‘नरपुरा बुढा पुन, उपाध्यक्ष’ लेखेको नेमप्लेट । नेमप्लेट छेवैमा नेपालको राष्ट्रिय झण्डा, ग्लोब । नेमप्लेटमा मौलिक मगर युवती नाम– नरपुरा । अनुहारमा सेतो टीका, गलामा माला, जीउमा गादा–गुन्युँ पारेर नेमप्लेट ठीक पछाडि कुर्सीमा अठार मगरात मगर पहिरन पहिरेकी युवती । तपाईंले पढ्न थालेको आलेख फोटो बयान हो, यो ।
फोटो रुकुम (पूर्व) पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष पदभार ग्रहणको हो । गएको मङ्सिर १६ गते सम्पन्न उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट विजयी नरपुराको फोटो ।
अबिर अभ्यस्त आँखा सेतो टीकाले ‘हलाक’ पर्यो होला । नरपुरा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मात्र होइन, राष्ट्रपतिदेखि वडासदस्यसम्मले पदभार ग्रहण गर्दा अबिर लगाइरहेको बेला सेतो टीकाले हलाक नहुनु, कसरी ? नभन्नु कसरी, अबिर ‘हेजेमोनी’ हुँदाहुँदै नरपुरा अनुहारमा सेतो टीका कसरी ? एकघच्ची गम खानुस् है !
कमरेड अनुहारमा अबिर
उसो त, नरपुरा पुर्खाका अनुहारमा पनि सेतो टीका थियो । जन्ममा सेतो टीका । बिहेमा सेतो टीका । स्वागतमा सेतो टीका । विदाइमा सेतो टीका । नरपुराहरूका खामभाषी मगरबस्तीमा सेतो टीका प्रचलन थियो । त्यसो भएर नरपुराको अनुहारमा सेतो टीका थियो ।
यहींनेर स्मरणीय के थियो भने, उपाध्यक्ष पदस्थापनमा नरपुरा अनुहारमा सेतो टीका थियो भने पार्टी (माओवादी)को विजय जुलुसमा अबिर । पदस्थापनमा सेतो टीका र माओवादीको विजय जुलुसमा नरपुराको अनुहारमा अबिर, कसरी फरक–फरक टीका ?
…
बहुसंस्कृतियुक्त नेपालमा पञ्चायत व्यवस्था बाजागाजासाथ अबिर उपनिवेशीकरणमा लाग्यो (जो जारी छ) । पञ्चायतको चुनाव हुन्थ्यो । जित्नेका अनुहार अबिरले रंगिन्थ्यो । जिताउरेले अबिरजात्रा गर्थे ।
नेपाल कम्युनिष्ट पार्टी(माले) ‘जनपक्षीय’ लुगा लगाएर चुनावमा भाग लियो । राष्ट्रिय पञ्चायत, जिल्ला पञ्चायत र गाउँ पञ्चायतमा कतिपय जनपक्षीयले जिते पनि । राजधानीछेउ धादिङमा राजेन्द्र पाण्डेले जिल्ला पञ्चायत सभापति जिते । पद्मरत्न तुलाधर, जागृतप्रसाद भेटवालहरू राष्ट्रिय पञ्चायत पुगे । जनपक्षीय कमरेड अनुहार पनि अबिरले रंगिए (नारायण ढकालसँगको कुराकानी) । स्वतन्त्र विद्यार्थी युनियन चुनाव जितेका ‘अखिल’हरू पनि अबिरले रंगिए ।
अबिर विजयोत्सव मनाउँदा पनि लगाउने नेपालको ‘मूलधारे’ चल्तीमा रहेको शासक संस्कृति थियो । उँचनीच, छुवाछूतवाल व्यवस्थाको जगमा नेपालको समाज व्यवस्था र राजनीतिक व्यवस्था उभिएका थिए । बहुरंगी नेपाललाई पञ्चायतले एकरंगी (अबिर) बनाउने भन्यो । एकरंगी अबिर अभियान चलायो (अबिर उपनिवेश विस्तार अभियान आजसम्म जारी छ) ।
‘पञ्चायतकालमा पञ्चले माला र अबिर लगाउँथे । माले पार्टीभित्र भूमिगतकालमा चुनाव भएन । पार्टी कमिटी सहमतिमा बन्थे । त्यसैले अबिर लगाए जस्तो लाग्दैन । पार्टीभित्रको होस् कि बाहिरको चुनाव, खुला परिवेशमा आएपछि भने कम्युनिष्टले अबिर लगाउन थाले’ पूर्व सांसद् एवं लेखक नारायण ढकालले फोनमा भने, ‘तपाईंसँग कुरा गरिरहेको बेला म जहाँ उभिएको छु, मेरो अघिल्तिर भित्तामा अबिरमा डुबेको मेरै फोटो छ । फोटोमा कवि राजकुमार केसी, शार्दूल भट्टराई र अग्निशिखा पनि हुनुहुन्छ ।’
ढकाल २०४९ को चुनावमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट गाउँ विकास समिति अध्यक्ष चुनिएका थिए । लगत्तै काठमाडौं जिल्ला विकास समिति उपसभापति । काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्य । ढकालले फोनमा भनेको अबिरमय फोटो उनले चुनाव जित्दाखेरिको थियो ।
