मुस्कान संसारलाई जित्ने पहिलो हतियार र विजयको प्रतीक र पताका पनि । मस्किनु र फुर्किनुको विम्ब म फूलमा देख्छु र देख्छु विजयका पताका फहराइरहेका पुष्पमय आकृतिमा । संसारका रुग्णता, आँसु र व्यथा सुकाउने काव्यमय भावभङ्गीमा आली–कान्ला र अट्टालीमा झुलिरहेको कात्तिक शीतमा, घाममा र रातमा । लाग्छ– यतिबेला तिहारको आगमन भइरहेछ । हजारौं पुस्तकका पानाहरू फूलका पत्र–पत्रमा पल्टिरहेका छन् र यतिबेला मेरो हातमा छ एउटा काव्यमय पुस्तकको पातो अर्थात् मखमली फूल ।
आँगनका डिल र करेसाबारीमा ढकमक्क फुलेका छन्– फूलहरू । रूखबाट बर्सिएका पारिजातका सुगन्धले आँगन, चोक, बाटोघाटो ढकमक्क छन्, गाउँटोल नै मस्किएका छन्– सयपत्री र मखमलीका मुस्कान सापटी लिएर । जहाँ वाचाल मखमली शार्दूलविक्रीडित लयमा मस्किरहेको देख्छु ।
राम्रो अनुहारलाई हामीले भन्छौं, ‘आहा ! कस्तो फूल जस्तो ! सबै काम सफल बन्दै गएपछि मान्छेहरूले भन्ने गरेका छन् कि उसको जीवनमा कपास फुलेको छ । अथवा यस्तो पनि भनेको सुनिन्छ कि उनीहरूको जीवन आजभोलि मखमली फूल भएको छ । कसैलाई आशीर्वाद दिनुपर्यो भने तिम्रो जीवन फुलोस् फलोस् भन्ने चलन छ । मान्छेलाई फूल औधी मनपर्छ । जन्मभन्दा अगाडि गर्भमै रहँदा आमालाई फूल दिएर सम्मान गरिन्छ । बच्चा आएको खुसहाल अभिव्यक्त गर्न घर वरपर पुष्पार्पण गर्ने प्रचलन पनि देखिन्छ । भाग्य लेखिने दिन अर्थात् छैटीका दिन फूल–अविरले छरपस्ट बाटो बनाएर दीपमालिकाका साथ उज्यालो भविष्यको कामना गरिन्छ ।
यस्तो लाग्छ गर्भदेखि श्मसानसम्म फूल नै हाम्रो साथी रहेछ किन श्मशान मात्रै हरेक वार्षिकीमा सकेसम्म पारिजात जस्तो सुगन्धमय फूल वर्षा गरेर श्राद्धकर्म सम्पन्न गरिन्छ । यस्तो लाग्छ कि मान्छे फूल र फूल नै मान्छे हो ।
हाम्रा नामकरण संस्कार होस् वा चूडाकर्म ! ब्रतबन्ध वा छेवर, विवाह संस्कार होस् वा वार्षिकोत्सव; सबै ठाउँमा फूलमालाको वर्षा हुन्छ । फूलको मुस्कानसँगै फुलिरहेको आदर्शले अनेक ज्ञानधारा बगाउँछ । फुल्नु सफलताको उचाइ चुम्नु पनि हो र फुल्नु जीवनको वास्तविक लय पक्रनु पनि हो जहाँ मखमलीको चिरायु र प्रेममय विम्ब सार्थक बन्न सकोस् । त्यसैले त कसैको रहरलाग्दो प्रेमलाई मखमली प्रेम भनिन्छ भने सफल जीवनलाई मखमली जीवन । त्यसैले त तिहारमा दिदीबहिनीले दाजुभाइको अजरामर जीवनको रक्षकवच मखमली फूललाई नै बनाएर यसैको माला पहिर्याउँछन् ।
अनि भन्न मन लाग्छ– मखमली फूलको मुस्कानमा भेटिन्छ अमर जीवनका लालसा, अजर आयुको सौगन्ध र चिर जीवनको चेतना ।
फूल र मान्छेको जीवन उस्तै उस्तै न हो । उम्रन्छ– शीत, ताप, हुरी, असिनाको प्रहार सहेर । बाँच्छ कीट, पतङ्ग र रोगव्याधको आक्रमण पचाएर । मस्किएका पाउला र कुकुना चुँडाल्ने कलुषित हातका चञ्चल वृत्तिबाट जोगिएर उन्मुक्त आकाश चुम्न चाहन्छ । फक्रन पाएको हुँदैन मान्छेको आँखा लागिहाल्छ । थाहा छ जन्मेपछि मर्नुपर्छ र फुलेपछि झर्नुपर्छ । यो मर्नु र झर्नुको अनौठो संयोग छ फूल र मान्छेको जीवनमा ।
हो नफुल्दासम्म फुल्नुको पर्खाइमा कति हिउँद वर्षात्हरू खप्छ, कति शीत र ताप सहन्छ । कति कीरा र जनावरका आक्रमण, रोगव्याध, भय सहन्छ र फक्रेपछि एकै नजरमा चटक्क चुँडिनुपर्छ फूललाई । टपक्क टिपिनुपर्छ र कसैका हातमै क्षणभरको किचिमिची सहनुपर्छ । शिरमा सजिन होस् कि देवताको मन्दिरमा चढिन होस् खोजी फूलकै हुन्छ । आमाको जन्मदिनमा अर्पिन होस् वा बाजेको श्राद्धमा तर्पिन होस् फूलकै रोजाइ हुन्छ ।
उद्घाटन, उत्सव जताततै फूलले नै बलिदान हुनुपर्छ तर पनि फूल सधैं खुशी रहन्छ । आफ्नो टाउको चुँडिएर कसैको गलामा झुन्डिनुपर्दा पनि फूल हाँसिरहन्छ । सियोमा उनिनुपर्दा पनि फूल मुस्कुराइरहन्छ । आहा ! कस्तो बेजोड खुशी फूलको ! कस्तो आनन्दको जीवन !
