‘प्रविधिमैत्री सेवा र डायस्पोराको सीप नेपालसँग जोड्नु मेरो प्राथमिकता हो’ :दधिराम भण्डारी, महावाणिज्यदूत, न्युयोर्क



प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार

‘प्रविधिमैत्री सेवा र डायस्पोराको सीप नेपालसँग जोड्नु मेरो प्राथमिकता हो’ :दधिराम भण्डारी, महावाणिज्यदूत, न्युयोर्क

विश्वको आर्थिक र सांस्कृतिक केन्द्र न्युयोर्कमा नेपाली समुदायको उपस्थिति र प्रभाव दिनानुदिन बढ्दो छ । यसै सन्दर्भमा सन् २०२५ जुनदेखि नेपाली महावाणिज्य दूतावास न्युयोर्कको कार्यभार सम्हाल्नुभएका दधिराम भण्डारीले सेवाप्रवाहलाई थप चुस्त, डिजिटल र सेवाग्राहीमैत्री बनाउन महत्त्वपूर्ण पहल सुरु गर्नुभएको छ । न्युयोर्कसहित अमेरिकाका नौवटा राज्य कार्यक्षेत्र रहेको यस नियोगमार्फत राहदानी, भिसा र कानुनी प्रमाणीकरणजस्ता सेवालाई घरदैलोसम्म पुर्याउन उहाँले ‘मोबाइल कन्सुलर क्याम्प’ र ‘डिजिटल फस्र्ट’को अवधारणा अघि सार्नुभएको छ । दोस्रो पुस्ताका नेपाली अमेरिकीलाई मातृभूमिसँग जोड्नेदेखि लिएर अमेरिकामा रहेका नेपाली उद्यमीको पुँजी र ज्ञानलाई नेपालको सूचना प्रविधि र पर्यटन क्षेत्रमा भित्र्याउन उहाँले सक्रिय ‘ब्रिज’को भूमिका निर्वाह गरिरहनुभएको छ। न्युयोर्कमा हालै सम्पन्न विभिन्न अन्तर्राष्ट्रिय व्यापार मेला र पर्यटन प्रवद्र्धनका कार्यक्रममा नेपालको बलियो उपस्थिति जनाउन सफल भण्डारीसँग नियोगले सामना गरिरहेका चुनौती, आगामी योजना र नेपाली समुदायसँगको सहकार्यका विषयमा केन्द्रित रहेर गिरिजा अधिकारीद्वारा गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।


न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतको कार्यभार सम्हालेको केही समय भइसकेको छ । तपाईंले यहाँ आइपुगेपछि नेपाली समुदाय र यहाँको कार्य–वातावरणलाई कसरी अनुभव गरिरहनुभएको छ ?

मैले गत जुन २०२५ मा नेपाली महावाणिज्यदूतको कार्यभार सम्हालेसँगै यस महावाणिज्य दूतावासको कार्यक्षेत्रभित्रका नौवटा राज्यसँग नेपालको सम्बन्ध विस्तारका सम्भावनाहरूलाई हरसम्भव सदुपयोग गरी नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउन योगदान दिने कार्य मेरो प्रमुख प्राथमिकतामा रहेको छ । साथै नियोगबाट प्रदान गरिने सेवालाई थप सहज, सेवाग्राही तथा प्रविधिमैत्री बनाउने विषय पनि मेरो उच्च प्राथमिकतामा छ ।

मैले कार्यभार सम्हालेको करिब १० महिनाको अवधि निकै ऊर्जावान् रहेको छ । सम्भावनाहरू धेरै छन् । सर्वाधिक महत्त्वपूर्ण त यहाँको नेपाली डायस्पोरा अत्यन्तै सक्रिय, सचेत र मातृभूमिप्रति निरन्तर चासो र लगाव राख्ने पाएको छु । नियोगसँग उपलब्ध साधन–स्रोत र सेवाग्राहीको अपेक्षाबीच केही खाडल हुनाले कार्य–वातावरण केही चुनौतीपूर्ण लाग्दछ । तथापि कार्यको प्राथमिकीकरण, समुदायसँगको सहकार्य तथा नेपालप्रतिको अमेरिकी मित्रहरूको सद्भावले यी चुनौतीहरूलाई अवसरका रूपमा सदुपयोग गर्दै काम गर्न मलाई प्रेरणा मिलेको छ ।

महावाणिज्य दूतावासले प्रदान गर्ने सेवा (राहदानी, भिसा, कागजात प्रमाणीकरण आदि)लाई अझ बढी प्रविधिमैत्री, छिटो र छरितो बनाउन तपाईंको नेतृत्वमा कस्ता नयाँ योजना अघि सारिएका छन् ?

