शाम्बालामा पेमाको शान्त विद्रोह


२७ भदौ, काठमाडौं । ‘थ्री एक्ट’ मा पात्रहरुको उत्थान, द्वन्द्व र निष्कर्ष देख्ने रेगुलर रेसिपी अब बिस्तारै बदल्दै जाउँ । यो वर्षको सुरुमै फिडेल देवकोटाको सिनेमा रेड सुटकेस आएको थियो । नवीन सुब्बाले गाउँ आएको बाटोमा त्यसलाई प्रष्ट ध्वनित गरे । अब आएको छ मीनबहादुर भामको शाम्बाला । नेपाली सिनेमाले सुदूर यात्रा गर्ने संकल्प गरेको प्रष्टै छनक मिल्छ । विश्व सिनेमाको लहरमा सगर्व उभिने नेपाली सम्भावनालाई नयाँ पुस्ताका फिल्ममेकरहरुले फराकिलो बनाइदिएका छन् । अनुराग कश्यप, नवाजुद्दिन सिद्दिकी काठमाडौंमा केवल शाम्बाला प्रचार खातिर यो भनिरहेका थिएनन् । उनीहरु आफूभित्र नेपाली सिनेमाले छाडेको असर देखेर आफैं चमत्कृत भइरहेका थिए ।

शाम्बाला अर्थात् रहस्यमयी स्वर्ग । हिन्दु धर्मशास्त्र अनुसार भगवान विष्णुले कलियुग अन्त्य गर्न कल्की अवतारको सहायता लिन्छन् । कलि सुरु भएको भनिएको शाम्बाला आजको युगमा भारत नजिक पर्ने विश्वास गरिन्छ । बुद्ध धर्ममा पनि शाम्बालाको अर्थ छ । आजको अफगानिस्तान नजिकको ठाउँ, जहाँ बुद्धको अन्तिम अवतार पुगेको विश्वास गरिन्छ । अर्थात हिन्दू–बौद्धको मिश्रित अस्तित्व नै शाम्बाला हो ।

हामी शाम्बालाको भूगोलतर्फ अघि बढौं ।

सेता हिमाल र खैरा हिमाली गाउँलाई सुरुका दृश्यहरुमा केही धमिलो देखाइएको छ । सेता हिमालहरु बिस्तारै सुनौला बन्दै जान्छन् । एक जना राम सर (अभिनेता कर्मा) बाहेक डोल्पो भाषा बोल्ने पात्र छन् । नेपाली सिनेमालाई नेपाली सबटाइटलमा हेर्नुको मजा बेग्लै छ ।

तर त्यो मज्जामा सुरुमै विस्मय थपिन आउँछ: पेमा (थिन्ले ल्हामो) ले तीन पुरुषसँग एकसाथ बिहे गर्नुपरेको छ– टासी (तेन्जिन दल्ह), कर्मा (सोनाम तोप्देन), दावा (कर्म वाङ्याल गुरूङ) ।

तीन–तीन जना लोग्नेसँग एकसाथ बिहे गर्नुपरेपछि पेमाले निभाउने पत्नीत्व कस्तो हुन जाला ? उनले उनीहरुसँग गर्ने गृहस्थी व्यवहार कस्तो होला ? निर्देशक मीन भामले भित्ताभरि ढाकिने गरी राखिएको एउटा ठूलो ऐनाको रोचक प्रयोग गरेर तिनै पतिलाई एकसाथ दृश्यमा प्रतिविम्बित गराइदिएका छन् । दर्शक यहाँबाट छक्क पर्न सुरु गर्छन् । छक्क पर्ने क्रम सिनेमाभरि रोकिन्न ।

पेमाले एउटा बच्चालाई जिब्रो आकाशमा देखाइरहेकी छिन् । ताराहरुको बीचमा आफ्ना मातापिता खोज्ने त्यो सानो बच्चो खासमा उनको कान्छो लोग्ने हो । उत्तरी डोल्पाको बहुपति प्रथालाई हामीमध्ये कतिपयले सरुभक्तको नाटक थाङ्लामा हेरेका थियौं । अनुप बराल निर्देशित नाटकको क्यानभासलाई मीन भामले तानेर धेरै परसम्म लगिदिएका छन् । यो नसम्झौं कि फिल्म बहुपति प्रथा वरिपरिमात्रै घुमिरहन्छ । यो त ल्हासा गएको जेठो लोग्ने टासीका लागि उपहार दिन भनेर कुरुसले स्वीटर बुनिरहेकी पेमाको हिमाली यात्रा, अनि आफ्नै अन्तर्मनको यात्रासँग पो जोडिन्छ ।

