‘स्वास्थ्य क्षेत्र सुधारेर मात्र सन्तुष्टिको सास फेर्छु’



सरकारी सेवामा तीन दशक बिताएकी डा. सुधा शर्मा स्वास्थ्य मन्त्रालयको प्रशासनिक नेतृत्वमा पुगेर बिदा भएकी थिइन् । जेनजी आन्दोलनपछि डा. शर्मालाई स्वास्थ्य मन्त्रालयको राजनीतिक बागडोर सम्हाल्ने जिम्मेवारी प्राप्त भएको छ । स्वास्थ्य सेवालाई जरैदेखि बुझेकी डा. शर्माले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै नीतिगत र प्रशासनिक सुधारको अपेक्षा गरिएको छ ।

निकै छोटो कार्यकालको अवधिमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई कसरी हल गर्छिन्, यो उनका लागि अग्निपरीक्षा हो । स्वास्थ्य क्षेत्रका बेथिति हटाउने र समस्याको समाधान गर्ने उपायबारे अनलाइनखबरकर्मी पुष्पराज चौलागाईंले नवनियुक्त स्वास्थ्यमन्त्री डा. शर्मासँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

जेनजी  आन्दोलनले तपाईंलाई स्वास्थ्यमन्त्री बनायो । स्वास्थ्य मन्त्रीका रूपमा एक साताको अनुभव कस्तो रह्यो ?

देशको जटिल परिस्थितिमा मन्त्रालयको नेतृत्व लिने अवसर पाएँ । त्यसलाई सकारात्मक रूपमा लिएको छु । अर्कोतर्फ गर्नुपर्ने काम थुप्रै छन् । जनताका अपेक्षा धेरै छन् । धेरै ठाउँमा भद्रगोल छ, यसलाई ठिक पार्नुपर्नेर्छ ।

जेनजी घाइतेको उपचारलगायत धेरै काम छन् । ती काम तदारुकताका साथ अगाडि बढाउनुपर्नेछ । ठूलो जिम्मेवारी बोध भएको छ । अहिलेको अवस्थालाई चुनौतीपूर्ण जिम्मेवारीको रूपमा लिएको छु ।

ग्रासरूटदेखि स्वास्थ्यसचिवको जिम्मेवारी सम्हाल्दै अहिले मन्त्री बन्नुभएको छ । यो छोटो अवधिमा स्वास्थ्य क्षेत्र परिवर्तनका लागि कस्तो योजना बनाउनुभएको छ ?

यसलाई दुई प्रकारले हेरेको छु । एउटा, सर्वसाधारणलाई तत्काल चाहिने सेवा । अर्को, जेनजी घाइतेको उपचार । घाउचोटको वर्गीकरण गरी क्षतिपूर्ति सिफारिस गर्ने कामलाई पहिलो प्राथमिकतामा राखेको छु ।

जनताले कंक्रिट सेवा पाउने कामहरू गर्नुपर्छ । त्यसमा दुई कुरा प्राथमिकतामा छन् । पहिलो, मानसिक स्वास्थ्य । यसका लागि कार्यदल बनाएर छोटो समयमा रिजल्ट आउने गरी कार्ययोजना बनाएका छौं । केही स्वास्थ्य संस्थाहरूले मेन्टल हेल्थ डेस्क राखिसकेका छन् । धेरैमा जनरल हेल्थ सर्भिससँग एकीकृत रूपमा लैजाने योजना छ । छिट्टै कार्यान्वयनमा पुग्छौं ।

अर्को, दुर्गम जिल्लाका मातृशिशु मृत्युदर उच्च भएका ठाउँमा इन्टिग्रेटेड रूपमा लैजानुपर्छ । परिवार कल्याण महाशाखामा प्रमुख थिएनन्, कार्यक्रम सुस्त थियो । हिजो पोस्टिङ गरेर सुधार गर्‍यौं । जो जुन पदको हकदार हो, त्यहाँ पठाएर तदनुसार काम बढाउने अप्रोच हो । सर्वसाधारण तथा जेनजीलाई प्रत्यक्ष लाभ हुने कुरा प्राथमिकता छन् ।

अहिले औषधि मुख्य समस्याको रूपमा छ । स्वास्थ्य संस्थामा औषधि पाइँदैन । गुणस्तर राम्रो छैन । महँगो छ । औषधि बीमामा पाइँदैन । औषधिको सिस्टमलाई सही बाटोमा हिँडाउन चाहन्छु ।

