न्यूयोर्कमा आइस अधिकारीको आलोचना गर्नेहरूमाथि सङ्घीय एजेन्टको निगरानी



प्रकाशित मिति : १७ असार २०८३, बुधबार

न्यूयोर्कमा आइस अधिकारीको आलोचना गर्नेहरूमाथि सङ्घीय एजेन्टको निगरानी

फोटो: होमल्याण्ड सेक्युरिटी

अमेरिकामा आइसको आलोचना गर्दै अनलाइनमा अभिव्यक्ति दिएको भन्दै सङ्घीय अधिकारीहरूले आफूलाई चेतावनी पत्र थमाएको न्यूयोर्कका अर्का एक नागरिकले मंगलबार बताएका छन्।

रोचेस्टर निवासी डेभिड स्ट्रिभरका वकिलका अनुसार, स्ट्रिभर फिनल्याण्डको भ्रमणमा रहेका बेला गत हप्ता दुई जना अधिकारीहरू उनको घरमा पुगेका थिए। ती अधिकारीहरूले स्ट्रिभरकी श्रीमतीलाई एउटा चेतावनी नोटिस दिँदै उनले महिनौँ पहिले पठाएको एउटा इमेल ‘धम्कीपूर्ण’ भएको जानकारी गराएका थिए।

गत जनवरीमा एउटा प्रदर्शनका क्रममा अध्यागमन अधिकारीले मिनियापोलिसका बासिन्दा रेनी गुडलाई गोली हानी हत्या गरेपछि, स्ट्रिभरले आइसका तत्कालीन कार्यवाहक निर्देशक टोड लायन्सलाई इमेल पठाएका थिए। उक्त इमेलमा स्ट्रिभरले लायन्सलाई “एक क्रूर मानव” भन्दै “उनले कहिल्यै शान्ति पाउने छैनन्” भनी लेखेका थिए।

सिरक्युसकी चुनावी कार्यकर्ता पेज्लिन गोन्याले पनि न्यूयोर्कको प्राथमिक निर्वाचनका क्रममा मतदानस्थलमै दुई जना सङ्घीय अधिकारीहरू आएर आफूलाई सोधपुछ गरेको बताएकी थिइन्। उनीहरूले गोन्यालाई आइस अधिकारीले गुडमाथि चलाएको गोलीबारे सामाजिक सञ्जालमा लेखेको पोष्टलाई लिएर सोधपुछ गरेका थिए। स्ट्रिभरले पाएको चेतावनी पनि ठ्याक्कै त्यही हप्ता आएको हो।

स्ट्रिभरका तर्फबाट वकालत गरिरहेका ‘फाउन्डेसन फर इन्डिभिजुअल राइट्स एण्ड एक्सप्रेसन’ का वकिल एडम स्टिनबगका अनुसार, स्ट्रिभर फिनल्याण्डबाट फर्केपछि सङ्घीय एजेन्टहरूले न्यूयोर्क शहरको एउटा होटलमा समेत उनीसँग कुरा गर्ने प्रयास गरेका थिए। तर होटलका कर्मचारीहरूले उनीहरूलाई भित्र पस्न दिएनन्।

न्यूयोर्कमा आइस अधिकारीको आलोचना गर्नेहरूमाथि सङ्घीय एजेन्टको निगरानी

स्टिनबगका अनुसार स्ट्रिभरले इमेलमा लेखेका थिए, भिडियोहरूमा स्पष्ट रूपमा देखिएको मिनेसोटाको हत्याकाण्डलाई तपाईंले जसरी संरक्षण गरिरहनुभएको छ, त्यसले तपाईंको पतन निम्त्याउनेछ। अन्तमा ट्रम्पले समेत तपाईंको साथ छाड्नेछन् र तपाईं आफ्नै कमजोरीमा लाज मान्दै छटपटाउने एक दुःखी र घृणित मानिस बन्नुहुनेछ।

यस विषयमा चलिरहेको अनुसन्धानको हवाला दिँदै आइसका प्रतिनिधिहरूले कुनै पनि टिप्पणी गर्न अस्वीकार गरे। यद्यपि, एजेन्सीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, आइसले आफ्ना कर्मचारी र अधिकारीहरू विरुद्ध आउने हरेक विश्वसनीय धम्कीहरूको अनुसन्धान गर्दछ।