अथवा भनौं फूल नभए मान्छेको जीवन अधुरै पो रहँदो हो । जति महत्व त्यति स्थायित्वविहीन पो हो कि जस्तो लाग्छ जीवन पनि फूल जस्तै । सम्झन्छु, मान्छेको जीवनको अस्तित्व पनि फूलको जस्तै न छ ।
भगवानको पूजा आराधनामा सबैभन्दा धेरै फूलहरूको प्रयोग हुन्छ । दूरागमन वा यात्रामा जाँदा मान्छेले फूलमालाले बिदाइ गर्छन् र नव अभ्यागतलाई पनि पुष्पगुच्छाले नै सुस्वागतको सौरभ बढाउँछ ।
दशैंको टीका होस् वा तिहारको रमझममा, मृत्युमा वा श्मसानको यात्रामा होस् किंवा सभा सम्मेलन, सम्मान, अभिनन्दनको माहोलमा होस् जतिखेर पनि फूल अगाडि सर्नुपर्छ । अरूको सुख, अरूको खुशी र अर्कैको सम्मानमा फूलले आफ्नो जीवन अर्पण गर्नुपर्छ । कस्तो निरीह जीवन ? कस्तो कमजोर अस्तित्व ? कस्तो विडम्बनापूर्ण अवस्था ? यसो पनि लाग्न सक्छ । फूल अर्कैको स्वत्व र सफलतामा आफूलाई अर्पिन, न्यौछावर गर्न मस्किरहेको हुन्छ ।
अनि आशीर्वाद दिंदा भन्छन्– फूल जस्तो जीवन होओस् रे ! के फुल्नेबित्तिकै झर्नु अथवा के सफल बन्दाबन्दै मर्नु ? के उभिनै नपाई लड्नु ? मनभित्र प्रश्नहरू पनि आँधी लिएर जन्मन्छन् ।
त्यसैले त लाग्छ फूलसँग सबैलाई ईर्ष्या छ, सबैलाई डाह र औडाहा छ फूलको सौन्दर्य देखेर । अनि मान्छे देख्नासाथ निमोठ्न चाहन्छ, चिमोट्न चाहन्छ र किचिमिची बनाइदिन चाहन्छ । कस्तो वनमानुस हुने रहेछ मान्छेहरूको अस्तित्व ? मृत्यु र त्यसको परिदृश्यसँग क्षण–क्षणमा साक्षात्कार हुँदा पनि चुपचाप–चुपचाप हेरिरहन्छ सुनिरहन्छ । कुनै सुनौला सुकर्ममा आफूलाई आहुति गर्न चाहँदैन ।
मान्छे पनि त हरपल काल ओढेर बाँचिरहेको हुन्छ । कसको कतिखेर मखमली प्रेम खोसिन्छ थाहा हुन्न । कसको कतिखेर सयपत्री खुशी लुटिन्छ भन्न सकिन्न र जानिंदैन कि कुन फूलको आयु कतिसम्म लामो हुन्छ !
फुलेको फूल युवतीले क्षणमा नै लोभिएर चुँडे जस्तै उनको मखमली अनुहार पनि कुनै राक्षसी हातबाट क्षणभरमा नै चुँडिन सक्छ । गुड्दा गुड्दै बस खसेर फूलहरूको बगैंचा नै स्वाहा भइदिन सक्छ । उड्दा उड्दैको एअरबस भित्र आँखा झिमिक्क गर्दैमा खरानी भइदिन सक्छ । यी सब हेर्दा हाम्रो फुर्तीफार्ती खरानीको चुड्की हो कि भन्न मन लाग्छ । अथवा भनौं फूलको अस्तित्व र मान्छेको स्फूर्तिको आयु उस्तै उस्तै न हुन् !
