१७ लाख किशोरीलाई दिन लागिएको एचपीभी खोप कति सुरक्षित ?


१८ माघ, काठमाडौं। सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि देशव्यापी एचपीभी खोप अभियान सञ्चालन गर्ने भएको छ । माघ २२ देखि फागुन ६ गतेसम्म चल्ने यो अभियानमा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई खोप दिइने छ ।

स्वास्थ्य सेवा विभाग मातहतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्ध हालसम्मकै सबैभन्दा ठूलो अभियान हो । यसअघि सात संघीय अस्पतालमा नमूना कार्यक्रमको रूपमा करिब १० हजार किशोरीलाई खोप दिइएको थियो ।

अभियान सफल कार्यान्वयनका लागि १८ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थालाई खोप केन्द्रको रूपमा तोकिएको छ भने २७ हजार स्वास्थ्यकर्मी र ५४ हजार स्वयंसेवक परिचालन गरिनेछ ।

डा. गौतमले एचपीभी खोप सबै स्थानीय तहमा पुर्‍याइसकेको र स्वास्थ्यकर्मीलाई पनि पूर्ण तालिम दिइसकेको बताए । राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष डा. रमेशकान्त अधिकारी यस वर्षदेखि नै एचपीभी खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरेको बताए ।

‘एचभीपी खोप विश्व स्वास्थ्य संगठनबाट प्रमाणित गुणस्तरयुक्त खोप हो र संसारका धेरै देशमा प्रयोग हुँदै अएको खोप हो’ डा. अधिकारीले भने, ‘नेपालमा प्रयोग गर्नको लागि नेपालको औषधि व्यवस्था विभागबाट अनुमति पाइसकेको छ । त्यसैले खोप निर्धक्क लगाउनुहोस् ।’

चीनको इनोभ्याक्स कम्पनीले उत्पादन गरेको विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त सिकोलिन खोप गाभीको सहयोग र सरकारको सहलगानीमा निःशुल्क लगाइने भएको हो । सरकारले यस अभियानलाई आगामी वर्षदेखि नियमित खोप कार्यक्रममा समावेश गरी १० वर्षका बालिकालाई दिने योजना बनाएको छ ।

किन १० देखि १४ वर्ष उमेर तोकियो ?

नेपालमा पाठेघरको क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये पहिलो र समग्र क्यान्सरका प्रकारमध्ये फोक्सोपछि दोस्रो स्थानमा छ । नेपालमा औसत हरेक दिन ६ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार नेपालमा प्रति एक लाख महिलामध्ये १४ जनाभन्दा बढीलाई पाठेघरको मुखको क्यान्सर हुन्छ ।

चिकित्सकका अनुसार ९ देखि १४ वर्ष भ्याक्सिन लगाउने उपयुक्त उमेर हो । किनकि यो उमेरमा बालिका यौनजन्य क्रियाकलापमा सक्रिय भएका हुँदैनन् । सानो उमेरमा लगाएको भ्याक्सिन बढी प्रभावकारी हुन्छ ।

जनचेतनाका लागि एचपीभी खोपबारे गुल्मीमा गरिएको कार्यक्रम। फाइल तस्वीर

एचपीभी भाइरससँग सम्पर्कमा आउनुअघि नै खोप पाउन सके त्यसले राम्रो परिणाम दिन्छ । किनभने खोपले संक्रमण हुनबाट बचाउँछ । तर, शरीरमा पहिला नै भाइरस बसिसकेको भए संक्रमणमुक्त भने बनाउन सक्दैन ।

वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीका अनुसार ९ देखि १४ वर्षको उमेर खोपका लागि सबैभन्दा उपयुक्त हो । ‘सामान्यतया १४ वर्षभन्दा मुनिका बालिकामा यौन सम्पर्क भएको हुँदैन । त्यसकारण बालिकाको शरीरमा एचपीभी भाइरसको प्रवेश भएको हुँदैन’ डा. सुवेदी भन्छन्, ‘यो उमेरमा बालिकाहरू यौनिक गतिविधिमा सक्रिय नहुने भएकाले भाइरस प्रवेश गर्नुअघि नै खोप दिँदा यसको प्रभावकारिता बढी हुन्छ ।’

