तीन हजार वर्ष पुरानो यात्रामा नोलनको नजर


News Summary

Generated by OK AI. Editorially reviewed.

  • निर्देशक क्रिस्टोफर नोलनको १३औँ फिचर फिल्म \’ओडिसी\’ तीन हजार वर्ष पुरानो होमरको महाकाव्यमा आधारित भएर तयार गरिएको छ।
  • यो फिल्म ओडिसियसले युद्ध जितेपछि आफ्नो घर फर्किन गरेको संघर्ष र भित्री द्वन्द्वको कथा हो जुन आधुनिक समयमा समेत सान्दर्भिक मानिएको छ।

कहिलेकाहीं केही कथाहरू समयसँगै पुराना हुँदैनन् । बरू समयसँगै तिनको अर्थ अझ फराकिलो हुँदै जान्छ ।

तीन हजार वर्षअघि कवि होमरले एउटा यस्तै व्यक्तिको कथा लेखे, जसले युद्ध जितेर पनि कहिल्यै शान्ति भेटाउन सकेनन् । अनि अनेकन् हन्डर–ठक्कर पश्चात उनी अन्ततः आफ्नै घर फर्कन चाहे ।

ती हुन् – ओडिसियस ।

र त्यो कथा हो – दी ओडिसी

अब त्यो कथा नजिकका सिनेमा हलहरूमा लाग्न केही दिन मात्र बाँकी छ । यसपटक यसको यात्रालाई अगाडि बढाउने व्यक्ति हुन् – क्रिस्टोफर नोलन । जसले समयलाई उल्टोसुल्टो पारेर थुप्रै पटक कथा सुनाइसके । दर्शकलाई सपनाभित्र अर्को सपना देखइसके । वैज्ञानिकको आँखाबाट संसारले भोगेको सबैभन्दा ठूलो नैतिक प्रश्न देखाइसके । उनै नोलन यसपटक मानव सभ्यताको सुरुवाती कल्पनाशक्तिलाई आकार दिएको कथामा फर्किएका हुन् ।

ओडिसी नोलनको १३औं फिचर फिल्म बनेको छ । यो फिल्मलाई आधुनिक सिने इतिहासमा अत्यन्तै महत्त्वकांक्षी र प्राविधिक रूपमा ऐतिहासिक परियोजना भनेर व्याख्या गरिएको छ ।

नोलनको पछिल्लो फिल्म ओपेनहाइमर बक्स अफिस र समीक्षात्मक दुवै दृष्टिकोणमा अब्बल रह्यो । त्यसपछि उनी यो परियोजनामा जोडिएका थिए । नोलनले युनिभर्सल पिक्चर्स र आफ्नो कम्पनी सिन्कोपीको ब्यानरमा यो फिल्म तयार पारेका हुन् ।

 विश्व सिने जगतमा ओडिसी किन यति ठूलो चर्चाको केन्द्र बनिरहेको छ त ?

सायद यसको उत्तर फिल्ममा मात्र सीमित छैन । यसको उत्तर त्यो पुरानो प्रश्नमा छ, जुन ओडिसियसले तीन हजार वर्षअघि सोधिरहेको थियो – आखिरमा मान्छे कहाँ फर्किन खोजिरहेको हुन्छ ?

एउटा युद्धपछि सुरु भएको अर्को युद्ध

इतिहासमा धेरै महान मानिएका कथाहरू युद्धबाट सुरु भएका छन् । ओडिसीको मुख्य कथा भने युद्ध सकिएपछि सुरु हुन्छ ।  किनक ओडिसीलाई इलियडको निरन्तरता पनि मान्ने गरिन्छ । जुन होमरको अर्को ऐतिहासिक कृति हो ।

ओडिसीको मुल कथामा ट्रोजन युद्ध भर्खरै सकिएको छ । ग्रीक सेनाले विजय हासिल गरेको छ । तर इथाकाका राजा ओडिसियसका लागि वास्तविक परीक्षा भने बल्ल सुरु हुन्छ । उनी आफ्नै घर फर्किन चाहन्छन् । आफ्नी पत्नी पेनेलोप र छोरा टेलिमाकसलाई भेट्न चाहन्छन् ।  

यसका साथै नोलनले पुरानो कथालाई कति परिवर्तन गरेका छन् भन्ने प्रश्न अहिले धेरैको मनमा छ ।

तर घर फर्किने उनको बाटो सहज हुँदैन । बाटोमा समुद्र आउँछ । देवताहरू उनको विरुद्धमा लाग्छन् । र प्रकृतिले उनको धैर्यको परीक्षण गर्छ ।

