अमेरिकामा नारायण श्रेष्ठले वर्षौंपछि चलाएको ‘साहित्य सवाल’


News Summary

Generated by OK AI. Editorially reviewed.

  • अमेरिकाको कोलोराडोमा आयोजित नवौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा पूर्वप्रस्तोता नारायण श्रेष्ठको सहजीकरणमा साहित्य सवाल बहस कार्यक्रम सम्पन्न भएको छ।

कलरफूल कोलोराडो । सातै रङ मिसिएको इन्द्रेणीजस्तो । वसन्त ऋतुमा बाटैभरि फूलेका थरीथरीका फूल । हरियाली बुट्यान रुखले सजिएको सडक । आफ्नै रफ्तारमा चलिरहेका गाडी । अनि सिधा देखिने रक्की माउन्टेन हिमाल ।

कोलोराडोको आकाश थामेको डेनभर र इतिहास लेखेको बोल्डरको दोभानमा छ, वेष्टमिनिस्टर । ड्ररी होटलको सभाहल । बाहिर मौसम सफा छ । भित्र शान्त देखिने सभाहलका प्रत्येक अनुहार मञ्चतिर सोझिएका छन् । वर्षौपछि साझा सवालका चर्चित प्रस्तोता नारायण श्रेष्ठ माइक समातेर प्रस्तुत हुँदैछन् । उनको दायाँतिरको कुर्सीमा क्रमश छन्– सुधीर शर्मा, निलम कार्की निहारिका र बसन्त बस्नेत ।

मञ्चको अघिल्तिर क्यामेरा खोलिएका आइफोन ठडिएका छन् । मोबाइल गोजीमा राखेकाहरू कान खोलेर बसेका छन् । आँखाका नानी ठूला पारेका छन् । अमेरिकामा यतिबेला साझा सवालको नयाँ श्रृंखला रेडर्क हुँदै छैन । जेन्जी आन्दोलनपछि ३६० डिग्रीमा घुमेको नेपाली राजनीति, नयाँ संसद् र बालेन सरकारको सुरुवाती चरणको बहस पनि हुँदै छैन ।

यहाँ केवल साहित्यिक मनहरू छन् । नेपाली साहित्यका चर्चित लेखक र पत्रकार छन् । अनि नेपाली मिडियाका फ्रन्टलाइनर कमान्डर पनि । जो पछिल्लो समय लेखकका रूपमा बढी परिचित छन् ।

साहित्यिक मनहरूसँग आफ्नो साझा सवाल प्रस्तुतीमा नोस्टाल्जिक बन्न बोस्टनबाट कोलोराडो आइपुगेका हुन्, नारायण श्रेष्ठ । अनि नर्थ क्यारोलिनाबाट उडेर डेनभर झरेकी हुन्, निलम कार्की निहारिका । मदन पुरस्कार जितेकी ‘योगमाया’ की लेखक नयाँ कृति ‘राजमाता’ बोकेर मञ्चमा बसेकी छिन् ।

नारायण श्रेष्ठसँग ‘साहित्य सवाल’ गर्न नेपालबाट आयोजक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले बोलाएका वक्ता हुन्, सुधीर शर्मा र बसन्त बस्नेत । कान्तिपुरमा प्रधानसम्पादक हुँदा सुधीर शर्माले बेलाबेला बीबीसी नेपाली सेवामा नेपालको बदलिंदो राजनीतिक घटनाक्रमहरूबारे अन्तर्वार्ता दिन्थे ।

यद्यपि बीबीसीमै नारायण श्रेष्ठ र सुधीर शर्माको दोहोरो अन्तर्वार्ता सायद नभएको हुनुपर्छ । कम्तीमा साझा सवाल चाहिँ भएन नै । त्यसैले यो साहित्य सवाल साझा सवालकै छुटेको एक अंशको रूपमा हेरियो ।

‘बेस्टसेलर’ पुस्तक ‘प्रयोगशाला’का लेखक शर्मा नेपालको राजनीतिलाई नजिकबाट नियालेर निष्कर्ष सुनाउन सक्ने प्रष्ट व्यक्ति हुन् । सुधीर शर्माको लिगेसी बोकेका अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेत अर्का प्रखर वक्ता हुन् ।