‘१४ वर्षभन्दा मुनिका यौनिक गतिविधिमा सक्रिय हुँदैनन् ।  त्यसकारण बालिकाको शरीरमा एचपीभी भाइरसको प्रवेश गर्नुअघि नै खोप दिँदा यसको प्रभावकारिता बढी हुन्छ ।’- डा. कीर्तिपाल सुवेदी, वरिष्ठ स्त्री रोग विशेषज्ञ 

परोपकार प्रसूति गृहकी स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा. स्मिता राईको अनुसार भाइरसको संक्रमणको प्रमुख कारण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, असुरिक्षत यौन सम्पर्क गर्ने, धेरै धुमपान तथा मद्यपान गर्ने र यौनांगको सरसफाइमा ध्यान नदिंदा हुनेगर्छ।

‘एचपीभी विरुद्धको खोप लगाएपछि शरीरमा एन्टिबडी बन्ने हुँदा क्यान्सरको जोखिम कम हुन्छ,’ उनले भनिन् ।

चिकित्सकका अनुसार योनीबाट गन्हाउने पानी आउनु, रक्तस्राव हुनु, पेट दुख्नु र महिनावारी सकिएका महिलामा समेत रगत देखिनु पाठेघरको मुखको क्यान्सर लक्षण हुन् ।

चिकित्सकको अनुभवमा पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी ग्रामीण भेगका महिलामा देखिने गरेको छ । परिवार नियोजनका साधनको न्यून प्रयोग र स्वास्थ्य परीक्षणको दायरामा नआउँदा दुर्गम क्षेत्रका महिला बढी प्रभावित हुने गरेका छन् ।

डा. राईले विशेषगरी ग्रामीण क्षेत्रका महिलाहरूमा यो समस्या बढी देखिएको बताइन् । अधिकांश महिला अन्तिम चरणमा मात्र अस्पताल पुग्ने गरेका छन् । ‘ग्रामीण क्षेत्रका महिलाहरूमा क्यान्सर परीक्षणबारे जानकारीको कमी र स्वास्थ्य संस्थाको सीमित पहुँचका कारण समस्या बढी छ,’ उनले भनिन् ।

एचपीभी खोप कति सुरक्षित ?

एचपीभी भाइरस संक्रमणअघि नै खोप लगाउँदा क्यान्सरबाट ९० प्रतिशतसम्म सुरक्षा प्राप्त हुने वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही बताउँछन् ।

डा. शाहीका अनुसार ९ देखि १४ वर्षको उमेर समूह खोपका लागि सबैभन्दा उपयुक्त हो। ‘यस उमेरका बालबालिकामा यौन सम्पर्क नहुने हुँदा भाइरस प्रवेश गर्नुअघि नै खोप लगाउन सकिन्छ,’ उनले भने । तर शरीरमा एकपटक भाइरस प्रवेश गरिसकेपछि भने खोपले संक्रमणमुक्त बनाउन नसक्ने उनको भनाइ छ ।

विभिन्न अध्ययनहरूले ९ देखि २६ वर्ष उमेर समूहका महिलामा खोपको प्रभावकारिता उच्च देखिएको छ । ‘पाठेघरको मुखको क्यान्सरले भयावह रूप लिइरहेकाले महिलालाई अकालको मृत्युबाट बचाउन यौन सक्रिय हुनुअघि नै खोप दिनु जरुरी छ,’ डा. शाही भन्छन् ।

खोपले पाठेघरको मुखको क्यान्सरका साथै गुद्वार, घाँटी र जननेन्द्रियमा क्यान्सरबाट समेत सुरक्षा प्रदान गर्छ ।

चिकित्सकहरूले समयमै परीक्षण र उपचार गरिएमा यो क्यान्सर निको हुन सक्ने तर जनचेतनाको कमीका कारण धेरै बिरामी जटिल अवस्थामा मात्र उपचारका लागि आउने गरेको चिकित्सक बताउँछन् ।

महिनावारी भएको बेलामा खोप लगाउनुहुन्छ ?

