प्रकाशित मिति : २३ असार २०८३, मंगलबार

अमेरिकामा कुन भिसामा कति दिनसम्म बस्न पाइने वा कुन भिसा थपको आवेदन दिन पाइने भन्नेबारे जिज्ञासा भिसावाहकमा हुन सक्छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका नियम र सञ्चालन निर्देशनले फरक–फरक गैरआप्रवासीका लागि प्रवेशको अधिकतम प्रारम्भिक अवधिलाई अनुमति दिन्छन् । फरक–फरक भिसा थपका लागि आवेदन दिने प्रावधानबारे पनि फरक–फरक नियम छन् ।
अमेरिकामा आफूलाई कति समय बस्न अनुमति दिइएको छ भनेर जाँच्ने एक मात्र र भरपर्दो तरिका भनेको अनलाइनमा आफ्नो आई–९४ चेक गर्नु हो । अमेरिका प्रवेश गरेलगत्तै सीबीपीको वेबसाइटमार्फत आफ्नो आई–९४ चेक गर्नुपर्छ । जसमा आप्रवासी भिसावाहक कहिलेसम्म अमेरिका बस्न सक्छन् र कहिलेसम्म फर्कनुपर्छ भनेर उल्लेख गरिएको हुन्छ । विगतमा कागजी आई–९४ प्रदान गरिँदै आएकामा यो अब डिजिटल भइसकेको छ ।
कूटनीतिज्ञ वा विदेशी सरकारी अधिकारीलाई प्रदान गरिने ए–वान भिसा फर्कने अवधि उल्लेख गरिएको हुँदैन । अर्थात्, डीएस (ड्युरेसन अफ स्टाटस) लेखिएको हुन्छ । विदेशी सरकारको अनुरोधअनुसार अमेरिकी विदेश मन्त्रालयबाट मान्यताको नवीकरण भएको अवधिसम्म यो भिसामा अमेरिका बस्न सकिन्छ । अर्थात्, छुट्टै भिसा थपका लागि आवेदन दिइरहनुपर्दैन । अन्य विदेशी सरकारी अधिकारी वा पूर्णकालीन कर्मचारीहरूका लागि प्रदान गरिने ए–टू श्रेणीको भिसामा पनि यही नियम लागू हुन्छ ।
कूटनीतिज्ञ र सरकारी अधिकारीहरूका लागि व्यक्तिगत कर्मचारी, परिचर वा घरेलु कामदारहरूले पाउने ए–थ्री भिसामा पनि नियम थोरै फरक छ । यो भिसामा अधिकतम ३ वर्षसम्म अमेरिकामा बस्न पाइन्छ । दुई वर्षका लागि भिसा अवधि थप्न पाइन्छ । तर, त्यसका लागि औपचारिक रूपमा शुल्क तिरेर आवेदन दिनुपर्छ ।
भिजिटर भिसा बी–वानका लागि अमेरिकामा अधिकतम १ वर्षसम्म बस्न अनुमति दिइन सक्छ । तर, सामान्यतया ६ महिनासम्मको अवधि दिइने भए तापनि पोर्ट अफ इन्ट्रीमा अधिकारीले अधिकतम १ वर्षसम्मको अवधि दिन पाउने अधिकार छ । अमेरिका आइसकेपछि थप ६ महिनाका लागि भिसा थपको आवेदन दिन सकिन्छ । धार्मिक नोट भएकाहरूले १ वर्ष भिसा थपको आवेदन दिन सक्छन् । असाधारण अवस्था आएमा त्यसपछि पनि भिसा थपका लागि आपेदन दिन सकिन्छ । बी–टू श्रेणीको भिसामा पनि यही नियम लागू हुन्छ ।
भिसा वेभर कार्यक्रमअन्तर्गत ९० दिनको अन अराइभल भिसा थपका लागि अमेरिकामा आवेदन दिन मिल्दैन । त्यस्तै ट्रान्जिट भिसाका सन्दर्भमा पनि भिसा थपको आवेदन दिन मिल्दैन । यो भिसामा अमेरिकामा अधिकतम २९ दिनसम्म बस्न पाइन्छ । विदेशी नागरिकलाई संयुक्त राष्ट्रसंघको मुख्यालय क्षेत्रमा निरन्तर ट्रान्जिटका रूपमा यात्रा गर्न सी–टू भिसा दिइन्छ । यो भिसामा आवश्यक पर्दासम्म बस्न सकिने भएकाले भिसा थपको आवेदन दिनुपर्दैन । तर, सरकारी अधिकारीहरू र तिनीहरूका परिवार, परिचर, कामदार र कर्मचारीलाई देशमार्फत ट्रान्जिट गर्ने उद्देश्यका लागि अमेरिका यात्रा गर्न अनुमति दिने सी–थ्री भिसामा भने अधिकतम २९ दिन बस्न पाइन्छ । भिसा थपका लागि आवेदन दिन पाइँदैन ।
क्रू मेम्बरलाई प्रदान गरिने डी भिसामार्फत अमेरिकामा व्यावसायिक समुद्री जहाज वा अन्तर्राष्ट्रिय एयरलाइन्सहरूमा काम गर्न अनुमति पाइन्छ । तर, यो भिसामा पनि अधिकतम २९ दिनसम्म अमेरिकामा बस्न पाइन्छ । भिसा थपको आवेदन दिन पाइँदैन । सन्धि व्यापारीहरूलाई प्रदान गरिने ई–वान भिसामा अमेरिकामा अधिकतम २ वर्ष बस्न पाइन्छ । तर, थप अवधि बस्नुपरेमा कामदार भिसा आई–१२९ का लागि आवेदन दिनुपर्छ ।