त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताललगायत फार्माकोलोजीका विज्ञहरूलाई एडभाइजरी कमिटीमा राखेर औषधिको गुणस्तर, मूल्य परिमार्जन गर्नतिर लाग्छु । त्योसँगै औषधि व्यवस्था विभाग (डीडीए) को क्षमता बढाउनुपर्ने छ ।

अहिलेको औषधि मुख्य समस्याको रूपमा छ । स्वास्थ्य संस्थामा औषधि पाइँदैन । गुणस्तर राम्रो छैन । महँगो छ । बीमामा पाइँदैन । म औषधिको सिस्टमलाई सही बाटोमा हिँडाउन चाहन्छु ।

विभाग र प्रयोगशालमा अहिले दुई जना हुनुहुछ । तर दुवै जनाको कार्यशैली प्रभावकारी छैन । विभाग सक्षम नबनेसम्म औषधिको व्यथिति हट्दैन । दीर्घकालीन असर पर्ने संरचनागत सुधारको खाका बनाएर सुरुवात गर्दा पछि आउने मन्त्रीहरूलाई सजिलो हुन्छ ।

दोस्रो प्राथमिकता खरिद प्रणाली हो । हालसालै खरिदको विषयले स्वास्थ्य क्षेत्रका १४ जना निलम्बनमा परेका छन् । कतिपय नजानेर फसेका छन् । त्यसकारण सबैको मनोबल डाउन छ । आत्मविश्वास बढाउन सार्वजनिक खरिद अनुगमन कार्यालयका पूर्व प्रशासकहरूबाट समूह बनाएर विशिष्ट खरिद प्रक्रिया अगाडि बढाउने खाका कोर्छु ।

प्रक्रिया नराम्रो छैन, तर दबाब र प्रभावले स्वास्थ्यको खरिद सधैं विवादित हुन्छ । विवादमुक्त बनाएर जनतालाई आवश्यक चिज खरिद गर्ने, अनावश्यक उपकरणको पुनःप्रयोग गर्ने योजना बनाइरहेका छौं ।

तेस्रो, स्वास्थ्य बीमा हो ।

अहिले चलिरहेको मोडल दिगो छैन, कोल्याप्स हुनसक्छ । बीमा बोर्डका कर्मचारी सक्षम बनाउनुपर्छ । दिनमा ४० हजार क्लेम आउँछ । ६–८ हजार मात्र भेरिफाइ हुन्छ । ब्याकलग थुप्रिएर संस्थाहरूले पैसा नपाउँदा हाहाकारको अवस्था छ । बीमालाई स्ट्रेन्थन गर्नुपर्छ । औषधि, खरिद र बीमाको ग्राउन्डवर्क विज्ञहरू र पूर्व मन्त्री/सचिवहरूको सहभागितामा सबैलाई स्वीकार्य बनाएर नयाँ मन्त्रीलाई ह्यान्डओभर गर्ने योजना छ ।

त्यसैरी नै दैनिक प्रशासनमा भ्रष्टाचारमुक्त र राम्रो गभर्नेन्स बनाउने हो । भ्रष्टाचारमा पदबहालीकै दिन शून्य सहनशिलता भनेको छु । कडा एक्सन लिन्छु ।

औषधि व्यवस्था विभागमा दुई महानिर्देशकको टकराव छ । मूल्यवृद्धि भइरहेको छ । यसलाई कसरी समाधान गर्नुहुन्छ ?

मन्त्रालयभित्र सिनियर चिकित्सकलाई औषधि रिफर्मको नेतृत्व दिन्छु । फार्माकोलोजी प्राध्यापकहरूलाई टिममा राखेर गाइडेन्स लिन्छु । विश्व स्वास्थ्य संगठनले सुझाएका योजनाहरू कार्यान्वयन गर्दैछु । गुणस्तर र लागत दुवैमा समस्या छ । समग्र औषधि व्यवस्थापन सुधार्छु । बीमा र शिक्षण अस्पतालको फार्मेसीमा मूल्य डिस्प्यारिटी (फरकफरक) हुनुहुँदैन । स्वदेशी जेनेरिक उत्पादनलाई सरकारले ठूलो भोल्युममा किन्ने ग्यारेन्टी दिए लागत कम हुन्छ, सस्तो हुन्छ ।

गुणस्तर सतप्रतिशत राम्रो हुनुपर्छ । औषधि उत्पादक संघसँग कुरा गरेको छु । फुल क्यापासिटीमा बनाउन तयार छन् । बीमाको झन्झट कम गर्न स्ट्यान्डर्ड प्रोटोकल बनाएर स्वदेशी प्रयोग, नभए बाहिरबाट ल्याउछौं ।

बाहिरबाट औषधि ल्याउन भारतका मोडल अध्ययन गर्दैछु । ओभरहल सुधारको खाका ल्याउँछु, इम्प्लिमेन्टेसन गर्छु । जीवन यही क्षेत्रमा बिताएको छु । स्वास्थ्य क्षेत्र सुधारेर सन्तुष्टिको सास फेर्न चाहन्छु ।

विगतमा सरुवा-बढुवा गर्दा वरीयता मिचेर ऐन-नियम उल्लंघन हुन्थ्यो । अब त्यसको अन्त्य हुन्छ ?

