टिनको डिब्बामा कैद स्वास्थ्य मन्त्रालय


News Summary

Generated by OK AI. Editorially reviewed.

  • स्वास्थ्य मन्त्रालय सिंहदरबार परिसरमा अस्थायी टिनका कोठामा कार्यरत छ, जहाँ वर्षात् सुरु भएपछि पानी र हिलोले काम गर्न कठिनाइ हुन्छ।
  • गत भदौमा जेनजी आन्दोलनको क्रममा स्वास्थ्य मन्त्रालयको भवन पूर्ण रूपमा आगजनी भएपछि मन्त्रालयले सिंहदरबारको नरसिंह दल गणको खाली जग्गामा अस्थायी कार्यालय स्थापना गर्‍यो।
  • मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीले उपयुक्त भवन खोजी भइरहेको र मन्त्रालय पूर्ण रूपमा सिंहदरबार भित्र सार्न सरकारसँग समन्वय भइरहेको बताए।

२२ चैत, काठमाडौं । देशको सर्वोच्च प्रशासनिक केन्द्र हो, सिंहदरबार । राज्यका ठूला नीतिगत निर्णयहरू हुने यही प्रशासनिक केन्द्र भित्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने अभाव र अव्यवस्था भोग्न बाध्य छ ।

मन्त्रालय परिसरमा प्रवेश गरेपछि अस्थायी संरचना अर्थात् टिनका कोठा ‘डिब्बा’ देखिन्छन्, जहाँ स्वास्थ्य मन्त्री, सचिव र केही महाशाखा छन् । कर्मचारी त्यही संरचनामा बसेर काम गर्न बाध्य छन् ।

वर्षात् सुरु हुने बित्तिकै यी संरचनाहरूको अवस्था झन् दयनीय बन्छ । पानी परेपछि परिसरभरि हिलो जम्छ । कार्यालय परिसरमा हिंडडुल गर्न कठिन हुन्छ । कर्मचारीहरू फाइल बोकेर एक कोठाबाट अर्को कोठासम्म पुग्दा जुत्ता हिलाम्मे हुन्छ ।

‘पानी परेपछि परिसर पूरै हिलो हुन्छ । जस्ता बजेर काम गर्न अवरोध हुन्छ,’ मन्त्रालयका एक कर्मचारी भन्छन्, ‘कागजात लिएर एक शाखाबाट अर्को शाखामा पुग्न कठिन हुन्छ ।’

एउटै टेबलमा तीन-चार कर्मचारी

कार्यालय भित्र पस्दा अर्को समस्या देखिन्छ, साँघुरो कार्यक्षेत्र । सीमित कोठा र कम टेबलका कारण एउटै टेबलमा तीन जनाभन्दा बढी कर्मचारी बस्नुपर्ने अवस्था छ ।

कोही कम्प्युटरमार्फत काम गरिरहेका हुन्छन, कसैले फाइल मिलाइरहेका हुन्छन्, अनि कतिपयले फोनमा समन्वय गरिरहेका हुन्छन् । सानो ठाउँमा धेरै काम एकैसाथ गर्नुपर्दा कर्मचारीहरूले असहज महसुस गरिरहेका हुन्छन् ।

कतिपय कर्मचारीलाई बस्ने कुर्सी छैन । सीमित ठाउँमा फाइल, कम्प्युटर र कर्मचारीहरू सबैलाई मिलाएर राख्नुपर्दा कोठा अस्तव्यस्त देखिन्छ ।

कार्यस्थल व्यवस्थित नहुँदा कामको गति पनि प्रभावित हुने गरेको कर्मचारीहरू बताउँछन् । उनीहरूका अनुसार, फाइल व्यवस्थापन, गोप्य कागजात राख्ने व्यवस्था र समन्वय बैठक सञ्चालन गर्नसमेत पर्याप्त स्थानको अभाव छ ।

‘काम गर्ने वातावरण नै छैन । एउटै टेबलमा धेरै जना बस्नुपर्छ । कहिलेकाहीँ फाइल राख्ने ठाउँसमेत पाइँदैन,’ एक कर्मचारी भन्छन्, ‘बाहिरबाट आएका कर्मचारी र सेवाग्राहीलाई बस्न दिने ठाउँसमेत छैन ।’

मन्त्रालयमा दैनिक सयौं सेवाग्राही पुग्छन् । स्वास्थ्यसम्बन्धी अनुमति, नीति, कागजात र प्रशासनिक कामका लागि विभिन्न क्षेत्रबाट मानिसहरू मन्त्रालय धाउने गर्छन् । तर उनीहरूका लागि बस्ने ठाउँ नै छैन । कार्यालय परिसरमा सेवाग्राहीले प्रतीक्षा गर्ने ठाउँको अभाव छ । कहिलेकाहीँ घण्टौँ पालो कुर्दा उनीहरू उभिएरै समय बिताउन बाध्य हुन्छन् ।

मन्त्रालय भन्छ- ठाउँ खोजिरहेका छौं

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मन्त्रालयदेखि योजना आयोगसम्म सबै सिंहदरबारमै रहँदा स्वास्थ्य मन्त्रालय भने बाहिर थियो ।

