News Summary
Generated by OK AI. Editorially reviewed.
- काठमाडौंका विभिन्न मिडिया हाउसको गेट अगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरी अवरोध सिर्जना गरिएको घटनाप्रति राज्यको संलग्नता रहेको आशंका गरिएको छ ।
- मिडिया हाउस अगाडि गाडी पार्किङ गर्नेमध्ये एक व्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि जयसवाल रहेको खुलेको छ ।
- प्रहरीले घटनाको विस्तृत अनुसन्धान नगरी सामान्य ट्राफिक जरिबाना तिराएर सवारी साधन छाडेपछि प्रशासनको भूमिका शंकास्पद देखिएको छ ।
३० असार, काठमाडौं । ‘ठूला मिडिया हाउसमा अवरोध गर्ने सूचना आएको छ । मान्छे खटाउनुस्, पहिचान गर्नुस् ।’
मन्त्रालयबाटै यस्तो सूचना आएपछि गुप्तचरी निकाय चनाखो भयो । र, तत्कालै ठूला मिडिया हाउसको निगरानीमा गुप्तचरी संयन्त्र खटियो ।
‘हामीलाई अवरोध हुने मात्रै भनिएको थियो । कस्तो अवरोध हुने, के हुने भन्ने थिएन । थप बुझ्ने अवस्था पनि भएन । करिब सवा ९ बजेतिरै हामीले टोली खटाएका थियौं,’ घटनाबारे जानकार अधिकारीले अनलाइनखबरसँग भने ।
अवरोध हुने भनिएकाले केही व्यक्तिहरू आउने र हुलहुज्जत गर्न सक्ने, नाराबाजी हुन सक्ने आशंका गुप्तचरी संयन्त्रको थियो । लामो समय निगरानी गर्दा पनि यस्तो हर्कत देखिएन । सूचना गलत रहेको हुन सक्ने आकलन पनि गुप्तचरी संयन्त्रले गर्यो ।
तर, केहीबेरमै सोमबार समाचार फैलियो– सञ्चार माध्यमको गेट अगाडि शंकास्पद गाडी पार्किङ । ‘अवरोध हुन सक्ने भनेकाले हाम्रो टोली गाडीतर्फ ध्यान नदिई व्यक्तिको निगरानीतर्फ लाग्यो । सूचना गलत नभई अवरोधको प्रक्रिया नै फरक रहेछ । पछि मात्रै हामीले थाहा पायौं,’ ती अधिकारीले शंकास्पद गाडी पार्किङको पूर्वतयारीबारे अनलाइनखबरलाई भने ।
सुरक्षा निकायलाई ९ बजे अवरोध हुन सक्ने जानकारी गराए पनि यसअघि नै अलाइनखबर, कान्तिपुर र हिमालय टेलिभिजनको गेट अगाडि कार पार्किङ गरिएको थियो । बाटो छेकेर कार पार्किङ गरिसकेपछि बल्ल सुरक्षा निकायलाई मन्त्रालयसम्बद्ध अधिकारीले नै जानकारी गराएको सुुरक्षा स्रोतले बतायो ।
‘अवरोध हुने भनिएपछि मिडिया हाउस अगाडि पनि गइयो । पछि गाडीको सबै विवरण पनि ल्याइयो । तर अब घटनाबारे रिपोर्टिङ कसलाई गर्ने ? जहाँबाट हामीलाई खटाइयो त्यहीं जोडिएका मान्छे देखिएपछि हामी चुप लाग्नु पर्ने परिस्थिति आयो,’ उच्च स्रोतले भन्यो ।
यो घटना विवरणले राज्य सञ्चालनमै रहेका व्यक्तिको योजनामा मिडिया हाउस अगाडि गाडी पार्किङ गर्न लगाएर अवरोध खडा गर्ने र पछि आफैं हटाउने दोहोरो चरित्र देखिएको छ ।
अझ यसमा जोडिएका व्यक्तिको पहुँच सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग देखिन्छ । कतिसम्म भने, मिडिया हाउसमा यसरी गाडी पार्किङ गर्ने व्यक्ति त रास्वपाकै नेता नै रहेको खुलेको छ ।
कान्तिपुर पब्लिकेसन्सको गेटमा शंकास्पद रूपमा राखिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी रास्वपाका नेता रवि जयसवालको हो । रवि केही समय अघि मात्रै रास्वपा प्रवेश गरेर सक्रिय राजनीतिमा लागेका थिए । गत जेठ ८ गते उनलाई रास्वपाले केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्य मनोनीत गरेको थियो ।
