इरानमा खसालिएको अमेरिकी विमानका बेपत्ता क्रू सदस्यको यसरी भयो ‘हाई-रिस्क’ रेस्क्यु


इरानको दुर्गम पहाडी क्षेत्रमा खसालिएको अमेरिकी एफ-१५ ई लडाकु विमानका बेपत्ता क्रू सदस्यलाई अमेरिकी सेनाले एक जटिल र जोखिमपूर्ण अपरेसनमार्फत सफलतापूर्वक उद्धार गरेको छ। यस घटनालाई अमेरिकी सैन्य इतिहासकै सबैभन्दा साहसी खोज तथा उद्धार अभियानमध्ये एक मानिएको छ।

यसअघि सोही विमानका पाइलटलाई शुक्रबार नै सुरक्षित रूपमा उद्धार गरिएको थियो। तर, दोस्रो क्रू सदस्य (हतियार प्रणाली अधिकृत)घटनापछि बेपत्ता भएका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत उद्धारको पुष्टि गर्दै लेखेका छन्, “हामीले इरानका पहाडभित्र गहिराइबाट गम्भीर घाइते तर अत्यन्तै साहसी एफ-१५ ई क्रू सदस्यलाई उद्धार गरेका छौं।” उनले ती अधिकारीलाई ‘उच्च सम्मानित कर्णेल’ समेत बताएका छन्।

ट्रम्पका अनुसार अमेरिकी सेनाले सात घण्टासम्म इरानी आकाशमा उडान भरेर ‘दिनदहाडै’ उक्त अपरेसन सम्पन्न गरेको हो। उनले सोमबार पत्रकार सम्मेलनमार्फत थप विवरण सार्वजनिक गर्ने बताएका छन्।

उनले लेखेका छन्, “वी गट हिम ! अमेरिकी सेनाले इतिहासकै सबैभन्दा साहसी उद्धार अपरेसनमध्ये एक सफल बनाएको छ। हाम्रो क्रू सदस्य अहिले सुरक्षित छन्।”

राष्ट्रपति ट्रम्पका अनुसार उद्धार गरिएका अधिकारी घाइते भए पनि ‘छिट्टै पूर्ण रूपमा निको हुने’ अवस्थामा छन्। उनलाई उपचारका लागि कुवेत लगिएको अमेरिकी अधिकारीहरूले बताएका छन्।

इरानी रिभोलुसनरी गार्ड्सले शुक्रबार बिहान दक्षिण–पश्चिम इरानमा उक्त अमेरिकी एफ-१५ ई विमान खसालेको दाबी गरेको छ। इरानी सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका भग्नावशेषका तस्बिरहरू पनि अमेरिकी एफ-१५ ई सँग मिल्दोजुल्दो देखिएको दुई हतियार विशेषज्ञहरूले बताएका छन्।

अमेरिकी अधिकारीहरूका अनुसार विमानमा पाइलट र हतियार प्रणाली अधिकृत गरी दुई जना सवार थिए ।

शुक्रबारको प्रारम्भिक उद्धार प्रयासका क्रममा पाइलट बोकेको अमेरिकी हेलिकप्टरमाथि साना हतियारबाट गोली प्रहार भएको थियो, जसमा केही सैनिक घाइते भए पनि हेलिकप्टर सुरक्षित अवतरण गर्न सफल भएको थियो।

त्यसैगरी, खोजी अभियानमा संलग्न ए-१० वार्थोग विमानमाथि पनि आक्रमण भएको थियो। त्यसका पाइलटले पर्सियन खाडीमाथि इजेक्ट गरेर सुरक्षित रूपमा उद्धार पाएका थिए।

ट्रम्पले अन्य सैन्य कारबाहीहरू रोक्दै उद्धार अभियानलाई प्राथमिकता दिएका थिए। यस क्रममा सयौं विशेष अपरेसन फोर्स, दर्जनौं युद्धक विमान र हेलिकप्टर परिचालन गरिएको थियो।

उद्धार अपरेसनमा संलग्न कमान्डोहरूले बेपत्ता अधिकारीको संकेत दिने उपकरण (बीकन) ट्र्याक गर्दै उनको अवस्थिति पत्ता लगाएका थिए।

यस अपरेसनमा अमेरिकी गुप्तचर निकाय सीआईएको पनि महत्वपूर्ण भूमिका रहेको थियो। एयरम्यानलाई पत्ता लगाउनुअघि सीआईएले इरानभित्र भ्रम सिर्जना गर्ने अभियान सञ्चालन गर्दै ‘अमेरिकी सेनाले उनलाई पहिल्यै फेला पारिसकेको’ भन्ने हल्ला फैलाएको थियो।

यसैबीच, सीआईएले पहाडको एक चिरामा लुकेका क्रू सदस्यको ठ्याक्कै स्थान पत्ता लगाएर पेन्टागन र ह्वाइट हाउसलाई जानकारी गराएको थियो। त्यसपछि तत्काल उद्धार अपरेसनको आदेश दिइएको थियो।

उद्धार अभियानका क्रममा इरानी सेनालाई टाढा राख्न अमेरिकी सेनाले बम र गोलीबारी प्रयोग गरेको थियो। बेपत्ता अवस्थामा उक्त अधिकारीसँग आत्मरक्षाका लागि केवल एउटा पेस्तोल मात्र रहेको थियो ।

उद्धार टोलीलाई फर्काउन खटाइएका दुई ट्रान्सपोर्ट विमान इरानको दुर्गम बेसबाट उड्न नसकेपछि ती विमानलाई शत्रुको हातमा पर्न नदिन नष्ट गरिएको थियो। त्यसपछि थप तीन विमान पठाएर कमान्डोहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो।

ती तीनवटै विमान एक–अर्काको नजिक दूरीमा इरानबाट कुवेततर्फ उडेका थिए। मध्यरातअघि नै सबै अमेरिकी सेना शत्रु क्षेत्रबाट बाहिर निस्किसकेका थिए।

यो घटना पछिल्ला २० वर्षभन्दा बढी अवधिमा युद्धका क्रममा अमेरिकी लडाकु विमान खसालिएको पहिलो घटना भएको बताइएको छ।

फेब्रुअरी २८ देखि सुरु भएको इरान–अमेरिका द्वन्द्वयता कम्तीमा चार अमेरिकी लडाकु विमान खसालिएका छन्। तर, पेन्टागनका अनुसार तीमध्ये तीनवटा ‘फ्रेन्ड्ली फायर’ का कारण भएका थिए।



Source link

Leave a Comment