२५ असार २०३० को आगलागी अघिसम्म स्वास्थ्य मन्त्रालय पनि सिंहदरबार भित्रै थियो । अचानक भएको आगलागीले सिंहदरबारको पश्चिम भागबाहेक सबै ध्वस्त भयो । अधिकांश निकाय सिंहदरबार बाहिर सरे । स्वास्थ्य मन्त्रालय पनि टेकुमा रहेको राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा संचार केन्द्रको पुरानो भवनमा सर्‍यो ।

टिनको डिब्बामा कैद स्वास्थ्य मन्त्रालय

पद्मसुन्दर लावती स्वास्थ्य मन्त्री भएपछि फराकिलो कार्यालयको खोजी भयो । २०३९ सालमा रामशाहपथस्थित सर्वोच्च अदालतको ठिक अगाडि रहेको परिवार नियोजन तथा मातृ शिशु कल्याण योजनाको कार्यालयमा स्वास्थ्य मन्त्रालय सर्‍यो ।

फ्रान्सका प्रख्यात आर्किटेक्ट लुइस इसाडोर कानले डिजाइन गरेको यो भवन राजा वीरेन्द्रले आफ्नो ३१औं जन्मोत्सवको अवसरमा १३ पुस २०३२ मा उद्घाटन गरेका थिए । तत्कालीन मन्त्री लावतीको जोडबलमा स्वास्थ्य मन्त्रालय यो भवनमा सरेको थियो । आगलागीबाट क्षतिग्रस्त भएको सिंहदरबार पुनर्निर्माण गर्नुका साथै नयाँ भवनहरू बन्दै जाँदा मन्त्रालयहरू सिंहदरबार फर्कंदै गए ।

तर, स्वास्थ्य मन्त्रालय भने बाहिर नै रह्यो । बाहिर स्वास्थ्य मन्त्रालय हुँदा सुरक्षा व्यवस्था कमजोर हुने र अनावश्यक रूपमा भिडभाड बढ्दा कर्मचारीले हैरानी भोगेका थिए । काम नभएका मानिसहरू पनि अनावश्यक रूपमा आइरहेकाले काम प्रभावित हुन्थ्यो । अन्य मन्त्रालयसँग पनि समवन्य गर्न सजिलो हुने हिसाबले स्वास्थ्य मन्त्रालय सिंहदरबार भित्र लैजान मन्त्रालयका कर्मचारीले पटकपटक प्रयास गरे । तर सफल हुन सकेन ।

गत २४ भदौको जेनजी आन्दोलनको क्रममा रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको भवन पूर्ण रूपमा आगजनी भयो । मन्त्रालयको पछाडि रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग समवन्य गर्दै मन्त्रालयको कामकाज त्यहीं सुरु भयो । त्यसपछि भने सिंहदरबार भित्र स्वास्थ्य मन्त्रालयका लागि पुन: ठाउँ खोज्न थालियो ।

सिंहदरबारको दक्षिण–पश्चिम क्षेत्रमा रहेको नेपाली सेनाको नरसिंह दल गणको खाली जग्गा र भवन फेला पर्‍यो । अनि, गत मंसिरबाट स्वास्थ्य मन्त्रालय सिंहदबार छिर्‍यो ।

तर, सिंहदरबार प्रवेश गरेको ६ महिना बितिसक्दा पनि स्वास्थ्य मन्त्रालयले भवन पाउन सकेको छैन ।

मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीका अनुसार मन्त्रालय पूर्ण रूपमा सिंहदरबार भित्र सरेको अवस्था भने छैन । केही महाशाखा अझै पनि जलेको पुरानो भवनको पछाडिपट्टि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मै बसेर काम गरिरहेका छन् । गुणस्तर मापन तथा नियमन महाशाखा, लेखा शाखा र एचओसीले गर्ने काम रामशाहपथबाट हुन्छ ।

टिनको डिब्बामा कैद स्वास्थ्य मन्त्रालय
डा. भक्तबहादुर केसी

सिंहदरबार भित्रको अस्थायी संरचनामा स्वास्थ्य मन्त्री, सचिव, योजना महाशाखा, समन्वय महाशाखा र प्रशासन महाशाखाले काम गरिरहेका छन् । पर्याप्त स्थान नहुँदा काम गर्न निकै कठिनाइ भइरहेको डा. केसी बताउँछन् ।

‘ठाउँ अभावले एउटै टेबलमा दुई–तीन जना कर्मचारी बसेर काम गर्नुपरेको छ । अहिले वर्षा सुरु नभएकाले जेनतेन चलिरहेको छ,’ डा. केसी भन्छन्, ‘वर्षायाममा यही अवस्थाबाट सेवा सञ्चालन गर्न निकै गाह्रो हुन्छ ।’

उक्त अस्थायी भवन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को सहयोगमा प्रिफ्याब संरचनामा निर्माण भएको हो । बाँकी भाग भने मन्त्रालय आफैंले मर्मत–सम्भार गरेर सञ्चालनमा ल्याएको हो ।