नरपुरा अनुहारमा अबिर
मगर खामभाषी गाउँहरूमा पनि सत्यनारायण पूजा गर्ने, रुद्री लगाउने, जग्गे गर्ने र रक्षाबन्धनको दिन धागो बाँध्ने चलन चल्न थाल्यो । त्यो खासमा गाउँका जानभानले रोल्पा सदरमुकाम लिबाङ, रुकुम सदरमुकाम मुसीकोट र रुकुमकोटमा देखेको देखासिकी थियो । मुक्खे, पञ्च मार्फत रामायणहरू भित्रिए । भलै जन्म, बिहे र मृत्युमा तिनले ‘अबिर संस्कृति शिर’मा आसीन ‘बाहुन’ बोलाउने चलन चल्न भने बाँकी थियो ।
माओवादीमा अबिर भित्रियो । ‘लाल’ भएर अबिर भित्रियो कि ‘संस्कृति’ भएर ? माओवादीले लाल भन्यो । माओको पालादेखि चल्ती भयो, लाल र निपुण । कम्युनिष्ट कार्यकर्तालाई लाल बनाउने, निपुण बनाउने कुरा । क्रान्तिको लागि लाल भन्यो माओवादीले
नरपुरा स्कुल पनि खुले । शिक्षक जति दाङ, प्युठानका थिए । तिनले शुक्रबारे कार्यक्रमका विजेतालाई अबिर लगाइदिन थाले । शिक्षकका स्वागत र विदाइमा पनि अबिर प्रयोग हुन थाल्यो । स्कुलको वार्षिकोत्सवमा पनि अबिर ।
स्कुल सहित राज्यका अन्य अंग पनि नरपुराहरूका गाउँमा पुगे । सरकारी कर्मचारी, स्कुलका शिक्षक, विद्यार्थी, गाउँका जानभान, मुक्खे मिली अबिर चलन चलाउन थाले । संजोग ! खामभाषी मगर अनुहारमा अबिर ‘आम’ भएको भने थिएन ।
रोल्पा रुकुममा सिज मितेरी अभियान
२०४६ मा पञ्चायत ढल्यो, बहुदल आयो । राज्यको अबिरीकरण अभियान भने जारी रह्यो ।
राज्य उपस्थिति कमजोर रोल्पा र रुकुमका उत्तरी भेगका मगर खामबस्तीमा एउटा कम्युनिष्ट पार्टीले आँखा लगायो । उत्तरी रोल्पा थवाङमा मोहनविक्रम सिंह र खगुलाल गुरुङले २०१३ मै वर्मन बुढामगर नेतृत्वमा कम्युनिष्ट पार्टी गठन गरेका थिए । नेपाल कम्युनिष्ट टुटफुट हुँदा थवाङ सिंह छाडेर मोहन वैद्य किरण नेतृत्वको मशाल पक्षमा उभियो । वैद्यपछि पार्टी नेतृत्व प्रचण्डमा सर्यो । त्यही प्रचण्ड नेतृत्व नेकपा कम्युनिष्ट पार्टी (एकताकेन्द्र)ले नेपालमा युद्ध थाल्ने सुर कस्यो । त्यही ‘जनयुद्ध’ जग बसाल्न रामबहादुर थापा बादल रोल्पा रुकुम पसे (प्रचण्ड नेतृत्व एकताकेन्द्र २०५२ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बन्यो) । प्युठानी वैद्य हुँदाहुँदै चितवनिया बादल नै रोल्पा, रुकुम पस्नुका कारण थिए ।
एक, दाहाल र बादल हलगोरु थिए । विद्यार्थीकालीन अध्ययन मण्डलीदेखि दाहाल र बादल सँगै थिए । तिनले रोल्पाको थवाङलाई मियो मानी राप्तीलाई आधार इलाका बनाउने योजना बुने, आधार इलाकामा परिणत गर्न मगरथला ‘उपयुक्त’ देखे । तर, नेतृत्व गर्ने उपयुक्त पात्र ? बादल । हलको एउटा गोरु बादल आधार इलाका बनाउन रोल्पा, रुकुम पसे ।
दुई, हेर्दै ह्यान्डसम बादल रूसमा पढिआएका पढालेखा मगर समुदायका युवा थिए । कागको फूल समेत चोर्ने चतुर दाहाललाई लाग्यो, बादललाई देखाएर रोल्पा, रुकुमका मगर जुरुक्क उठ्छन् (लोकेन्द्र विष्टमगरसँगको कुराकानी) । दाहाल अनुमानले मेल खायो ।
‘जुन गाउँ जाने हो, त्यस गाउँका गाउँलेबारे बादलले मसिनरी सोधखोज गर्थे । उत्पादन सम्बन्ध सोध्थे । मानिस, भूगोल, खानपान, बोटबिरुवा जस्ता मसिना कुरा खोज्थे’ रोल्पा घोडागाउँवासी युद्धकालीन माओवादी अंग्रेजी मुखपत्र वर्कर का सम्पादक एवं मार्रा उपन्यासका लेखक कुमार शाहले बादलसँगको रोल्पा बसाइ सम्झिए ।
‘जनयुद्ध’ जग खन्न बादलले सिज मितेरी अभियान चलाए । रोल्पाको जलजला पहाड र रुकुमको सिस्ने हिमालको नाउँको पहिलो अक्षर जोेडेको सिज ।