‘सबैलाई नमस्कार । म नारायण श्रेष्ठ’, उनी बोले । मानौँ, साझा सवाल कार्यक्रमको प्रसारण सुरु भयो । तर हामी लाइभमै छौँ । त्यो कल्पनामा कम्तीमा हराउनु परेन ।

अनि वक्ताहरूसँग बहस गर्नुअघि पहिलो भेटबारेको प्रसंग निकाले । यो उनको कार्यक्रम सञ्चालन गर्ने रोचक शैली हो । छेउमै बसेका सुधीर शर्मासँग अस्पतालमा पहिलो भेट भएको सम्झिए । आफूले लेखेको लेख कान्तिपुरमा छाप्न पठाउँदा अस्पतालमा भेट भएका शर्माले च्याप्पै समातेपछि ‘तगडा दिमाग’ को संज्ञा दिएका थिए । त्यसै त प्रधानसम्पादक ।

शर्माले पहिलो भेट काठमाडौँको कुनै कार्यक्रममा भएको उल्लेख गरे । आवाजले परिचित भएकाले पहिलो भेट स्मरणमा नरहेको उनले बताए । त्यही प्रसंगको प्रश्न निलम कार्कीकहाँ पुग्यो ।

उनले रेडियो नेपालको ढोकैमा भेट भएको सम्झिइन् । दाहाल यज्ञनिधिसँग मिलेर निलमले रेडियो नेपालमा साहित्य संसार कार्यक्रम चलाउँथिन् । त्यही बेला आँखीझ्याल कार्यक्रमको नयाँ सामग्री जुटाउन नारायण श्रेष्ठ रेडियो नेपाल पुगेको प्रसंग निस्कियो ।

साहित्य, पत्रकारिता, कार्यक्रम प्रस्तोता र लेखनका आइकनहरूबीचमा गरिएको यो बहसले साहित्यमा पाइला राखेका युवाहरूलाई पनि ठूलो प्रेरणा मिलेको छ ।

सन् २००७ मा अमेरिका आएकी निलमले २० वर्षअघि नै नारायण श्रेष्ठसँगको पहिलो भेटको पोको फुकाइन् । रेडियो नेपालको स्टुडियोदेखि रंगमञ्चमा प्रस्तुत गरिएका कवितासम्म । चर्चित प्रस्तोता र लेखक हुनुअघि दुवै जना कवि थिए । आ–आफ्ना सम्झना साटे । सात समुन्द्र पारीबाट निलमले त्यो पल सम्झिँहदै नाटककार सुनिल पोखरेल र घिमिरे युवराजको नामै लिइन् । सम्झना सुनाइन् ।

बसन्त बस्नेतलाई पहिलो भेटको प्रसंग सोध्नुअघि श्रेष्ठले ‘महाभारा’ र ‘सिमसारा’ पुस्तकको लेखक भनि परिचय दिएका थिए । अहिलेका उम्दा लेखक तथा प्रधानसम्पादक बस्नेतको लेखनमा आफू चुर्लुम्मै डुबेको प्रसंग श्रेष्ठले निकाल्दा उल्टै ‘सरप्राइज्ड’ जवाफ पाए ।

‘तपाईँको साझा सवाल कार्यक्रममा म विद्यार्थी हुँदाको बेला इलामको चियाबारीमा पुगेर एउटा बाइट दिएको छु’ बस्नेतले भने, ‘त्यो बेला तपाईँको साझा सवाल कार्यक्रममा आफ्नो सानो बाइट बज्दा पनि संसारै जितेको महसुस हुन्थ्यो । त्यसैले तपाई मेरो फ्यान हुन जरुरी छैन, म नै तपाईँको फ्यान हो ।’

बस्नेतको जवाफले मख्ख परेका प्रस्तोता श्रेष्ठले आफूहरू केटाकेटी भए लभ परेर प्रेमिल जोडी बनिसक्ने ठट्टा गरे । दुई जनाको ठट्टा सुनेर दर्शकदीर्घाबाट हाँसोको फोहरा छुट्यो ।

अमेरिकामा नारायण श्रेष्ठको साहित्य सवाल सुनिरहँदा हामीलाई लागिरहेको थियो, कतै यो साझा सवालकै साहित्यिक श्रृंखला त होइन ?