यो एक प्रकारको भाइरस हो । यसलाई हृयुमन प्यापिलोमा भाइरस भनिन्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपीभी भाइरस हो । यो भाइरसको २०० भन्दा बढी किसिमका प्रजाति हुन्छन् र तीमध्ये कम्तिमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारण मानिन्छ । नेपालमा प्रजाति १६ र प्रजाति १८ ले ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर गराउँछ ।

विश्व स्वास्थ्य संगठनले करिब दुई दशक अघि देखि प्रयोगको लागि अनुमति दिएको एचपीभी खोप हालसम्म १४५ देशमा राष्ट्रिय खोप तालिकामा समावेश गरी किशोरीलाई दिँदै आएको छ ।

खोपले पाठेघरको मुखको क्यान्सरलाई निकै हदसम्म रोके पनि यसले सबै प्रकारका एचपीभीबाट जोगाउँदैन ।

‘पाठेघरको मुखको क्यान्सरले भयावह रूप लिइरहेकाले महिलालाई अकालको मृत्युबाट बचाउन यौन सक्रिय हुनुअघि नै खोप दिनु जरुरी छ’-डा. अरुण शाही,वरिष्ठ क्यान्सर रोग विशेषज्ञ

त्यसैले २५ वर्षको उमेर भइसकेका महिलाहरूले यसको नियमित परीक्षण गराउनु जरुरी हुन्छ । क्यान्सरको सुरुवाती अवस्थामा लक्षण नदेखिन सक्ने भएकाले नियमित स्क्रिनिङ पनि त्यत्तिकै महत्वपूर्ण रहने चिकित्सक बताउँछन् ।

चिकित्सकले महिनावारीको समयमा पनि एचपीभी खोप लगाउन सकिने बताउँछन् । किशोरीहरूमा खोप लगाउँदैमा महिनावारीको प्राकृतिक प्रक्रियामा कुनै असर पदैन ।

१७ लाख किशोरीलाई दिन लागिएको एचपीभी खोप कति सुरक्षित ?

गर्भवती र किशोरी टीनएज प्रेग्नेन्सीमा खोप लगाउन हुँदैन । अन्य खोप लगाउँदा जसरी सामान्य खालका केही प्रतिक्रियात्मक लक्षण देखिन्छ, जुन सामान्य हुन्छन् र केही समयमै निको भइहाल्छ ।

यो खोपले एचपीभीका धेरैवटा भाइरसमध्ये क्यान्सर गराउने भाइरस विरुद्ध काम गर्छ । सबै किशोरीलाई ढुक्क भएर खोप लगाउन चिकित्सक आग्रह गर्छन् ।

‘खोपले क्यान्सर लाग्नबाट बचाउँछ । भोलि हुने ठूलो स्वास्थ्य जोखिमबाट बचाउँछ,’ डा. गौतम भन्छन् ।

एचपीभी भाइरस यौन सम्पर्कबाट सर्छ ?

एचपीभी भाइरस सरुवा भएकाले सजिलै फैलिन्छ । एचपीभी भाइरस संक्रमण पुरुषबाट सर्ने गर्छ । त्यसकारण यौन सम्पर्कका क्रममा भाइरस सर्ने जोखिम उच्च हुन्छ । यो भाइरस निकै सङ्क्रामक हुन्छ र सजिलै सर्ने सम्भावना हुन्छ । यो मुख्यतः छालाको सम्पर्कबाट सर्छ ।

२५ वर्ष उमेर पुग्दै गर्दा ८० प्रतिशत मानिसमा संक्रमण हुन्छ, सर्छ ।

धेरैजसो मानिसमा भाइरस प्रवेश गरेको १८ महिनादेखि दुई वर्षसम्म सङ्क्रमित भइरहन्छन् ।

महिनावारी भएको बेला एचपीभी खोप लगाउन मिल्छ । किशरीहरूमा महिनावारी नियमित प्राकृतिक प्रक्रिया हो । त्यसैले एचपीभी खोप लगाउँदैमा किशोरीको महिनावारीको समय प्रभावित हुँदैन ।

३० वर्षमाथिका महिला बढी जोखिममा

चिकित्सकका अनुसार २५ देखि ४५ वर्षसम्म पुग्दासम्म ८० प्रतिशत एचभीपीको संक्रमण भइसकेको हुन्छ ।

‘सुरुवातको संक्रमण हुँदा शरीरमा भएको रोग प्रतिरोधात्मक क्षमताले लड्न सक्छ । तर, पटक–पटक संक्रमण हुँदा यसले असर गर्ने सम्भावना अत्यधिक हुन्छ । जुन संक्रमणले १० वर्षपछि क्यान्सर भएको थाहा हुन्छ,’ डा. शाही भन्छन् ।