संवादहरुको प्रचुरताले हैरान भइने नेपाली सिनेमा परम्परामा पछिल्लो समय फिडेल देवकोटा, शान्ता नेपाली, दिपक रौनियार, सुजित बिँडारीहरुले बदल्न खोजेका छन् । मीनले त्यस प्रयासको पराकाष्ठा देखाइदिएका छन् ।

पेमाले अन्ततः त्यो सुइटर टासीलाई दिन्छिन् ? वा अरु कुनै निर्णय लिन्छिन्, यो बुझ्न सिनेमा हेर्नुपर्छ । यो कथा जति पेमाको हो, त्यति नै उनको पहेंलो सुइटरको पनि । खोपिएको ढुंगा, सुइटर, फूल, ऐना, हिउँ, आकाश, धनुकाँण, जुत्ता जस्ता नन्लिभिङ थिङ्सहरुले सिनेमालाई अझ बढ्ता जीवन्तता थपेका छन् । अध्यात्मको चाहनामा टाँसिन आइपुग्ने भौतिक आवश्यकतालाई सुइटरले जति अरु कसैले बताउन सक्दैन ।

हिमाली भेगमा बुद्ध धर्म अभिन्न रुपमा गाँसिएको छ । बुद्ध धर्मले सांसारिकता छाडेर अध्यात्मको उचाइ छुने कि घरै बसीबसी अध्यात्मको अनुभूति गहिराइमा भेटाउन सकिन्छ भन्नेबारे विवेचना गर्छ । मीनले कुनै पनि बौद्धमार्गी उपदेशभन्दा एक कदम अघि बढेर सिनेमामा त्यसको परोक्ष व्याख्या दिएका छन् ।

एक ठाउँमा त पेमाले जेठो पति खोज्न आफूसँगै हिँडिरहेको माइलो पति कर्मालाई भन्छिन् नै, ‘तिमी केही भन्नुपर्यो भने खाली यही सुइटरको मात्रै तारिफ गरिबस्छौ ।’ आखिर सुइटरमा कसको हक छ त ? प्रश्न जति भौतिकवादी छ, त्यति नै आध्यात्मिक पनि ।

जेठो पति टासी, जो आफ्नो प्रेमी बनेको थियो । तीन साता जति हिमालै हिमाल हिँडेपछि पुगिने ल्हासा गएको छ टासी । टासीलाई खोज्न अनकन्टार हिमाली यात्रामा हिँड्न पेमालाई समाजको बन्धन, अनि बाध्यतामा परेको अन्तर्मनले अह्राएको छ । पेमाले उनलाई भेटाउँछिन् कि भेटाउँदिनन्, वा अरु थप केही नयाँ खोजी गर्न सफल हुन्छिन्, सिनेमा हेरेर गरिने अनुभूतिलाई यहाँ शब्दमा व्यक्त गर्नु उचित हुँदैन ।

सिनेमामा चानचुन ८० सिन, ८० शट जति छन्, जो आम सिनेमामा देख्न पाइँदैन । सयौं शट वा भनुँ, हजारभन्दा बढी शट खिच्ने प्रचलनमा मीनको हस्तक्षेप चर्चालायक छ । संवादहरुको प्रचुरताले हैरान भइने नेपाली सिनेमा परम्परामा पछिल्लो समय फिडेल देवकोटा, शान्ता नेपाली, दिपक रौनियार, सुजित बिँडारीहरुले बदल्न खोजेका छन् । मीनले त्यस प्रयासको पराकाष्ठा देखाइदिएका छन् ।

थोरै संवाद हुँदैमा सिनेमाले कमजोर अभिव्यक्ति दिन्छ भन्ने सत्य होइन रहेछ । त्यो त शाम्बालामा प्रमाणित नै भएको छ । यसै पनि हिमालमा थोरै जनसंख्या, थोरै संवाद, तर तीव्र अनुभूतिको गहिराइ भेटिन्छ । त्यसको प्रत्यक्ष अनुभूति गर्न कि त आफैं हिमाल जानुपर्यो, कि त शाम्बाला हेर्नुपर्यो ।

मान्छेले जीवनमा बोकीहिँड्ने प्रेमका ढोंगी बुझाइहरुलाई शाम्बाला फिल्मले जुन उचाइमा उक्लिएर भत्काइदियो, त्यो बहसयोग्य छ । शाम्बालाले खासमा एक हदसम्म अपूरो, तर पूर्ण, अनि अस्ताइजाने क्षणहरुको अमर प्रेमकथा रचिदिएको छ । यद्यपि यो सिनेमाको सम्पूर्ण निष्कर्ष होइन ।

पुरुषकेन्द्रित दाम्पत्य प्रेमको व्यावहारिकतामा कमजोर देखिए पनि शाम्बाला निस्सीम प्रेमको व्यापकतामा उदाहरणीय छ । यो अध्यात्मको शुद्धतावादी कथा भने होइन । शाम्बालाको लोकेसनमा रिन्पोचे भेटिन्छन् । त्यहाँको समाजमा भिक्षुमात्रै छैनन् । बरु छन्, चोर पनि । अस्तित्वमा प्रत्येकको आ–आफ्नो मानवीय मूल्य छ ।