सिजका तीन लक्ष्य थिए । एक, पार्टी शक्ति केन्द्रीकरण गर्ने । दुई, पार्टी चलायनमान गर्ने । तीन, जनाधार बनाउने ।
प्राप्त कसरी गर्ने ? चुनौती चुलियो । चुनौती चिर्न उपाय निकाले– जनता र पार्टी नेता/कार्यकर्ताका अनुभव साटासाट गर्ने । पार्टी नेता, कार्यकर्ता (एक ठाउँबाट अर्को ठाउँ, एक जिल्ला र अर्को जिल्ला) अनुभव आदानप्रदान गर्ने ।
आफ्नै जिल्लाभित्र मात्र होइन, सिज अभियानमा रोल्पाका नेता/कार्यकर्ता रुकुम गए, रुकुमका रोल्पा ।
माओवादीले उकालीओराली गर्दा बटुवाले पसिना ओभाउने, भारी बिसाउने बिसौना बनायो । जुन बिसौना बनाउने चलन रोल्पा, रुकुममा मगर चलनलाई अन्य समुदायले पनि पछ्याएका थिए । काठेसाँघु बनायो । गैंती कोदालोले खन्ने कामचलाउ बाटो खन्यो । जनताका घरघरमा गयो । परिवार सदस्य जस्तै भएर गाउँलेलाई काममा सघायो । लोकेन्द्रले सम्झिए, ‘गचक्क नपर्ने फरासिला माओवादी कार्यकर्ताले मल फालिरहेका जनताको मल फालिलागे । बुन्न लागेको डोको बुन्न पनि लाइजाने । जनताको आँगन बढार्न लाइजाने ।’
परिवार सदस्य जसरी सघाएर विदा हुँदा जनताले आफैंले बुनेका, आफ्नै ठाउँका चिनो दिए । के थिए, चिनो ? झोला थिए । टोपी थिए । खुकुरी थिए । रुमाल थिए ।
रोल्पा, रुकुममा मगर युवायुवतीले एकअर्कालाई चिनो दिन्थे । ती चिनो ‘परम्परागत कला कुरुस’ले कुँदेका हुन्थे । पुरुषले महिलालाई बर्रे (नाम्लो) बुनेर दिन्थे । भारेडोका(सानो आँखा भएको डोका, आँखा भनेको डोकाको प्वाल हो) दिन्थे । महिलाले भाङ्ङु (गाँजा भनेर मूलधारे बजारले चिन्छ) वा पुवा(अल्लो)को रेसाले बुनेको बोल्ला दिन्थे । चिनो यति धेरै कला र सीपले सिंगार्थे कि, प्रेम त्यसैमा प्रतिबिम्बित हुन्थ्यो । कारखाने लुगा भित्रिएपछि महिलाले बासा, थैली र रुमाल दिन थालेका थिए ।
मगर खामभाषी महिलाको झोरेल्नी नाच लिएर एक गाउँबाट अर्को गाउँ जाँदा स्वागत र विदा गर्दा आदिवासी सीपले सिएका उपहार दिन्थे । ढुंगा र काठमा कपेर कुँदेका उपहार साटासाट गर्थे (गणेशमान पुनसँगको कुराकानी) ।
पचासको दशकमा सेतो टेरिकटनको रुमालमा ऊनको धागोले ‘फूलबुट्टा’ भरेर चिनो दिने चलन रोल्पा, रुकुममा व्यापक थियो ।
जनता सघाउने कामलाई माओवादीले ‘जनसेवा’ भन्यो । पार्टीलाई जनमानससित जोड्ने कामलाई ‘जनजागरण अभियान’ भन्यो । निर्माण र उत्पादनको कामलाई ‘श्रम अभियान’ भन्यो ।
अभियानकै क्रममा माओवादीले टोलटोलमा संगठन विस्तार गर्यो । नाटक देखाउँदै माओवादी टोलटोल पस्यो । नाटक देखाउने भनेको गीत, नाच र प्रहसन देखाउनु थियो । रोल्पाको जलजला परिवारले रुकुमका गाउँगाउँमा नाटक देखायो । रुकुमको सिस्ने जनवादी सांस्कृतिक परिवारले रोल्पाका गाउँगाउँमा ।
पचासको दशक थालनीदेखि ‘जनयुद्ध’ सुरु हुँदासम्म सिज अभियान चल्यो ।
बादलको शब्दमा सिज अभियान ‘राजनीतिले संस्कृति र भावनालाई जोड्ने अभियान’ थियो । त्यसका लागि नाम नै दिए, सिज संस्कृति । ‘लाल सलाम’को बदला ‘सिज सलाम’को चलन चल्यो ।
सिज संस्कृतिका दुई अंग थिए— एक, क्रान्तिकारी । दुई, जनसंस्कृति ।
अबिरइतर संस्कृतिमा जन्मे–हुर्केका रोल्पाका स्थानीय वर्षमान र रुकुमका स्थानीय गणेशमानहरू पनि अबिरबाट अछुतो थिएनन् । फलस्वरुप बादललाई रोल्पा, रुकुमको सेतो टीका सुझाउने सुर्तै भएन
