प्रकाशित मिति : २१ असार २०८३, आइतबार

अमेरिका आइपुग्ने यात्रीहरूको सामानमा खाद्य सामग्रीहरू भए/नभएको जाँच गर्दै सीबीपी कृषि विशेषज्ञहरू। फोटो: जेम्स टर्टेलोट।
अमेरिका भ्रमण गर्दा ल्याउन पाइने खानेकुराबारे अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी)ले विदेशबाट व्यक्तिगत प्रयोगका लागि ल्याइने खानेकुरा घोषणा नगरेमा ठूलो आर्थिक जरिबाना र कानुनी झमेला आइपर्न सक्ने चेतावनी दिएको छ ।
कृषि मन्त्रालयको मापदण्डअनुसार केही विशिष्ट खाद्य सामग्री मात्र अमेरिका ल्याउन अनुमति दिइएको छ । धेरैजसो ताजा वा फ्रोजन फलफूल र तरकारीमा किरा वा रोग हुन सक्ने भएकाले प्रतिबन्ध लगाइएको छ । यात्रुलाई हवाईजहाज वा पानीजहाजमा दिइने ताजा फलफूल वा तरकारी पनि ल्याउनु हुँदैन । यद्यपि बोक्रा निकालिएको लसुन, सफा गरिएको अदुवा, जटा निकालिएको नरिवल, एलोभेराको जमिनमाथिको भाग, इम्लीजस्ता केही वस्तु ल्याउन पाइन्छ ।
त्यस्तै यात्रुले व्यावसायिक रूपमा क्यानमा राखिएका फलफूल र तरकारी अमेरिका ल्याउन सक्छन् । तर, तिनलाई भन्सार फाराममा घोषणा गर्नुपर्छ । घरमा क्यानमा हालिएका उत्पादनलाई प्रवेश अनुमति छैन । धेरैजसो ड्राई फलफूल र तरकारीलाई किरा र रोगको आगमन रोक्नका लागि तोकिएका विशेष आवश्यकताहरू पूरा नगरी अमेरिकामा ल्याउन पाइँदैन । तर, सिमी, खजुर, नेभारा, बदाम, भिण्डी, मटर, किसमिस र सेचुवान खुर्सानीजस्ता सुकाएका फलफूल र तरकारी घोषणा गरेर ल्याउन पाइन्छ ।
यात्रुले क्यानडाबाट तीन पाउन्डसम्मको माटो आयात गर्न सक्छन् । तर, त्यो क्वारेन्टाइनमा राखिएको वा राउन्डवर्मबाट संक्रमित क्षेत्रबाट आएको हुनुहुँदैन । त्यस्तै अन्य सबै देशको माटो अनुमतिपत्र र अनुमोदित माटो उपचारबिना अमेरिकामा प्रवेश गराउन मिल्दैन । पिट, बालुवा, क्ले, स्मारिका चट्टान वा ढुंगा आयात गर्दा ती माटो वा कुनै पनि जैविक पदार्थबाट पूर्णरूपमा मुक्त भएको प्रमाणित गर्न अमेरिकी भन्सार निरीक्षकसमक्ष सक्षम हुनुपर्छ ।
मासु, दूध, अण्डा, कुखुरा र यी सामग्रीबाट बनेका उत्पादनसहितका अधिकांश वस्तु अमेरिकामा ल्याउन निषेध गरिएको छ वा कडा प्रतिबन्ध लागू गरिएको छ । जनावरको रोग र खाद्य सुरक्षाबारे चिन्ताका कारण सुँगुर र सुँगुरको मासुजन्य उत्पादनमा कडा नियम र प्रतिबन्ध छन् । अमेरिकी कृषि मन्त्रालयले केही गम्भीर पशु रोगबाट प्रभावित देशबाट अधिकांश गाईवस्तु, सुँगुर, भेडा वा बाख्राको मासु वा मासुजन्य उत्पादन ल्याउन अनुमति दिँदैन ।
खोरेत रोग, म्याड काउ डिजिज, सुँगुरको भेसिकुलर रोग, क्लासिकल स्वाइन फिभर, अफ्रिकन स्वाइन फिभरजस्ता पशु रोगबाट प्रभावित देशबाट अधिकांश गाईवस्तु, सुँगुर, भेडा वा बाख्राको मासु वा मासुजन्य उत्पादन ल्याउन पाइँदैन । नेपाल एभियन फ्लूबाट प्रभावित देशको सूचीमा पर्ने भएकाले पन्छीजन्य उत्पादित मासु ल्याउन पाइँदैन ।
त्यस्तै नेपाल अफ्रिकन स्वाइन फिभर प्रभावित देशमा पर्ने भएकाले सुँगुरको मासु पनि अमेरिका ल्याउन पाइँदैन । यी रोग नभएका देशबाट यात्रुले चिसो वा जमेको ताजा मासु, पकाइएका, क्युर गरिएको वा सुकुटी मासु ल्याउन सक्छन् । तर, यसका लागि उक्त उत्पादन कुन देशको हो भन्ने प्रमाणित गर्ने आधिकारिक कागजात अनिवार्य छ । अर्थात्, आधिकारिक कागजात भएको खण्डमा नेपालबाट सुँगुर र कुखुराबाहेक प्याकेज गरिएको, लेबल लगाइएको, नखोलिएको र हावा नछिर्ने गरी बन्द गरिएको कन्टेनरमा हड्डी नभएको अन्य मासु वा सुकुटी अमेरिका ल्याउन पाइन्छ । तर, विमानस्थलमा घोषणा गर्नुपर्छ ।