होइन । १३ वर्षअघि साझा सवाल छाडेर अमेरिका आइपुगेका नारायण श्रेष्ठले त्यसपछि कुनै पनि सञ्चारमाध्यममा प्रस्तोता भएर केही सवाल उठाएका छैनन् । त्यही भएर पनि आयोजकले नवौं अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा चासोका साथ नारायण श्रेष्ठलाई कोलोराडो बोलाएर रोचक सेसन जिम्मा लगाइएको हो ।

अब आख्यानमा इतिहासको कुरा

भदौँ २३ र २४ गतेको जेन्जी आन्दोलनले फेरि एकपटक सुधीर शर्माको ‘प्रयोगशाला’ पुस्तक बिकायो । ‘प्रयोगशाला’ पुस्तकमा शर्माले नेपालको राजनीतिमा ‘दिल्ली–दक्षिण’ दिशाको गहिराइ नापेका छन् ।तर शर्माका पछिल्ला पुस्तक ‘हिमालपारीको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’ले नेपाली राजनीतिको अर्को पाटो पल्टायो । त्यो हो, ‘उत्तर–दिशा’ ।

नेपाली राजनीतिमा ‘सिमाना लेखक’को परिचयसमेत बनाएका शर्माले जति गहिरोसँग ‘दक्षिण–दिशा’ देखाए । त्यही नै मेहनत गरेर ‘उत्तरी–सीमा’को इतिहास कोट्याए । जहाँ राजनीतिभन्दा बढी भिक्षु, व्यापार र नेपालभित्र पनि एक समय उत्कर्षमा पुगेको खम्पा विद्रोहको कथा छ ।

प्रस्तोता श्रेष्ठले शर्मालाई कुरोको यही चुरो निकाल्दै सोधे, ‘ठ्याक्कै आख्यानमै यो दुई वटा पुस्तक लेख्नुको कारण के हो ?’

‘इतिहास दुर्लभ हुन्छ । दुर्लभ कुरा जटिल पनि हुन्छ’ शर्माले भने, ‘जटिल कुरा पढ्न सहज होस् भनेर आख्यानमा लेखेको हुँ । जहाँ धेरै पात्र आउँछन् । जान्छन् पनि । तर इतिहास रहिरहन्छ । त्यो इतिहास जाने पछि मात्रै भविष्य बुझ्न सकिन्छ । तर इतिहास पढ्दा निरस नहोस् भनेर विद्यार्थीले पनि बुझ्ने गरी आख्यानमा लेखेको हुँ ।’

सारमा भन्दा शर्माका पछिल्ला दुई पुस्तकमा १५०० वर्षअघिको इतिहास छ । जतिबेला भारत र चीन दुई फरक साम्राज्यमा सामेल थिए । त्यो बेला नेपालजस्तो सानो तर सामरिक महत्वको देश कसरी जोगियो ? कसले जोगायो ? इतिहासमा नेपाली शासकले खेलेको भूमिका बिर्सिन मिल्दैन ।

शर्मा अगाडि भन्छन्, ‘नेपाल अहिलेजस्तो गरिब पनि थिएन । त्यो बेला उत्तर–दक्षिणका विशाल देशलाई जोड्न नेपालले राम्रो व्यापार गरेको थियो । चीन र भारतको व्यापारिक सीमा नाका भएका कारण नेपाल त्यो बेला राम्रो आर्थिक अवस्थामा थियो । यो इतिहास सुरक्षित हुनुपर्छ भनेर लेखेको हुँ ।’