‘कमरेडली भावना विकास गर्न, भावनात्मक सम्बन्ध कायम गर्न के गर्ने ? यो बहस उठाएको बादलजीले नै हो । उहाँले राजनीतिलाई संस्कृतिसँग जोड्नुहुन्थ्यो । राजनीतिलाई संस्कृतिसँग जोड्ने, राजनीतिलाई भावनासँग जोड्नेक्रममा सिज अभियान, सिज संस्कृति सन्दर्भ जोडियो’, रोल्पा जंकोटवासी माओवादी नेता वर्षमान पुन अनन्तले सम्झिए ।
बादलले भावनात्मक निकटता बढाउन जनसंस्कृतिलाई पछ्याउने भने । जसमा आफ्नै उत्पादन र संस्कृति झल्कियोस् भने ।
‘जनता त राजनीतिक, सिद्धान्तका कुराले मात्र लडाइँमा जाँदैनन् । बलिदान दिन तयार हुँदैनन् । भावना नजोडी हुँदैन’, रुकुम (पूर्व) छिपखोलावासी माओवादी नेता गणेशमान पुनले बादललाई उद्धृत गर्दै माओवादीले स्थानीय चलन पछ्याएको सम्झिए । बादलले भनेअनुसार युद्धमा सहभागी गराउन भावनात्मक रूपले स्थानीय जन समेट्न के चलन चलाउने त ? माओवादीले रोल्पा, रुकुमका मगर समुदायको चिनो दिने चलन चलायो । फूलबुट्टाको बदलामा जलजला, सिस्नेका चित्र र हँसिया हथौडा चित्र बनाएका रुमाल उपहार चल्ती भए ।
मगर समुदायको जन्म, बिहे र मृत्युमा बन्दुक पड्काउने र बाजा बजाउने चलनलाई माओवादीले पछ्यायो ।
सिज संस्कृति सिलसिलामा माओवादीले जनवादी बिहे चलन चलायो । रोल्पा जङ्कोटमा २०५२ भदौ ११ गते रोल्पाली तीन जोडीको जनवादी बिहे भयो । वर्षमान पुन ‘अनन्त’ र ओनसरी घर्तीमगर ‘उषा’, कुलप्रसाद केसी ‘सोनाम’ र तारा घर्तीमगर ‘अञ्जली’, रणबहादुर केसी ‘कोपिला’ र आशा पुन ‘वेदना’ । संजोग, तीन जोडीको बिहे भएको नौ महिनापछि जनवादी बिहे गरेका (रुकुम पूर्तिमकाँडामा बिहे गरेका चुनबाङ लाखरखोलाका सूर्यप्रकाश पुन ‘सुन्दर’ र सदरमुकाम मुसीकोट सेरीगाउँकी परम्परा गौतम ‘वृक्षा’, रुकुम (पूर्व) महत तमारीका तेजबहादुर ओली ‘प्रतीक’ र रुकुम (पूर्व) काँक्रीकी जूनकुमारी रोकामगर) जोडीका छोराछोरीले बिहे गरे– सूर्य–परम्परापुत्र सन्दीप र तेज–जूनपुत्री चुनौतीले ।
माओवादी विस्तार गर्न सुदूरपश्चिमको बझाङ पुगेको सूर्य र परम्परा दम्पती एक साताको अवधिमा बझाङकै दुई फरक गाउँमा मारिएका थिए । सिज अभियानकै बेला चलेको जनवादी बिहे युद्धकालमा त एकसाथ दर्जन जोडी बिहे पनि भए । जो बिहेले जात व्यवस्थाका पर्खाल भत्काए । भलै शान्तिप्रक्रियापछि धेरै बिहे भत्के ।
रोल्पा, रुकुमको स्थानीय चलन ‘चर’बाट सिज अभियानताका नै अबिर नपुगेका मगर खामभाषी रोल्पा रुकुममा अबिर चलन चल्यो । जसको विस्तृति तल छ ।
अबिरीकरण : ‘लाल’ अबिर ‘संस्कृति’
‘बैठकथलो चितवन मादी जाँदा/फर्कंदा कच्ची बाटोमा उडेको धुलोले हाम्रा अनुहार नचिनिने भएको थियो’ अबिर चलन उप्काउँदै पचास दशकको थालनीतिर फर्केर लोकेन्द्रले भने, ‘त्यसबेला माओवादीको अनुहारमा ‘लाल’ अबिर थिएन । ‘लाल’ त त्यसबेला ‘सलाम’मात्र थियो, लालसलाम ।’ चितवन मादीमा सम्पन्न माओवादी केन्द्रीय समिति बैठकमा लोकेन्द्र सहित पम्फा भुसाल, दिनेश शर्मा र मातृकाप्रसाद यादव थपिएर १९ सदस्यीय केन्द्रीय समिति बनेको थियो । जुन समितिले नेपालमा ‘जनयुद्ध’ साइत गरेको थियो ।
माओवादीमा अबिर भित्रियो । ‘लाल’ भएर अबिर भित्रियो कि ‘संस्कृति’ भएर ? पहिले लाल अबिरको कुरा गरौं ।
माओवादीले लाल भन्यो । माओको पालादेखि चल्ती भयो, लाल र निपुण । कम्युनिष्ट कार्यकर्तालाई लाल बनाउने, निपुण बनाउने कुरा । क्रान्तिको लागि लाल भन्यो माओवादीले ।
जस्तोः लाल मानव । लाल रुमाल । लाल सलाम । लाल किताब (रेडबुक, व्याख्या गर्न माओवादीसँग माओका रेडबुक छँदैथिए) । लाल झण्डा । लाल सेना । लाल रगत । लाल फूल । लाल क्षितिज । लाल किल्ला । लाल क्षेत्र । सबका सब लाल !
