क्यालिफोर्नियाको नयाँ नक्सा विरुद्ध ट्रम्प प्रशासनद्वारा मुद्दा दायर



प्रकाशित मिति : कार्तिक २७, २०८२ बिहीबार

California

फोटो : पल हानाओका / अन्स्प्ल्यास

क्यालिफोर्नियामा जनमत संग्रहबाट पारित भएको निर्वाचन क्षेत्रको पुनः नक्साङ्कनका विरुद्ध अमेरिकी न्याय मन्त्रालयले मुद्दा दायर गरेको छ।

अमेरिकी न्याय मन्त्रालयले क्यालिफोर्नियामा भर्खरै जनमतसंग्रहमार्फत पारित भएको नयाँ कांग्रेसको नक्सा विरुद्ध मुद्दा दायर गरेको हो।

नयाँ नक्साले डेमोक्र्याटहरूलाई फाइदा पुग्ने र टेक्सासमा रिपब्लिकनहरूले हालै गरेको नक्सा पुनःनिर्माणबाट पाएको लाभलाई सन्तुलन गर्ने उद्देश्य राखेको बताइन्छ।

क्यालिफोर्नियाको नयाँ नक्सा विरुद्ध ट्रम्प प्रशासनद्वारा मुद्दा दायर

अटर्नी जनरल पाम बोन्डीले क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसेममाथि “सत्ता कब्जा” गरेको आरोप लगाउँदै नयाँ नक्सा जातीय गेरिम्यान्डरिङमा आधारित रहेको दाबी गरिन्।

प्रस्ताव ५० लाई मतदाताहरूले भारी बहुमतले पारित गरेका थिए, जसले डेमोक्र्याटहरूलाई पाँच नयाँ जिल्लामा प्रत्यक्ष लाभ पुर्‍याएको छ। न्युसेमका प्रवक्ताले प्रतिक्रिया दिँदै भने, “पराजितहरू मतपेटिकामा हारे, र चाँडै अदालतमा पनि हार्नेछन्।”

बोन्डीले न्युसेमले “क्यालिफोर्नियालीहरूलाई चुप गराउने” र “एकदलीय शासन” कायम राख्ने प्रयास गरिरहेको आरोप लगाइन्।

उनको आरोप छ कि न्युसेमले आफ्नो राज्यलाई सुरक्षित राख्न र एन्टिफाको हिंसा रोक्न ध्यान दिनु पर्नेमा सत्ता दुरुपयोगमा लागेका छन्।

दायर गरिएको मुद्दामा सङ्घीय अभियोजकहरूले गभर्नर न्युसेम र सेक्रेटरी अफ स्टेट शिर्ली वेबरमाथि “जातीय आधारमा विभाजित निर्वाचन क्षेत्र” निर्माण गरेको आरोप लगाएका छन्।

अभियोजकको दाबी छ कि यो कार्य संविधानको १४औँ संशोधनको समान अधिकार क्लजको उल्लङ्घन हो।

अमेरिकामा राजनीतिक लाभका लागि गेरिम्यान्डरिङ वैधानिक भए पनि जातीय आधारमा गेरिम्यान्डरिङ गर्नु संविधानविरुद्ध मानिन्छ।

न्याय मन्त्रालयले नयाँ नक्सा बनाउँदा ल्याटिनो जनसांख्यिकीलाई अत्यधिक प्राथमिकता दिएको “ठोस प्रमाण” रहेको बताएको छ।

नक्सा परिवर्तनको यो अभियान सन् २०२६ को मध्यावधि चुनाव प्रभावित पार्ने लक्ष्यसहित राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सुरु गरिएको राष्ट्रिय अभियानको हिस्साका रूपमा चलाइएको हो। यसले अमेरिकी प्रतिनिधिसभामा रिपब्लिकनको बहुमत सुनिश्चित गर्न सकिन्छ भन्नेमा ट्रम्पको विश्वास रहेको छ।

क्यालिफोर्नियाका गभर्नर न्युसेमले टेक्सासमा ट्रम्पको दबाबमा हुँदै गएको नक्सा परिवर्तनको जवाफस्वरूप “आगोको जवाफ आगोले” (Fire with Fire) भन्ने रणनीतिमा अगस्टमा अभियान थालेका थिए।

क्यालिफोर्नियाका अटर्नी जनरल रोब बोन्ताले गभर्नरको कदम र प्रस्ताव ५० को बचाउ गर्दै यसविरुद्ध आएका कुनै पनि कानुनी चुनौती सफल नहुने बताएका छन्। क्यालिफोर्निया रिपब्लिकन पार्टीले पनि गत हप्तामै प्रस्ताव ५० विरुद्ध मुद्दा दायर गरिसकेको छ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment