प्रकाशित मिति : माघ २५, २०८१ शुक्रबार
![“जनवरी २० पछि नेपालीको देशनिकालाका लागि आइसले ट्राभल डकुमेन्ट मागेको छैन” – दूतावास श्रोत “जनवरी २० पछि नेपालीको देशनिकालाका लागि आइसले ट्राभल डकुमेन्ट मागेको छैन” – दूतावास श्रोत](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2025/02/54295734800_3aa4deeb9d_k.jpg?fit=2048%2C1366&ssl=1)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेदेखि जनवरी २० पछि कुनै नेपालीलाई अमेरिकाबाट देशनिकालाका लागि अमेरिकी अध्यागमन आइसबाट ट्राभल डकुमेन्टको अनुरोध नआएको वासिंटन डिसीमा रहेको नेपाली दूतावास श्रोतले जनाएको छ । देशनिकालामा पर्ने कुनै नेपालीको पासपोर्ट नभएको खण्डमा वा पासपोर्टको म्याद सकिएको खण्डमा अमेरिकी अध्यागमन आइसले दूतावास समक्ष ट्राभल डकुमेन्टका लागि अनुरोध गर्दै आएको छ ।
अमेरिकाबाट देशनिकाला हुने आफ्ना नागरिक नेपालले सहज रुपमा नै स्वीकार गर्दै आएको छ । सोही अनुरुप वासिंटन डिसीमा रहेको नेपाली दूतावासले पनि आइसबाट अनुरोध आएको खण्डमा सहज रुपमा नै अमेरिकाबाट देशनिकाला हुने नेपाली नागरिकको ट्राभल डकुमेन्ट सहज रुपमा नै बनाइदिदै आएको छ । दूतावासले तोकिएको शुल्क लिएर नै ट्राभल डकुमेन्ट बनाइदिने गरेको र उक्त शुल्क आइसले तिर्ने गरेको जनाइएको छ ।
![“जनवरी २० पछि नेपालीको देशनिकालाका लागि आइसले ट्राभल डकुमेन्ट मागेको छैन” – दूतावास श्रोत “जनवरी २० पछि नेपालीको देशनिकालाका लागि आइसले ट्राभल डकुमेन्ट मागेको छैन” – दूतावास श्रोत](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2025/02/Nepal-Embassy-USA3.jpg?resize=720%2C472&ssl=1)
आइसले न्युयोर्कमा रहेको नेपाली कन्सुलेटमा भने ट्राभल डकुमेन्टका लागि अनुरोध नपठाउने गरेको जनाइएको छ । न्युयोर्कको कन्सुलेटको कार्यक्षेत्राधिकारभित्र पर्ने क्षेत्रबाट देशनिकालामा पर्ने नेपालीहरुका लागि समेत आइसले वासिंटन डिसीमा रहेको दूतावास समक्ष नै ट्राभल डकुमेन्टका लागि अनुरोध गर्दै आएको छ ।
अमेरिकाबाट देशनिकाला हुने आफ्ना देशका नागरिकहरु स्वीकार नगर्ने देशलाई कारवाही गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिदै आएका छन् । सोही अनुरुप कतिपय देशका सरकारी अधिकारीहरुलाई अमेरिकी भिसामा अमेरिकाले बेलाबेलामा प्रतिबन्ध समेत लगाउँदै आएको छ । तर नेपालका सन्दर्भमा भने कहिले पनि यस्तो समस्या उत्पन्न भएको छैन ।
देशनिकालामा पर्ने नेपालीहरुको म्यादसहितको पासपोर्ट भएमा भने आइसले दूतावासमा कुनै जानकारी नदिई त्यस्ता व्यक्तिलाई देशनिकाला गर्ने गरेको छ । यद्यपी त्यस्ता नेपालीबारे आइसले नेपालको अध्यागमन विभागलाई भने जानकारी प्रदान गर्ने गरेको छ ।
आइसले पक्राउ गरेर तुरुन्तै देशनिकाला गर्न सक्ने भनेको अमेरिकाबाट पहिले नै देशनिकालाका आदेश पाइसकेका वा अमेरिकामा कुनै कागजात फाइल नगरी बसेका अमेरिका आएको २ बर्ष नपुगेका कागजातविहीनलाईमात्र हो । अन्य व्यक्तिलाई देशनिकालाका लागि आइसले अध्यागमन अदालतमा पेश गरेर त्यहाँबाट देशनिकालाको आदेश लिनुपर्छ । र, यो प्रकृयाका लागि कैयन महिना लाग्नसक्छ ।