गीत नै थिए, ‘पूर्व क्षितिज रातो भयो’, ‘संसारैभरि कहाँ झुके खै, क्रान्तिका राता सिपाही’, ‘हामी लालसेना’, ‘हाम्रो लालकिल्ला’, ‘रातो घाम’, ‘पूर्वमा लालकिरण छायो’, ‘हाम्रो रातो झण्डा पेरुमा फर्फराउँदै छ’ आदि ।
लाल भन्दाभन्दै माओवादीले अबिरलाई ‘लाल’ भन्यो । लाल अर्थ लगाएर अथ्र्यायो । अबिर आँखाले भन्थ्यो, ‘रातो राम्रो, गुलियो, मिठो ।’
अबिर कसरी नयाँ जनवादी क्रान्तिको ‘लाल’ भयो ? कैयौं कारण थिए ।
एक, माओवादी शिरमा आसीनका जन्मजात आँखामा अबिर थियो । अबिर आँखाले देखेको अबिर लाल थियो । सोचनीय त के भने, पार्टी शिरमा बसेकाले जे देखे, त्यही लाल थियो । त्यसपछि के भयो ? पार्टीभित्र अबिर चलन चलाउन विभिन्न अर्थ लगाउँदै पेलपाल पारे (लोकेन्द्र विष्टमगरसँगको कुराकानी) ।
माओवादी शिरको कुरा गरेपछि कम्युनिष्ट पार्टी संरचना पृष्ठभूमिमा पसौं है !
पुष्पलाल श्रेष्ठ नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी २००६ मा गठन भयो । बाँकी संस्थापक नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ थिए । पाँच नेवार युवाले नेपालमा पहिलो पटक कम्युनिष्ट पार्टी गठन गरेका थिए । पछि कम्युनिष्ट पार्टी (बजारका मूलधारे कम्युुनिष्ट पार्टी) लाल अबिरले कब्जा गरे । माओवादीमा दाहाल र एमालेमा केपी ओलीसम्म । जसको जन्मजात चरित्र भने कम्युनिष्ट चरित्रको ठीक विपरीत थियो । जुन कुरा बादलले माओवादीले संसद् साइत गरेको चुनबाङ बैठकमा बोले । उनले दाहाल र आफूबीच फाटो अबिर आँखाका दाहाल(बाहुन) र अबिर ‘हेजेमोनी’ले थला परेको मगर समुदायबीचको दूरी भनेका थिए । बादल जन्मजात समाजवादको गुन लिएर जन्मे, हुर्के भने दाहाल त्यसको ठीक विपरीत ।
बादलका अनुसार मुखले त ‘रूपान्तरण’ हुने भने, व्यवहारतः दाहाल दाहाल नै रहे । फलस्वरुप जन्मजात ‘समाजवादी’ र जन्मजात ‘अबिरवादी’ दुई कमरेड दाहाल र बादल सम्बन्धमा दरार आयो ।
हेर्नुस्, माओवादी चुनबाङ बैठकमा बादलको भाषण–२ ।
केपी ओली, शेरबहादुर देउवा र दाहालहरू अबिरमय भई मञ्चासीन हुन्थे, बाँकी भुइँमा । ओली, दाहाल र देउवाहरू धर्मगुरु त मञ्चमुनि बसेका धार्मिक अनुयायी । मञ्चासीन धर्मगुरुहरूले भाषण गर्थे, अनुयायीहरूले ताली बजाउँथे । अबिर संस्कृतिको मूल चरित्र थियो, सामन्तवाद । उँचनीच । सानो ठूलो
दरार यति गहिरियो कि, दाहालले बादललाई नेतृत्व हत्याउन खोजेको ‘लिन प्याओ’ नै करार गरे । पम्फा भुसालसँग ‘सांस्कृतिक विचलन’ जोडे । भुइँमा भुट्ट पछारे ।
बादललाई कारबाही गर्ने कारण थियो, सिज अभियान मार्फत माओवादीभित्र बादल स्थापित भएका थिए । पार्टी बाहिर त बाबुराम भट्टराई छँदैथिए । दाहालले आफूलाई न पार्टीभित्र देखे न पार्टीबाहिर कतै पनि देखेनन् । सबभन्दा पहिले दाहालले बादललाई ‘किकआउट’ गरे, त्यसपछि बाबुरामलाई ।
कारबाहीपछि बादल ‘करिस्मा’ कहिल्यै पलाएन । त्यसपछि के भयो ? अबिरइतरका बादलहरू दाहालहरूलाई सत्ता दिलाउनमै सीमित भए । हेर्नुस् त, पृथ्वीनारायण शाहको गोर्खा विस्तारमा बाह्र मगरातका मगर रगतको गण्डकी बगेको थियो, माओवादी विस्तारमा अठार मगरातका मगर रगतको राप्ती (नवीन विभास, पृथ्वीनारायणले काठमाडौंमा किन बसाले मगर बस्ती, नयाँ पत्रिका, २०७६ पुस २६) ।
माओवादी शिरपाउ नै जन्मजात अबिर आँखाको ‘हेजेमोनी’ थियो । ‘सैद्धान्तिक हिसाबले धर्म र संस्कृति फरक हुन् । तर नेपालको शासक संस्कृति, मूलधारे संस्कृति हिन्दु धर्ममा आधारित हो । माओवादीमा पनि शासक संस्कृतिकै दबदबा रहिरह्यो’, कुमार शाहले सुनाए ।