सुरुवात भयो । सेवा अवरुद्ध नहुने गरी हेरफेर गर्छु । जाने बेलामा सिस्टम बसालेर जान्छु ।

विगतका मन्त्रीहरूले जस्तै तपाईं पनि खोक्रा वाचा मात्रै गर्नुहुने हो कि वास्तविक परिवर्तन ल्याउनु सक्नुहुन्छ ?

पहिला राजनीतिक पृष्ठभूमिका मन्त्रीहरूलाई पार्टी कार्यकर्तालाई चित्त बुझाउने बाध्यता हुन्थ्यो । म नागरिक सरकारको प्रतिनिधि हुँ । जनताको हैसियतमा काम गर्छु ।

प्रधानमन्त्रीले डर नमानी फटाफट काम गर्नुस् भन्नुभएको छ । समय थोरै छ । टिमलाई विगतमा तीन महिनामा हुने काम एक महिनामा, एक महिनाको दुई हप्तामा टुंग्याउन भनेको छु ।

नर्सहरूको मागलाई लिएर नर्सिङ संघ र निजी अस्पताल सञ्चालकबीच सहमति भयो । तर स्वास्थ्य मन्त्रालय, निजी मेडिकल सञ्चालक र नर्सिङ संघका पदाधिकारी मिलेर षडयन्त्र गरियो भन्ने नर्सहरूको आरोप छ नि ?

उहाँहरूले अलि बढी सुविधा खोज्नुभयो । उहाँहरूको भनाइ छ– ग्रस होइन, नेट खुद स्यालरी हुनुपर्छ । ३४ हजार ७३० रुपैयाँ न्यूनतम खुद स्यालरी हुनुपर्ने, त्यो भन्दामाथि महँगी भत्ता, अलाउन्स आदि सबै थपिनुपर्ने र लगभग ४० हजार पुग्नुपर्ने माग छ ।

मेडिकल कलेज र निजी अस्पतालहरूले १२/१५ हजार दिइराख्नु भएकोमा डबलभन्दा बढी हामी दिन सक्दैनौं भन्नुभयो ।

विगतका मन्त्रीहरूले बारम्बार पत्र काट्नुभको थियो । तर उहाँहरूले मन्त्रालयको पत्रलाई स्वीकार नै गर्नुभएन । किनभने, कुन कानुनमा टेकेर भनियो भन्ने निजी मेडिकल सञ्चालकको प्रश्न छ ।

स्वास्थ्य सेवा ऐन सार्वजनिक सेवाका कर्मचारीहरूको लागि हो । त्यसमा निजी क्षेत्र खुलाइएको पनि छैन । स्यालरी स्केल पनि खुलाइएको छैन । स्यालरी स्केल प्रत्येक वर्ष नेपाल सरकारले तोकेबमोजिम हुनेछ भन्या छ ।

आफ्ना कर्मचारीको लागि अर्थ मन्त्रालयले प्रत्येक वर्ष एउटा सूची निकाल्छ । स्वास्थ्यको पाँचौं तह, छैठौं तहलाई यति-यति स्यालरी दिनू भनेर एउटा निर्देशिका जस्तो आउँछ । त्यसअनुसार स्यालरी सबैको क्याल्कुलेट गरेर विभिन्न स्वास्थ्य संस्थाहरूले पाउँछन्, दिइन्छ । त्यो सरकारीको हकमा भयो । तर निजीको हकमा स्वास्थ्य ऐनले बोलेको छैन । श्रम ऐनले मात्रै बोलेको छ ।

श्रम ऐनको दफा १६० मा कुनै पनि श्रमिकको तलब १९ हजार ९२५ भन्दा कम दिन पाइँदैन । स्वास्थ्य ऐनले नबोलेको हुँदा नर्सले पाउनुपर्ने १९ हजार हो । त्यसमा अलाउन्सहरू जोड्दा २५/२६ हजार हुन्छ होला ।