![“जनवरी २० पछि नेपालीको देशनिकालाका लागि आइसले ट्राभल डकुमेन्ट मागेको छैन” – दूतावास श्रोत “जनवरी २० पछि नेपालीको देशनिकालाका लागि आइसले ट्राभल डकुमेन्ट मागेको छैन” – दूतावास श्रोत](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2025/02/54295550258_9c4f4d14c6_c.jpg?resize=720%2C481&ssl=1)
खसोखासले जनवरी २० पछि कुनै नेपाली देशनिकाला भए नभएकोबारे आइससँग विवरण मागेको छ । तर यो समाचार तयार पार्दासम्म कुनै विवरण प्राप्त भएको छैन । यद्यपी बाइडेन प्रशासनको ४ बर्षमा अमेरिकामा १३२ जना नेपालीहरुलाई आइसले पक्राउ गरेको र १३० जनालाई डिपोर्ट गरेको आइसले जनाएको छ । त्योबाहेक सिमाक्षेत्रमा सीबीपीले पक्राउ गरेर आइसको हिराशतमा पठाएका नेपालीहरुको संख्या २७ सयभन्दा बढी रहेको थियो । आइसको रिपोर्ट अनुशार ४ बर्षको अवधिमा आइसको हिराशतमा २८९१ जना नेपालीहरु परेका थिए ।
आइसले बाइडेन कार्यकालको पहिलो बर्ष आर्थिक बर्ष २०२१ मा ११, २०२२ मा ३०, २०२३ मा ५६ र २०२४ मा ३५ जना नेपालीहरुलाई अमेरिकाका विभिन्न क्षेत्रबाट पक्राउ गरेको थियो । जसमध्ये २०२४ मा १० जना नेपालीहरु विभिन्न अपराधमा दोषी ठहरिएकाहरु थिए भने २०२३ मा पक्राउ परेकाहरुमा ११ जना विभिन्न अपराधमा दोषी ठहरिएकाहरु रहेको आइसले जनाएको छ ।
त्यस्तै विनाभिसा सिमा पार गर्ने क्रममा सीबीपी लगायतले पक्राउ गरेर आइसको हिराशतमा राखिएका र आइस आफैले अमेरिकाभित्र पक्राउ गरेका नेपालीहरु आर्थिक बर्ष २०२४ मा ७१० जना, २०२३ मा ८३५ जना, २०२२ मा ९६२ जना र २०२१ मा ३८४ जना रहेका थिए ।
पक्राउ पछि आइसले विमानमार्फत देशनिकाला गरेका नेपालीहरु आर्थिक बर्ष २०२१ मा २३ जना, २०२२ मा २८ जना, २०२३ मा २२ जना र २०२४ मा ५७ जना गरी कुल १३० जना रहेका थिए ।
बाइडनको कार्यकालमा लगभग ९ हजार नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकले देखाएको छ । तर सबै नेपालीहरुलाई आइसको हिराशतमा पठाइएको थिएन । केबल झण्डै २८ सय नेपालीहरुलाई मात्र आइसको हिराशतमा पठाइएको थियो ।
अघिल्लो ट्रम्प प्रशासन अन्तर्गतको चार वर्षमा कुल १,८५० नेपालीहरु यसरी विना भिसा अमेरिका प्रवेश गरेका थिए । त्यसको तुलनामा बाइडेनकालमा विनाभिसा प्रवेश गर्नेहरुको संख्यामा झण्डै ५ गुणा बृद्धि भएको थियो । २०२३ को अक्टोबरबाट सुरु भएको र २०२४ को सेप्टेम्बरमा समाप्त भएको आर्थिक बर्ष २०२४ मा सबैभन्दा धेरै ३६९० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेको तथ्यांकले देखाएको छ ।
आर्थिक बर्ष २०२५ सुरु भइसकेपछि गत अक्टोबरमा ४४० र नोभेम्बरमा ३ सय नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेको तथ्यांक डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले गतसाता सार्वजनिक गरेको थियो । आर्थिक बर्ष २०२३ मा ३१४० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेका थिए । आर्थिक बर्ष २०२२ मा १४९० र २०२१ मा ४२० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेका थिए ।