हाँस्न बिर्सिने उमेर

हाँस्न बिर्सिने उमेर


१) हाँस्न बिर्सिने उमेर

नेपाली गुरुले आफ्नै रफ्तारमा कक्षामा पढाएर सक्नुभयो। विभिन्न उदाहरण दिएर, एकपछि अर्को प्रेरणा थप्दै गुरु भन्दै हुनुहुन्थ्यो, ‘तिमीहरूलाई हरेक विधा कथा, कविता, निबन्ध, वादविवाद सबै काम लाग्छ । आजको विषय थियो, ‘सुखी जीवन’।’  

सबैले चाख मानीमानी सुनिरहेका थिए। कोही आफ्नै तालमा स्कूलबारे गफिँदै थिए, ‘बिहे जागिर, बालबच्चापछिको जीवन त क्या मज्जा होला है।’

यस्तैमा एक जेहनदार विद्यार्थी आफ्नो ठाउँबाट उठेर सरलाई सोध्यो, ‘गुरु, मान्छे कहिलेबाट हाँस्न बिर्सिन्छ? मतलब हाँस्न बिर्सिने उमेर कुन हो?’

गुरु अलपत्र परे अनि सोधिहाले, ‘यस्तो पनि प्रश्न हुन्छ? किन सोध्यौ यस्तो प्रश्न?’

उसले गम्भीर जवाफ दियो, ‘हामी रमाइलो गर्छौ, हाँस्छौ, खेल्छौ तर म यत्रो भएँ न मैले तपाईंहरूलाई न मेरो बुवाआमालाई खुलेर हाँसेको देखेको छु।’

कक्षा सकिएको जनाउ घन्टी बजिसकेको थियो। गुरु फतफताउँदै बाहिर निस्के, ‘बाबू, तिम्रो पनि बेला आउँदै छ। हेक्का राख्दै गर्नु कहिलेबाट हाँस्न बिर्सिन्छौ।’

२) आशीर्वाद

रातो कारछेउमै ल्याएर गर्जियो ऊ, ‘ओ बूढा, मर्न मन छ कि क्या हो? के बीच बाटोमा बसेर त्यो थोत्रे साइकलको च्यान बनाइरा’को? अलि छेउ लागेर बनाउन सक्दैनौ?’

 पच्पन्नसाठी जस्ता देखिने ती सज्जनले कारतर्फ नफर्की जवाफ फर्काए, ‘बाबू, कानै खाने गरी हर्न हान्नुपर्छ र? बिस्तारै बजाए पनि साइड लागिहाल्छु नि म।’

आफू जर्केर बोल्दा पनि मीठो जवाफ आयो। युवकले ती सज्जनलाई राम्रोसँग नियाल्यो र चिन्यो पनि। उसले प्राथमिक शिक्षा दिएका आफ्ना गुरुलाई भन्यो, ‘नमस्कार, तपाईंले मलाई चिन्नुभयो? मलाई ५ कक्षामा पढाउनुभएको थियो नि। मैले त तपाईंलाई भेटेर नै धन्यवाद भन्नु थियो।’

गुरुले छक्क पर्दै भने, ‘मैले धन्यवाद पाउने गरी बाबूलाई के त्यस्तो गुन लगाएँ र!’

‘गृहकार्य नगरेको भनेर दिनदिनै कुखुरा नबनाएको भए मैले कहाँँ स्कूल छोड्थे होला र सर। स्कूल नछोडेको भए आज यतिबेला खाडीतिर पचास डिग्रीको घाम खाइरा’को हुन्थे होला। बितेका कुरा बितिहाले। सर, साइकल यतै राख्नुस्। आउनुस्, म घरसम्म पुर्‍याइदिन्छु।’

मन नलाईनलाई बूढा साइकल त्यतै राखेर आफ्नो भूतपूर्व विद्यार्थीको गाडीमा बसे। त्यस बीचमा उसले आफूलाई सबैले चिन्ने, आफ्नो नाम सुन्दा थर्र हुने र आफ्नो पालालाई पुग्ने सम्पत्ति कमाएको जस्ता आफ्नो सबै कुरा सुनाउन भ्यायो।

उसले कारको ढोका खोल्दिदै भन्यो, ‘सर, ओर्लने ठाउँ आइपुग्यो। केही परेमा सम्झिए हुन्छ। जाने बेला मलाई आशीर्वाद त दिएर जानुस् है।’

धेरै पहिलादेखि उसको हर्कत जानेका र केही नबोली कुरा सुनिरहेका उसलाई उनले जाने बेला आशीर्वाद दिए। आफूलाई सबैले राम्रै ठान्छन् नि बाबू। तिमीलाई थाहै होला चरी र घैंटेको इन्काउन्टर समाचार।’

३) छाप

अलि कठोर बन्दै छोरीले भनिन् ‘नाइँ, म त्यो स्कूल जान्न।’

नानीकी आमाले फकाउने शैलीमा बोलिन्, ‘किन नजाने छोरी स्कूल? त्यति राम्रो स्कूल छ। त्यहाँ तिमीले खोजेका सबै खेल्ने कुरा पनि पाइन्छ।’