निजी अस्पताल सञ्चालक, मेडिकल एसोसिएसन, मेडिकल कलेजहरूका सबैलाई धेरै कडा बोल्नुपर्‍यो । मलाई अहिले पनि चित्त दुख्छ । उनीहरूले पनि धेरै चित्त दुखाएका छन् । तर नर्सको भलाइको लागि, सेवा प्रवाहको लागि गरेको हुँ ।

कम्तीमा न्यूनतम स्यालरी राख्नुहोस्, त्यसमा दिन मिल्ने अलाउन्सहरू टपअप गर्नुहोस्, मन्त्रालयले भने जति पुर्‍याइइदिनुहोस् भनेर धेरै अनुरोध गरें । किनभने, हाम्रो मन्त्रालय अन्तर्गतका नर्सहरूले पनि त्यति पाइरहेका छन् । न्यूनतम ३४ हजारमा सहमति भएको थियो । तर अतिरिक्त काम गरेको र नाइट ड्युटी गरेको अलग्गै दिनुपर्ने भनिएको छ ।

उहाँहरूको माग त तहगत सेवा-सुविधा हुनुपर्छ भन्ने छ नि ?

मन्त्रालयले बनाएको कार्यदलको म्याद एक महिना थपौं । तहगत रूपमा सेवा-सुविधा बढाउने कुरा त्यसमा पारौं । कतिपय मास्टर्स पढेका नर्स पनि तल्लो तहमा काम गरिरहेको हुनाले शैक्षिक योग्यता, अनुभवको आधारमा तलब बढ्नुपर्छ भनेर लेखौं ।

अहिले श्रम ऐनले मात्रै गाइड गरिररहेको छ । स्वास्थ्य ऐनमै संशोधन गरौं र त्यसमा पारौं । त्यसका लागि प्रधानमन्त्रीज्यूसँग कुरा गरेर अध्यादेशको रूपमा लान मिल्छ भने लगौं, मिल्दैन भने ऐनको मस्यौदा तयार पारेर राखौं । पछि आउने सरकारले लगिदिन्छ । यी सबै काम विन–विन सिचुएसनमा भएको छ ।

नर्सिङ संघका सिनियर दिदीहरूले नर्सको सेवा-सुविधा बढाउन बीसौं वर्षदेखि प्रयास गर्नुभएको थियो । तर बढाउन सकिराख्नुभएको थिएन । त्यति बढाएपछि उहाँहरूले सही गर्नुपर्छ भन्ने लाग्यो । किनभने, सरकारको परिपत्रलाई मेडिकल कलेज, निजी अस्पतालले मानेका थिएनन् । यो सहमतिबाट ब्याक भइयो भने पुरानै अवस्थामा फर्किने अवस्था आउँछ ।

हिजो १०/१२ हजार पाइरहेका नर्सले आज ३४ हजार ७३० पाउने भए भने त्यो ठूलो उपलब्धि हो ।

आन्दोलनमा गोली लागेका युवाहरू अझै अस्पतालमा छन् । दुई महिना बित्तिसक्दा पनि किन सरकारले उपचार खर्च भुक्तानी गर्न सकेको छैन ?

उपचारमा लागेको खर्च अस्पताललाई सिस्टमअनुसार भुक्तानी हुन्छ । एक पैसा नतिरी घाइतेको उपचार भइरहेको छ । सुरुमा २० हजार भैपरी आउने खर्च दिइसकेका छौं । तर त्यतिले औषधि खर्च पुग्दैन । अस्पतालको फार्मेसीमा नपाउने औषधि बिरामी आफैंले किन्नुपरेको छ । उनीहरूको लागेको खर्च अस्पतालमा पेस गर्न भनेका छौं । सरकारले त्यसको पनि खर्च बेहोर्छ ।

आन्दोलनका कारण मानसिक रूपमा बिछिप्त र शारीरिक रूपमा अशक्त बिरामीलाई सरकारले जीविकोपार्जनका लागि दीर्घकालीन योजना ल्याउन सक्छ ?

