एआईले विस्थापित गरेका कर्मचारीलाई किन पुनः काममा फर्काउँदैछन् ठूला कम्पनीहरू?


आर्टिफिसियल इन्टेलिजेन्सले नै ‘सबै काम गर्न सक्छ’ भन्ने सोचाइ परिवर्तन गर्दै विश्वका ठूला कम्पनीहरूले आफ्ना व्यवसायलाई अघि बढाउन पुनः मानव कर्मचारीहरू भर्ना गर्न थालेका छन्। वित्तीय बजारमा एआईको निरन्तर वृद्धिलाई लिएर लगानीकर्ताहरू चिन्तित भइरहेका बेला यो नयाँ परिवर्तन आएको हो।

अमेरिकी सवारीसाधन निर्माता कम्पनी फोर्ड आफ्नो निर्णय फिर्ता लिने पछिल्लो उदाहरण बनेको छ। स्वचालित प्रणालीहरूले समाधान गर्न नसकेका गुणस्तरसम्बन्धी समस्याहरू हल गर्न फोर्डले सयौँ अनुभवी इन्जिनियरहरूलाई पुनः काममा फर्काएको छ। फोर्डका सवारी हार्डवेयर इन्जिनियरिङका उपाध्यक्ष चार्ल्स पुनले भने, आर्टिफिसियल इन्टेलिजेन्स एउटा उत्कृष्ट उपकरण हो, तर यो त्यति मात्र राम्रो हुन्छ जति यसलाई तालिम दिन प्रयोग गरिएको डाटा राम्रो हुन्छ।

त्यस्तै, कमनवेल्थ बैंक अफ अस्ट्रेलिया  र सफ्टवेयर क्षेत्रको दिग्गज कम्पनी आईबीएमले पनि मानव पूँजीमा ध्यान केन्द्रित गर्न आफ्ना योजनाहरू परिवर्तन गरेका छन्। गत वर्ष सिबीए ले ४० भन्दा बढी ग्राहक सेवा कर्मचारीहरूलाई हटाएर एआई भ्वाइस बट राखेको थियो। तर, उक्त एआई प्रणालीले ग्राहकका समस्याहरू धान्न नसकेपछि कलहरूको संख्या झन् बढ्यो, जसका कारण बैंकले कर्मचारी कटौतीको निर्णय फिर्ता लिन बाध्य भयो।

आईबीएमले पनि आफ्नो मानव संशाधन  कार्यहरू एआईमार्फत प्रतिस्थापन गरेको थियो, जसले ९४% सामान्य अनुरोधहरू त पुरा गर्‍यो, तर बाँकी ६% नैतिक दुविधायुक्त जटिल समस्याहरू हल गर्न सकेन। त्यसपछि, आईबीएमले सन् २०२६ मा अमेरिकामा प्रवेश-स्तरका कर्मचारीहरूको भर्ना तीन गुणा बढाउने योजना घोषणा गर्‍यो।आईबीएमकी मुख्य मानव संशाधन अधिकारी निकेल लामौरेक्सले भनिन्, यदि हामीले प्रवेश-स्तरका कर्मचारीहरूमा लगानी गरेनौँ भने आगामी ३-५ वर्षमा के हुन्छ? नयाँ जनशक्तिको पाइपलाइन नै रित्तिनेछ।

एक अध्ययनका अनुसार एआई प्रयोग गर्ने क्रममा ३९% व्यवसायीहरूले कर्मचारी कटौती गरेका थिए, तर तीमध्ये ५५% ले आफ्नो निर्णय गलत भएको स्वीकार गरेका छन्। विशेषज्ञहरूका अनुसार एआईको नतिजा अस्थिर र त्रुटिपूर्ण हुँदा अन्ततः मानव निगरानीकै आवश्यकता पर्ने गर्दछ, जसले गर्दा कम्पनीहरू अहिले पूर्ण प्रतिस्थापनको सट्टा मानव र एआईबिचको सहकार्यलाई प्राथमिकता दिइरहेका छन्।



Source link

Leave a Comment