मूलधारे अबिर संस्कृतिको जबर्जस्त दबदबा बुझ्न बादल काफी थिए । रोल्पा, रुकुम युद्धको जग खन्न गएका बादल गुल्मीबाट चितवन पुग्दासम्म अबिर हेजेमोनीले थला परिसकेका थिए । अबिरइतर संस्कृतिमा जन्मे–हुर्केका रोल्पाका स्थानीय वर्षमान र रुकुमका स्थानीय गणेशमानहरू पनि अबिरबाट अछुतो थिएनन् । फलस्वरुप बादललाई रोल्पा, रुकुमको सेतो टीका सुझाउने सुर्तै भएन (वर्षमान र गणेशमान पुनसँगको कुराकानी) ।
‘बादलजीले धेरै सोचेर भन्दा पनि उहाँ धेरै हिन्दु संस्कृतिमा हुर्केकाले यसो भयो । प्रभावित भएकाले भयो । उहाँमा पनि धेरै सचेतता थिएन । किनभने पहिचानको आन्दोलनसँग उहाँ हुनुहुन्थेन । कम्युनिष्ट हो । कम्युनिष्ट भएर आउनुभयो । कम्युनिष्ट हुँदा आफू जस्तो हो, त्यसलाई सामान्यीकरण गरिदिनुभयो । त्यसैले अबिर नै लैजानुभयो । रोल्पा, रुकुमको भइदिएको भए सेतो टीका लगाउने हुन्थ्यो होला । सेतो टीका उहाँको सोचमै थिएन, हामी रोल्पा, रुकुमका स्थानीय नेतामा पनि थिएन । नयाँ गरौं भन्ने भयो । भन्न त क्रान्ति भन्यौं, तर हिन्दुतिर लैजानुभयो । नयाँ गरौं भन्यौं, उहाँ(बादल)को पारिवारिक पृष्ठभूमि, समाज त्यही थियो, हिन्दुकरण भएकोे । सायद बादलजीको ठाउँमा रोल्पा, रुकुमको भए त सेतो टीका चलन चल्थ्यो होला’, वर्षमानले भने ।
माओवादी शिर र शरीर एकल ‘अबिर हेजेमोनी’ परिणाम के निक्लियो ?
स्वागतमा अबिर । विदाइमा अबिर । मञ्चमा आसन गराउँदा पनि अबिर । माओवादी बन्दाखेरि पनि अबिर, माओवादी डब्लुटी (पूर्णकालीन) बन्दा पनि अबिर । कुनै ठाउँमा आक्रमण गर्न जाँदा पनि अबिर । आक्रमणबाट फर्कंदा पनि अबिर ।
‘बादल रोल्पा, रुकुममा हुँदाखेरि नै विजय र क्रान्तिको रूपमा अबिर प्रयोग भयो । हाम्रो (रोल्पा रुकुम)मा चलन थिएन । युद्ध सुरु भएपछि बढी प्रयोग भयो । हिजो क्रान्ति र विजयसँग जोडिएको अबिर अहिले पनि जारी रह्यो’, वर्षमानले सम्झिए । जनयुद्धकालीन आधार इलाका (रोल्पा रुकुम सहितका जिल्ला रहेको भेग) इन्चार्ज (अहिले नेपाल कम्युनिष्ट पार्टी महासचिव) नेत्रविक्रम चन्द विप्लव रोल्पा केवरीमा जन्मे, हुर्के । उनले सम्झिए, ‘हिन्दु भनेर हामी (माओवादी)ले अबिर लगाएको होइन । हिन्दुले एक तरीकाले टीका लगाए, यता हामीले त अबिर लगाउँदा बलिदान र साहस व्यक्त हुन्थ्यो । यद्यपि ऐतिहासिकताले हेर्दा अबिर हिन्दुको थियो ।’
माओवादीले त जनवादी बिहेमा पनि अबिर चलायो । जो हिन्दुले परिभाषित गरेको खुसीको संकेत थियो (कुमार शाहसँगको कुराकानी) । अन्ततः के भयो ? गणेशमानले सम्झिए, ‘पहिला लाल भनेर अबिर पसिहाल्यो । पसेपछि त बिरालो बाँध्ने तरिकाले क्रान्तिकारी श्राद्ध गर्दै गइयो ।’
माओवादीमा पसेको अबिर लाल थियो कि संस्कृति ? लाल भएर पसेको अबिर संस्कृति भएर निक्ल्यो कि लाल भएर ? सम्झन माओवादीमा दुई सन्दर्भ साक्षी थिए । अबिर ‘हेजेमोनी’बीच माओवादीभित्र सुनिएका दुई खासखुस थिए ।
एक, अल्पसंख्यक मुस्लिम र क्रिश्चियन समुदायबाट माओवादी बनेका कमरेडहरूले अबिर लगाएनन् । ‘टीका लगाउन मान्दैनथे । भो मलाई नलगाए पनि चल्छ भन्थे’, कुमार शाहले भने ।
दुई, उत्तर भोजपुर सालेवा माध्यमिक विद्यालयमा किरात गणराज्य घोषणा कार्यक्रम तय भयो, २०६० माघ १६ र १७ मा । गणराज्य प्रमुख भए गोपाल किराती । उनले घोषणा कार्यक्रममा अबिर जात्रा गर्न दिएनन् । किरातीले सम्झिए, ‘आदत रातो अबिर लगाउने छ । सीसीएम (केन्द्रीय समिति सदस्य)हरूसँग छलफलमा अबिरजात्रा गर्न पाइँदैन भनें । अरूबेला के के गर्नुहुन्छ गर्नुस् तर मैले अध्यक्षता गर्ने कार्यक्रममा यो(अबिर) हुँदैन । अबिर क्रान्तिको प्रतीक हो भने माक्र्स, लेनिनको फोटोमा कहाँ लगाएको छ ? मैले हिन्दुको हो पनि भनिनँ, कतिसँग भाँज्ने ? देशैभरि कति सम्झाइहिंड्नु !’