२०६२–६३ को जनआन्दोलनका घाइतेको उपचारको संयोजन पनि मैले नै गरेको थिएँ । घाइतेको चोटपटकको वर्गीकरण गरेर क्षतिपूर्ति दिने व्यवस्था गरिएको थियो । जेनजी आन्दोलनमा घाइतेलाई त्यसैगरी वर्गीकरण गर्छौं । अस्पतालमा उपचार भइरहेका बिरामीको फर्म भरेर पठाउने काम भइरहेको छ । त्यस विषयलाई अर्थ, गृह मन्त्रालयसँग संयोजन भइरहेको छ ।

हिजो १०/१२ हजार पाइरहेका नर्सले आज ३४ हजार ७३० रुपैयाँ पाउनु ठूलो उपलब्धि हो । आक्षेप लाउनेले लाउन् । उखान छ नि ‘घोडा चढ्ने लड्छ’ । त्यसकारण काम गर्दै जाँदा आक्षेप आयो भनेर म डराउँदिन । नियत सफा राखेर काम गर्नुपर्छ ।

आन्दोलनमा ज्यान गुमाउनुभएका शहीदहरू, घाइते हुनुभएका व्यक्तिहरू सरकारको प्राथमिकतामा नै पर्नुहुन्छ ।

उपचारको हकमा स्वास्थ्य मन्त्रालयले हेरिरहेको छ । अन्यको हकमा गृह मन्त्रालयले हेरेको छ । सबै मन्त्रालयले आफ्नो क्षेत्रबाट जागिरका कुरा, पढाइको निरन्तरताको कुरामा सम्बन्धित मन्त्रालयले विचार गर्छन् ।

जेनजी आन्दोलनकारीको विश्वास जित्न तपाईंले स्वास्थ्य प्रणालीमा परिवर्तन गर्ने कुनै योजना बनाउनुभएको छ ?

मैले ३२ वर्ष सरकारी सेवामा बिताएँ । युवालाई म हाम्रो प्रतिनिधि होइन भन्ने लाग्न पनि सक्छ । तर मैले स्वास्थ्य क्षेत्रमा तीन–चार वटा ठूला रिफर्मको कुरा गरेको छु । तत्कालै बिरामीलाई राहत पुग्ने, घाइतेलाई राहत पुग्ने, शहीद परिवारलाई राहत पुग्ने कुरा गरेको छु । रिजल्ट आउन थालेपछि क्रमशः उहाँहरूले विश्वास गर्नुहुनेछ ।

ग्रामीण क्षेत्रमा हजारौंले सामान्य रोगबाट ज्यान गुमाउँछन् । हाम्रो स्वास्थ्य प्रणालीले यस्ता समस्या सम्बोधन गर्न नसक्नुको मुख्य कारण के देख्नुहुन्छ ? यसमा सरकारका तत्कालीन र दीर्घकालीन योजना के छन् ?

जुनसुकै मन्त्रीको लक्ष्य उपचार नपाएर कुनै नागरिकले मृत्युवरण गर्न नपरोस् भन्ने नै हुन्छ । केवल बुझाइ र स्रोत परिचालनमा समस्या छ ।

सरकारले प्राथमिक स्वास्थ्य केन्द्रदेखि प्राथमिक अस्पतालमा आधारभूत उपचार सेवा निःशुल्क गरेको छ । यो सेवा दिने जिम्मेवारी स्थानीय सरकारको हो । त्यसभन्दा माथिको सेवा रेफरल सेवा स्वास्थ्य बीमाले दिनुपर्छ ।

आमनागरिकले तल्लो तहमा नभएको सेवा बीमाबाट लिनुपर्छ । तर जनमानस र तीन तहका सरकारका सम्बन्धित पदाधिकारीलाई यो कुराको बुझाइ प्रष्ट छैन । सरकारले पैसा धेरै खर्च गरेको छ । तर सेवा सहज रूपमा आमनागरिकले पाइरहेका छैनन् ।

एकातर्फ बीमालाई प्रभावकारी बनाउने र अर्कोतर्फ स्थानीय सरकारलाई परिचालन गरी तल्लो तहको सेवामा सुधार गर्नुपर्छ । त्यसपछि अकालमै कसैले मर्नुपर्ने अवस्था हुँदैन । यसतर्फ मेरो प्रयास रहनेछ ।

स्वास्थ्यसचिव हुँदा तपाईंले मातृ तथा शिशु स्वास्थ्य नीतिमा महत्वपूर्ण योगदान दिनुभयो । औषधि, स्वास्थ्य उपकरण लगायतमा देखिएका भ्रष्टाचार लगायतका चुनौती कसरी सम्बोधन गर्नुहुन्छ ?