यसरी उनको घर फर्कने यात्रामा आँखा भएको विशाल साइक्लोप्स, आफ्नो आवाजले मोहित पार्ने साइरन, जादुगर सर्से, समुद्री राक्षसहरू र अमरत्वको प्रस्ताव गर्ने क्यालिप्सो आइरहन्छन् । ओडिसियसले सामना गर्ने यी हरेक चुनौतीहरू व्यक्तिको भित्री संघर्षको प्रतीक भएको साहित्यका समालोचकहरूको भनाइ छ।  

साइक्लोप्स शक्ति हो ।

साइरन प्रलोभन हो ।

क्यालिप्सो आरामको मोह हो ।

र समुद्र आफैं अनिश्चित जीवनको रूपक हो ।

त्यसैले ओडिसी एउटा राजाको यात्रा त हो नै, सँगै यो आफूलाई खोजिरहेको मानिसको यात्रा भएको बताइन्छ । र, यो कुरा नै अब सिने हलमा लाग्न लागेको हो ।

तीन हजार वर्षअघिको कथा 

मानव सभ्यताको इतिहास हेर्ने हो भने धेरै कुरा बदलिएका छन् । हामी घोडा छाडेर गाडीहरूमा यात्रा गर्न थालेका छौं । तारामण्डलहरूको अध्ययन गर्न थालेका छौं । एआई हाम्रो अभिन्न अङ्ग भइसकेको छ । तर पनि धेरै मान्छेको लागि केही प्रश्न अझै उस्तै छन् –

म को हुँ ?

म कहाँ जाँदैछु ?

मेरो घर कहाँ हो ?

यही कारण तीन हजार वर्ष पुरानो भए पनि ओडिसी अझैं जीवित भएको तर्क गरिन्छ । किनकि ओडिसीलाई कुनै एउटा समय वा ठाउँको कथा नमानेर हरेक युगको कथा मान्ने जमात ठूलो छ ।  युद्धबाट फर्किएको सैनिक होस् वा आफ्नो पहिचान खोजिरहेको युवा – ओडिसियसको यात्रामा सबैले आफूलाई देख्न सक्ने बताइन्छ । 

नोलन किन पुरानो कथातिर फर्किए ?

क्रिस्टोफर नोलनका फिल्महरू हेर्ने हो भने एउटा कुरा स्पष्ट देखिन्छ – उनी बाहिरी संसारभन्दा बढी व्यक्तिको भित्री संसारमा रुचि राख्छन् ।

मेमेन्टोमा उनले स्मृति गुमाएको मानिसको कथा भने । इन्सेप्सनमा सपनाभित्रको संसार बनाए । इन्टरस्टेलरमा समय र प्रेमलाई ब्रह्माण्डसँग जोडे । ओपेनहाइमरमा विज्ञान र नैतिकताको द्वन्द्व देखाए । अब ओडिसीमा उनी एउटा यस्तो मानिसको कथा भन्न खोजिरहेका छन्, जो संसार घुमेर अन्ततः आफूलाई भेट्न खोज्छ ।

यो सम्भवतः उनको पुरानै प्रश्नको अर्को रूप हो – आखिरीमा व्यक्तिलाई व्यक्ति बनाउने बनाउने कुरा के हो ?

त्यसमाथि क्लासिक महाकाव्य हो । त्यस्तोमा फिल्ममेकरको नजरबाट हेर्दा नोलनले एउटा पुरानो कथा लिनु आफैंमा जोखिम हुन्छ । किनकि दर्शकलाई कथा थाहा छ ।

ओडियसको पत्नी पेनेलोपको भूमिकामा एन ह्याथवे र छोरा टेलिमाकसको भूमिकामा टम हल्यान्ड ।

उनीहरूलाई थाहा छ –  ओडिसियस घर फर्किन्छन् । पेनेलोप प्रतीक्षा गर्छिन् । देवता राक्षस आउँछन् । त्यसो भए प्रश्न उठ्छ – जब फिल्मको अन्त्य थाहा छ भने दर्शक किन हेर्न जाने ? सायद यसको उत्तर नै नोलनको सबैभन्दा ठूलो चुनौती र सफलता हो ।

अब अलिकता इतिहास हेरौं । 

दर्शकहरूलाई टाइटानिकको अन्त्य थाहा थियो । ओपेनहाइमरको इतिहास थाहा थियो । तर पनि ती कथाहरूले दर्शकलाई तानिछाडे । किनकि नोलन जस्ता निर्देशकहरूले कथा नभएर अनुभव परिवर्तन गर्छन् । कथा थाहा हुनु र कथा महसुस गर्नु पक्कै फरक कुरा हो ।

