विराट राजाको दरबार निर्माण : योजना बनाउँदै, थन्क्याउँदै


विराटनगर–१८ भेडियारीस्थित विराट राजाको दरबार निर्माणको चर्चा चलेको लामो समय भए पनि अझैसम्म दरबार निर्माणको काम अघि बढेको छैन। विराटनगर महानगरपालिका र कोशी प्रदेश सरकारले हरेक वर्षको बजेटमा विराट राजाको दरबार निर्माण र संरक्षणको विषय समावेश गरे पनि काम भने अघि बढ्न सकेको छैन।

विराटनगर महानगरपालिकाले विराट राजाको दरबार निर्माण गर्न गुरुयोजना तयार पारेको छ। तर, गुरुयोजना तयार पारेको आठ वर्ष पुग्न लाग्दासमेत विराट राजाको दरबार निर्माणको काम सुरु भएको छैन। विराट राजाको दरबार निर्माणका लागि उद्योगी सुरेन्द्र गोल्छाको संयोजकत्वमा विराट राजाको दरबार निर्माण समितिसमेत गठन गरिएको थियो। विराटनगर महानगरपालिकाका तत्कालीन मेयर भीम पराजुलीले विराट राजाको दरबार निर्माणको योजना अघि बढाएका थिए। हाल उनी कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री छन्। विराटनगर महानगरपालिकाको मेयर हुँदा अघि बढाएको योजनाले अझै पनि सफलता पाउने सम्भावना देखिएको छैन।

चालु आर्थिक वर्षको कोशी प्रदेश सरकारको बजेटमा पनि विराट राजाको दरबार निर्माण र संरक्षणका लागि बजेट विनियोजन गरिएको उल्लेख गरिएको छ। तर उक्त बजेट कार्यान्वयन हुने हो वा होइन भन्ने संशय नै छ। हुन त कोशी प्रदेश सरकारले यसअघिका बजेटमा पनि विराट राजाको दरबार निर्माणलाई प्राथमिकतामा राख्ने उल्लेख गरेको थियो। बजेट भाषणमा प्राथमिकतामा राखिने भनिए पनि प्रदेश सरकारले कहिल्यै दरबार निर्माणको कामलाई प्राथमिकतामा राखेको देखिँदैन।

विराट राजाको दरबार क्षेत्रमा पुरातत्वविद्हरूले बेला–बेलामा उत्खनन गर्ने र विभिन्न सामग्रीहरू भेटिएको बताउने गरे पनि विराट राजाको दरबारको विषयमा विस्तृत अध्ययन अझै हुन सकेको छैन। यति मात्र होइन, दरबार क्षेत्रमा फेला परेका वस्तुहरूको संरक्षणमा पनि तीनै तहका सरकारले ध्यान पुर्‍याएको पाइँदैन। विराट राजाको दरबार क्षेत्रमा फेला परेका पुराना सामग्रीहरू हाल स्थानीय कमलकिशोर यादवले नै संरक्षण गरेर राखेका छन्।

महाभारतकालीन विराट राजाको दरबार भनिए पनि उक्त स्थानमा कुनै दरबार भने देख्न पाइँदैन। विराट राजाको दरबार कस्तो थियो भन्ने परिकल्पना गरेर नयाँ दरबार निर्माणको योजना बेला–बेलामा चर्चामा आउने गरे पनि नेताहरूले चुनावका बेला भोट माग्ने एजेन्डाबाहेक केही गर्न सकेका छैनन्।

विराट राजाको दरबार क्षेत्र संरक्षण गर्ने, दरबार बनाउने र पर्यटन भित्र्याउनेसम्मका थुप्रै सपना स्थानीय सरकारका प्रमुखहरू, प्रदेश र संघ सरकारका मन्त्रीहरू तथा चुनावमा उठ्ने नेताहरूले जनतालाई देखाउने गरेका छन्। तर, नेताहरूले बाँडेका सपना पूरा गर्नेतर्फ तीनै तहका सरकारले ठोस प्रयास गरेको पाइँदैन। पछिल्ला वर्षमा अझै व्यापक र ठूला सपना नेताहरूले देखाउन थालेका छन्।

विराट राजाको दरबारलाई महाभारत सर्किटसँग जोड्ने, नेपाल र भारतका महाभारतकालीन स्थलहरूमा पर्यटन प्रवर्द्धन गर्ने तथा विश्वभरका पर्यटकलाई आकर्षित गर्ने लगायतका थुप्रै योजना र सपना बाँडे पनि काम भने भाषण गरेजस्तो गरी अघि बढ्न सकेको देखिँदैन। विराट राजाको दरबारलाई जोडेर महाभारत सर्किटको परिकल्पना गरेको प्रदेश सरकारले यसको संरक्षण र पुनर्निर्माणका लागि खासै काम गरेको देखिएको छैन।