अरु सिनेमाजस्तै नर्मल फ्रेममा देखाइने शाम्बालामा जब कथा बढ्दै जान्छ, तब त्यसको ‘एस्पेक्ट रेसियो’ घट्दै जान्छ । क्यानभासहरु ठूला देखिन्छन् । तर जब निर्णायक मोडहरु आउँदै जान्छन्,  पेमाको अनुहार क्लोज अपमा देखाइन्छ, पृष्ठभूमि खुल्दै जान्छन् ।

मीनबहादुर भाम

पेमा प्रेमालु छिन्, तर छिन् विद्रोही पनि । उनको शान्त निर्दोषितालाई उनीभित्रको बोधले जित्दै लैजान्छ । बुद्धि छिप्पिदै जाँदा विवेक पनि पाको बन्दै जान्छ । हिमालै हिमाल हिँडेकी पेमाको प्रेमयात्रालाई सम्पूर्ण रुपमा बुझ्न हामी सिनेमा हलमा मानसिक रुपमा स्थिर बन्न सक्नु अनिवार्य छ ।

यो सिनेमाको एउटा रहस्योद्घाटन गरिहालुँ । स्वयं निर्देशक मीन भामसमेत एउटा दृश्यमा देखिएका छन्, जसलाई दर्शकले पत्ता लगाउनु चुनौतीपूर्ण छ । सिनेमाको प्लटमा निर्देशक आफैं एउटा पात्र हो, जसले कुनै न कुनै खालको हस्तक्षेप गरिरहेको हुन्छ भन्ने देखाउन आफू देखिएको मीनले एउटा संवाद क्रममा यो पंक्तिकारसँग भनेका थिए । आफू पनि यही लिंगभेदी समाजको उत्पादन भएकाले त्यो खालको पक्षपाती दृष्टिकोण कसरी प्रकट हुन्थ्यो भनेर प्रयोग गर्न चाहेको उनले सुनाएका थिए । सिनेमा हेर्दा त्यो पुष्टि भएको देखिन्छ ।

शाम्बाला, जहाँ खासमा कुनै गल्ती वा पापका लागि ठाउँ नहुनुपर्ने हो । तर यो कलियुगका मानिसहरुको बस्ती हो । त्यहाँ स्वतन्त्रता र चाहनाको उडान छ । यसलाई बुझ्न धर्मशास्त्रको पुरानो चस्माले मात्रै पुग्दैन । त्यसैले त पेमालाई बीचैमा छाडेर गुम्बामा फर्केको कर्माको चेतनाको सामाजिकशास्त्रमै अध्ययन हुनुपर्छ ।

सिनेमामा बिर्सन नसकिने पात्र नाम्खा घोडा हो । नाम्खाको अर्थ आकाश हो । नाम्खा घोडा सुतेको कहिल्यै देखिँदैन, उभिएरै निद्रा पु्र्याइरहेको हुन्छ । तर यो सिनेमामा पेमाको ‘नाम्खा’ एक ठाउँमा लम्पसार परिदिन्छ । यस दृश्यले अगाडिको सम्भावनालाई ठूलो संकेतमा भन्न सकेको छ । शाम्बालामा नारीवादको नेपाली भाष्य खडा भएको छ, जहाँ क्षमाशीलतालाई टन्न ठाउँ छ, तर न्यायको चाहनामा सम्झौता छैन ।

हामीले सिनेमाहरुमा कलाकारहरु गाइरहेको, नाचिरहेको देख्छौं, जबकि वास्तविक पार्श्वगायक अर्कै हुन्छ । तर यो सिनेमामा प्रत्येकजसो कलाकारले गाएका छन् । न्हयु बज्राचार्यको संगीतमा आनी छोइङ डोल्माको अन्तिम गीत छाड्ने हो भने बीचका गीतहरुमा पेमाको आवाज स्वयं थिन्लेले गाएकी हुन् । अरु कलाकारले पनि आआफ्नो गीत आफैंले नै वास्तविक रुपमा गाएका छन् ।

उसो त शाम्बालामा कर्माबाहेक लगभग सबै नन्एक्टर हुन् । उम्दा कलाकार कर्मा जति खुल्नसक्थे, त्यो दुर्गम उचाइमा उनी मस्त अभिनयमा रम्न सकेको देखिँदैन । बरु नन्एक्टरहरुको काम तारिफ ए काबिल देखिन्छ ।

मीनले आफ्नो सिनेमालाई ड्रामा, एडभेन्चर, म्याजिक रियलिज्म विधाको भनेर परिभाषित गरेका छन् । यसलाई सायद मिस्टिसिज्म पनि भन्नु उपयुक्त हुन्छ

