प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार

अमेरिकाले होर्मुज जलमार्गमा बिछ्याइएका समुद्री सुरुङ (माइन) हटाउने प्रक्रिया सुरु गरेको जनाएको छ।
अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार अमेरिकी नौसेनाका निर्देशित क्षेप्यास्त्र बोकेका दुई युद्धपोतहरू यूएसएस फ्र्याङ्क ई. पिटरसन र यूएसएस माइकल मर्फीले उक्त जलमार्ग पार गरेका छन्।
कमाण्डले सामाजिक सञ्जाल ‘एक्स’मा जारी गरेको विज्ञप्तिमा, इरानले राखेका समुद्री सुरुङहरू हटाएर जलमार्ग सुरक्षित बनाउन यो कदम चालिएको उल्लेख छ।
सेन्टकमका कमाण्डर एडमिरल ब्राड कूपरले लेखेका छन्, “आज हामीले नयाँ सुरक्षित मार्ग स्थापना गर्ने प्रक्रिया सुरु गरेका छौँ। हामी छिट्टै यो मार्ग समुद्री उद्योगसँग साझा गर्नेछौँ, जसले व्यापारको स्वतन्त्र प्रवाहलाई प्रोत्साहन गर्नेछ।”
तर, इरानले भने अमेरिकी दाबीलाई अस्वीकार गरेको छ। इरानको सशस्त्र बल मुख्यालयका प्रवक्ताले अमेरिकी जहाजहरू होर्मुज जलमार्ग नजिक पुगेको वा प्रवेश गरेको भन्ने सेन्टकम कमाण्डरको दाबीलाई पूर्ण रूपमा खण्डन गरेका छन्। प्रवक्ताले भने, “कुनै पनि जहाजलाई पार गराउने अधिकार इरानको सशस्त्र बलसँग मात्रै सुरक्षित छ।”
यसअघि पनि सेन्टकमले एक्समार्फत अमेरिकी बलहरूले होर्मुज जलमार्गमा सुरुङ हटाउने तयारी सुरु गरेको बताएको थियो।
गत २८ फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध रोक्न यतिबेला पाकिस्तानको इस्लामावादमा अमेरिकी र इरानी उच्च अधिकारीहरूबीच वार्ता भइरहेको छ।