त्यस्तै अमेरिकामा विद्यार्थी भिसा एफ–वानमा पढाइ चलुन्जेल जति अवधि पनि बस्न पाइन्छ । आई–२० अद्यावधिक हुँदासम्म भिसा थपका लागि छुट्टै आवेदन दिनुपर्दैन । विद्यार्थी भिसाका डिपेन्डेन्टहरूको एफ–टू भिसा एफ–वान भिसावाहकको भिसा अद्यावधिक रहँदासम्म कुनै समस्या हुँदैन ।
अन्तर्राष्ट्रिय संगठनका अधिकारी, कर्मचारी र उनीहरूका नजिकका परिवारका सदस्यलाई प्रदान गरिने जी–वानदेखि जी–फोरसम्मका भिसामा फर्कने अवधि उल्लेख गरिएको हुँदैन । अर्थात्, डीएस (ड्युरेसन अफ स्टाटस) लेखिएको हुन्छ । तोकिएको कामको अवधिसम्म यो भिसामा अमेरिका बस्न सकिन्छ । अर्थात्, छुट्टै भिसा थपका लागि आवेदन दिइरहनुपर्दैन । तर, ती भिसावाहकका व्यक्तिगत कर्मचारीलाई दिइने जी–फाइभ भिसामा भने अधिकतम ३ वर्ष बस्न पाइन्छ । २ वर्षका लागि भिसा थपको आवेदन दिन सकिन्छ ।
कामदार भिसा एच–वान बीमा अमेरिकामा ३ वर्षसम्म बस्न पाइन्छ । यो भिसा थप गरेर कुल अवधि ६ वर्षसम्म बस्न पाइन्छ । तर, त्यसका लागि कामदार भिसा आवेदन आई–१२९ पेस गर्नुपर्छ । अस्थायी कामदार भिसा एच–टू ए र एच–टू बीमा १ वर्षसम्म बस्न पाइन्छ । रोजगारदाताले एक वर्षको विस्तारसहित थप दुई वर्षका लागि पुनः प्रमाणीकरणका लागि आवेदन दिन सक्छ । तर, प्रत्येक नयाँ आवेदनमा रोजगारदाताले नवीकरण अनुरोधको कारणलाई औचित्य दिनुपर्छ । यी भिसाका डिपेन्डेन्टहरू मूल भिसावाहकको भिसाको अवधि कायम रहँदासम्म अमेरिका बस्न पाउँछन् ।
गैरआप्रवासी प्रशिक्षार्थी वा विशेष एजुकेसन एक्सचेन्ज भिजिटरलाई प्रदान गरिने एच–३ भिसामा अधिकतम २ वर्ष बस्न पाइन्छ । यो भिसा थपका लागि आवेदन दिन पाइँदैन । त्यस्तै पत्रकारलाई प्रदान गरिने आई भिसामा उक्त पत्रकारिताको जागिरमा रहँदासम्म अमेरिकामा बस्न पाइन्छ । भिसा थपको आवेदन दिनुपर्दैन । त्यस्तै एक्सजेन्ज भिजिटर जे–वान भिसामा डीएस २०१९ मा उल्लेख भएको अवधिले थप ३० दिन अमेरिका बस्न पाइन्छ । कार्यक्रम पूरा गर्न थप समय आवश्यक परेमा भिसा थपको गर्न सकिन्छ । मूल भिसावाहकको जे–वान भिसा कायम रहँदासम्म जे–टू डिपेन्डेन्टहरू अमेरिकामा बस्न पाउँछन् ।
अमेरिकी नागरिकका मंगेतरहरूका लागि प्रदान गरिने के–वान भिसामा ९० दिन अमेरिका बस्न पाइन्छ । ९० दिनभित्र विवाह गर्नुपर्छ वा फर्कनुपर्छ । भिसा थपका लागि आवेदन दिन पाइँदैन । के–वान भिसावाहकका छोराछोरी भने बुबाआमाले ९० दिनभित्र विवाह नगरेमा बाँकी ३० दिनभित्र फर्कनुपर्छ । भिसा थपका लागि आवेदन दिन पाइँदैन ।
इन्ट्रा कम्पनी स्थानान्तरण एल–वान भिसामा अधिकतम ३ वर्षसम्म बस्न पाइन्छ । एकपटकमा २ वर्षका दरले भिसा थपको आवेदन दिन पाइन्छ । तर, अधिकतम ७ वर्षभन्दा बढी बस्न पाइँदैन । आफ्नो भिसा थपका लागि कसरी र कहिले आवेदन दिने, आवेदन दिन पाउने/नपाउने भन्नेबारे यूएससीआईएस वा लाइसेन्स प्राप्त कानुन व्यवसायीलाई समयमै सम्पर्क गर्नुपर्छ ।
यो सामग्री खसोखासको १४ औं वार्षिकोत्सव विशेषांकमा प्रकाशित सामग्री हो । डिजिटल संस्करणमा यो सामग्री पढ्न यहाँ क्लिक गर्नुहोला।
यस संस्करणको हार्डकपी नि:शुल्क प्राप्त गर्न क्लिक गर्नुहोस्। (नोट: १६८ पृष्ठको यो विशेष अंक करिब एक पाउन्ड तौलको भएकाले डेलिभरी शुल्क भने पाठक स्वयंले ब्यहोर्नुपर्नेछ।)