‘प्रविधिमैत्री सेवा र डायस्पोराको सीप नेपालसँग जोड्नु मेरो प्राथमिकता हो’ :दधिराम भण्डारी, महावाणिज्यदूत, न्युयोर्क

हामीले सेवाप्रवाहलाई ‘डिजिटल फस्र्ट’ बनाउने लक्ष्य राखेका छौं । राहदानी र भिसा आवेदन प्रक्रियालाई अनलाइन प्रणालीमार्फत सरल र व्यवस्थित गरिएको छ । नियोगको वेबसाइट तथा सोसल मिडिया ह्यान्डलबाट निरन्तर रूपमा जानकारीहरू अद्यावधिक गर्ने गरिएको छ । नियोगका कर्मचारीहरूको सम्पर्क विवरण (मोबाइल तथा इमेल) सार्वजनिक रूपमा उपलब्ध छन् ।

सेवाग्राहीलाई परेको समस्याको तत्काल समाधान गर्ने गरिएको छ । आपत्कालीन अवस्थामा नेपाली नागरिकले हामीलाई जुनसुकै बखत सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको छ । उदाहरणका लागि केही हप्ता पहिले शनिबारको दिन एक जना नेपाली नागरिक पारिवारिक ‘इमर्जेन्सी’मा नेपाल जान लाग्नुभएको रहेछ । उडानको समयभन्दा केही घण्टा अगाडि मात्र आफ्नो राहदानीको म्याद समाप्त भएको उहाँलाई जानकारी भयो । उहाँ हाम्रो सम्पर्कमा आएसँगै बिदाको दिन कार्यालय खोली उहाँलाई ‘एकतर्फी यात्रा अनुमतिपत्र’ जारी गरी सहयोग ग¥यौं । यस्ता घटनाहरू मध्यरात वा बिदाका दिनमा पनि आइरहन्छन् । यसैगरी विशेष कारणले समय लिएर आउन नसक्नेहरूका लागि ‘वाक–इन’ सेवा र वृद्ध एवं गर्भवती महिलाका लागि पालो पर्खनु नपर्ने व्यवस्था मिलाएका छौं ।

अमेरिकामा रहेका नेपालीले विशेषगरी कागजी प्रक्रिया र कानुनी परामर्शका क्रममा भोग्नुपर्ने झन्झटलाई सम्बोधन गर्न महावाणिज्य दूतावासले कसरी समन्वय गरिरहेको छ ?

महावाणिज्य दूतावासले यहाँ बसोबास गर्ने नेपालीहरूलाई राहदानीलगायतका कागजात समयमै नवीकरण गर्न समुदायमा हुने कार्यक्रमहरूमार्फत अनुरोध गर्दै आएको छ । यसले कानुनी जटिलता कम गर्छ । हामीले स्थानीय र राज्य सरकारका पदाधिकारीहरूसँगको भेटमा महत्त्वपूर्ण सूचनाहरू नेपाली भाषामा समेत उपलब्ध गराउन र नेपाली समुदायसम्म पहुँच बढाइदिन अनुरोध गरेका छौं । नेपाली मूलका कानुन व्यवसायीहरू र स्थानीय मिडियाहरूसँगको सहकार्यमा आगामी दिनमा कानुनी सचेतनाका कार्यक्रमहरू आयोजना गर्ने लक्ष्य राखिएको छ ।

नेपालको पर्यटन क्षेत्रको विकासका लागि न्युयोर्कजस्तो अन्तर्राष्ट्रिय केन्द्रमा अमेरिकी नागरिकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने खालका के कस्ता प्रवद्र्धनात्मक कार्यक्रम तय भएका छन् ?

