलमा आफ्नो दह्रो छाप छोड्ने पक्का छ।

निको पाज (अर्जेन्टिना)

उमेर: २१ वर्ष

पोजिसन: मिडफिल्डर

क्लब: कोमो

स्टिभ बावरका अनुसार सेस्क फाब्रेगासको प्रशिक्षणमा इटालियन क्लब कोमोलाई सफलता दिलाउन निको पाजको ठूलो भूमिका रह्यो। अर्जेन्टिनामा उनको लोकप्रियता चुलिएको छ। बायाँ खुट्टाले खेल्ने र नम्बर १० पोजिसनमा रहने भएकाले उनलाई लियोनेल मेस्सीसँग तुलना गरिन्छ। यद्यपि उनी अझै परिपक्व हुन बाँकी रहेको बावरले टिप्पणी गरेका छन्।

स्टिभ विल्सनका अनुसार उनी अर्जेन्टिनाका पूर्व रक्षक पाब्लो पाजका छोरा हुन्। सन् २०२४ मा रियल मड्रिडले कोमोलाई बेच्दा सन् २०२७ सम्म लागू हुने गरी बाइ-ब्याक क्लज राखेको थियो। सिरी ‘ए’ मा यस सिजन सर्वाधिक ड्रिबल पूरा गरेका उनले १३ गोल र ८ असिस्ट गरेका थिए।

मार्चमा मौरिटानियाविरुद्ध उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए। प्रशिक्षक लियोनेल स्कालोनीले उनलाई महत्त्वपूर्ण खेलहरूमा प्रयोग गर्न सक्ने आकलन गरिएको छ।

लुइस सुवारेज (कोलम्बिया)

उमेर: २८ वर्ष

पोजिसन: स्ट्राइकर

क्लब: स्पोर्टिङ

लियाम म्याक्लियोडका अनुसार उरुग्वेका लिजेन्ड लुइस सुवारेजको जस्तो चर्चा नपाए पनि कोलम्बियाका यी स्ट्राइकरले पोर्चुगलमा सनसनीपूर्ण प्रदर्शन गरेका छन्। भिक्टर ग्योकेरेस आर्सनल गएपछि उनको स्थान लिन स्पेनको दोस्रो डिभिजन क्लब अल्मेरियाबाट स्पोर्टिङ लिस्बन पुगेका सुवारेजले पहिलो सिजनमै अविश्वसनीय रूपमा ३८ गोल गरेका छन्। यसका साथै ९ असिस्ट पनि प्रदान गरेका उनी विश्वकपको मञ्चमा तहल्का मच्चाउन पूर्ण रूपमा तयार देखिएका छन्।

अलेसान्द्रो सिर्काती (अष्ट्रेलिया)

उमेर: २२ वर्ष

पोजिसन: सेन्टर-ब्याक

 क्लब: पार्मा

भिकी स्पार्क्सका अनुसार इटालियन सिरी ए मा पार्माको रक्षापंक्तिका नियमित सदस्य अलेसान्द्रो सिर्काती आफ्नो पहिलो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा छन्।

इटालीको युवा टोलीबाट खेलिसकेका उनी एक वर्षको उमेरमै अष्ट्रेलिया पुगेका थिए। गत सेप्टेम्बरमा न्युजिल्यान्डविरुद्ध कप्तानी सम्हालेका उनी सन् १९८१ यताकै अष्ट्रेलियाका सबैभन्दा कम उमेरका कप्तान बनेका छन्।

लुकास हेरिङ्टन (अष्ट्रेलिया)

उमेर: १८ वर्ष

पोजिसन: सेन्टर–ब्याक

क्लब: कोलोराडो र्यापिड्स

ब्रिस्बेनमा जन्मिएका हेरिङ्टनलाई जोन मरेले अष्ट्रेलियाको ठूलो सम्भावनाको रूपमा हेरिएको छ। जनवरीमा कीर्तिमानी रकममा अमेरिकी क्लब कोलोराडो र्यापिड्समा आबद्ध भएका उनले मेजर लिग सकर (एमएलएस) मा गरेको उत्कृष्ट प्रदर्शनकै कारण विश्वकप टोलीमा स्थान पक्का गरेका हुन्।

अली जासिम (इराक)

उमेर: २२ वर्ष

पोजिसन: बायाँ विंगर

क्लब: कोमो (२०२५–२६ सिजनमा अलऔनज्मामा ऋणमा)

स्टिभ विल्सनका अनुसार सन् २०२४ को सुरुवातमा भएको यू–२३ एसियन कपका सर्वाधिक गोलकर्ता अली जासिमले इटालियन क्लब कोमोको ध्यान खिचेका थिए।

इराक छाडेर टर्कीमा असफल भइसकेका जासिममाथि कोमोले जोखिम उठाउँदै अनुबन्ध गर्‍यो। त्यसपछि नेदरल्यान्ड्स र साउदी अरेबियाको अल–नज्मामा ऋणमा पठाइएका उनी त्यहाँ पूर्ण रूपमा स्थापित भएका छन्।

इराकका अष्ट्रेलियाली प्रशिक्षक ग्राहम अर्नोल्डले पछिल्लो १२ महिनादेखि उनलाई लगातार टोलीमा स्थान दिँदै आएका छन्। समूह ‘आई’ मा नर्वे, फ्रान्स र सेनेगल जस्ता शक्तिशाली टोलीहरूविरुद्ध खेल्ने क्रममा जासिमले सबैको ध्यान तान्न सक्ने दाबी गरिएको छ।

यी २० उदीयमान खेलाडीहरूको क्षमता र प्रतिभालाई हेर्दा सन् २०२६ को विश्वकप केवल दिग्गज खेलाडीहरूको अन्तिम मञ्च मात्र नभई नयाँ युगका सुपरस्टारहरूको उदय हुने ऐतिहासिक प्रतियोगिता बन्ने पक्कापक्की देखिएको छ।

प्रकाशित: २८ जेष्ठ २०८३ १७:५२ बिहीबार





Source link

Leave a Comment