फूलबाट हामीले धेरै कुरा सिक्नुपर्छ । संस्कार, ज्ञान र जीवनशैलीका अद्भुत सन्देश हामीले फूलबाटै सिक्नुपर्छ । फूल ! अर्कैको खुशीका लागि फुल्छ र अरूकै खुशीका लागि मर्छ तर फूललाई कतै भय छैन, कतै पीडा, कतै वेदना र कहीं गुनासो छैन
हुन त फूलको जीवन अनुष्ठान हो भन्न मन लाग्छ । अर्कैको लागि फुल्नु, फक्रनु र अर्कैको लागि बाँच्नु नै फूलको सौरभ हो । प्रेमको शुभारम्भमा फूलको आदानप्रदान, बिहेमा फूलको बग्रेलो, फूलको यज्ञमण्डप र फूलमालाको वर्षा । गर्भ रहँदा फूलमाला, फूलको शय्या र शिशु धरावतरणमा फूलको मुस्कान । त्यसैले फूल जस्तै फुलोस् भन्नुको अर्थ अर्काको सेवा गरेर त्याग समर्पणको जीवन बाँच्न सकोस् भन्ने आशीर्वाद पनि हो ।
फुलेपछि ओइलिनुपर्ने फूलको विशेषता जन्मिएपछि मर्नुपर्ने मान्छेको विशेषतासँग सुहाउँदिलो छ । उखानै छ– उम्लिएपछि पोखिन्छ । बाँस जति अग्लो भए पनि निहुरिन्छ । बलेपछि आगो निभ्छ । चम्किएपछि सूर्य ओइलिंदै जान्छ । भलले उर्लिएपछि खहरे सुक्दै जान्छ । यो शाश्वत सत्य हो । त्यही सत्यलाई फूलको दृष्टान्तले बोध गराउँछ । त्यसैले भन्न मन लाग्छ, फूल जीवन हो ।
हामी यात्रामा जाँदा फूलमालाले बिदाइ गर्छौं । कोही महत्वपूर्ण व्यक्तिको आगमन हुँदा पुष्पगुच्छाले स्वागत गर्दछौं । यसले पनि केही मङ्गलसूचक सत्यलाई सङ्केत गरेको हुन्छ । यात्रामा जानेहरूलाई यात्रा विघ्न रहित होस् भन्ने मनोकामनाले पुष्पहार समर्पण गरिन्छ । फूलको अर्थ नरम, मनोहारी तथा सुवासयुक्त हुनु पनि हो ।
यात्राभर मनोहारी रमाइलो रहोस्, कतै पनि उच्चाटलाग्दो दिग्दारी नदेखियोस् । यात्राका परिदृश्यहरू सधैं विकर्षणरहित आकर्षक बढिरहोस् भन्ने अभिप्रायले फूलमाला, पुष्पगुच्छाले यात्रामा सम्मानपूर्वक बिदाइ गरिन्छ । फूलको जस्तै नरम बाटो होओस् कहीं कतै बिझाउने व्यवधान आइनपरोस् भन्नकै लागि पुष्पहार र पुष्पवृष्टि अर्पण गरिएको हो ।
श्रद्धालु आफन्त, मान्यजन, महामहिम तथा विशिष्ट व्यक्तित्वहरूको आगमनमा पनि पुष्पहार, पुष्पगुच्छा तथा पुष्पार्पणको महामेला लाग्दछ । महान् व्यक्तिहरूको आगमनमा हामी किन पुष्पवर्षा गर्छौं ? यसको पनि आफ्नै अर्थ छ ।
प्रत्येक उच्च पदस्थ व्यक्तिको आगमनसँग जिम्मेवारीका पहाड तथा दायित्वका गह्रुंगा भारी पनि भित्रिएका हुन्छन् । सत्कर्मका लागि ज्ञानका तेजिला आलोक पनि सँगै आएका हुन्छन् । नागरिकहरूले पाउने दायित्वका संवेदनशील कार्यपद्धति पनि साथै आएको हुन्छ । ठूला जिम्मेवारी पाएकाहरू आउँदा फूल जस्तै नरम बनेर आऊन् । सबैलाई मस्किएका कुसुमहरूले जस्तै हाँसेर सेवा गरून् भन्ने अपेक्षा राखिन्छ । त्यही अभिलाषा र अपेक्षाले नै ठूला पद पाएका गहिरा जिम्मेवारी निभाएकाहरूलाई फूलमाला लगाएर स्वागत गरिन्छ ।
थरीथरीका प्यार, सद्भाव र भिन्न–भिन्न खुशी समेटिए पनि नसुक्ने मायाको तिर्खाले उनिएका मखमली फूलमा मेरा आँखाहरू अडिएका छन् र उनको तन्मयताले बन्दै गरेका मालाभित्र म खोजिरहेको छु मखमली प्यारको वर्षात् ।
साँच्चै सोझा, सरल, निमुखा जनतालाई नेता, अभिनेता, कर्मचारीले जनतालाई फूल जस्तै हाँसेर सेवा गरे भने संसार हाँस्ने थियो, देश मखमली जस्तै मगमगाउने मात्र होइन कहिल्यै नओइलाउने गरी मुस्कुराउने थियो । सयपत्री जस्तै सुगन्ध छरेर फक्रिने थियो । आहा ! त्यस्तै दिन देशमा आइदिए !