पेमा बनेकी थिन्ले ल्हामोको खुलेर प्रशंसा गरिएन भने गल्ती हुन्छ । उनी हाँस्दा हामी हाँस्छौं, उनी गल्दा हामी पनि गल्छौं । छटपटे याक, लहडी च्याङ्ग्राहरुलाई समेत हुल बाँधेर सिनेमामा खेलाउन कति परिश्रम पर्यो होला, कल्पनामात्रै गर्दा पनि रमाइलो अनुभूति हुन्छ ।

कुनै पनि साहित्य वा सिनेमा कुन समयको हो भनेर बहस हुने गर्छ । मीनले कालोपोथी फिल्म बनाउँदा माओवादी युद्ध सुरु भएको राजतन्त्रकाल समय टिपेका थिए । यस सिनेमामा भने कुनै समय बताइएको छैन । खालि पेमाको कान्छो लोग्ने दावाको मिल्के घडी टिकटिक गरिरहन्छ । त्यसले पनि वास्तविक समय भने बताउँदैन ।

सिनेमामा दर्शकको मुटु हल्लाउने थुप्रै दृश्यहरु छन्, जसको चर्चा यो आलेखमा सम्भव छैन । मान्छे मरेपछि न गाड्ने, न त जलाउने, बरु खुला आकाशमुनि गिद्धले खाउन् भनेर चोक्टाचोक्टा छरिदिने अनौठो हिमाली परम्परा यस फिल्ममा देख्न पाइन्छ । पर्यावरणीय चेतनाको उच्चतम अनुभूति शाम्बालाले दिलाउँछ । कथाको समग्र लेखन र प्लट संरचना निर्माणमा अविनाशविक्रम शाह अनि मीनको जुगलबन्दी जमेको देखिन्छ ।

मीनले आफ्नो सिनेमालाई ड्रामा, एडभेन्चर, म्याजिक रियलिज्म विधाको भनेर परिभाषित गरेका छन् । यसलाई सायद मिस्टिसिज्म पनि भन्नु उपयुक्त हुन्छ, जहाँ व्यक्तिको आत्मनिर्णयक्षमता जति प्रष्ट हुँदै आउँछ, नदेखिने पक्षहरुको अनदेखा उपस्थिति पनि उपेक्षा गर्न नमिल्ने खालको छ ।

खासमा मिस्टिसिज्म नेपाली र हिमाली क्षेत्रको कथाशक्ति हो, जसलाई अन्धविश्वास, रुढीवादको ट्यागमा पन्छाएर हामी विश्वमन्चमा कला, साहित्य, सिनेमा पुर्याउन सक्दैनौं । मीनले मिस्टिसिज्मको प्रयोगमा आफूलाई खरो उतारेका छन् । कालोपोथीमा पनि त्यसको प्रयोग भइसकेको छ । ‘ड्रिम सिक्वेन्स’ शटहरु जुन कलर, म्युजिक अनि ‘टेम्पो’ मा खिचिएका छन्, मीनले सिनेमा संसारलाई दिन सक्ने मिस्टिसिज्मको विधा–उपहार यही हो ।

पाली भाषामा लेखिएको शाम्बाला शब्दले हामीलाई सिनेमासम्म लैजान्छ । ‘शाम्बाला’ नेपाली सिनेमा क्षेत्रको लागि एउटा घटना हो । यो सिनेमाका नायक स्वयं निर्देशक मीन भाम हुन्, जसले नेपाली सिनेमाहरुको कथावाचन परम्परालाई अथेन्टिक ढंगले तोड्न सफल भएका छन् ।

५८ सय मिटरदेखि ६२ सय मिटरको उचाइमा खिचिएको शाम्बालाले दिने आनन्द मोहक छ । डोल्पाको तिन्जे, पोल्दे र धो तराप यसमा देख्न पाइन्छ । सिनेमा टिमको धैर्य गर्न सक्ने क्षमताको पूरा परीक्षण शाम्बालामा भएको छ ।

अन्तिममा, केही दिनअघि कलिंगा लिटरेरी फेस्टिभलमा निर्देशक सुजित बिडारीले मसँग संवाद क्रममा एउटा गहिरो कुरा भनेका थिए, ‘निर्देशकले ८० प्रतिशत काम जतिसुकै राम्रोसँग गरे पनि त्यत्तिको भरमा सिनेमाको शक्ति नापिन्न, बरु बाँकी २० प्रतिशतमा कति संघर्ष वा साधना गरे भन्ने कुरा निर्णायक हुन्छ ।’ बिडारीको भनाइ उद्धृत गर्ने हो भने मीनले त्यो २० प्रतिशत परीक्षा मज्जाले पास गरेका छन् ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School