प्रकाशित मिति : फाल्गुन १२, २०८१ सोमबार
संयुक्त राष्ट्रसंघमा अमेरिका र रुस एक अर्काको पक्षमा उभिएका छन् । युक्रेन युद्धका विषयमा युरोपेली देशहरुले राखेको प्रस्तावमा अमेरिका र रुस दुबैले बिरोध जनाए । अनि अमेरिकाले रुसको पक्षमा २ पटक मतदान गर्यो । यसले युक्रेन युद्धका विषयमा ट्रम्प प्रशासनको बदलिएको नीतिलाई उजागर गरेको छ ।
रुसले युक्रेनमा आक्रमण गरेको तेस्रो बर्षको अवसरमा महासभामा मतदान भएको थियो । युरोपेली संघले पेश गरेको प्रस्तावमा रुसले युक्रेन बिरुद्ध गरेको हमलाको बिरोध गरेको थियो भने युक्रेनको क्षेत्रिय अखण्डताको समर्थन गरिएको थियो । यो प्रस्ताव अमेरिका र रुसले विरोध गरेका भएपनि महासभाबाट पारित भएको छ ।
महासभामा अमेरिकाको साथ पाएको रुसले सुरक्षा परिषदमा भने अमेरिकाको प्रस्तावमा मतदान गर्यो । अमेरिकाको प्रस्तावमा युद्धको अन्त्य गर्न आव्हान गरिएको छ तर रुसको आलोचना गरिएको छैन ।
सुरक्षा परिषदबाट पारित भएको यो प्रस्तावको बिषयमा युरोपेली देशहरु खासगरी बेलायत र फ्रान्सले केहि संशोधनको प्रयास गरेका थिए । तर सफल नभएपछि उनीहरुले सुरक्षा परिषदको बैठक नैै बहिष्कार गरे ।
संयुक्त राष्ट्रसंघको महासभामा ९३ राष्ट्रहरूले युरोपेली प्रस्तावको समर्थन गरेका थिए । रुसको प्रस्तावमा अमेरिकाका अलावा इजरायल, उत्तर कोरिया, सुडान, बेलारूस, हंगेरी र ११ अन्य राष्ट्रहरूको साथ रहेको थियो । ६५ राष्ट्रले मतदान बहिष्कार गरेका थिए ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा १५ सदस्यहरू छन् । अमेरिकाको प्रस्ताव बिना संशोधन पारित भएको छ । अमेरिकाको पक्षमा १० मत परेको छ । बेलायत, फ्रान्स, डेनमार्क, ग्रीस र स्लोभेनियाले बहिष्कार गरे ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन राष्ट्रपति डोनाल्ड ट्रम्पसँग रुस र युक्रेनको युद्धबारेमा देखिएका तीव्र असहमतिहरू समाधान गर्न अमेरिकाको भ्रमणमा रहेका छन ।
बिहीबार, बेलायती प्रधानमन्त्री सर कीर स्टार्मरले राष्ट्रपति ट्रम्पसंग भेट गर्ने तय भएको छ ।
रुससँग मिलेर काम गर्न थालेपछि युरोपेली सुरक्षा प्रतिको अमेरिकाको दीर्घकालीन प्रतिबद्धतामा शंका पैदा गरेको छ ।