भइरहेछ उल्टा र विद्रुप । हत्यारा छुट्छन् र पहाड ठडिन्छ मालाका । भ्रष्टहरू उभिन्छन् र चाङ लाग्छ मालाको । अहो त्यस्ता फूलमा आजकल किन महक नभएर दुर्गन्ध फैलिन्छ हँ ? म ठसठसी गन्हाएको देन्छु हजारौं किलोका मालामा कुसंस्कारको हरक र शर्मिन्दा भइरहेको देख्छु मखमली अनुहार ।
फूल मुस्कानको पर्याय मात्रै कहाँ हो र ? यो त अमर जीवनको प्रतिरुप पनि हो । कहिल्यै नमर्ने फूलहरू एक तिहारमा फक्रन्छन् र हावा, पानी, धर्ती र आकाशको गर्तमा साधारणीकृत भएर आफू अनुकूल ऋतुको पर्खाइमा धैर्यशील भइरहन्छ फूल । पत्रहरूमा जीवन समेटेर फेरि टुसाउँछ, लहराउँछ, फैलिन्छ र अर्को शरदमा उही मुस्कान, उही जीवन र उही सद्भावमा प्रेमिल सन्देश आरम्भ गर्छ र भन्छ– तिमी अलि बुढ्यौलीको ओरालो ओर्लिएछौ म उस्तै तारुण्यमा फर्किएँ है !
फूलबाट हामीले धेरै कुरा सिक्नुपर्छ । संस्कार, ज्ञान र जीवनशैलीका अद्भुत सन्देश हामीले फूलबाटै सिक्नुपर्छ । फूल ! अर्कैको खुशीका लागि फुल्छ र अरूकै खुशीका लागि मर्छ तर फूललाई कतै भय छैन, कतै पीडा, कतै वेदना र कहीं गुनासो छैन । केही सफल हुन्छ उसलाई माला लगाइदिन फूल चुँडिनुपर्छ । कसैले चुनाव जिते फूल माला भएर उनिनुपर्छ । कसैको विवाहमा पनि फूलले छिनिनुपर्छ ।
उद्घाटन, उत्सव जताततै फूलले नै बलिदान हुनुपर्छ तर पनि फूल सधैं खुशी रहन्छ । आफ्नो टाउको चुँडिएर कसैको गलामा झुन्डिनुपर्दा पनि फूल हाँसिरहन्छ । सियोमा उनिनुपर्दा पनि फूल मुस्कुराइरहन्छ । आहा ! कस्तो बेजोड खुशी फूलको ! कस्तो आनन्दको जीवन !
अहिले तिहारको मौसम चलिरहेको छ । जताततै पुष्पमय माहोलको महाभेल छ । दिदीबहिनीलाई पुष्पहार उन्ने हतारो र चटारो छ ।
एकातिर चुँडिंदा पनि हाँसिरहने सयपत्री र मखमलीको दिव्य मुस्कान देखेर म आनन्दले हर्षविभोर भइरहेको छु, अर्कोतिर उस्तै मुस्कुराइरहेकी मेरी उनीलाई हेर्छु । उनी पनि आफ्नो भाइको दीर्घायु र सुस्वास्थ्यको कामनाका लागि दत्तचित्त भएर मालाको कलात्मक पङ्क्तिमा पुष्पहार सजाउँदै छिन् ।
एउटामा समर्पण र निष्ठाको आदर्श खिलखिलाइरहेको छ भने अर्कोमा देखिएको छ– नियास्रिएको माया र भ्रातृत्व – भगिनीत्व सम्बन्धमा खुशीहरू । थरीथरीका प्यार, सद्भाव र भिन्न–भिन्न खुशी समेटिए पनि नसुक्ने मायाको तिर्खाले उनिएका मखमली फूलमा मेरा आँखाहरू अडिएका छन् र उनको तन्मयताले बन्दै गरेका मालाभित्र म खोजिरहेको छु मखमली प्यारको वर्षात् ।