महाशाखाबीच छलफल गर्नुपर्दा बस्ने ठाउँसमेत छैन । मन्त्रालयसँग छुट्टै बैठक कक्ष नै नभएकाले आवश्यक पर्दा महाशाखाका टेबलहरू सारेर अस्थायी रूपमा बैठक गर्नुपर्छ ।

टिनको डिब्बामा कैद स्वास्थ्य मन्त्रालय

‘बैठक गर्नुपरेको बेला टेबलहरू एक ठाउँमा सारेर अस्थायी सेटअप गरेर बैठक सञ्चालन गर्नुपर्छ,’ डा. केसी भन्छन्, ‘अस्ति मन्त्रीलाई स्वागत र परिचयात्मक कार्यक्रम गर्दा महाशाखाको हलमै व्यवस्थापन गरिएको थियो ।

सेवाग्राहीलाई पनि अहिलेको व्यवस्थाले सहज सेवा दिन कठिन भएको डा. केसी स्वीकार गर्छन् । स्वास्थ्य मन्त्रालय जनतासँग प्रत्यक्ष सम्पर्क हुने मन्त्रालय भएकाले दैनिक धेरै सेवाग्राही आउने गर्छन् । तर सिंहदरबार भित्र प्रवेशका लागि पास व्यवस्था गर्नुपर्ने भएकाले व्यवस्थापन चुनौतीपूर्ण बनेको उनले बताए ।

सरकारसँग वैकल्पिक भवन खोजी भइरहेको जानकारी दिँदै उनले उपयुक्त भवन उपलब्ध भए मन्त्रालय त्यतै सारिने बताए ।

‘प्रधानमन्त्री कार्यालयमार्फत यसबारे निरन्तर जानकारी गराइएको छ । उपयुक्त भवन खोज्ने काम भइरहेको छ,’ डा. केसीले भने ।

मन्त्रालयका अधिकारीका अनुसार अहिलेको अस्थायी संरचनाबाट मन्त्रालय सञ्चालन गर्न दीर्घकालीन रूपमा सम्भव नभएकाले छिट्टै उपयुक्त सरकारी भवनमा मन्त्रालय सार्न आवश्यक छ ।

देशको स्वास्थ्य नीति बनाउने, अस्पताल व्यवस्थापनदेखि स्वास्थ्य कार्यक्रम सञ्चालनसम्मको जिम्मेवारी बोकेको मन्त्रालय स्वयं अस्थायी संरचनामा रहनु विडम्बना हो ।

विश्वस्तरीय वास्तुकलाको प्रतीक भवन आगजनीमा नष्ट

जेनजी प्रदर्शनकारीले गरेको आगजनीले जलाएको स्वास्थ्य मन्त्रालयको यो भवन ५० वर्ष पहिले संसारकै नामी आर्किटेक्ट लुई कानको शैलीमा पिल्लरविनाको नमुना डिजाइनमा बनेको थियो ।

यसले राजधानीको बीच भागमा आर्किटेक्चर र इन्जिनियरिङको अनौठो मेल देखाउँथ्यो । यसले नेपालको इन्जिनियरिङ इतिहास र वास्तुशिल्प (आर्किटेक्ट) को सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको थियो । युरोपका विद्यार्थीहरूले अध्ययनका लागि हेर्न आउने भवन, जहाँ एउटै हललाई आवश्यकताअनुसार कोठामा विभाजन गर्न सकिने थियो ।

टिनको डिब्बामा कैद स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयको भवन कुनै समय आर्किटेक्ट इन्जिनियरिङका विद्यार्थीका लागि अध्ययनको नमुना थियो । स्विट्जरल्यान्ड, जर्मनी, नेदरल्यान्ड, डेनमार्क, नर्वेका विद्यार्थी हेर्न आउँथे ।

यस्तो खालको आर्किटेक्ट नेपाल बाहेक पाकिस्तान र श्रीलंकामा मात्रै थियो । तर नेपालकै डिजाइन विशिष्ट मानिन्थ्यो । यही कारण यो भवन ‘युनिक’ कहलिन्थ्यो ।

तत्कालीन परिवार नियोजन तथा मातृशिशु कल्याण केन्द्रको भवन निर्माण गर्न यूएसएडले नेपाल सरकारलाई सहयोग गरेको थियो । सो सम्झौता सम्पन्न गर्ने क्रममा यूएसएडले लुई कानलाई व्यावसायिक सहयोगको अनुरोध गरेको थियो र कानले डिजाइन गरेका थिए ।

आधुनिक वास्तुकलाको दृष्टिकोणले नेपालमा भएको अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त भवनको रूपमा उक्त भवनले मान्यता पाएको थियो ।

टिनको डिब्बामा कैद स्वास्थ्य मन्त्रालय

टिनको डिब्बामा कैद स्वास्थ्य मन्त्रालय

टिनको डिब्बामा कैद स्वास्थ्य मन्त्रालय

टिनको डिब्बामा कैद स्वास्थ्य मन्त्रालय

टिनको डिब्बामा कैद स्वास्थ्य मन्त्रालय





Source link

Leave a Comment