प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार

इरानले खाडी क्षेत्रमा रहेका अमेरिकासँग सम्बन्धित ऊर्जा पूर्वाधारहरूमा हमला गर्ने चेतावनी दिएको छ।
इरानका इन्धन तथा ऊर्जा संरचनामाथिको आक्रमण रोकिएन भने इरानी सेनाले खाडी क्षेत्रभरि रहेका अमेरिकासँग सम्बन्धित ऊर्जा पूर्वाधारहरूलाई निशाना बनाउने बताएको हो।
यो चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको नयाँ अल्टिमेटमपछि आएको हो। उनले इरानलाई ४८ घण्टाभित्र होर्मुज जलमार्ग पुनः सञ्चालन नगरे इरानका पावर प्लान्टहरू (विद्युत् केन्द्र) “ध्वस्त पार्ने” चेतावनी दिएका थिए। यस घटनाले खाडी क्षेत्रमा तनाव थप चर्किने सङ्केत दिएको छ।
अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि आक्रमण गरेपछि इरानले यो जलमार्ग अवरुद्ध गर्दै आएको छ। विश्वको करिब २० प्रतिशत तेल र तरलीकृत प्राकृतिक ग्यास यही मार्गबाट ओसारपसार हुने गर्दछ। यसैमार्फत इरानसँगै इराक, कुवेत, कतार, साउदी अरेबिया र यूएई जस्ता देशहरूको तेल निर्यात हुन्छ।
सामान्यतया प्रत्येक महिना करिब ३,००० जहाजहरूले यस मार्ग हुँदै यात्रा गर्छन्। तर हाल इरानले ट्याङ्कर र अन्य जहाजहरूलाई आक्रमण गर्ने चेतावनी दिएपछि आवतजावतमा उल्लेखनीय कमी आएको छ।