समग्रमा आख्यानमा राम्रो इतिहास पढ्न पाइन्छ । प्रस्तोता श्रेष्ठले ‘ब्रिजलाइन’ दिएर भने, ‘आख्यानमै भएकाले जेन्जी पुस्ताले पनि मन पराउने खालका पुस्तक तपाईँले लेख्नुभएको छ ।’

पालो निलम कार्की निहारिकाको

उनले सुरुमै सुधीर शर्माप्रति आभार प्रकट गरिन् । ‘राजमाता’ पुस्तक लेख्दा कतिपय तथ्य शर्माको ‘भिक्षु, व्यापार र विद्रोह’ पुस्तक पढ्दा थाहा पाएको उल्लेख गरिन् ।

प्रस्तोता श्रेष्ठको प्रश्न थियो, ‘इतिहासमा कति आख्यान छ ?’

यस विषयमा निहारिकाले लामो अध्ययन गरेकी छिन् । तर राजमाता लेख्दा फेला परेका तथ्य केलाउँदै इतिहासमा आख्यानभन्दा बढी इतिहास नै तोडमोड गरेका प्रसंग उनले ल्याइन् । अनि इतिहासमा महिलाहरूको योगदानलाई अवमूल्यन गरिएकोमा असहमति पनि जनाइन् ।

‘राजमाता पुस्तक लेख्ने बेलामा मकवानपुर दरबारमा जाने अवसर मिलेको थियो । जुन अहिले भग्नावशेषको रूपमा छ । त्यो भग्नावशेषमा सिसाभित्र राखिएको एउटा ताम्रपत्र छ । जहाँ लेखिएको छ, पृथ्वीनारायण शाह दूरदर्शी थिए । उनी नेपाल एकीकरण गर्न चाहन्थे । त्यसका लागि मकवानपुर धनी राज्य भएकाले मकवानपुरबाटै बिहे गरेका हुन् ।’

‘१४ वर्षको उमेरमा पृथ्वीनारायण शाहले बिहे गर्दा कसको हात थियो ? उनकी आमाको वा गुरु पुरोहितको ?’ उनले इतिहास कोट्याउँदै अगाडि भनिन्, ‘राज्य सञ्चालनमा राजाको जति हात छ, कहीं न कहीं रानी वा महिलाको पनि हात छ । त्यो कुरा इतिहासमा लेखिएन । केवल पृथ्वीनारायण शाहको मात्रै इतिहास लेखियो । त्यसैले इतिहास लेख्दा धेरै अध्ययन, खोज गरेर सच्याउन जरुरी छ ।’

उनीबाट इतिहासकै कुरा सच्याउनुपर्ने जवाफ पाएपछि प्रस्तोता श्रेष्ठले सुधीर शर्मातिर प्रश्न तेर्स्याए ।

निलमले भनेजस्तै इतिहास लेखनमा केही कमजोरी रहेको शर्माले बताए । उनले एक जना ब्रिटिस इतिहासकारको उदाहरण दिँदै नेपालका विश्वविद्यालयमा अहिले पनि गलत इतिहास पठनपाठन भइरहेको टिप्पणी गरे ।

‘नेपालमा एक जना ब्रिटिस कर्ड प्याट्रिक अवलोकनका लागि काठमाडौं आएका थिए । उनी १५ दिनका लागि आउँदा जे देखे, त्यही लेखे । १५ दिनमा उनले देखेको कुरा कति सत्य, तथ्यमा आधारित थियो भनेर त्यसको सोधीखोजी भएको छैन । विश्वविद्यालयमा अहिलेसम्म पनि त्यो हाम्रो पहिलो इतिहास भनेर पढाइन्छ । जुन गलत छ’ उनले भने, ‘यस्ता धेरै कमजोरीले गर्दा हाम्रो इतिहास लेखन कमजोर छ । इतिहास सच्याउन र पुनर्लेखन गर्न आख्यानको माध्यमबाट सजिलो हुने भएकाले पनि यसको अर्थ महत्वपूर्ण छ ।’