औषधि तथा स्वास्थ्य उपकरणमा भ्रष्टाचार कतिपय अवस्थामा नियतवश, नजानेर वा दबाब, प्रभावका कारणले भएका छन् । हाम्रो कार्यकालमा दबाब पर्दैन । कर्मचारीले स्वतन्त्र रूपमा काम गर्नुहुन्छ ।

अहिले सम्झिँदा पनि मलाई आनन्द लाग्छ- आमा सुरक्षा कार्यक्रम म सचिव भएको बेला देशव्यापी रूपमा लागु भएको थियो । कार्यक्रमलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न पूर्वको इलामदेखि पश्चिममा रोल्पासम्म पुगेर अनुगमन गरेको थिएँ । यस कार्यक्रम आजको दिनसम्म राम्रोसँग चलिरहेको छ ।

त्यतिबेला प्रतिएक लाख जीवित जन्ममा ५३९ जना आमाको मृत्यु हुन्थ्यो । अहिले त्यो संख्या झरेर १५१ मा आइपुगेको छ । तर सरकारले सन् २०३० सम्म ७० मा झार्ने लक्ष्य लिएको छ । यो चुनौतीपूर्ण छ । मधेश, लुम्बिनी, कर्णाली, सुदुरपश्चिम प्रदेशमा मातृ र शिशु मृत्यु उच्च देखिएको छ । ती जिल्लाको अवस्था सुधारका लागि त्यहीअनुसार तयारी गर्न निर्देशन दिएको छु ।

पछिल्ला वर्ष स्वास्थ्य बीमा कार्यक्रम धराशायी बन्दै गएको छ । यो कार्यक्रमलाई सुधार गर्ने योजना के छ ?

अहिले बीमाका समस्या विभिन्न चरणमा छन् । तल्लो तहमा सेवा नहुँदा नपुग्नुपर्ने बिरामी पनि बीमामा पुग्छन् । आधारभूत स्वास्थ्य सेवा बलियो बनायौं भने माथिल्लो तहमा आउने संख्या कम हुन्छ । यो सुधारका लागि नगरपालिकाका नेतृत्वसँग छलफल गरेर अगाडि बढाउँछु ।

औषधि नपाउने समस्या पनि छ । स्वास्थ्य बीमाले सेवाप्रदायक अस्पताललाई समयमै पैसा नदिँदा यो समस्या देखिएको हो । त्यसैगरी भुक्तानीको लागि भेरिफिकेसन प्रक्रिया जटिल छन् ।

उपचारमा गल्ती भए मेडिकल काउन्सिल वा अदालत जानुपर्छ । तोडफोड–मारपिट गर्न मिल्दैन । समाजले सहिष्णु हुनुपर्छ । यो क्रमशः सुधारिने विषय हो ।

भेरिफिकेसन सरलीकरण गर्न जेनेरिक औषधि लेख्ने र अन्य प्राविधिक सुधार गर्नुपर्छ ।  बीमा बोर्डको क्षमता कम छ । कर्मचारी संख्या अपर्याप्त छ । बोर्डले मन्त्रालयका निर्देशन तदारुकतापूर्वक पालना गर्नुपर्छ, किनकि यो स्वतन्त्र कम्पनी होइन, सरकारको सामाजिक सुरक्षा अवधारणामा आधारित हो । बोर्डका कर्मचारीको दरबन्दी स्वीकृति नहुनेदेखि विभिन्न समस्या छन् । यसलाई सुधार गर्दै मनोबल र क्षमता बढाउनुपर्छ । स्वास्थ्य बीमालाई सुधार गर्न स्वास्थ्य अर्थशास्त्र र प्राविधिक टोलीमार्फत ओभरसाइट संयन्त्र विकास गर्दैछु । प्रारम्भिक काम सुरु भइसकेको छ ।

हरेक वर्ष हजारौं चिकित्सक र नर्स उत्पादन हुन्छन्, तर सरकारी अस्पतालमा दरबन्दी खाली छ । छात्रवृत्ति लिएका डाक्टर सुगममा थुप्रिन्छन् र धेरै विदेश पलायन हुन्छन् । यो क्रम रोक्न कस्तो कदम चाल्नुहुन्छ ?

मेरो बाँकी चार महिनाको कार्यकालमा दिगो समाधान दिन गाह्रो छ । तर डाक्टरको रूपमा यो प्रणालीमा काम गर्दा लाग्छ- स्वास्थ्यकर्मीको जीवन सहज र मर्यादित नबनाएसम्म स्वास्थ्यकर्मीलाई रिटेन गर्न कठिन हुन्छ ।

पहिले निजामती र स्वास्थ्य सेवालाई समान मानिन्थ्यो । तर यो जीवन–मरणको पेसा हो । पढाइ खर्च र तलबको अनुपात मिल्दैन । पोस्ट–तह बेमेल छ । संघीयतापछि समायोजनमा समस्या थपियो । दुर्गम नगई प्रमोसन नहुने प्रावधानले डडेल्धुरा जस्ता ठाउँमा कोही जाँदैनन् ।