यता विराटनगर महानगरपालिका पर्यटन महाशाखाकी अधिकृत इन्दिरा कार्कीले पुरातत्व विभागले उत्खननको काम गरिरहेका कारण महानगरपालिकाले विराट राजाको दरबार क्षेत्रमा कुनै पनि काम नगरेको बताइन्। उनले राजाको दरबार बनाउने विषयमा महानगरपालिकाले कुनै काम गरेको आफूलाई जानकारी नभएको दाबी गरिन्। विराट राजाको दरबार क्षेत्रमा मेला लगाउनसमेत पुरातत्व विभागले रोक लगाएको उनले जानकारी दिइन्।

चालु आर्थिक वर्ष २०८२/०८३ मा विराटनगर महानगरपालिकाले १० लाख रुपैयाँ बजेट छुट्याएको बताउँदै कार्कीले पुरातत्व विभागले रोक लगाउँदा उक्त बजेट पनि खर्च नभएको बताइन्। चालु आर्थिक वर्षको बजेट खर्च नभएपछि आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि पनि महानगरपालिकाको पर्यटन शाखाले विराट राजाको दरबारका लागि बजेट विनियोजन नगरेको कार्कीले स्पष्ट पारिन्।

उनले भनिन्, “पहिले छुट्याएको बजेट खर्च नभएका कारण आगामी आर्थिक वर्षका लागि महानगरको पर्यटन महाशाखाले बजेटको व्यवस्था गरेको छैन।”

विराट राजाको दरबार क्षेत्रको पुरातत्व विभागले पटक–पटक उत्खनन र अध्ययन गरेको छ। यस क्षेत्रमा विदेशी विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले समेत अध्ययन गरेका थिए। २०७७ सालमा बेलायती विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यस क्षेत्रको अध्ययन गरेका थिए। दुराम युनिभर्सिटी लन्डनका आर्कियोलोजिस्ट र फिजियोलोजिस्टले यस क्षेत्रको सर्वेक्षण गरेका थिए। दुराम युनिभर्सिटी यूकेका जियोलोजिस्ट डाक्टर मार्क म्यानुअल र आर्कियोलोजिस्ट डंकन हेले अत्याधुनिक उपकरण प्रयोग गरी दरबार क्षेत्रको सर्वेक्षण गरेका थिए। स्याटलाइटको सम्पर्कमा रहेको उपकरण प्रयोग गरी जमिनको तीन मिटर गहिराइसम्मको अवस्था पत्ता लगाइएको थियो। यता कोशी प्रदेश सरकारले भने विराट राजाको दरबारको विषयमा डकुमेन्ट्री बनाउने र प्रवर्द्धनात्मक काम मात्रै गरेको मन्त्रालयका उपसचिव कृष्णकुमार न्यौपानेले बताए।

यस्तो छ विराट राजाको दरबारको पौराणिक महत्व

नेपालको औद्योगिक राजधानीका रूपमा परिचित विराटनगरको दक्षिणी क्षेत्रमा रहेको विराट राजाको दरबार क्षेत्र महाभारतकालीन मत्स्य राज्यका राजा विराटको राजधानी रहेको विश्वासका कारण देश–विदेशका इतिहासकार, पुरातत्वविद् तथा धार्मिक पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ। यद्यपि यो स्थल नै महाभारतकालीन राजा विराटको वास्तविक दरबार हो भन्ने वैज्ञानिक प्रमाण हालसम्म प्राप्त भएको छैन। तथापि यहाँ भेटिएका पुरातात्त्विक अवशेष, स्थानीय जनविश्वास र ऐतिहासिक अध्ययनका आधारमा यो क्षेत्र नेपालको महत्वपूर्ण सांस्कृतिक सम्पदामध्ये एक मानिन्छ।

