प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार
फोटो :एपी/रासस
स्पेन १६ वर्षपछि फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा पुगेको हो।
अमेरिकाको लस एन्जलस स्टेडियममा भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेनले फाइनल प्रवेशका लागि फ्रान्ससँगको भेट पक्का गरेको हो। स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक–एक गोलको महत्त्वपूर्ण योगदान दिए।
खेलको ३०औँ मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाएका थिए। तर, खेलको ४१औँ मिनेटमा बेल्जियमका खेलाडी चार्ल्स डे केटलेरले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए। त्यसपछि खेलको ८८औँ मिनेटमा स्पेनका मिकेल मेरिनोले निर्णायक गोल गर्दै आफ्नो टोलीलाई सेमिफाइनलमा पुर्याए। अब स्पेनले सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।
स्पेनसँग पराजित भएसँगै बेल्जियमको विश्वकप यात्रा क्वार्टरफाइनलमै रोकिएको छ। यसअघि सन् २०१४ को विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको बेल्जियम सन् २०१८ को विश्वकपमा तेस्रो भएको थियो भने सन् २०२२ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो।
सन् २०१० को विश्वविजेता स्पेन सन् २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो। त्यस्तै, सन् २०१८ र २०२२ मा स्पेन अन्तिम १६ बाटै घर फर्किएको थियो। यसपटक भने स्पेनले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
१७औँ पटक विश्वकप खेलिरहेको स्पेनको यो तेस्रो सेमिफाइनल यात्रा हो। यसअघि स्पेन सन् १९५० र २०१० मा सेमिफाइनलमा पुगेको थियो। सन् २०१० मा च्याम्पियन बनेको स्पेन सन् १९५० मा भने चौथो स्थानमा सीमित भएको थियो।