२० वर्ष काम गरेका नर्सको प्रमोसन रोकिएको छ । यस्ता बाधा हटाउन सकिने सुधार म अवश्य गर्छु । बाहिर जानेलाई रोक्न खुला विश्वमा गाह्रो छ । म पनि बाहिर गएर पढेको हुँ, तर देशप्रेमले फर्किएँ । उहाँहरूलाई फर्केर योगदान गर्न अनुरोध गर्छु । तर स्वास्थ्यकर्मीलाई विशेष सुविधा दिनुपर्छ । अमेरिकामा डाक्टर–नर्सले सबैभन्दा बढी कमाउँछन्, किनकि यो जीवन–मरणसँग जोडिएको सवाल हो ।

सुरक्षा पनि आवश्यक छ । उपचारमा गल्ती भए मेडिकल काउन्सिल वा अदालत जानुपर्छ । तोडफोड–मारपिट गर्न मिल्दैन । समाजले सहिष्णु हुनुपर्छ । यो क्रमशः सुधारिने विषय हो । मेरो छोटो कार्यकालमा सहजीकरण गर्छु ।

निजी क्लिनिकमा समय बिताएर सरकारी अस्पतालमा सेवा नदिने डाक्टरलाई कस्तो कारबाही हुन्छ ?

नियमअनुसार कार्यालय समयमा आफ्नै कार्यालयमा मात्र काम गर्नुपर्छ, बाहिर जान पाइँदैन ।  यो सबै स्वास्थ्यकर्मीलाई थाहा छ । सेवा अवधिपछि बिहान–बेलुका निजी अभ्यास गर्न पाइन्छ । किनकि, सरकारले तलब कम दिएको छ । अनुगमनको कुरा अस्पताल प्रमुखहरूको जिम्मेवारी हो ।

उहाँहरू नै गायब भएपछि त कसरी चल्छ ? संघ वा प्रदेश मातहतका अस्पतालमा इमानदारी आफैंबाट आउनुपर्छ । चार महिनामा मन्त्रालयले डण्डा चलाएर मात्र हुँदैन, आत्मानुशासन आवश्यक छ । यो बेथिति राजनीतिक, प्रशासनिक सबैको हो । हामी बौद्धिक हौं, पेसाको मर्यादा राखौं ।

‘स्वास्थ्य क्षेत्र सुधारेर मात्र सन्तुष्टिको सास फेर्छु’

सरकारी अस्पतालमा शल्यक्रिया गर्न वर्षौं कुर्नुपर्ने अवस्था, ओपीडीमा बिहानैदेखि बोतल, झोला राखेर लाइन बस्नुपर्ने अवस्था, आईसियू तथा सघन उपचार नपाएर आम नागरिक मन्त्रालय नजिकका अस्पतालमा मृत्युवरण गर्नुपर्ने अवस्था कसरी सुधार्नुहुन्छ ?

यो सबैले ध्यान दिनुपर्ने महत्वपूर्ण विषय हो । मैले अस्पतालहरूलाई प्राथमिकता दिएर निर्देशन दिन भ्याएको छैन । पूर्वमन्त्रीले (प्रदीप पौडेल) सेवा अवधि बढाउन, अतिरिक्त क्लिनिक राख्न, पेइङ क्लिनिक सञ्चालन गरेर वेटिङ टाइम कम गर्न निर्देशन दिनुभएको थियो, त्यसलाई निरन्तरता दिन्छु । कतिपय अवस्थामा बिरामीको भिड पनि बढेको छ । अप्रेसन थिएटर पनि सीमित छन् ।

भौतिक पूर्वाधारमा दीर्घकालीन सुधार चाहिन्छ । तर भएकै स्रोतले पनि काम नगरेकोमा म हेर्छु । कतिपय अस्पतालमा सर्जन धेरै छन्, तर शल्यक्रिया संख्या न्यून छ । कामको नतिजा देखाउनुपर्छ, नदेखाए स्वास्थ्यकर्मीलाई स्थानान्तरण गर्छु ।

स्थानीय तहमा निःशुल्क औषधि उपलब्ध छैन । ठूला अस्पतालमा मेसिन खरिद गरेर त्यत्तिकै थन्क्याइन्छ । यसको समधान कसरी गर्नुहुन्छ ?

