प्रकाशित मिति : २२ असार २०८३, सोमबार

Photo: Documerica/ Unsplash
अमेरिकी प्रतिबन्धका कारण क्युबामा ऊर्जा सङ्कट गहिरिएको छ। देशव्यापी विद्युत् अवरोध (ब्ल्याकआउट) का कारण क्युबाली जनता सास्ती भोग्न बाध्य भएका छन्। लामो समयदेखि जारी ऊर्जा सङ्कट अमेरिकी इन्धन आपूर्तिमाथिको कडा प्रतिबन्धका कारण अझ गम्भीर बनेको क्युबाली अधिकारीहरूले बताएका छन्।
क्युबाको ऊर्जा मन्त्रालयका अनुसार राष्ट्रिय विद्युत् प्रसारण प्रणाली पूर्ण रूपमा ध्वस्त भएको छ। राष्ट्रिय विद्युत् सञ्चालन निकायले विद्युत् प्रणाली किन पूर्ण रूपमा अवरुद्ध भयो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ।
ऊर्जामन्त्री भिसेन्टे दे ला ओ लेभीले विद्युत् आपूर्ति पुनः सञ्चालन गर्न युद्धस्तरमा काम भइरहेको जानकारी दिएका छन्। उनका अनुसार अस्पताल, खानेपानी र सञ्चार जस्ता अत्यावश्यक सेवाहरू सञ्चालनमा राख्न आपत्कालीन ‘सूक्ष्म विद्युत् प्रणाली’ सक्रिय पारिएको छ।
पछिल्ला केही वर्षयता क्युबाले पटक–पटक देशव्यापी विद्युत् अवरोधको सामना गर्दै आएको छ। पुराना र जीर्ण बन्दै गएका विद्युत् पूर्वाधारले बढ्दो माग धान्न नसक्दा यस्ता समस्या दोहोरिने गरेका हुन्।
यस वर्ष भने क्युबाको ऊर्जा सङ्कट झन् गम्भीर बनेको छ। अमेरिकी दबाबपछि क्युबाका प्रमुख इन्धन आपूर्तिकर्ताहरूले तेल आपूर्ति बन्द गरेपछि विद्युत् उत्पादनमा ठूलो असर परेको हो। गत चैत महिनामा मात्र एक साताभित्र दुई पटक देशव्यापी विद्युत् अवरोध भएको थियो।
क्युबाका राष्ट्रपति मिगेल दियास–कानेलले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत अमेरिकाविरुद्ध कडा टिप्पणी गर्दै, इन्धन आयात रोक्नुको मुख्य उद्देश्य क्युबामा “सामाजिक विस्फोट” गराउनु रहेको आरोप लगाएका छन्।
ऊर्जा अभावका कारण क्युबामा शिक्षा, सार्वजनिक यातायात, स्वास्थ्य सेवा तथा औषधि आपूर्तिसहितका अत्यावश्यक क्षेत्रहरू नराम्ररी प्रभावित भएका छन्। यसैबीच अमेरिकाले थप आर्थिक प्रतिबन्ध लगाएपछि क्युबाको अर्थतन्त्र थप कमजोर बनेको छ भने पर्यटक आगमनमा पनि उल्लेखनीय गिरावट आएको छ।
अमेरिकाले भने आफ्नो आर्थिक प्रतिबन्धको उद्देश्य क्युबाली सरकारलाई राजनीतिक प्रणाली खुला बनाउन, आर्थिक सुधार गर्न तथा प्रत्यक्ष वैदेशिक लगानीका लागि वातावरण सिर्जना गर्न दबाब दिनु रहेको बताउँदै आएको छ।
गत महिना क्युबाको राष्ट्रिय सभाले अर्थतन्त्रलाई थप खुला बनाउने उद्देश्यले व्यापक सुधारका उपायहरू स्वीकृत गरेको थियो। यद्यपि, क्युबाका वैदेशिक व्यापारमन्त्रीले ती सुधारहरू बाह्य दबाबका कारण नभई देशको आन्तरिक आवश्यकता अनुसार ल्याइएको स्पष्ट पारेका छन्।
अमेरिकाले क्युबाले आफ्नो भूमिमा रुस र चीनका गुप्त निगरानी केन्द्र सञ्चालन गर्न दिएको तथा यसले अमेरिकाको क्षेत्रीय सुरक्षामा चुनौती सिर्जना गरेको आरोप लगाउँदै आएको छ। क्युबाले भने ती आरोपहरूलाई लगातार अस्वीकार गर्दै आएको छ।