News Summary
Generated by OK AI. Editorially reviewed.
- स्थानीय तह निर्वाचन तयारीबारे निर्वाचन आयोगको छलफलमा शीर्ष नेताहरूले निष्पक्ष चुनाव हुने वा नहुने प्रश्न उठाएका छन् ।
- प्रचण्डले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित र पारदर्शी हुनुपर्ने बताउँदै मतगणना र मतपेटिका व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।
- उनले विगतका निर्वाचनमा मत हराउने, फरक परिणाम आउने र प्रतिनिधिलाई मतपेटिका ओसारपसारमा सहभागी नगराइएको गुनासा दोहोरिन नदिन चेतावनी दिएका छन् ।
४ मंसिर, काठमाडौं । स्थानीय तहको निर्वाचन तयारीबारे निर्वाचन आयोगले गरेको छलफलमा निष्पक्षताको प्रश्न उठेको छ । विभिन्न राजनीतिक दलका नेताहरूले नै विगतमा कतिपय प्रश्न उठेको स्मरण गर्दै फेरि पनि निष्पक्ष चुनाव हुने वा नहुने विषयमा प्रश्न उठाएका हुन् ।
निर्वाचन आयोगले शुक्रबार गरेको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरू सहभागी थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि पुगेका थिए । तर उनी पार्टीको निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई छलफलमा बस्न भनेर आफू बाहिरिएका थिए ।
आयोगले गरेको छलफलमा शीर्ष नेताहरूले नै निष्पक्षताको प्रश्न उठाएका हुन् ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित र पारदर्शी हुनुपर्ने बताए । मतदाताले निर्वाध रूपमा मतदान गर्न पाउने वातावरण सुनिश्चित गर्नुपर्ने उनको आग्रह छ ।
संयोजक प्रचण्डले विगतका निर्वाचनमा मतगणना, मतपरिणाम र मतपेटिका व्यवस्थापनलगायतका विषयमा विभिन्न प्रश्न तथा गुनासा उठ्ने गरेको उल्लेख गर्दै आगामी निर्वाचनमा त्यस्ता समस्या दोहोरिन नदिन निर्वाचन आयोगको विशेष ध्यान जानुपर्ने बताए ।
उनले विगतका निर्वाचनमा कतिपय उम्मेदवारले आफ्नो मत हराएको, आफूले अपेक्षा गरेभन्दा फरक मतपरिणाम आएको तथा उम्मेदवारका प्रतिनिधिलाई मतपेटिका ओसारपसारका क्रममा सहभागी हुन नदिएको जस्ता गुनासा गरेको स्मरण गराए । आगामी निर्वाचनमा यस्ता प्रश्न उठ्ने अवस्था आउन नदिन निर्वाचन प्रक्रिया थप पारदर्शी र विश्वसनीय बनाउनुपर्ने उनको आग्रह छ ।
प्रचण्डले गएको निर्वाचन सामान्य परिस्थितिमा सम्पन्न नभएको उल्लेख गर्दै लोकतन्त्रको निरन्तरता र संविधान कार्यान्वयनलाई गति दिन विभिन्न राजनीतिक दल तथा नेताहरूले विशेष भूमिका खेलेको बताए। निर्वाचनमा प्राप्त मत र जित–हार मात्र नभई लोकतन्त्रको निरन्तरता तथा संस्थागत विकासका लागि राजनीतिक दल र नेताहरूले निर्वाह गरेको भूमिकाको पनि मूल्यांकन हुनुपर्ने उनको आग्रह छ ।