अमेरिकाबाहिर रहेको बेला ग्रिन कार्ड हराए, नष्ट भए वा चोरी भएमा चाल्नुपर्ने कदम



प्रकाशित मिति : २३ असार २०८३, मंगलबार

अमेरिकाबाहिर रहेको बेला ग्रिन कार्ड हराए, नष्ट भए वा चोरी भएमा चाल्नुपर्ने कदम

यदि तपाईं अमेरिकाबाहिर रहेको बेलामा नै तपाईंको ग्रिन कार्ड हराए, नष्ट भए वा चोरी भएमा तपाईंले आई–१३१ए फाराम भरेर ट्राभल डकुमेन्टका लागि आवेदन दिनुपर्छ । यो डकुमेन्टका आधारमा एयरलाइन्स वा अन्य यात्राका साधनले ग्रिन कार्ड हराएको व्यक्तिलाई पनि यात्राको अनुमति दिने भएकाले यसलाई क्यारिअर डकुमेन्टसमेत भनिन्छ ।

यो डकुमेन्टसहित अमेरिकामा आउने व्यक्तिलाई चढाएबापत एयरलाइन्स वा यात्राका साधनका तर्फबाट अमेरिकी सरकारलाई जरिबाना तिर्नुपर्दैन । यदि अमेरिकाबाहिर एक वर्षभन्दा कम अवधिका लागि रहेको र त्यही बेला ग्रिन कार्ड हराएको वा चोरिएको वा क्षति भएको भएमा यो आवेदन दिन सकिन्छ ।

तपाईंले ट्राभल डकुमेन्टका लागि आई–१३१ए आवेदन अमेरिकी दूतावास, कन्सुलेट वा यूएससीआईएसको अन्तर्राष्ट्रिय फिल्ड अफिसमा आफैं उपस्थित भएर दिनुपर्छ । अमेरिकी दूतावास, कन्सुलेट वा यूएससीआईएसको अन्तर्राष्ट्रिय फिल्ड अफिसमा जानुअघि तपाईंले अनलाइनबाटै उक्त आवेदनको शुल्क तिर्नुपर्छ ।

यदि तपाईं अमेरिकी दूतावास काठमाडौंमा आवेदन दिँदै हुनुहुन्छ भने तपाईंले सुरुमा अनलाइनमार्फत अपोइन्टमेन्ट लिनुहोला । अपोइन्टमेन्ट लिइसकेपछि तपाईं उक्त दिन उपिस्थत हुँदा अद्यावधिक पासपोर्ट, भरेको आई–१३१ए फाराम, ग्रिन कार्डको फोटोकपी वा अन्य कुनै प्रमाण, ५७५ डलर शुल्क तिरेको रसिद, ग्रिन कार्ड चोरिएको वा हराएको भएमा त्यसको प्रहरी रिपोर्ट लिएर जानुपर्छ ।

शुल्क तिरिसकेपछि पेमेन्ट कन्फर्मेसन पेज वा शुल्क तिरेको प्रमाणसहित अमेरिकी दूतावास, कन्सुलेट वा यूएससीआईएसको अन्तर्राष्ट्रिय फिल्ड अफिसमा उपस्थित हुनुपर्छ । तर, शुल्क तिर्नुअघि आई–१३१ए आवेदन तपाईंले नजिकको दूतावास, कन्सुलेट वा यूएससीआईएसको अन्तर्राष्ट्रिय फिल्ड अफिसबाट प्रक्रियामा लैजान सक्ने÷नसक्नेबारे सम्पर्क गरेर सोध्नुपर्छ ।

यदि प्रक्रियामा लैजाने बताएको खण्डमा तपाईंले फाराम आई–१३१ए डाउनलोड गरेर भर्नुपर्छ । यो फाराम ५ पेज लामो छ । तर, आफैं भर्नेहरूका लागि २ पेज मात्र भरे पुग्छ । भर्नका लागि सरल छ । नाम, ठेगाना, एलियन नम्बर, सोसल सेक्युरिटी नम्बर, जन्ममिति, अमेरिका छाडेको मिति, अमेरिका फर्कने योजना बनाएको मितिलगायत विवरण उल्लेख गरेर फाराम भरेपछि हस्ताक्षर अनिवार्य गर्नुपर्छ ।

फाराम भरिसकेपछि हस्ताक्षरसहितको यो फाराम, शुल्क तिरेको रिसिप्ट, सक्कली पासपोर्ट, पासपोर्टको फोटोकपी, ग्रिन कार्डको प्रमाण, अमेरिका छाडेको र फर्कने आइटनरी, ३० दिनभित्र खिचेको पासपोर्ट शैलीको फोटो लिएर अमेरिकी दूतावास, कन्सुलेट वा यूएससीआईएसको अन्तर्राष्ट्रिय फिल्ड अफिस वा दूतावासमा जानुपर्छ ।

आवेदन स्वीकृत गर्न झन्डै दुई साताको अवधि लाग्ने बताइन्छ । तर, इमर्जेन्सी भएको अवस्थामा छिटो पनि स्वीकृत हुन सक्छ । आवेदन स्वीकृत भइसकेपछि मात्र प्राप्त ट्राभल डकुमेन्टसहित यात्रा गर्नुपर्छ ।

यो सामग्री खसोखासको १४ औं वार्षिकोत्सव विशेषांकमा प्रकाशित सामग्री हो । डिजिटल संस्करणमा यो सामग्री पढ्न यहाँ क्लिक गर्नुहोला।

यस संस्करणको हार्डकपी नि:शुल्क प्राप्त गर्न क्लिक गर्नुहोस्। (नोट: १६८ पृष्ठको यो विशेष अंक करिब एक पाउन्ड तौलको भएकाले डेलिभरी शुल्क भने पाठक स्वयंले ब्यहोर्नुपर्नेछ।)





Source link

Leave a Comment