‘बुनू, किन के भयो र? तिमीलाई कसैले केही भन्यो हो? भाषाको समस्या भयो हो?’ छोरीको समस्या ठ्याक्कै बुझे जस्तो गरेर मैले चेपारो घसेँ। छोरीको घुर्की बीसको उन्नाइस भएन।

आफूले उकुसमुकुस जिन्दगी बाँचे पनि सधैं हुने बन्द, हडताल र त्यही माथिको भूकम्प र नाकाबन्दीले आक्रान्त पारेपछि भविष्यकाे पिंढीलाई राम्रो शिक्षा दिन सकिन्छ भन्ने भ्रममा मैले पाँच महिनाअघि परिवार पनि विदेशमै ल्याएको थिएँ।

आफूले ४ कक्षामा एबिसिडि देखेको मैले छ वर्षकी छोरीले आफूले अंग्रेजीमा सोधेका प्रश्नका जवाफ दिँदा खुशीले उडूँ कि नाचूँ जस्तो हुन्थ्यो। मनमनै छोरीको उज्ज्वल भविष्य देखेको मैले फेरि फकाउँदै सोधेँ, ‘तिमीले जे भन्छ्यौ त्यही किनिदिन्छु। भन त किन जान मन नगरेको स्कूल?’

मन नलाईनलाई गृहकार्यका लागि कपी झिक्दै गरेकी छोरीले मलाई र आफ्नी आमाको पनि अनुहारमा नहेरी जवाफ फर्काइन्, ‘मलाई त नेपालकै स्कूल ठीक। कत्ति बिदा हुन्थ्यो। यहाँको स्कूल त कहिल्यै बिदा हुँदैन।’

४) कुपुत्र

हिजो मात्रै उसले आमाको अन्तिम संस्कार सकेको थियो। उसले एकछिन फेसबुक हेरेपछि सन्तुष्टिको लामो सास तान्दै भन्यो, ‘तिम्रो छोरो भएर जन्मिन पाउनु मेरा लागि खुसीको कुरा हो आमा।’

उसले मनमनै सोच्यो, ‘तिमीलाई सधैंका लागि बिदा गरेपछि मैले यति धेरै सहानुभूति  र सान्त्वना पाउँछु भनेर सोचेकै थिइनँ। तिमीले देख्न नपाए पनि स्वर्गबाट त हेरेकी हौली नि। हेर त लाइक मात्रै दुई हजार नाघेछ। कमेन्ट पनि पाँच सय जति छन्।’

यस्तैमा अर्को साँझ फुर्सदमा उसले कमेन्ट पढ्न थाल्यो। तर उसलाई रिँगटा पो लाग्न थाल्यो। उसको अनुहारबाट चिटचिट पसिना झर्न थाल्यो।  

केही कमेन्टहरू यस्ता थिए-

-यस्तो कुपुत्र जन्मिनभन्दा त बरू नजन्मिएकै बेस।

– यो ढोगी समाजमा जन्मिनु मात्रै पर्छ, जे पनि देख्न पाइन्छ।

-छोराका नाममा कलंकहरू खोज्न कतै टाढा जानु पर्दैन। ल चिन्नुस् असली समाजसेवी।

पाँच वर्ष पहिला आधुनिकताको मुकुन्डो ओढेर व्यस्तताका निहुँमा आमालाई रुवाईरुवाई छोडेको वृद्धाश्रममा पुगेर आमाको मरणपछि मात्रै लाश उठाएको देखेका आफन्त र छिमेकीका कमेन्ट थिए ती।

५) माथिको फोन

अफिसमा नयाँ हाकिम आए। उनको अबिर र फूलमालाले भव्य स्वागत गरियो। उनले सबैलाई निर्देशन गर्दै भने, ‘मलाई अरूसँग तुलना नगर्नु होला। मलाई ढिलासुस्ती गरेको, काम चोरेको अनि दुईचार रुपैयाँमा -याल काढेको पटक्कै मन पर्दैन। जति बस्छु जनताको भलाइ हुने काम मात्रै गर्छु। मलाई कसैको डरधम्कीबाट एकरति पनि फरक पर्दैन। कसैको पावर लगाएर मलाई दबाब दिने काम नगर्नु भए हुन्छ। म एउटा संकल्प गरेर आएको हुँ यो अफिस रोजेर।

तीन महिना पुग्नै भ्याएको थिएन। अचानक कर्मचारीहरू फेरि अर्को हाकिमलाई माला उन्न व्यस्त थिए।

माला उन्ने तल्लो तहका ज्यालादारीमा काम गर्ने दुई कर्मचारी आपसमा गफिदै थिए,

-पहिलाको हाकिमको किन सरुवा भएछ? हैन हाम्रो कामचाहिँ बर्सैभरि माला उन्ने मात्रै रैछ कि क्या हो।

-थाहा पाइनस्, हाकिमले त्यो सम्झनेलाई कोठा सफा गरेको राम्रो भएन भनेर कराको अरे। विचरा हाकिमले पार्टीको मान्छे भनेर थाहा पाएन छ। दुई दिनपछि त सरुवाको चिठी नै आएछ नि।

( कथाकार डा. ‘काँचुली’काे ‘हाकिमकाे देश’ लघुकथासङ्ग्रहमा सङ्गृहीत।)

प्रकाशित: २८ भाद्र २०८१ ११:५५ शुक्रबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School