अनलाइनखबरदेखि हिमालय टेलिभिजनको गेट अगाडि पार्किङ गरिएका गाडी धनीको सम्बन्ध पनि सत्ता निकट व्यक्तिसँग रहेको देखिन्छ ।
राज्यको संरक्षणविना यसरी कसैले पनि जानी–जानी आफ्नो सवारी साधन मिडिया हाउसको गेटमा लगेर राख्न नसक्ने बुझाइ पूर्वडीआईजी हेमन्त मल्लको छ । अझ त्यसरी गाडी राखेको थाहा पाएर प्रहरी प्रशासनले खबर गर्दासमेत सवारी धनी लिन नआउनुले त झनै राज्य संरक्षित आतंक रहेको पुष्टि हुने उनी बताउँछन् ।
‘झुक्किएर कसैले त्यहाँ पार्किङ गरेको रहेछ भने पनि यत्रो खोजीनीति हुँदा र प्रहरीले सम्पर्क गरेर बोलाउँदासमेत गाडी लिन नआउने भनेपछि यो कसैले आफूखुसी राखेको होइन । राज्यको संरक्षण बिना यस्तो काम हुन सक्दैन,’ उनी भन्छन् ।
गत बिहीबार मुगुका २५ वर्षीय गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मोटरसाइकल पार्किङ गरेको विषयमा महानगर प्रहरीसँग विवाद भएको थियो । नो पार्किङमा पार्किङ गरेको भन्दै मोटरसाइकलमा ह्विल लक लगाइएपछि उत्पन्न विवादका कारण नेपालीले आत्मदाह प्रयास गरेका थिए । उपचारका क्रममा उनको वीर अस्पतालमा मृत्यु भयो ।
नेपालीले न्याय पाउनुपर्ने विषयदेखि सुकुमवासी समस्या लगायतका बारेमा मिडियाले प्राथमिकता साथ समाचार सम्प्रेषण गरेका थिए । तर ह्विल लकको विरोध गरिएको र ह्विल लक नलगाउँदा कस्तो हुन्छ भन्ने पाठ सिकाउन यस्तो गरेको हुन सक्ने आसय रास्वपाका पूर्वकेन्द्रीय सदस्य मधुसुदन ढकालले सामाजिक सञ्जालमा लेखे ।
त्यसमाथि प्रधानमन्त्री बालेन शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनद्वारा सञ्चालित ट्रोल नेपाल नामक फेसबुक पेजले यही आसयसहितको छोटो फेसबुक स्टाटस पोस्ट गरेको थियो । यी सबै घटनाक्रमले पूर्वडीआईजी मल्लको भनाइलाई थप पुष्टि गर्न सहयोग गरेको देखिन्छ ।

त्यसो त, सोमबार दिनभरजसो शंकास्पद गाडी पार्किङले आतंक मच्चिएपछि पनि प्रहरी प्रशासनले घटनाबारे अनुसन्धान नगर्नुले आफैं समस्या निम्त्याउने र आफैं समाधान गरेर मौन रहेको प्रष्ट हुन्छ ।
मिडियादेखि सर्वसाधारणसमेत त्रसित बनेको यो घटनामा सामान्य ट्राफिक जरिबाना मात्रै तिराएर ती शंकास्पद गाडी छाडिएको छ । जबकि, यस्तो आतंकित पार्ने एउटै किसिमको यो प्रवृत्तिविरुद्ध प्रहरीले अनुसन्धान गरेर कारबाही गर्नुपर्ने अपरिहार्य रहेको सीआईबीमा समेत बसेर अवकाश भएका मल्ल बताउँछन् ।
‘यसमा मिडिया हाउसको मात्रै कुरा छैन । यो आतंकको असर आम सर्वसाधारण पनि परेको हुन्छ । कुनै भूमिगत गिरोहको शैलीमा यसरी आतंकित पार्नेविरुद्ध अनुसन्धान नगरी चिट मात्रै काटेर छाड्नुले राज्य नै नागरिकलाई आतंकित पार्न लागेको देखिन्छ,’ मल्ल भन्छन् ।
मिडिया हाउसकै जस्तो शैलीमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको घर अगाडि, अनामनगरस्थित भाटभटेनी अगाडि र केही सडकको बीचमा समेत गाडी राखेर सोमबार उपत्यकाको सडक अस्तव्यस्त बनाउने र नागरिकलाई त्रसित बनाउने काम भएको थियो ।