अबिर ‘लाल’ हुँदो हो त अबिर लगाउँथे । संस्कृति भएकाले तिनले अबिर लगाउनुलाई अबिरीकरणमा सामेलिनु सम्झे । प्रभुत्वशाली र वर्चश्वशाली संस्कृतिको उपनिवेशीकरण सम्झे । अबिरले बोकेको समाजशास्त्र बोक्नु सम्झे । अबिरीकरणको प्रभुत्व विस्तार सम्झे ।
अबिर लाल कि संस्कृति सम्झन युद्धकालमा माओवादी सांस्कृतिक मोर्चाको नेतृत्व गरेका गीतकार एवं पूर्वमन्त्री मणि थापाको संस्मरण सुनौं है !
२०५५–५६ सालतिरको कुरा थियो । त्यसबेला थापा बारामा थिए, जहाँ पूर्वी नेपालको माओवादीलाई प्राविधिक प्रशिक्षण दियो । जसको लागि पिपुल्स वारका कमरेड विनोद आएका थिए । उनले नेपालका माओवादी कमरेडहरूलाई भेटेपछि पोखेको अनुभूति थापाले सम्झिए । त्यसपछि विनोदलाई उद्धृत गरे, ‘पार्टी नीतिबारे कति आधिकारिक रूपले बोल्यो ? त्यसको आधारमा मात्र हाम्रो (भारत)मा ‘ए नेता रहेछ’ भनेर चिन्छौं । होइन भने खाएको र लगाएको देखेर नेता र कार्यकर्ता चिनिंदैन । देखेर थाहै हुन्न, को नेता को कार्यकर्ता ? नेपालमा लगाएको, खाएको देखेरै नेता हो कि कार्यकर्ता ? चिनिने रहेछ । नेताले माला भिरेको छ । अबिर लगाएको छ । नेतालाई सलाम ठोकेको छ । नेता माथि अग्लो(मञ्च) ठाउँमा, त्यसमाथि पनि फरकखालको कुर्सीमा बसेको छ । कार्यकर्ता भुइँमा बसेका छन् । एउटै विचार र पार्टीमा पनि कसरी यति फरक भयो ? यस्तो फरक पनि कसरी कम्युनिष्ट हुन्छ ?’
त्यसपछि थापाले अर्को सन्दर्भ सम्झिए । त्यो थियो, १०औं जनयुद्ध वार्षिकीको अवसरमा नयाँदिल्ली जवाहरलाल नेहरू विश्वविद्यालय परिसर । भारतीय कमरेडहरूले भनेका थिए, ‘पिपल्स वार जनकलाकार अध्यक्ष गदर पनि थिए । हामीले अबिर लगाएर जनयुद्ध दिवस मनायौं । तिनीहरूले सोधे– जनयुद्धको वार्षिकोत्सव हो कि हिन्दुले पर्व मनाएको ?’
अबिर ‘हेजेमोनी’माझ नरपुरा अनुहारमा सेतो टीका टिक्ला ? यो बहस यत्तिमै साँचेर बहुरंगी नेपालको सुन्दरता साँच्न सेतो टीका ब्युँतेको सन्देश दिलदिमागमै सार्ने कि ?
नेपालको माओवादी नारा पनि नेता र कार्यकर्ता को हुन् भनी नचिनिने भन्ने नै थियो । सबै जाति, वर्ग, समुदाय र लिंगको माओवादी भन्थ्यो । नाराले भन्थ्यो, ‘सबै कमरेड ।’ जातीय, क्षेत्रीय, लिंगीय र वर्गीय विभेदमुक्त गर्ने माओवादी नाराले त दलित, महिला, आदिवासी जनजाति, कर्णाली, मधेश र अल्पसंख्यक समुदायलाई तानेको थियो । व्यवहार पो जर्ज अर्वेलको ‘अल एनिमल आर इक्वेयल बट सम आर मोर इक्वेयल’ थियो । जब्बर ‘सामन्तवाद’ थियो । कमरेड होइन, नेता त ‘सर’ र ‘मेडम’ भएका थिए । सर नै सर्गेसुली थिए भने, सरका पनि सर ‘हेडसर’का के बयान !