नोलन स्वयंका लागि यो सिनेमा करियरकै सबैभन्दा महत्वाकांक्षी परियोजनामध्येको एक बन्यो । हरेक नजरबाट । किनकि फिल्मको अनुमानित बजेट नै २५ करोड अमेरिकी डलर बताइएको छ । यो आँकडा उनका लागि अहिलेसम्मकै महँगो हो । तर, यसमा पैसाभन्दा पनि उनले फिल्मलाई कसरी बनाएका छन् भन्ने सन्दर्भ बढी चर्चा हुन्छ । 

किनकि यो पूर्णरूपमा आईम्याक्स ७० एमएम फिल्म क्यामेरामा खिचिएको पहिलो फिचर फिल्म हो । डार्क नाइट, इन्टरस्टेलर जस्ता आफ्ना अघिल्ला फिल्महरूमा उनले आईम्याक्स प्रयोग नगरेका भने होइनन्।

नोलन डिजिटल प्रविधिभन्दा वास्तविक अनुभवमा विश्वास गर्ने निर्देशक हुन् । उनलाई आधुनिक डिजिटल क्यामेराभन्दा एनालग क्यामेरामै प्रेम छ । त्यसैले उनले सम्भव भएसम्म वास्तविक लोकेसन, वास्तविक प्रकाश र वास्तविक भौतिक वस्तु प्रयोग गर्ने गरेका छन् । यसैले यो फिल्मको छायाङ्कन ग्रीस, मोरक्को, इटाली, आइसल्यान्ड र स्कटल्यान्डका समुद्र, डाँडापाखा आदिमा गरिएको थियो । 

तीन हजार वर्ष पुरानो यात्रामा नोलनको नजर
सिनेमाको एक दृश्य ।

दु:खको कुरा नेपालमा आईम्याक्स थिएटर छैन । यसले गर्दा चाहेर पनि नेपाली दर्शकले नेपालमा यो फिल्मको पुरा मज्जा लिन पाउँदैनन् । यद्यपि नोलनका लागि आईम्याक्स सधैं कथा भन्ने माध्यम बन्दै आइरहेको छ । उदाहरणका लागि, यो फिल्ममै पनि दर्शकले सामान्यभन्दा ठूलो फ्रेम अनुभव गर्न पाउनेछन् । जब ओडिसियस समुद्रमा हुनेछन्, दर्शकले समुद्रसँगै समुद्रको विशालता महसुस गर्न पाउने छन्।

त्यो अनुभव नेपालमा बसेर यो फिल्म हेर्नेले छुटाउने छन् ।

अहिले नेपालमा यो फिल्मको प्रिबुकिङ खुलिसकेको छ । यदि तपाईं पनि ओडिसी हेर्न हल जाँदै हुनुहुन्छ भने एउटा कुरा पहिल्यै बुझ्न जरुरी छ –  यो राक्षस, देवता र युद्धको कथा होइन । कुनै सुपरहिरोको कथा होइन । यो संसार जितेर पनि आफ्नो सबैभन्दा ठूलो युद्ध आफैंभित्र लडिरहेको एउटा मान्छेको कथा हो । 

भलै अहिलेसम्म फिल्मको कथाका ट्विस्टहरू त्यति खुलाइएको छैन । यद्यपि सम्भवतः नोलनले यही पक्षलाई ठूलो पर्दामा ल्याउन खोजेका छन् ।

कथामा पात्रहरू

ग्रीक मिथकमा ओडिसियस इथाकाका राजा हुन्छन् । उनी बलभन्दा पनि आफ्नो बुद्धिका कारण बढी चिनिन्छन् । ट्रोजन युद्धमा ग्रीक सेनाले विजय हासिल गर्नुमा उनको ठूलो भूमिका हुन्छ । प्रसिद्ध ट्रोजन हर्स उनैको योजना हुन्छ ।

धेरै पटकओडिसीलाई ओडिसियसको साहसिक यात्राका रूपमा मात्र बुझिन्छ । तर यसमा अर्को महत्वपूर्ण पात्र छन् – पेनेलोप । जो ओडिसियसकी पत्नी हुन् । जब ओडिसियस वर्षौंसम्म घरबाट टाढा हुन्छन्, पेनेलोपले कुनै स्वार्थ नराखकी इथाकामा बसेर ओडिसियसको प्रतीक्षा गरिरहन्छिन् । 