शर्माले महेशराज पन्त, दिनेशराज पन्त, धन बज्राचार्य, गौतम बज्राचार्य, ज्ञानमणि नेपाल लगायत इतिहासकारले संशोधन मण्डल बनाएर इतिहास सच्याएको पनि उल्लेख गरे । तर अहिले पनि धेरै स्रोत हुँदाहुँदै इतिहास खोज, अध्ययन र लेखनको काम पर्याप्त हुन नसकेको टिप्पणी गरे ।

कार्की र शर्माको गहन विश्लेषणपछि प्रस्तोता श्रेष्ठ अहिलेका उम्दा लेखक तथा प्रधानसम्पादक बसन्त बस्नेतको जवाफ खोज्न लागे ।

प्रश्न थियो, ‘वर्तमान अवस्थाको पत्रकारिता र साहित्यको दृष्टिकोणबाट इतिहासमा आख्यान कति सही ? कति गलत ?’

बस्नेतले यसलाई ‘इमोस्नल ट्रुथ’को संज्ञा दिए । अर्थात भावनात्मक सत्य ।

किनकि जति पनि इतिहास लेखिए, ती इतिहासकार आफैँले देखेका थिएनन् । जुन कुरा इतिहासकारलाई सुनाइयो, त्यो पनि अरू कसैले सुनाएको थियो । त्यसैले सुनिदै आएका तथ्यमा धेरै भावनात्मक पक्ष इतिहासमा समेटिएको उनले उल्लेख गरे ।

उनले कवि भूपी शेरचनको एक लाइन सम्झिँदै भने ‘पढ्न त पढ्छु म इतिहासकारहरू । तर भर पर्छु म गाइनेहरूको ।’

पृथ्वीनारायण शाहको इतिहास, जंगबहादुर राणाको इतिहास, पछिल्लो १० वर्षे सशस्त्र द्वन्द्वको इतिहासमा केवल संख्या र सत्य मात्रै नभई भावनात्मक पक्षसमेत ख्याल गरेर इतिहास लेखिनुपर्नेमा उनले जोड दिए । नेपथ्यका गायक अमृत गुरुङले आफ्ना धेरै गीतहरूमा समसामयिक घटनाक्रमलाई जोडेर गीत लेखेको र गाएको कारण पनि गुरुङजस्ता गाइनेहरू वास्तविक इतिहासकार भएको पनि बस्नेतले बताए ।

इतिहासमा आख्यानको प्रसंगमा मोटामोटी बहस चलिरहँदा डायस्पोरामा बसेर लेख्नुका चुनौति र सुख दुःखको कुरा आयो । नारायण श्रेष्ठले यो प्रश्न निहारिकालाई गरे । त्यसमाथि पछिल्लो समय चर्चा र प्रचारका लागि विदेशमा बसेर लेखिने साहित्यमा गुणस्तरको प्रश्न उठिरहेको प्रसंग पनि श्रेष्ठले उप्काए ।

‘संख्यात्मक र गुणात्मकको प्रश्न अहिले विदेशमा बस्ने लेखकमा मात्रै होइन, स्वदेशमै बसेका लेखकमाथि पनि उठिरहेको छ’ निहारिकाले भनिन्, ‘लेखिएका सबै कृति र साहित्य गुणात्मक हुँदैन । खोजेर लेख्नु, लेखेर कृति प्रकाशित गर्नु र पाठकलाई नयाँ कुरा पस्किनु आफैँमा ठूलो चुनौति हो ।

यसमा कसैलाई पनि दोष दिएर कोही उम्किनु हुँदैन । त्यसमा निरन्तर लेखिरहेका लेखक तथा साहित्यकारको साधनामाथि अन्याय गर्नु हुँदैन । उनीहरूलाई हतोत्साहित गर्न मिल्दैन ।’

उनको जवाफमा सही थाप्दै दर्शकदीर्घाबाट गडगडाहाट ताली बज्यो ।

उनले आफ्नो आजसम्मको लेखन, पाठकको रोजाइ र साहित्यमा आफूले गरेको योगदानमा श्रीमानको साथ रहेको भन्दै कृतज्ञता प्रकट गरिन् । कार्यक्रममा समय घर्किदै गयो ।