नेपालका लागि अमेरिका प्रमुख पर्यटकीय स्रोत मुलुक हो । न्युयोर्कका मुख्य पर्यटकीय स्थलहरू (जस्तै– टाइम्स स्क्वायर, पार्क र विश्वविद्यालयहरू)मा नेपालको चिनारी झल्काउने सामग्री प्रदर्शन गर्न आवश्यक छ । नियोगले अमेरिकी ट्राभल एजेन्सीहरूसँग मिलेर ‘नेपाल सेल्स मिसन’ सञ्चालन गर्ने योजना बनाएको छ ।

जनवरी २०२६ मा न्युयोर्कमा आयोजना भएको न्युयोर्क ट्राभल एड्भेन्चर सोमा नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धन गरिएको थियो । जसमा नेपाल पर्यटन बोर्डसहित करिब एक दर्जन एजेन्सीहरू सहभागी थिए । त्यस्तै पाटा न्युयोर्क च्याप्टर र ग्रेटर न्युयोर्क च्याम्बर अफ कमर्सका कार्यक्रमहरूमा पनि हामीले सक्रिय सहभागिता जनायौं । आगामी दिनमा कार्यक्षेत्रका अन्य राज्यहरूमा समेत ‘भिजिट नेपाल’को सन्देशसहित सांस्कृतिक उत्सवहरू आयोजना गरिनेछ ।

नेपालमा वैदेशिक लगानी भित्र्याउन र गैरआवासीय नेपालीलाई आफ्नो पुँजी र सीप मातृभूमिमा भित्र्याउन महावाणिज्य दूतावासले ब्रिज (पुल)का रूपमा कस्तो भूमिका खेलिरहेको छ ?

हामी सदैव ‘लगानी सहजीकरण डेस्क’का रूपमा काम गरिरहेका छौं । गत जुलाई र अगस्टमा आयोजित अन्तरक्रियामा अमेरिकाबाट नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी लैजाने र सेवा निर्यात बढाउने विषयमा गहन छलफल भयो । नेपाली डायस्पोराका उद्यमी र पेसाकर्मीहरूसँग नियोग निरन्तर सम्पर्कमा छ । हामी डायस्पोराको लगानीका लागि उत्प्रेरकका रूपमा काम गरिरहेका छौं ।

न्यूयोर्कबाहिरका राज्यहरु जस्तै– कनेक्टिकट, न्युजर्सी, पेन्सिलभेनियामा रहेका नेपालीलाई सेवा लिन न्युयोर्क नै धाउनुपर्ने बाध्यतालाई कम गर्न के कस्ता वैकल्पिक उपाय अपनाइएको छ ?

हामीले हालै कनेक्टिकट र म्यासाच्युसेट्समा घुम्ती शिविर सञ्चालन गरी ५०० भन्दा बढीलाई सेवा प्रदान ग¥यौं । निकट भविष्यमा न्यू ह्याम्पसायर, पेन्सिलभेनियालगायतका क्षेत्रमा पनि ‘मोबाइल कन्सुलर सेवा’ लैजाने योजना छ । धेरैजसो सेवाहरू हुलाकमार्फत नै सम्पन्न हुने हुँदा भौतिक उपस्थिति अनिवार्य भएका सीमित कामका लागि मात्र सेवाग्राही न्युयोर्क आउनुपर्ने व्यवस्था मिलाइएको छ ।

अमेरिकामा हुर्किरहेको नेपाली मूलको दोस्रो पुस्तालाई नेपालको भाषा, संस्कृति र पर्यटनसँग जोड्न महावाणिज्य दूतावासले के कस्ता विशेष कार्यक्रम बनाएको छ ?

दोस्रो पुस्ताका बालबालिकालाई नेपाली भाषा, कला र संस्कृति सिकाउने सामुदायिक प्रयासहरूलाई हामीले प्रोत्साहन गरिरहेका छौं । आगामी दिनमा स्थानीय संस्थाहरूसँग मिलेर ‘समर क्याम्प’ वा कार्यशालाहरू सञ्चालन गर्ने र ‘हेरिटेज टुर’मार्फत उनीहरूलाई आफ्नो जरासँग जोड्ने परिकल्पना गरिएको छ ।

यो सामग्री खसोखासको १४ औं वार्षिकोत्सव विशेषांकमा प्रकाशित सामग्री हो । डिजिटल संस्करणमा यो सामग्री पढ्न यहाँ क्लिक गर्नुहोला।

यस संस्करणको हार्डकपी नि:शुल्क प्राप्त गर्न क्लिक गर्नुहोस्। (नोट: १६८ पृष्ठको यो विशेष अंक करिब एक पाउन्ड तौलको भएकाले डेलिभरी शुल्क भने पाठक स्वयंले ब्यहोर्नुपर्नेछ।)





Source link

Leave a Comment