खरिद प्रक्रियामा सुधार आवश्यक छ । थुप्रिएका सामान रिडिस्ट्रिब्युसन गर्छौं । आधारभूत स्वास्थ्य सेवा स्थानीय सरकारको जिम्मेवारी हो । उहाँहरूसँग बैठक राखेर आधारभूत सेवा स्थानीयको, बीमा माथिल्लो तहको हो भनेर जनतालाई बुझाइदिन अनुरोध गर्छु । आमनागरिकले जनप्रतिनिधिलाई स्वास्थ्य संस्था बलियो बनाउन, औषधि र डाक्टर राख्न दबाब दिनुपर्छ । मन्त्रालयले यस विषयमा सहकार्य गर्छ ।

औषधि किन्दा होस् वा स्वास्थ्य उपकरण खरिद, तल्लो तहका कर्मचारीदेखि मन्त्री समेतले मिलेर भ्रष्टाचार गर्छन् भन्ने आरोप छ । यसलाई कसरी रोक्नुहुन्छ ?

पदबहालीको दिनदेखि नै भन्दै आएको छु, अन्जान, दबाब वा प्रभावलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर । यसका लागि सार्वजनिक खरिद अनुगमनका पूर्वप्रशासक र टेक्निकल टिमसँग कमिटी बनाएर तालिम–ओरिएन्टेसन दिन्छु । कहाँकहाँ, कुनकुन छिद्रबाट भष्टाचार हुन्छ, ती छिद्र क्रमश: बन्द गर्ने खाका तयार पारेर नयाँ मन्त्रीलाई हस्तान्तरण गर्छु ।

जनस्वास्थ्यविद्हरू नेपालको स्वास्थ्य प्रणालीलाई ‘क्रोनिक डिजिज’ भनेर चित्रण गर्छन् । यो विश्लेषणसँग तपाईं सहमत हुनुहुन्छ ? यस मोडललाई सन्तुलित बनाउन स्वास्थ्य मन्त्रालयका कदमहरू के–के छन् ?

म स्त्रीरोग विशेषज्ञ हुँ, तर पब्लिक हेल्थ पनि पढेको छु । बुझेको छु । स्वास्थ्यमा उपचारात्मकले मात्र पुग्दैन, निरोधात्मक (प्रिभेन्टभ ) पक्ष कमजोर छ । पहिले क्षेत्रीय–जिल्ला कार्यालयमा जनस्वास्थ्य विशेषज्ञले अनुगमन गर्थे, पब्लिक हेल्थका नर्स थिए । ती सबै संरचना हट्यो, मन्त्रालयको सानो टिमले थेग्दैन ।

स्थानीय तहमा विधागत ज्ञान अभाव छ । केही समयअघि हामीले तत्कालीन मन्त्रीलाई नगर–गाउँपालिकामा पब्लिक हेल्थ सल्लाहकार पद सिर्जना गर्न सिफारिस गरेका थियौं । हेल्थ माइनेजमान्ट स्टम (एचएमआईएस) डाटा तल्लो तहमा विश्लेषण हुनुपर्छ । यसो हुँदा कहाँ रोग बढी भएको छ, पत्ता लगाउन सहज हुन्छ । अहिले तथ्यांक विश्लेषण गर्ने क्षमता स्थानीय तहसँग छैन । ती तथ्यांक माथिसम्म सबै आइनपुग्दा केही समस्या देखिएका छन् । संघीयता कार्यान्वयनको यत्रो वर्ष भइसकेको छ, अब यी कमजोरीलाई क्रमशः हटाउनुपर्छ ।

तपाईंको छोटो कार्यकालमा जनताले सहज रूपमा स्वास्थ्य सेवा पाउने र वर्षौंसम्म सम्झिरहने कुनै कार्यक्रम लागु गर्ने योजना छ ?

नयाँ कार्यक्रम ल्याउँछु भनेर सोचेको छैन । तर मेरै कार्यकालमा एक ब्रेकथ्रु भइसक्यो । स्वास्थ्यकर्मीले जुन पीडा खेपेका थिए, त्यसलाई हल गर्न तलब बढाउने निर्णय भइसकेको छ ।

त्यसैगरी मानसिक स्वास्थ्यमा सरकारी प्रयास बढाउँछु । म स्त्रीरोग विशेषज्ञ भएकाले मातृ–शिशु मृत्यु घटाउने दिगो विकासको लक्ष्यमा योगदान गर्छु । नयाँ होइन, नियमित कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गरी उत्कृष्ट बनाउँछु । प्रणाली सुदृढीकरणमा कोशेढुंगा ठड्याउँछु ।

भिडियो र तस्वीर : नवराज प्रसाईं





Source link

Leave a Comment