महाभारतमा उल्लेख भएअनुसार पाण्डवहरूले १२ वर्षको वनवास पूरा गरेपछि एक वर्ष अज्ञातवास मत्स्य राज्यका राजा विराटको दरबारमा बिताएका थिए। धर्मराज युधिष्ठिर कंक नामका राजसभाका सल्लाहकार, भीम बल्लभ नामका भान्से, अर्जुन बृहन्नलाका रूपमा राजकुमारी उत्तरालाई नृत्य र संगीत सिकाउने शिक्षक, नकुल अश्वपाल, सहदेव गोपाल तथा द्रौपदी सैरन्ध्रीका रूपमा रानी सुदेष्णाकी सेविकाको भूमिकामा बसेका थिए। यही दरबारमा कीचक वध भएको, कौरवहरूले गाई लुट्न खोज्दा अर्जुनले राजकुमार उत्तरसँग मिलेर युद्ध लडेको र पाण्डवहरूको परिचय सार्वजनिक भएको वर्णन महाभारतमा पाइन्छ। यही कथालाई आधार मानेर विराटनगरको नाम पनि राजा विराटकै नामबाट रहन गएको विश्वास गरिन्छ।

इतिहासकारहरूका अनुसार विराटनगरको नामकरणबारे भने विभिन्न मत छन्। केही इतिहासविद्ले यो क्षेत्र नै प्राचीन मत्स्य राज्यको राजधानी रहेको तर्क गर्छन् भने कतिपयले विराटनगरको विकास लिच्छवि तथा मध्यकालीन बस्तीको विस्तारसँग सम्बन्धित रहेको बताउँछन्। यस विषयमा अहिलेसम्म एकमत हुन नसके पनि विराट राजाको दरबार क्षेत्र ऐतिहासिक महत्वको स्थलका रूपमा स्थापित भइसकेको छ।

पुरातत्व विभागले विभिन्न समयमा यहाँ उत्खनन गर्दा पुराना इँटाका संरचना, माटाका भाँडाकुँडा, धातुका सामग्री, सिक्का तथा अन्य सांस्कृतिक अवशेष फेला पारेको छ। तीमध्ये अधिकांश सामग्री प्रारम्भिक ऐतिहासिक तथा लिच्छवि कालसँग सम्बन्धित रहेको अनुमान गरिएको छ। केही संरचना अझ पुरानो सभ्यताका अवशेष हुन सक्ने सम्भावनासमेत औँल्याइएको छ। यद्यपि उत्खननबाट प्राप्त प्रमाणले महाभारतकालीन राजा विराटको दरबार यही थियो भन्ने निष्कर्ष निकाल्न पर्याप्त आधार भने दिएको छैन। त्यसैले इतिहासकारहरूले थप वैज्ञानिक अध्ययन, कार्बन डेटिङ र विस्तृत उत्खनन आवश्यक रहेको बताउँदै आएका छन्।

विराट राजाको दरबार क्षेत्र लामो समयदेखि संरक्षणको अभाव झेलिरहेको छ। स्थानीयवासीका अनुसार केही दशकअघिसम्म दरबारका भग्नावशेष अझ स्पष्ट रूपमा देखिन्थे। समयसँगै प्राकृतिक क्षय, अतिक्रमण, झाडीको विस्तार तथा संरक्षणको अभावले यसको स्वरूप परिवर्तन हुँदै गएको छ। कतिपय संरचना माटोभित्र पुरिएका छन् भने केही भागमा क्षति पुगिसकेको छ। पुरातत्वविद्हरूले तत्काल वैज्ञानिक संरक्षण नगरे महत्वपूर्ण पुरातात्त्विक प्रमाण नै नष्ट हुने चेतावनी दिँदै आएका छन्।

स्थानीयवासीले वर्षौंदेखि दरबार क्षेत्रलाई व्यवस्थित रूपमा संरक्षण गरी पर्यटन गन्तव्यका रूपमा विकास गर्न माग गर्दै आएका छन्। स्थानीय राजेश यादवले यस क्षेत्रमा संग्रहालय, सूचना केन्द्र, पदमार्ग, पार्क, व्याख्या केन्द्र तथा आवश्यक पूर्वाधार निर्माण गर्न सके यस क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण उल्लेखनीय रूपमा बढ्ने बताए। विशेषगरी महाभारतसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न सकिए विराटनगरको पर्यटन क्षेत्रमा नयाँ सम्भावना सिर्जना हुने स्थानीयको विश्वास छ। पर्यटन व्यवसायीहरू पनि विराट राजाको दरबारलाई विराटनगरको पहिचानसँग जोडेर विकास गर्नुपर्ने बताउँछन्।

