क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको आरोपमा सात जना चिनियाँ पक्राउ



प्रकाशित मिति : ४ असार २०८३, बिहिबार


क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको आरोपमा सात जना चिनियाँ नागरिक पक्राउ परेका छन् । रुपन्देहीको बुटवलबाट अभौतिक मुद्रा अर्थात् क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

क्रिप्टोकरेन्सी एक प्रकारको डिजिटल वा भर्चुअल मुद्रा हो। यसलाई सुरक्षित बनाउन क्रिप्टोग्राफी प्रविधिको प्रयोग गरिन्छ। यो कुनै पनि देशको केन्द्रीय बैंक वा सरकारद्वारा जारी वा नियन्त्रण गरिएको मुद्रा भने होइन।

क्रिप्टोकरेन्सीको कारोबार इन्टरनेटमार्फत गरिन्छ र यसको अभिलेख ब्लकचेन नामक प्रविधिमा सुरक्षित रूपमा राखिन्छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूमा ४९ वषीय छिङ्ग गोउफु,४३ वर्षीय हु गाङ, ४५ वर्षीय ली शुआनहेई, ३६ वर्षीय सुन हुई, ३५ वर्षीय झाओ किउचेन, ३१ वर्षीय सियाङ जियासुन र ४५ वर्षीय ली बिन रहेका छन् ।

नेपालमा कानुनले निषेध गरेको क्रिप्टोकरेन्सी कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार बुटवल उपमहानगरपालिका–१२ बाट विभिन्न मोबाइल एप्स तथा वेबसाइटमार्फत क्रिप्टोकरेन्सी कारोबार भइरहेको सूचनापछि इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले छापा मारेको थियो ।

अनुसन्धानका क्रममा उनीहरूले बाइनान्स, ओकेएक्स, आईएमटोकन, पेटीएम, मोबिक्विक तथा फोनपेजस्ता डिजिटल भुक्तानी तथा क्रिप्टोकरेन्सी एप्स र वेबसाइटमार्फत अभौतिक मुद्राको कारोबार गरिरहेको प्रारम्भिक रूपमा खुल्न आएको प्रहरीको भनाइ छ ।

घटनास्थलबाट विभिन्न कम्पनीका ११ थान मोबाइल फोन र दुई थान ल्यापटप बरामद गरिएको छ ।

बरामद सामग्रीको परीक्षण तथा डिजिटल प्रमाण सङ्कलन गरी थप अनुसन्धान भइरहेको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिनुभयो ।

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबारलाई गैरकानुनी घोषणा गरिसकेको अवस्थामा त्यससम्बन्धी गतिविधि गर्ने वा गराउनेमाथि कानुनी कारबाही हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ ।





Source link

Leave a Comment

Translate »