पछिल्लो समय संसार आधुनिक र डिजिटल संसारमा दौडिरहेको छ । डिजिटिल मिडियामा पनि प्रविधिको सबैभन्दा उत्कृष्ट अभ्यासहरू चलिरहेका छन् । यस्तो अवस्थामा इतिहासको खोज, लेखन, पठन र प्रस्तुतीकरणमा चुनौति थपिएको कार्यक्रमका प्रमुख वक्ता शर्माको भनाइ रह्यो ।

‘अहिले विश्वभरको मिडिया नै ट्रान्जिसन फेजमा चलिरहेको छ । यस्तो अवस्थामा लेखन र पठनको कुरा चुनौतिपूर्ण छ । यद्यपी यो क्रम चलिरहन्छ’ उनले भने, ‘भाषा, माध्यम र शैली फेरिने भए पनि नयाँ पुस्तालाई इतिहासको खोज तथा अध्ययनमा लगाउनु चिन्ता र चुनौतिको विषय बन्न सक्छ । यसका लागि पाठ्यक्रममै राम्रोसँग सरकारले मेहनत गर्नुपर्छ । त्यसमाथि नेपाली भाषाको पठनपाठन झनै आवश्यक छ ।’

झण्डै ९० मिनेटको यो बहसले नेपाली साहित्यको इतिहास र आख्यानमा गहिरो अध्ययनको आवश्यकता औँल्यायो । सरल भाषामा सोझै प्रश्न सोध्ने नारायण श्रेष्ठको शैलीले फेरि एकपटक अमेरिकामा साझा सवालको झल्को मेटायो । साहित्यको बहस चलाउँदा पनि वक्ताहरूका अधिकांश कृति पढेर त्यसमाथि गहन छलफल गराउनु उनको बलियो पक्ष रह्यो ।

अमेरिकामा नारायण श्रेष्ठले वर्षौंपछि चलाएको ‘साहित्य सवाल’

वक्ताहरू समकालीन भएका कारण पनि सहजकर्ताका प्रश्न, उत्तर, जिज्ञासा र नेपाली साहित्यको वर्तमान अवस्था समेटिन सहज भयो । अन्तिमतिर अनेसासका अध्यक्ष सर्वज्ञ वाग्लेले नेपाली डायस्पोराको इतिहास, अध्ययन तथा खोजका लागि वक्ताहरूसँग आग्रह गरेका थिए ।

नेपालमा साझा सवाल सुनेर हुर्किएका पंक्तिकारका लागि पनि यो साहित्य सवाल एउटा उत्साह र प्रतिक्षाको सेसन बनेको थियो । त्यसमाथि नाम चलेका पत्रकार, लेखक र साहित्यकार वक्ता रहेको यो सेसन समग्र सम्मेलनकै मुख्य आकर्षण बन्यो ।

यही सेसनले पहिलो पटक नेपाली डायस्पोरामा इतिहास, आख्यान र साहित्यको बेजोड भूमिकामाथि विमर्श चलायो । साहित्य, मिडिया र पत्रकारिता एकअर्काका परिपूरक भए पनि त्यसको तालमेल विदेशमा आयोजना हुने कार्यक्रममा न्युन थियो । यसपटक त्यो तलतल मेटिएको छ ।

साहित्य, पत्रकारिता, कार्यक्रम प्रस्तोता र लेखनका आइकनहरूबीचमा गरिएको यो बहसले साहित्यमा पाइला राखेका युवाहरूलाई पनि ठूलो प्रेरणा मिलेको छ ।

कम्तीमा अबका दिनहरूमा विभिन्न महादेशमा छरिएर रहेका नेपाली साहित्यका पारखीहरूले विदेशको सुख दुःख आफ्नै शैलीमा, आफ्नै कृतिमा मात्रै लेख्दै गएमा पनि कुनै न कुनै दिन त्यो इतिहासकै रूपमा सुरक्षित हुनेछ । किनकि आख्यानमा लेखिएको इतिहासको पठन झन् मिठासपूर्ण हुन्छ ।





Source link

Leave a Comment