धेरै महिलाको २० वर्षकै उमेरमा विवाह हुने र विवाहपछि यौन क्रियाकलापमा संलग्न हुने हुँदा ३०–३५ वर्ष पुग्दानपुग्दै पाठेघरको मुखको क्यान्सर हुने जोखिम रहने चिकित्सकहरूको भनाइ छ ।

त्यस्तै एचआईभी संक्रमितले एचपीभी खोप लगाउन झन् जरुरी हुन्छ । किनकि एचआईभी नभएका महिलाहरूको तुलनामा एचआईभी भएका महिलामा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना ६ गुणा बढी हुने गर्छ । पाठेघरको मुखको क्यान्सरका अनुमानित केसहरूमध्ये करिब ५ प्रतिशत एचआईभी संक्रमितलाई हुने गरेको पाइएको छ ।

एचपीभी खोप लगाउन कहाँ जाने ?

एचपीभी खोप अभियानको रूपमा नेपालभर नै सञ्चालन हुँदैछ । यस अभियानमा एचपीभी खोप ६ देखि १० सम्म अध्ययन–अध्यापन हुने विद्यालयबाट प्रदान गरिंदैछ । त्यसैले अभियान सञ्चालनको समयमा आ–आफ्नो विद्यालयमा गएर कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राले एचपीभी खोप लगाउन पाउँछन् ।

१७ लाख किशोरीलाई दिन लागिएको एचपीभी खोप कति सुरक्षित ?

साथै, विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूले पनि यस अभियान सञ्चालनको समसयमा नजिकैको विद्यालयमा गएर एचपीभी खोप लगाउन सक्छन् । केही कारणवश छुटेका किशोरीले नजिकैको स्वास्थ्य संस्थाबाट पनि खोप लगाउन सक्छन् ।

नियमित खोपको रूपमा सञ्चालन गर्ने तयारी

नेपालले दक्षिण पूर्वी एसियाको रणनीति अनुसार पाठेघरको मुखको क्यान्सरलाई सन् २०३० सम्म जनस्वास्थ्यको समस्याका रूपमा रहन नदिने नीति लिएको छ । र, १० वर्षको उमेर समूहका बालिकालाई नियमित खोप सञ्चालन गर्ने योजना छ ।

वार्षिक ५ लाख बालिकालाई खोप दिनुपर्ने परिवार कल्याण महाशाखाको अनुमान छ । सरकारले अनुदानमा खोप उपलब्ध गराउन दातृ निकाय ग्लोबल भ्याक्सिन एलायन्स (गाभी) सँग सम्झौता गरेको छ ।

अभियान सञ्चालनको समयमा आ–आफ्नो विद्यालयमा गएर कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राले एचपीभी खोप लगाउन पाउँछन् ।

‘गाभी हामीलाई निरन्तर सर्पोट गर्ने सम्झौता भएको छ । त्यसमा नेपालको सहलगानी हुन्छ’ डा. गौतम भन्छन्, ‘अगामी वर्षदेखि नियमित खोप सञ्चालन गर्छौं ।’

पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रूपमा नरहने अवस्थामा पुर्‍याउन नेपाल सरकारले सन् २०३० सम्म तीनवटा स्वास्थ्य सेवाको गन्तव्य निर्धारण गरेको छ । जसअनुसार १० देखि १४ वर्षसम्म उमेरका कम्तिमा ९० प्रतिशत किशोरीलाई एचपीभी खोप दिने, ३० वर्षभन्दा माथिको उमेरका कम्तिमा ९० प्रतिशत महिलाहरूको पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने र पाठेघरको मुखको क्यान्सर निदान भएका कम्तिमा ९० प्रतिशत महिलाहरूको उपचार गर्ने रहेको छ ।

‘तीनवटा लक्ष्य मध्ये परीक्षण र उपचार पहिल्यैदेखि नै गर्दै आएको थियौं । खो लगाउने लक्ष्य पहिलो पटक सुरुवात गर्न लागेका छौं’ डा. गौतम भन्छन्, ‘तीनवटै पिल्लरलाई मजबुत बनाउँदा पाठेघरको मुखको क्यान्सर दर घटाउन सकिन्छ ।’





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School