प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार

फोटो: होमल्याण्ड सेक्युरिटी
अमेरिकामा अध्यागमन एजेन्टहरूसँग भएका मुठभेड र हिंसात्मक घटनाहरूको अनुसन्धान अब फेडरल ब्युरो अफ इन्भेस्टिगेसनले नगर्ने भएको छ। आन्तरिक स्रोतहरूका अनुसार एफबीआईले आफ्ना क्षेत्रीय प्रबन्धकहरूलाई यस निर्णयबारे लिखित रूपमा जानकारी गराइसकेको छ।
यदि यो नीति पूर्ण रूपमा लागू भएमा अध्यागमन अधिकृतहरूमाथि हुने कानुनी तथा निष्पक्ष छानबिन निकै सीमित हुनेछ। यस निर्णयले इमिग्रेसन एजेन्टहरू जोडिएका हिंसात्मक वा सर्वसाधारणको ज्यान गएका घटनाहरूमा उनीहरूलाई जवाफदेही बनाउन कठिन हुने विश्लेषकहरूको भनाइ छ।
प्रसारित निर्देशन अनुसार, एफबीआईले होमल्यान्ड सेक्युरिटीका एजेन्टहरूमाथि भएका आक्रमणका दाबीहरूको छानबिन गर्न छाड्नेछ। यस्ता अनुसन्धान मुख्यतया अधिकारीहरूमाथि हमला भएको थियो या थिएन भन्ने पत्ता लगाउन गरिने भए पनि, यसै क्रममा एजेन्टहरू स्वयंले कानुन उल्लंघन गरे/नगरेको वा अत्यधिक बल प्रयोग गरे/नगरेको प्रमाण संकलन हुने गर्दथ्यो।
नयाँ व्यवस्था अनुसार यो जिम्मेवारी अब ‘होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेसन’लाई दिइने सम्भावना छ। यसको सीधा अर्थ आइसले आफ्ना अधिकारीहरूको छानबिन आफैं गर्नेछ, जसले अनुसन्धानको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ।
अमेरिकी जस्टिस डिपार्टमेन्ट र डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले भने संयुक्त विज्ञप्ति जारी गर्दै अनुसन्धान प्रक्रियामा कुनै परिवर्तन नभएको र सुरक्षाकर्मीमाथि हमला गर्ने जोकोहीलाई कडा कारबाही गरिने दाबी गरेका छन्।
ट्रम्प प्रशासनको कडा अध्यागमन नीतिका कारण इमिग्रेसन एजेन्टहरूले चलाएको गोलीबाट हालैका महिनाहरूमा कैयौँ मानिस प्रभावित भएका छन्। पछिल्लो दुई सातामा मात्र टेक्सस र मेन राज्यमा आइस एजेन्टहरूको गोली प्रहारबाट दुई जनाको मृत्यु भएको छ।
यसअघि यस्ता घटनामा एजेन्टहरूले गोली चलाउनुअघि उनीहरूमाथि आक्रमण भएको थियो वा थिएन भन्ने सीमित प्रश्नमा मात्र एफबीआईले अनुसन्धान गर्दै आएको थियो।
एफबीआई पछि हट्दा र एचएसआईसँग नागरिक अधिकार उल्लंघनको अनुसन्धान गर्ने अधिकार नहुँदा नियतवश वा निहत्था नागरिकमाथि गोली चलाउने एजेन्टहरू कानुनी दायरामा आउने सम्भावना थप क्षीण बनेको छ।