औद्योगिक सहरको छविसँगै ऐतिहासिक पर्यटनको सम्भावना जोड्न सकिए होटल, यातायात, हस्तकला तथा स्थानीय व्यापारमा समेत सकारात्मक प्रभाव पर्ने उनीहरूको भनाइ छ। विराट राजाको दरबारको पौराणिक महत्वलाई पर्याप्त प्रचारप्रसार गर्न सके र त्यस क्षेत्रमा प्राचीन मौलिकता झल्काउने दरबार निर्माण गर्न सके दरबार हेर्न वार्षिक ठूलो संख्यामा पर्यटक आउने सम्भावना रहेको विराटनगरका पर्यटन व्यवसायी भविष श्रेष्ठले बताए। उनले विराट राजाको दरबार क्षेत्रको विकासका लागि तीनै तहका सरकारले ध्यान दिन आवश्यक रहेको बताए। भारतलगायत दक्षिण एसियाका धेरै पर्यटक महाभारतसँग सम्बन्धित स्थलको खोजीमा यात्रा गर्ने भएकाले विराट राजाको दरबारलाई अन्तर्राष्ट्रिय पर्यटन सर्किटमा जोड्न सकिने सम्भावना रहेको पर्यटन व्यवसायी राजन श्रेष्ठ बताउँछन्।

नेपाल सरकारले यो क्षेत्रलाई पुरातात्त्विक महत्वको स्थलका रूपमा संरक्षण सूचीमा राखेको भए पनि दीर्घकालीन विकास योजना प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन। समय–समयमा सामान्य संरक्षण र सीमित उत्खनन भए पनि पर्याप्त बजेट, जनशक्ति तथा अनुसन्धानको अभावले अपेक्षित उपलब्धि हासिल हुन नसकेको सरोकारवालाहरूको भनाइ छ।

विराट राजाको दरबार अध्ययन र अनुसन्धानका लागि पनि महत्वपूर्ण स्थल मानिन्छ। नेपालका विभिन्न विश्वविद्यालय तथा अनुसन्धान संस्थाका विद्यार्थीहरूले इतिहास, पुरातत्व, संस्कृति तथा मानवशास्त्रका विषयमा यहाँ अध्ययन गर्दै आएका छन्। आधुनिक प्रविधिको प्रयोग गरी थप अनुसन्धान गर्न सके नेपालको प्राचीन सभ्यता, बसोबासको विकासक्रम तथा सांस्कृतिक इतिहासबारे नयाँ तथ्य सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ।

धार्मिक दृष्टिले पनि यो क्षेत्रको विशेष महत्व रहेको छ। महाभारतसँग जोडिएको विश्वासका कारण प्रत्येक वर्ष विभिन्न धार्मिक समूह तथा सर्वसाधारण यहाँ पुग्ने गरेका छन्। स्थानीय समुदायले पनि यसलाई आफ्नो सांस्कृतिक पहिचानको प्रतीकका रूपमा संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउँदै आएका छन्। संरक्षण, अनुसन्धान र पर्यटन प्रवर्द्धनमा राज्यले प्रभावकारी पहल गर्न सके विराट राजाको दरबार केवल विराटनगरको मात्र होइन, नेपालको सम्पूर्ण ऐतिहासिक, सांस्कृतिक र पर्यटन क्षेत्रको महत्वपूर्ण सम्पदाका रूपमा स्थापित हुन सक्ने निश्चित छ।

मण्ठा पोखरी

विराट राजाको किम्वदन्तीसँग जोडिएको मण्ठा पोखरी र मन्दिर पनि यस क्षेत्रमा रहेको छ। विराट राजाको दरबारभन्दा केही पश्चिमपट्टि यो पोखरी र मन्दिर अवस्थित छ। मण्ठा पोखरीमा राजपरिवारका सदस्यहरू पूजापाठका लागि नुहाउन आउने गरेको स्थानीय बताउँछन्। विराट राजाको दरबारसँग जोडिएकाले ऐतिहासिक तथा पौराणिक महत्वको यस पोखरीमा हरेक वर्ष चैते छठ र छठ पर्व धुमधामका साथ मनाउने गरिन्छ। तर, पोखरीको संरक्षणको अभाव रहेको छ। विराट राजाको दरबार क्षेत्रका रूपमा मण्ठा पोखरीसमेतलाई जोडेर एकीकृत विकास गर्न सके विराटनगरमा पनि पर्यटकलाई आकर्षित गर्न सकिने, पर्यटक रमाउन सक्ने र स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने पर्यटकीय स्थलको विकास गर्न सकिने पर्याप्त सम्भावना रहेको छ। यसतर्फ तीनै तहका सरकारहरूको एकीकृत प्रयास र पहल आवश्यक देखिएको छ।

प्रकाशित: १७ असार २०८३ १८:४५ बुधबार





Source link

Leave a Comment