वकिल स्टिनबगले भने उक्त इमेल अभिव्यक्ति स्वतन्त्रताको दायराभित्र पर्ने तर्क गरेका छन्। वास्तविक धम्की भनेको हिंसा गर्ने गम्भीर मनसाय व्यक्त गर्नु हो। यो इमेल त्यस्तो कतैबाट पनि देखिँदैन, स्टिनबगले भने। यो विशुद्ध राजनीतिक अभिव्यक्ति र सरकारसमक्ष आफ्नो असन्तुष्टि राख्ने अधिकार हो।

स्ट्रिभरले एक विज्ञप्तिमा भनेका छन्, धेरै अमेरिकीहरू जस्तै मिनेसोटाको गोलीकाण्डले मलाई पनि निकै मर्माहत बनाएको थियो र मलाई केही गर्नैपर्छ भन्ने लाग्यो। आइसका प्रमुखलाई पत्र लेख्नु मे्रो आक्रोश व्यक्त गर्ने सामान्य प्रयास थियो। तर यसले गर्दा सङ्घीय अधिकारीहरू मे्रो ढोकामै आइपुग्छन् भन्ने मैले कहिल्यै सोचेको थिइनँ।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेकुरिटीलाई स्ट्रिभरले अहिलेसम्म कुनै सम्पर्क गरेका छैनन् र भविष्यमा पनि गर्ने कुनै योजना नरहेको उनका वकिलले बताए।

चुनावी कार्यकर्ता गोन्याको हकमा भने, उनले जनवरीमा सामाजिक सञ्जालमा राखेको एउटा पोष्टका कारण चेतावनी दिइएको विश्वास गरिएको छ। गोन्याले गुडलाई गोली हान्ने आइस अधिकारी जोनाथन रसको तस्बिर राख्दै लेखेकी थिइन्, मलाई लाग्छ आज जोनाथनमाथि मुद्दा चलाउनका लागि उपयुक्त दिन हो। मिडियाले रसको पहिचान खुलाएपछि गोन्याले यो पोष्ट गरेकी थिइन् र यो पोष्ट अझै पनि अनलाइनमा छ।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेकुरिटीकी प्रवक्ता लरेन बिसले गोन्याको अर्को एउटा सामाजिक सञ्जाल पोष्टको तस्बिर सार्वजनिक गरेकी छन्, जसमा गोन्याले अधिकारी रसको घरको ठेगाना सार्वजनिक गरेको दाबी गरिएको छ। उक्त पोष्टको केही भाग लुकाइएको  छ।

बिसले गत हप्ता एक विज्ञप्तिमा भनिन्, गोन्याले आइस कानुन प्रवर्तन अधिकारीको ठेगाना अनलाइनमा राखेर सङ्घीय अपराध गरेकी छन्। यदि तपाईंले हाम्रा अधिकारीहरूको व्यक्तिगत विवरण सार्वजनिक गर्नुभयो भने, हामी अनुसन्धान गर्नेछौँ र तपाईंलाई कानुनी कठघरामा उभ्याइनेछ।

न्यूयोर्कको महान्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले कार्यालय यी दुई नागरिक र सङ्घीय एजेन्टहरूबीचको घटनाबारे सचेत रहेको बताएका छन्। प्रतिनिधिले मतदानस्थलमा गोन्या र सङ्घीय एजेन्टहरूबीच भएको कुराकानीको समीक्षा भइरहेको जानकारी दिए।

अधिकारवादीहरूले यी घटनाहरूलाई सङ्घीय कानुन प्रवर्तन निकायले नागरिकको गोपनीयता र अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गरेको उदाहरणका रूपमा लिएका छन्। एसीएलयुको ‘स्पीच, प्राइभेसी एण्ड टेक्नोलोजी प्रोजेक्ट’ का उपनिर्देशक नाथन फ्रिड वेस्लरले अमेरिकी संविधानको पहिलो संशोधनले सरकारी अधिकारीहरूको आलोचना गर्ने अधिकार ग्यारेन्टी गरेको बताए।

सरकारको कार्यप्रति केवल निराशा र विरोध जनाउँदै इमेल पठाएको बदलामा कसैलाई पनि सङ्घीय एजेन्टहरूले उसको घर वा होटलको कोठासम्म पछ्याउनु हुँदैन, वेस्लरले भने। यो शक्तिको दुरुपयोग हो र अमेरिकीहरूको संवैधानिक रूपमा सुरक्षित अभिव्यक्ति स्वतन्त्रतालाई दबाउने एउटा गम्भीर प्रयास हो।





Source link

Leave a Comment