प्रकाशित मिति : चैत्र ५, २०८१ मंगलबार
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायलले गाजा पट्टीमा हमासको विरुद्ध पूर्ण स्तरको युद्ध सुरु गरेको घोषणा गरेका छन ।
भिडियो वक्तव्यमा उनले वार्ता हवाई आक्रमणको क्रममा नै जारी रहनेछ बताउदै यो हमला केवल शुरुवात मात्रै हो भनेका छन ।
गाजामा हमास नियन्त्रित क्षेत्रमा निशाना बनाउँदै इजरायली हवाई आक्रमण भएपछि इजरायली प्रधानमन्त्रीको धारणा बाहिर आएको हो ।
गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो आक्रमणका कारण ४०० भन्दा बढी मानिसको ज्यान गएको छ । सयौं अन्य घाइते भएका छन् ।
यो आक्रमण जनवरी १९ मा सुरु भएको युद्धविराम समाप्त भएपछि भएको सबैभन्दा ठूलो हवाई आक्रमण हो ।
यो नयाँ आक्रमणले स्थायी युद्ध अन्त्यको योजनामा बाधा पुर्याउने संकेत दिएको छ ।
गाजा नगरका बेइट लाहिया, राफा, नुसेइरात र अल मावासीलाई पछिल्लो हमलाले ध्वस्त पारिदिएको छ । गाजाका वासिन्दाहरुलाई फेरी डर र तनावमा फर्काएको छ । त्यहाँका अस्पतालहरू फेरि घाइतेहरूले भरिएका छन् ।
मिश्रका विदेश मन्त्रालयका प्रवक्ता तामिम खलाफले हवाई आक्रमणहरूको आलोचना गर्दै यो युद्धविराम सम्झौतामा स्पष्ट उल्लङ्घन हो भनेका छन ।
उनले यसलाई खतरनाक उक्साहट भनेका छन । मिश्रले गाजा युद्धविरामको लागि मध्यस्तता गर्दै आएको छ ।
इजरायली प्रधानमन्त्री नेतन्याहूले हमाससँग वार्ता गर्न खोजेको बताउदै गाजा जेलमा रहेका इजरायली बन्धकहरूलाई रिहा गर्न हमासले प्रस्ताव अस्वीकार गरेपछि युद्ध सुरु भएको बताए ।