पछि यी सबै सवारीको व्यवस्थापन प्रशासन आफैंले त गर्यो । तर अनुसन्धान गरी कारबाही गर्ने बाटोमा भने मौन बस्यो । यो प्रवृत्तिले समस्या आफैं निम्त्याउने अनि आफैं सवारी हटाएर गर्दै मौन बस्ने प्रवृत्ति देखिएको छ ।

प्रशासनको भूमिका पनि शंकास्पद
यो घटनामा ट्राफिक प्रहरी, नेपाल प्रहरीको भूमिका पनि शंकास्पद देखिएको छ । कतिसम्म भने, अघिल्ला दिनहरूको तुलनामा सोमबार न्यून मात्रामा ट्राफिक प्रहरी सडकमा खटिएको देखिन्थ्यो ।
अघिपछिभन्दा कार्यालय समयमा धेरै जनशक्ति खटाएर ट्राफिक प्रहरीले सवारी व्यवस्थापन गर्दै आएको थियो । तर सोमबार भने त्यो देखिएन । सडकमा ट्राफिकको उपस्थिति न्यून बनाएपछि सडक अस्तव्यस्त बनेको थियो । सवारी जाम पनि भयो ।
आइतबार मात्रै न्युरोड क्षेत्रमा यस्तै अस्तव्यस्त पार्किङदेखि सडक तथा फुटपाथमै पसल राखेर हिँड्ने बाटोसमेत बन्द हुने अवस्था भएको थियो ।
सोमबार बिहानैदेखि मिडिया हाउसको गेट अगाडि बाटो नै अवरुद्ध पार्ने गरी शंकास्पद गाडी पार्किङ गरियो । यसबारे प्रहरी प्रशासनदेखि ट्राफिक प्रहरीलाई जानकारी गराउँदा यो विषय उनीहरूको प्राथमिकतामा खासै परेको देखिएन ।

जेनजी आन्दोलनमा ट्राफिक प्रहरीको क्रेन जलेको, ह्विल लक लगाएर छाड्दा फेरि अर्को दुर्घटना पनि हुन सक्ने र क्रेन मगाएर लैजान समय लाग्ने जवाफ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख तथा एसएसपी सुरेश काफ्लेले दिएका थिए ।
लामो समयपछि बल्ल क्रेनमार्फत ती सवारी तानेर लगिएको थियो । बेलुका ट्राफिक प्रहरीले यसरी अनधिकृत पार्किङ गर्नेलाई कारबाही गरिएको दाबी गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएको थियो ।
ट्राफिक प्रहरी प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले अनधिकृत पार्किङ गरिएका ती सवारीहरूलाई कारबाही गरिएको बताएका छन् । ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ उपदफा १ (ख) अन्तर्गतको कसुर हामीले कारबाही गरेका छौं,’ प्रवक्ता सुवेदीले भने ।
यसअघि भीआईपी, भीभीआईपीहरूलाई चिट काट्दा ट्राफिक प्रहरी आफैंले प्रचारप्रसार गर्ने गरेको थियो । अनि त्यही शैलीमा यसको ग्राफिकसहित नेपाल प्रहरीले आफ्नो फेसबुक पेजबाट गाडी नम्बर र जरिबाना तिराइएका चालकको विवरणसमेत सार्वजनिक गर्दै आएको थियो ।
श्रम संस्कृति पार्टीका सांसद तथा अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)लाई चिट काट्दा पनि उनको फोटोलाई ब्लर गर्दै उनको पूरा नाम नै सार्वजनिक गरिएको थियो ।

तर, हिजो चिट काटिएका भनिएका सवारीको हकमा भने कुनै सवारी धनीको तस्वीर, गाडीको फोटो, सवारी धनीको नाम, नम्बर प्लेटसमेत सार्वजनिक गरिएको छैन । एकै प्रकृतिका घटनामा ट्राफिक प्रहरीले कसैको परिचय खुलाउने, कसैको लुकाउने गरिनाले पनि यो राज्य संरक्षित कदम रहेको आशंकालाई थप बल पुर्याएको छ ।
अझ अनौठो विषय त, ८ हजारदेखि, १०/१२ हजार रुपैयाँ क्रेनलाई तिरेर कार्यालय पुर्याइएका ती सवारीलाई ५०० जरिबाना तिराएर छाडिएको छ ।
हिजोको घटनामा न्यून उपस्थिति देखिएको ट्राफिक प्रहरी आज मंगलबार भने सडकमा राम्रैसँग उपस्थित देखिएको छ । सोमबारको तुलनामा मंगलबार सवारी जाम तथा सडक अस्तव्यस्त पनि छैन ।
