प्रकाशित मिति : २३ असार २०८३, मंगलबार
फोटो :एपी/रासस
विश्व फुटबलका महान् खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। सन् २०२६ फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत स्पेनसँग १–० ले पराजित भएपछि पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको हो।
डलासमा भएको रोमाञ्चक खेलको अतिरिक्त समयको अन्तिम क्षणमा मिकेल मेरिनोले गरेको निर्णायक गोलले स्पेनलाई क्वार्टरफाइनलमा पुर्यायो भने ४१ वर्षीय रोनाल्डोको अन्तिम विश्वकप यात्राको अन्त्य गरायो।
खेल समाप्त भएपछि रोनाल्डो भावुक बन्दै रोएका थिए। उनले यसअघि नै यो आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरिसकेका थिए। खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट पनि तत्काल संन्यास लिने वा नलिने भन्ने विषयमा भने उनले कुनै स्पष्ट निर्णय सुनाएनन्।
“अब म परिवारसँग भेट्छु र शान्त मनले आगामी निर्णय लिन्छु,” उनले सञ्चारकर्मीहरूसँग भने।
ऐतिहासिक करिअर, तर विश्वकप उपाधि अधुरै
पाँच पटकका बालोन डी’ओर विजेता, पाँच पटकका च्याम्पियन्स लिग विजेता तथा सन् २०१६ को युरोकप च्याम्पियन रोनाल्डोले क्लब र राष्ट्रिय टोलीका लागि अहिलेसम्म विश्व कीर्तिमानी ९७६ गोल गरेका छन्।
उनले लगातार ६ वटा विश्वकपमा गोल गर्ने कीर्तिमान पनि बनाएका छन्। विश्वकप इतिहासको ६ संस्करणमा गोल गर्ने उनी एकमात्र खेलाडी हुन्। यद्यपि, विश्वकप उपाधि भने उनको करिअरमा कहिल्यै जोडिन सकेन। विश्वकपमा उनको सबैभन्दा उत्कृष्ट उपलब्धि सन् २००६ मा पोर्चुगललाई सेमिफाइनलसम्म पुर्याउनु नै रह्यो।
स्पेनविरुद्ध प्रभावहीन प्रदर्शन
स्पेनविरुद्धको अन्तिम खेलमा रोनाल्डोले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन्। उनले ९० मिनेटमा केवल १९ पटक मात्र बल छोए, तीन वटा प्रहार गरे र टोलीका साथीका लागि केवल एउटा अवसर सिर्जना गरे।
यस विश्वकपभर उनले जम्मा तीन गोल गरे। उनले उज्बेकिस्तानविरुद्ध दुई गोल र क्रोएसियाविरुद्ध पेनाल्टीमार्फत एक गोल गरेका थिए। प्रतियोगितामा उनले कुल १८ पटक गोलको प्रयास (प्रहार) गरेका थिए, जुन प्रतियोगितामै सबैभन्दा धेरै प्रहार गर्ने खेलाडीहरूको सूचीमा पर्छ। तर अवसर सिर्जना गर्ने र टोलीको खेलमा प्रभाव पार्ने पक्षमा उनी यसपटक कमजोर देखिए।
तथ्यांकअनुसार, विश्वकपमा सहभागी ३६६ खेलाडीले रोनाल्डोभन्दा बढी पटक बल छोएका थिए, जबकि उनले पोर्चुगलका पाँचमध्ये चार खेल पूरा समय खेलेका थिए।
रोनाल्डोलाई लगातार खेलाउनु सही निर्णय थियो ?