आधिकारिक कागजातका उदाहरणमा प्याकेजको लेबल, लिखित कागजात, यात्राको प्रमाण, उडानको उत्पत्तिस्थल, खरिद बिल, भन्सार कागजात, मासु निरीक्षण प्रमाणपत्र वा उत्पत्ति प्रमाणपत्र पर्दछन् । यात्रुले व्यावसायिक रूपमा प्याकेज गरिएको, लेबल लगाइएको, नखोलिएको र हावा नछिर्ने गरी बन्द गरिएको कन्टेनरमा हड्डी नभएको मासु ल्याउन सक्छन् । यस्तो मासु व्यावसायिक तरिकाले पकाइएको र फ्रिजमा नराख्दा पनि नबिग्रने किसिमको हुनुपर्छ ।
यात्रुले कुनै पनि वस्तु ५० पाउन्डभन्दा बढी ल्याउन पाउँदैनन् । ५० पाउन्डभन्दा बढीको सामानलाई व्यावसायिक ढुवानी मानिनेछ । त्यसका लागि थप प्रक्रिया पूरा गर्नुपर्नेछ । फ्रान्स, जर्मनी, इटाली र स्पेनका केही क्षेत्रबाट प्रोसुटो, सेरानो ह्याम, इबेरियन ह्याम र सालामीलगायत क्युर गरिएको ह्याम यात्रुले व्यक्तिगत रूपमा अमेरिका ल्याउन पाउँदैनन् । यस्ता वस्तु विशेष प्रमाणपत्र र कागजात आवश्यक पर्ने भएकाले व्यावसायिक ढुवानीका रूपमा मात्र ल्याउन पाइन्छ ।
यात्रुलाई सबै कृषि र वन्यजन्तु उत्पादन घोषणा गर्न आवश्यक छ । सीबीपी अधिकारी र कृषि विशेषज्ञले घोषित तथा अघोषित दुवै प्रकारका वस्तुको निरीक्षण गर्न सक्छन् । कुन उत्पादन अमेरिकामा प्रवेश योग्य छ भन्नेबारे अन्तिम निर्णय गर्ने अधिकार राख्छन् ।
फलफूल, मासु वा अन्य कृषि उत्पादनजस्ता खाद्य वस्तु ल्याउन पाइने नपाइने कुरा कुन देशबाट आएको हो भन्ने कुरामा पनि निर्भर हुन्छ । अमेरिकामा ल्याइने सबै कृषि उत्पादन घोषणा गरिएको खण्डमा कृषि विशेषज्ञले देशमा प्रवेश गर्न नसक्ने निर्णय गरे पनि यात्रुलाई दण्डित नगरिने सीबीपीले जनाएको छ । तर, यदि यात्रुले खाद्य उत्पादन घोषणा गर्न असफल भएमा १० हजार डलरसम्म जरिबाना तिर्नुपर्ने हुन सक्ने चेतावनी सीबीपीले दिएको छ ।
यदि यात्रुले खानेकुरा लुकाए वा घोषणा नगरेमा ती वस्तु तत्काल जफत गरिनुका साथै ३०० डलरदेखि १० हजार डलरसम्म जरिबाना हुन सक्छ । ग्लोबल इन्ट्रीजस्ता सुविधा लिनेको सदस्यता रद्द हुन सक्छ । यो जानकारी यात्रुले आफ्नो साथमा ल्याउने सामानका लागि मात्र हो । कुरियर वा हुलाक सेवामार्फत पठाइने खानेकुराका लागि छुट्टै र अझ कडा व्यावसायिक नियम लागू हुन्छन् ।
आफूले ल्याएका वस्तुबारे शंका लागेमा विमानस्थलमा घोषणा गर्न सुझाव दिइएको छ । आफूले बोकिरहेको सामान ल्याउन मिल्ने हो कि होइन भन्नेमा दुविधा भएमा विमानस्थलमा रहेको कृषि विशेषज्ञ वा सीबीपी अधिकृतलाई सोध्नु नै उत्तम उपाय हो ।
सीबीपी ज्ञानमाला
यो सामग्री खसोखासको १४ औं वार्षिकोत्सव विशेषांकमा प्रकाशित सामग्री हो । डिजिटल संस्करणमा यो सामग्री पढ्न यहाँ क्लिक गर्नुहोला।
यस संस्करणको हार्डकपी नि:शुल्क प्राप्त गर्न क्लिक गर्नुहोस्। (नोट: १६८ पृष्ठको यो विशेष अंक करिब एक पाउन्ड तौलको भएकाले डेलिभरी शुल्क भने पाठक स्वयंले ब्यहोर्नुपर्नेछ।)