विश्वकप फुटबल: ब्राजिललाई हराउँदै नर्वे क्वार्टरफाइनलमा



प्रकाशित मिति : २१ असार २०८३, आइतबार

विश्वकप फुटबल: ब्राजिललाई हराउँदै नर्वे क्वार्टरफाइनलमा

फोटो :एपी/रासस

पाँच पटकको विश्वविजेता ब्राजिललाई पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको न्युयोर्क/न्युजर्सी स्टेडियममा भएको रोमाञ्चक खेलमा नर्वेले ब्राजिललाई २–१ गोलअन्तरले स्तब्ध पारेको हो। नर्वेको यस ऐतिहासिक जितमा स्टार स्ट्राइकर एर्लिङ हालान्ड नायक बने।

खेलको दोस्रो हाफको अन्तिम ११ मिनेटमा हालान्डले दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे। उनले खेलको ७९औँ मिनेटमा आन्द्रेस सेलड्रुपको पासलाई सदुपयोग गर्दै नर्वेका लागि पहिलो गोल गरे। त्यसपछि ९०औँ मिनेटमा हालान्डले नै व्यक्तिगत दोस्रो गोल थपे।

दोस्रो हाफको इन्जुरी समय (अतिरिक्त समय) मा ब्राजिलका लागि नेइमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि त्यो ढिलो भइसकेको थियो। यस पराजयसँगै उपाधि दाबेदार ब्राजिल विश्वकपको प्रि-क्वार्टरफाइनल (अन्तिम १६) बाटै बाहिरिन बाध्य भएको छ।

२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले यस प्रतियोगितामा नयाँ इतिहास रचिरहेको छ। नर्वेले अब क्वार्टरफाइनलमा मेक्सिको र इङ्गल्यान्डबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

यस खेलसँगै विश्वकप र अन्य खेलहरूमा ब्राजिलविरुद्ध नर्वेको अपराजित यात्रा कायमै रहेको छ। यी दुई टोलीबीच हालसम्म भएका ५ ऐतिहासिक भेटमा नर्वेले ३ जित र २ बराबरीको नतिजा निकालेको छ। ब्राजिलले अन्तर्राष्ट्रिय फुटबल इतिहासमा हालसम्म ८८ वटा टोलीसँग खेलिसकेको छ, जसमध्ये नर्वे मात्र त्यस्तो टोली हो जसलाई ब्राजिलले अहिलेसम्म हराउन सकेको छैन। अर्कोतर्फ, ब्राजिल विश्वका ५० भन्दा बढी राष्ट्रहरूसँग अपराजित रहँदै आएको छ।

यी दुई टोलीले विश्वकपमा यसअघि सन् १९९८ मा खेलेका थिए, जहाँ नर्वेले २–१ को ‘कमब्याक’ जित निकालेको थियो। २८ वर्षपछिको यस भेटमा पनि नर्वेले त्यही इतिहास दोहोर्‍याएको छ।

२५ वर्षीय हालान्डको यो पहिलो विश्वकप हो। हालसम्म विश्वकपमा नर्वेले गरेका कुल १२ गोलमध्ये ७ वटा गोल हालान्ड एक्लैले गरेका छन्, जुन उनको खेल जीवनको ठुलो सफलता हो।

विश्वकप इतिहासमा ब्राजिल क्वार्टरफाइनलमा पुग्न असफल भएको यो ३६ वर्षपछिकै पहिलो पटक हो। यसअघि सन् १९९० मा इटालीमा भएको विश्वकपमा ब्राजिल अन्तिम १६ बाटै बाहिरिएको थियो। त्यतिबेला अर्जेन्टिनाका क्लाउडियो कानिजियाको एकमात्र गोलमा ब्राजिल १–० ले पराजित भएको थियो।

विश्वकप इतिहासमा ब्राजिल अन्तिम १६ को चरणबाट बाहिरिएको यो तेस्रो पटक मात्र हो। यसपटकको प्रदर्शनलाई ब्राजिलको विश्वकप इतिहासकै सबैभन्दा कमजोर प्रदर्शनमध्ये एक मानिएको छ।

यसअघि समूह चरणमा ब्राजिलले स्कटल्यान्ड र हाइटीलाई पराजित गरेको थियो भने मोरक्कोसँग बराबरी खेलेको थियो। त्यस्तै, अन्तिम ३२ को खेलमा जापानविरुद्ध १ गोलले पछि परेको अवस्था उल्टाउँदै ब्राजिलले २–१ को जित निकालेको थियो।





Source link

Leave a Comment