६ महिनाभित्र अमेरिका फर्कने तर १/२ महिनामात्र बस्ने ग्रिनकार्डवाहकलाई एयरपोर्टमा सोधपुछ



प्रकाशित मिति : २१ असार २०८३, आइतबार

६ महिनाभित्र अमेरिका फर्कने तर १/२ महिनामात्र बस्ने ग्रिनकार्डवाहकलाई एयरपोर्टमा सोधपुछ

बोस्टन लोगान अन्तर्राष्ट्रिय विमानस्थलमा यु.एस. कस्टम्स एन्ड बोर्डर प्रोटेक्सनका अधिकारीहरू यात्रुवाहक उडानहरूबाट आएका अन्तर्राष्ट्रिय आगमनहरूको प्रक्रिया गर्दै।
तस्बिर: यु.एस. कस्टम्स एन्ड बोर्डर प्रोटेक्सन/ग्लेन फसेट

ग्रिन कार्डवाहकहरू ६ महिनाभन्दा बढी समय अमेरिकाबाहिर बसेर फर्कंदा एयरपोर्टमा सोधपुछ हुन सक्ने कुरा सीबीपीले अपडेट गरेको जानकारीमा उल्लेख छ । सीबीपीले भनेको छ– ‘यदि तपाईं ६ महिनाभन्दा बढी तर एक वर्षभन्दा कम समय अमेरिकाबाहिर बस्नुभएको छ भने अमेरिका फर्कने बेलामा थप सोधपुछ हुन सक्छ । तर, तपाईंलाई पुनः प्रवेश अनुमतिपत्र चाहिँदैन ।’

यदि तपाईं एक वर्षभन्दा बढी समय अमेरिकाबाहिर बसिसक्नुभएको छ भने यसबारे छलफल गर्नका लागि नजिकको अमेरिकी दूतावाससँग सम्पर्क गरी भेटघाट तय गर्न सीबीपीले सिफारिस गरेको छ । यो नियम नयाँ नभए पनि ट्रम्प प्रशासनअन्तर्गत यसको कार्यान्वयन कडा रूपमा भइरहेको छ ।

धेरैजसो समय अमेरिकाबाहिर बसेर हरेक ६ महिनामा अमेरिका आउने गरेका केही नेपालीले आफूलाई अमेरिका फर्कने क्रममा विमानस्थलमा सीबीपीले रोकेर अतिरिक्त जाँचबुझमा लगेको जानकारी दिएका छन् । त्यसैले ६ महिनाअघि अमेरिका फर्किने तर एक–दुई महिनामै फेरि बाहिर जाने गरेका ग्रिन कार्डवाहकहरू पनि सचेत हुनुपर्ने देखिन्छ । यद्यपि सबै ग्रिन कार्डवाहक भने सीबीपीको अतिरिक्त छानबिनमा पर्दैनन् ।

यदि तपाईं एक वर्ष वा सोभन्दा बढी समय अमेरिकाबाहिर बस्ने योजनामा हुनुहुन्छ भने पुनः प्रवेश अनुमतिपत्र आवश्यक पर्ने कुरा सीबीपीले प्रस्ट पारेको छ । तपाईं अमेरिकाबाहिर हुँदा पुनः प्रवेश अनुमतिपत्रका लागि आवेदन दिन नसकिने भएकाले अमेरिका छाड्नुअघि नै त्यसका लागि आवेदन दिन सीबीपीले सुझाव दिएको छ ।

पुनः प्रवेश अनुमतिपत्र दुई वर्षसम्मका लागि मान्य हुन्छ । यसलाई नवीकरण गर्न सकिँदैन । त्यस्तै कसैको ग्रिन कार्डको म्याद सकिएको छ र यूएससीआईएसबाट अस्थायी स्ट्याम्प पाउनुभएको छैन भने यात्रा नगर्न सीबीपीले सल्लाह दिएको छ । थप सहयोगका लागि यूएससीआईएसलाई सम्पर्क गर्नसमेत सुझाव दिइएको छ ।

यो सामग्री खसोखासको १४ औं वार्षिकोत्सव विशेषांकमा प्रकाशित सामग्री हो । डिजिटल संस्करणमा यो सामग्री पढ्न यहाँ क्लिक गर्नुहोला।

यस संस्करणको हार्डकपी नि:शुल्क प्राप्त गर्न क्लिक गर्नुहोस्। (नोट: १६८ पृष्ठको यो विशेष अंक करिब एक पाउन्ड तौलको भएकाले डेलिभरी शुल्क भने पाठक स्वयंले ब्यहोर्नुपर्नेछ।)





Source link

Leave a Comment