केपी ओली, शेरबहादुर देउवा र दाहालहरू अबिरमय भई मञ्चासीन हुन्थे, बाँकी भुइँमा । ओली, दाहाल र देउवाहरू धर्मगुरु त मञ्चमुनि बसेका धार्मिक अनुयायी । मञ्चासीन धर्मगुरुहरूले भाषण गर्थे, अनुयायीहरूले ताली बजाउँथे । अबिर संस्कृतिको मूल चरित्र थियो, सामन्तवाद । उँचनीच । सानो ठूलो । अबिरलाई त सरकारको प्रज्ञा प्रतिष्ठानकृत नेपाली बृहत् शब्दकोशले अर्थ्याएको थियो, ‘अबिर देवताको पूजा गर्ने र टीको आदि लगाउने काममा प्रयोग गरिने रातो धुलो’ (पृ.६०, २०६७) ।
माओवादीमा लाल भएर पसेर चलेको अबिर संस्कृति चरित्र थिए । एक, कमरेड होइन, सर, मेडम र हेडसर । दुई, एकथरी मञ्चासीन अर्कोथरी भुइँसीन । तीन, मञ्चासीनले भाषण गर्ने, भुइँसीनले ताली बजाउने ।
माओवादी अबिरीकरण सन्देश थियो–
एक, माओवादीले आदिवासी जनजाति, अल्पसंख्यक, महिला, कर्णाली, मधेश पहिचानका कुरालाई सैद्धान्तिक हिसाबले त उठायो तर कार्यान्वयन कार्यक्रम ल्याएन ।
दुई, विविधतायुक्त नेपाली समाज छ भन्ने कुरा माओवादीभित्र छलफल, बहस नै भएन । अबिर संस्कृति ‘हेजेमोनी’ चुपचाप स्वीकारे । अबिरइतर समुदायले पनि अपनत्वबोध गर्ने पार्टी बनाउनुपर्छ भन्ने कुरा कहिल्यै उठाउन सकेनन् । यसले भन्थ्यो, माओवादीले नेपालको विविधतालाई व्यवहारतः स्वीकारेन । माओवादीले विविधतालाई स्वीकार्ने न योजना बनायो न त यसबारे पार्टीभित्र बहस नै चल्यो (गणेशमान पुन र माओवादी नेता एवं वागमती सांसद युवराज चौलागार्ईंसँग कुराकानी) ।
जीवनपद्धतिमा अबिर अर्पण गर्नेकै एकल नेतृत्व, एकल वर्चश्व र एकल प्रभुत्व रह्यो, माओवादीमा पनि । जस्तो थियो; एमाले, कांग्रेस ।
…
भन्नुहोला, माओवादी अबिरीकरणबाट कसरी मगर खामभाषी मगर समुदाय अबिरीकरण भयो ? कसरी सांस्कृतिक उपनिवेशीकरण र अबिर प्रभुत्व विस्तार भयो, मगर खामभाषी मगरबस्तीमा ?
जवाफ जान्न राज्य र विद्रोही माओवादी मूल हेर्नुपर्छ । राज्य र विद्रोही दुवै सत्ताको मूल एउटै थियो । नेतृत्व मूल एउटै थियो । अबिर मूल । राज्यको होस् कि विद्रोही, दुवैको एकल वर्चश्व अबिरको थियो ।
फेरि भन्नुहोला, सिंगो सदी राज्यले अबिरीकरण गरेर पनि बचेको मगर खामभाषी बस्तीमा १० वर्ष लामो जनयुद्धले कसरी अबिरीकरण गर्यो ? राज्यले अबिरलाई आम बनाउन नसकेको मगर बस्तीमा विद्रोही माओवादीले १० वर्ष लामो जनयुद्धकालमा कसरी अबिर आम बनायो ?
जवाफ थिए–
एक, मगरबस्ती नै माओवादी लालकिल्ला थियो । माओवादी गढ थियो । माओवादी आधार इलाका थियो ।
दुई, राज्य स्कुल जस्ता राज्यका अंग र गाउँका जानभानकहाँ मात्र सीमित थियो । मतलब अबिर त मगर खामभाषी समुदायमा पुगेको थियो तर आम भएको थिएन ।
माओवादी आन्दोलनले १० वर्षको अवधिमा नेपाली समाजको जराकिला हल्लायो । कुनाकुना र नेपाली समाजको तल्लो तहसम्म पुग्यो । जसबाट जाति, लिंग, क्षेत्र र वर्ग प्रभावित भए ।
फलस्वरुप राज्यले विस्तार गर्नबाट बचेको रोल्पा रुकुमका मगरबहुल गाउँमा माओवादी आन्दोलनले अबिर विस्तार गर्यो । राज्यले आम बनाउन नसकेको विद्रोही माओवादीले अबिर आम बनायो ।
सेतो टीका ब्युँतियो
चकित पर्ने त के भने, माओवादी गढथलो पुथाउत्तरगंगा गाउँपालिकाले दुई वर्षअघि ‘सरकारी कामकाजमा अबिर र खादा नलगाउने’ निर्णय गर्यो । कार्यपालिकाले मगर खामभाषीमा प्रचलित सेतो टीका र दूबोपातीलाई ब्युँतायो ।
‘अबिर र खादा अनावश्यक आर्थिक भार भयो । बदलामा दुबोपाती र सेतो टीका लगाउने हाम्रो परम्परा ब्युँताउने निर्णय गरेका छौं’ माओवादीबाट जितेका पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीमगरले भने, ‘युद्धकालमा क्रान्तिकारी, रातो, लाल भनेर अबिर चलन चल्यो । अहिले हामीले गरेको निर्णय सरकारी औपचारिक कार्यक्रममा अबिर पूर्णरूपमा निषेध जस्तै हो ।’
अबिर ‘हेजेमोनी’माझ नरपुरा अनुहारमा सेतो टीका टिक्ला ? यो बहस यत्तिमै साँचेर बहुरंगी नेपालको सुन्दरता साँच्न सेतो टीका ब्युँतेको सन्देश दिलदिमागमै सार्ने कि ?