प्रकाशित मिति : ३० असार २०८३, मंगलबार

Photo: Kevin Delvecchio/ Unsplash
विश्वका धेरैजसो देशहरूमा सरकारले शरणार्थी आगमनमा कडाइ गरे तापनि, युद्ध वा उत्पीडनबाट भागिरहेका मानिसहरूलाई शरण दिनुपर्छ भन्ने पक्षमा आम नागरिकको बलियो समर्थन रहेको पाइएको छ। हालै सार्वजनिक भएको एक ‘इप्सोस’ सर्वेक्षणले संयुक्त राज्य अमेरिका जस्ता शरणार्थी कोटा कटौती गरेका देशहरूमा समेत यस्तो सकारात्मक भावना रहेको देखाएको छ।
दोस्रो विश्वयुद्धपछि स्थापित सन् १९५१ को शरणार्थी महासन्धिले शरणार्थीहरूको कानुनी संरक्षणको सुनिश्चितता गरेको छ। तर, यतिबेला युक्रेन र सुडान जस्ता लामो समयदेखि चलिरहेका द्वन्द्वका कारण विश्वभर विस्थापनको सङ्ख्या कीर्तिमानी स्तरमा पुगेको छ। यसै कारण विगतमा शरणार्थीहरूलाई स्वागत गर्ने केही देशहरूले समेत अहिले आफ्नो सीमा नियन्त्रणमा कडाइ गर्न थालेका छन्।
इप्सोस र संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायले २९ देशका २०,००० भन्दा बढी वयस्कहरूमाझ गरेको यस संयुक्त सर्वेक्षणमा दुई-तिहाइ उत्तरदाताहरूले ‘खतरामा रहेका मानिसहरूले अर्को देशमा शरण लिन पाउनुपर्छ’ भन्ने कुरामा सहमति जनाएका छन्। यो तथ्याङ्क गत वर्षको तुलनामा स्थिर छ भने जापान र फ्रान्स जस्ता देशहरूमा शरणार्थीप्रतिको समर्थन झन् बढेको देखिएको छ।
जेनेभामा आयोजित पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायका प्रवक्ता म्याथ्यु साल्टमार्शले भने, अहिलेको ध्रुवीकृत विश्व र अनेकौँ उतारचढावका बाबजुद पनि शरण र आश्रय दिने संस्थागत परिपाटीप्रति आम मानिसको समर्थन कायम रहनु निकै सकारात्मक कुरा हो।
अमेरिकामा जनवरी २०२५ मा कार्यभार सम्हालेका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरबाट हुने शरणार्थी प्रवेशमा रोक लगाएका थिए। यद्यपि, त्यहाँका ७२ प्रतिशत नागरिकले शरणार्थी संरक्षणको पक्षमा मत दिएका छन्। ट्रम्पले पछिल्लो समय श्वेत दक्षिण अफ्रिकीहरूलाई प्रवेश दिनका लागि शरणार्थी भर्नाको सीमा भने केही बढाएका छन्।
तर, सर्वेक्षणमा सहभागी करिब ६१ प्रतिशत मानिसहरूले कतिपय शरणार्थी दाबीहरूको वैधतामाथि आशङ्का समेत व्यक्त गरेका छन्। शरणार्थी संरक्षणको समर्थन गर्ने व्यक्तिहरूले नै यो प्रणालीमाथि प्रश्न उठाएको सर्वेक्षणले देखाउँछ।
इप्सोस युकेकी प्रबन्ध निर्देशक तृण तुले भनिन्, मानिसहरू एकातिर संकटमा परेकाहरूलाई मद्दत गर्न चाहन्छन् भने अर्कोतिर वर्तमान प्रणालीले सही रूपमा काम गरिरहेको छ वा छैन भन्नेमा उनीहरू अलमलमा छन्। हामीले नागरिकमा यही दुविधा र तनाव देखिरहेका छौँ।
सर्वेक्षणका अनुसार वृद्धवृद्धाको तुलनामा युवा पुस्ता शरणार्थीप्रति बढी सकारात्मक देखिएका छन्। ‘जेन जी’ का झन्डै आधा उत्तरदाताहरूले शरणार्थीहरू समाजमा घुलमिल हुन सक्ने आशा व्यक्त गर्दा ‘बेबी बुमर्स’मा भने यो विश्वास ३९ प्रतिशत मात्र पाइएको छ।