लामो समयसम्म ओडिसियस घर नफर्केकाले इथाकाका धेरै पुरुषले पेनेलोपलाई विवाह गर्न दबाब दिन्छन् । तर पेनेलोपले एउटा गज्बको चाल चल्छिन् । पहिले एउटा कपडा बुन्ने काम पूरा गर्छु, त्यसपछि निर्णय गर्छु भन्छिन् । अनि दिनभर कपडा बन्छिन् । राति परेपछि फेरि तिनलाई बिगारिदिन्छिन् । यसरी उनले वर्षौंसम्म टारिरहन्छिन् । 

तीन हजार वर्ष पुरानो यात्रामा नोलनको नजर
ओडिसियसको भूमिकामा म्याट डेमन ।

नोलनको यो फिल्ममा ओडिसियसको भूमिकामा म्याट डेमन छन् । उनका छोरा टेलिमाकसको भूमिकामा टम हल्यान्ड छन् । पेनेलोपको भूमिकामा एन ह्याथवे छन् । यसका अतिरिक्त रोबर्ट प्याटिन्सन, जेन्डाया, लुपिता न्योङओ, चार्लिज थेरोनलगायत कलाकारहरू छन् ।

तर, ओडिसी रिलिजअघि नै यहीँ कास्टिङलाई लिएर विवादमा पनि तानिएको छ । विशेषगरी लुपिता न्योङओलाई हेलेन अफ ट्रोयको भूमिकामा लिएको विषयमा केही फ्यानहरूले प्रश्न गरिरहेका हुन् । केहीले भने प्राचीन ग्रीक पात्रहरूको प्रस्तुतिबारे प्रश्न गरिरहेका छन् ।

 निर्देशक नोलनले भने यस्ता आलोचनालाई नयाँ कुरा नभएको बताएका छन् । उनका अनुसार द डार्क नाइटमा हेथ लेजरलाई जोकर बनाउँदा पनि यस्तै प्रतिक्रिया आएको थियो । तर पछि हेथको अभिनयको सर्वत्र चर्चा भएको थियो। 

त्यस्तै कतिपयले भने मिथकलाई आधुनिक बनाउन मिल्छ कि मिल्दैन भन्ने जस्ता प्रश्न पनि गरिरहेका छन् । तर, यो बहस ओडिसी बाहेक हरेकपटक पुरानो कथा नयाँ पुस्ताका लागि उठिरहेको देखिन्छ । यसका साथै नोलनले पुरानो कथालाई कति परिवर्तन गरेका छन् भन्ने प्रश्न अहिले धेरैको मनमा छ । किनकि लामो अन्तरालमा ओडिसीलाई विभिन्न तरिकाले पुनः व्याख्या गरिएको छ । कसैले यसलाई साहसिक यात्रा बनाएका छन् । कसैले प्रेमकथा त कसैले युद्धपछिको मानसिक आघातको कथा । 

तीन हजार वर्ष पुरानो यात्रामा नोलनको नजर

नोलनले कुन बाटो रोजेका छन् भन्ने कुरा फिल्म हेरेपछि मात्र थाहा हुनेछ । तर उनका अघिल्ला फिल्महरू हेर्दा अनुमान गर्न सकिन्छ – उनको रुचि के भयो ? मा भन्दा पनि किन भयो ? मा बढी हुन्छ ।

के इतिहास दोहोरिन्छ ?

अहिले सामाजिक सञ्जाल, जारी विश्वकप, मलहरू जताजतै यो फिल्मको चर्चा देख्न सकिन्छ । किन ? एक त नोलनको नाम आफैं एउटा कारण हो ।

तर यसपटक अर्को कारण पनि छ – उनले रोजेको विधा विशाल ऐतिहासिक पौराणिक महाकाव्य । जुन आजको हलिउडमा दुर्लभ हुँदै गएको छ । एक समय हलिउडमा यस्ता फिल्महरू नियमित बन्थे । लरेन्स अफ अराबिका, बेन हर केही उदाहरण हुन् । तर पछिल्ला वर्षहरूमा डिजिटल फ्रेन्चाइज र सुपरहिरो फिल्मको प्रभुत्व बढेपछि यस्ता मौलिक महाकाव्य कम बनेका छन् ।

नोलनले हरेक जसो फिल्मबाट सिने उद्योगलाई केही न केही दिँदै आएको ट्य्राक रेकर्ड छ । के थाहा ओडिसीले यस पटक फेरि इतिहास बनाउँछ कि !





Source link

Leave a Comment