प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार
सशस्त्र प्रहरी बल (एपीएफ) का प्रहरी नायब महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
मंगलबार बसेको बढुवा समितिको बैठकले रिक्त एआईजी पदमा पोखरेललाई सिफारिस गर्ने निर्णय गरेको हो। कानुनी व्यवस्थाअनुसार समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अध्यक्ष, गृह मन्त्रालयका सचिव सदस्य तथा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्यसचिव रहने प्रावधान छ। सिफारिसपछि बढुवा प्रक्रिया मन्त्रिपरिषद्को निर्णयमार्फत औपचारिक रूपमा टुंगिनेछ।
हाल सशस्त्र प्रहरी बलको बागमती प्रदेश प्रमुखका रूपमा कार्यरत पोखरेल संगठनभित्र व्यावसायिक, नतिजामुखी र कठोर निर्णय लिन सक्ने अधिकृतका रूपमा चिनिन्छन्। यसअघि कोशी प्रदेश प्रमुखका रूपमा कार्यरत रहँदा उनले तस्करी नियन्त्रण, सीमा सुरक्षा, लागूऔषध नियन्त्रण, विपद् व्यवस्थापन तथा गोताखोर जनशक्ति विकासमा भूमिका खेलेका थिए।
कोशी प्रदेशको नेतृत्व सम्हालेको अवधिमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी, सुनसरीमार्फत अवैध चोरी निकासी तथा पैठारी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको तथ्यांक छ। सो अवधिमा करिब ७२ करोड रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरिएको सशस्त्र प्रहरीका अभिलेखमा उल्लेख छ। लत्ताकपडा, जुत्ता–चप्पल, चिनी, खाद्यान्न, कस्मेटिक, फलफूल, मोटर पार्ट्स, हार्डवेयर सामग्री, सुपारी, सूर्तीजन्य वस्तु तथा मदिरालगायतका सामग्री बरामद गरिएको थियो।
त्यसैगरी, स्रोत नखुलेको १ करोड ४७ लाख ४० हजार १४० नेपाली रुपैयाँ र ३७ लाख ४९ हजार १५२ भारतीय रुपैयाँ बरामद गरिएको थियो। लागूऔषध नियन्त्रणतर्फ १ हजार ६७१ किलो गाँजा, ६१६.९२ ग्राम ब्राउन सुगर, ४४ हजार ७२२ ट्रमाडोल र ४ हजार २१६ स्पास्मिड ट्याब्लेट बरामद गरिएको सशस्त्र प्रहरीको तथ्यांक छ। यस क्रममा एक महिलासहित ११६ जनालाई पक्राउ गरी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको थियो।
पोखरेलले सीमावर्ती स्थानीय तह र जनप्रतिनिधिसँग समन्वय बढाउने मोडल लागू गरेको उल्लेख गरिएको छ, जसले तल्लो तहसम्म पहुँच विस्तार भई तस्करी नियन्त्रणमा सहयोग पुगेको निष्कर्ष सशस्त्र प्रहरी स्रोतको छ। सीमा क्षेत्रमा ‘राज्यको उपस्थिति’ सुदृढ बनाउन गरिएको पहलले अपराध नियन्त्रणमा समेत योगदान पुगेको बताइएको छ।
विपद् व्यवस्थापनतर्फ उनले गोताखोर जनशक्ति उत्पादन र तालिम विस्तारमा भूमिका खेलेका थिए। कोशी प्रदेशमा रहँदा गोताखोरको संख्या ९२ पुर्याइएको थियो। सप्तकोसी नदी र फेवा तालमा अभ्याससहित ३६ दिने तालिम सञ्चालन गरिएको थियो। सशस्त्रका गोताखोरले विशेष उपकरणको प्रयोगबाट नदीमा ७० फिट र स्थिर पानीमा १६० फिट गहिराइसम्म खोज तथा उद्धार गर्न सक्ने क्षमता विकास गरिएको छ। देशभर ३०० भन्दा बढी खोज तथा उद्धार अभियानमा गोताखोर परिचालन भइसकेका छन्।
नेपालमा गोताखोर तालिम सञ्चालन गर्ने अवधारणाअनुसार बराह बाहिनी, सुनसरीबाट पहिलोपटक तालिम सुरु गरिएको थियो। त्यसपछि विपद् व्यवस्थापन तालिम केन्द्र, कुरिनटारमार्फत पनि तालिम सञ्चालन गरिएको छ। सशस्त्र प्रहरी स्रोतका अनुसार देशभित्र सञ्चालन भएका अधिकांश गोताखोर तालिममा पोखरेलको संलग्नता रहेको छ।
सशस्त्र प्रहरी संगठनभित्र उनको कार्यक्षमता, तस्करी नियन्त्रणमा देखिएको सक्रियता र विपद् व्यवस्थापनमा योगदानका आधारमा बढुवा सिफारिसलाई नियमित प्रशासनिक प्रक्रियासँगै कार्यसम्पादनको मूल्यांकनका रूपमा पनि हेरिएको छ।