रोनाल्डोलाई प्रत्येक खेलको सुरुआती टोलीमा राख्ने निर्णय प्रतियोगिताभर चर्चा र विवादको विषय बन्यो। आलोचकहरूले उनको उमेर र घट्दो गतिको कारण युवा स्ट्राइकर गोन्कालो रामोसलाई अवसर दिनुपर्ने तर्क गरेका थिए।
फुटबल विश्लेषक तथा पूर्व इंग्ल्यान्ड स्ट्राइकर क्रिस सटनले प्रशिक्षक रोबर्टो मार्टिनेजमाथि कडा टिप्पणी गरे। उनले भने, “रोनाल्डो मैदानमा हिँडिरहेका जस्ता मात्र देखिन्थे। उनले केही पनि गर्न सकेनन्।”
सटनका अनुसार पोर्चुगल विश्वकपबाट बाहिरिनुको मुख्य कारण प्रशिक्षक मार्टिनेजको निर्णय नै थियो। “मार्टिनेजले किन एकै खेलाडीलाई यति धेरै प्राथमिकता दिए? गोन्कालो रामोसलाई मैदानमा किन उतारिएन? यो व्यवस्थापनको पूर्ण असफलता हो,” उनले भने।
सटनले थपे, “रोनाल्डो पोर्चुगलका सबैभन्दा महान् खेलाडी हुन्, यसमा शङ्का छैन। तर टोलीको हितलाई पहिलो प्राथमिकता दिनुपर्ने थियो।”
मार्टिनेजको बचाउ
प्रशिक्षक रोबर्टो मार्टिनेजले भने आफ्नो निर्णयको बचाउ गरे। उनका अनुसार टोलीलाई गोल आवश्यक परेका बेला रोनाल्डो जस्ता खेलाडीलाई मैदानबाट निकाल्नु उचित हुँदैनथ्यो।
“९० मिनेटसम्म उनलाई मैदानमा राख्नु आवश्यक थियो। उनी अझै शारीरिक रूपमा सक्षम छन्। उनको उपस्थितिले मात्रै पनि विपक्षी रक्षापंक्ति (डिफेन्स) मा दबाब सिर्जना गर्छ। सेट पिसमा पनि उनको अनुभव हाम्रो लागि महत्त्वपूर्ण थियो,” मार्टिनेजले भने। खेलपछि उनले रोनाल्डोको खुलेर प्रशंसा पनि गरे।
“हामीले यस विश्वकपमा उनले गरेको प्रयासका लागि धन्यवाद दिनुपर्छ। उनको सपना विश्वकप जित्ने थियो। उनले सम्पूर्ण करिअरभर फुटबलप्रति असाधारण समर्पण देखाएका छन्। उनी केवल महान् खेलाडी मात्र होइनन्, उत्कृष्ट व्यक्तित्व पनि हुन्,” उनले भने।
मेस्सी–रोनाल्डो बहस फेरि चर्चामा
रोनाल्डोको विश्वकप यात्रा समाप्त भएसँगै लियोनेल मेस्सीसँगको ‘सर्वकालीन महान्’ बहस पनि पुनः चर्चामा आएको छ।
सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकप जिताएपछि मेस्सीले आफ्नो करिअरको सबैभन्दा ठूलो उपलब्धि हासिल गरिसकेका छन्। यसपटकको विश्वकपमा पनि उनले सात गोल गर्दै उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। अर्कोतर्फ रोनाल्डोले पछिल्ला दुई विश्वकपमा जम्मा चार गोल मात्र गर्न सकेका छन्।
रोनाल्डो र मेस्सी दुवैले छ वटा विश्वकप खेलेका छन्। तर विश्वकपमा सर्वाधिक २० गोलसहित मेस्सी शीर्ष स्थानमा छन् भने रोनाल्डो ११ गोलसहित सर्वकालीन सूचीको नवौँ स्थानमा छन्।
समर्थकहरू भावुक
खेलपछि पोर्चुगलका समर्थकहरू पनि निकै भावुक देखिए। एक समर्थकले भने, “मेरो एउटा सपना रोनाल्डोलाई प्रत्यक्ष खेलिरहेको हेर्ने थियो, जुन पूरा भयो। उनले पोर्चुगलका लागि गरेको योगदान अविस्मरणीय छ।”
अर्का समर्थकले भने, “हामीले हार स्वीकार्नुपर्छ। रोनाल्डोले फुटबललाई दिएको योगदानका लागि हामी रोइरहनु पर्दैन, बरु उनलाई आफ्नो समयमा खेलिरहेको देख्न पाएकोमा गर्व गर्नुपर्छ।”
मार्टिनेजले दिए राजीनामा
विश्वकपबाट बाहिरिएलगत्तै पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पदबाट राजीनामा दिएका छन्।
यसअघि बेल्जियमको राष्ट्रिय टोली सम्हालेका मार्टिनेजले सन् २०२३ देखि पोर्चुगलको जिम्मेवारी सम्हालेका थिए। उनले गत वर्ष पोर्चुगललाई यूईएफए नेसन्स लिगको उपाधि जिताए पनि विश्वकप जित्ने आफ्नो मुख्य लक्ष्य भने पूरा गर्न सकेनन्। एजेन्सीहरुको सहयोगमा