प्रकाशित मिति : २३ असार २०८३, मंगलबार

फोटो:एपी/रासस
अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टा रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा इजिप्टलाई ३–२ को गोल अन्तरले पराजित गर्दै साविक विजेता अर्जेन्टिना अन्तिम ८ मा पुगेको हो। अब अर्जेन्टिनाले सेमिफाइनलमा पुग्नका लागि कोलम्बिया र स्विट्जरल्यान्डबीचको विजेताको सामना गर्नुपर्नेछ।
अर्जेन्टिनासँग पराजित भएको इजिप्ट विश्वकपबाट बाहिरिएको छ। इजिप्टले ९२ वर्षमा पहिलो पटक समूह चरण पार गर्दै यस विश्वकपको नकआउट चरणमा स्थान बनाएको थियो। नकआउटमा पनि उसले यसअघि नै पहिलो जित हात पारिसकेको थियो।
खेलको ७९औं मिनेटसम्म २–० ले पछि परेको अर्जेन्टिनाले अन्तिम ११ मिनेटमा तीन गोल फर्काएर उत्कृष्ट पुनरागमन जित निकाल्न सफल भयो।
७९औं मिनेटमा कप्तान लियोनेल मेसीको पासमा क्रिस्टियन रोमेरोले हेडमार्फत गोल गरे। त्यसको ५ मिनेटपछि मेसी आफैँले गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा फर्काए। दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई ३–२ को जित दिलाए। जारी विश्वकपमा ८ गोल गर्दै मेसी सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा छन्।
त्यसअघि खेलको १५औं मिनेटमा इजिप्टका यासिर इब्राहिमले हेडमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। ६७औं मिनेटमा हाइसेम हसनको पासमा मोस्तफा जिकोले गोल गर्दै इजिप्टको अग्रता दोब्बर बनाए। तर, अन्तिम समयमा सम्हालिन नसक्दा इजिप्ट पराजित हुन पुग्यो।
यो खेलमा पनि गोल गरेसँगै मेसी विश्वकपका लगातार ९ खेलमा गोल गर्ने खेलाडी बनेका छन्। उनी विश्वकपमा सर्वाधिक खेल खेल्ने, सर्वाधिक गोल गर्ने र सर्वाधिक ६ पटक विश्वकप खेल्ने कीर्तिमानधारी खेलाडी समेत हुन्।