टेक्सास चुनावमा ट्रम्पको इन्ट्री: आफ्ना विवादित सहयोगी प्याक्सटनलाई गरे समर्थन



प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार

टेक्सास चुनावमा ट्रम्पको इन्ट्री: आफ्ना विवादित सहयोगी प्याक्सटनलाई गरे समर्थन

फोटो: एपी/रासस

अमेरिकाको टेक्सासका महान्यायाधिवक्ता केन प्याक्सटनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले रिपब्लिकन प्राथमिक निर्वाचनको दोस्रो चरणमा समर्थन गरेका छन्। यस निर्वाचनमा प्याक्सटनले वर्तमान सिनेटर जोन कर्निनलाई चुनौती दिइरहेका छन्।

ट्रम्पले लामो समयदेखि आफ्ना निकट सहयोगी मानिएका प्याक्सटनलाई समर्थन गरेका हुन्। तर, प्याक्सटन विभिन्न राजनीतिक विवाद र कानुनी समस्याका कारण चर्चामा रहँदै आएका व्यक्ति हुन्। धेरै डेमोक्र्याट नेताहरूले प्याक्सटनलाई कमजोर उम्मेदवारका रूपमा हेरेका छन्। उनीहरू प्याक्सटन उम्मेदवार बन्दा टेक्सासमा लामो समयदेखि कायम रिपब्लिकन वर्चस्व अन्त्य गर्ने अवसर मिल्ने देखिरहेका छन्।

ट्रम्पको यो समर्थनले कर्निन निकट रिपब्लिकन सिनेटरहरू निराश बनेका छन्। मेन राज्यकी सिनेटर सुसन कोलिन्सले प्याक्सटनलाई नैतिक रूपमा समस्याग्रस्त व्यक्ति भनेकी छन् भने अलास्काकी सिनेटर लिसा मुर्कोस्कीले यस निर्णयबाट आफू अत्यन्त निराश भएको बताएकी छन्।

प्याक्सटनले सन् २०२० को राष्ट्रपतीय निर्वाचनको नतिजा उल्ट्याउने ट्रम्पको प्रयासलाई समर्थन गरेका थिए। साथै, सन् २०२४ मा एक अश्लील चलचित्र अभिनेत्रीलाई गोप्य रूपमा रकम दिएको प्रकरणमा ट्रम्पविरुद्ध चलेको मुद्दाका क्रममा उनी न्यूयोर्क पुगेर ट्रम्पको पक्षमा प्रदर्शनमा समेत सहभागी भएका थिए।

ट्रम्पझैँ प्याक्सटनको राजनीतिक जीवन पनि विवाद र कानुनी चुनौतीले भरिएको छ। हालै उनले संघीय भ्रष्टाचारसम्बन्धी मुद्दा कुनै गल्ती स्वीकार नगरी मिलापत्रमार्फत टुङ्ग्याएका थिए। सन् २०२३ मा टेक्सासको रिपब्लिकन नियन्त्रित संसद्ले उनीमाथि ठगी र न्याय अवरोधको आरोप लगाउँदै महाभियोग दर्ता गरेको थियो।

तर, राज्य सिनेटमा भएको सुनुवाइपछि उनले सफाइ पाएका थिए। गत वर्ष उनकी पत्नीले प्याक्सटनको अन्य महिलासँग सम्बन्ध रहेको आरोप लगाउँदै सम्बन्ध विच्छेदको निवेदन दर्ता गराएकी थिइन्।

ट्रम्पले वर्तमान रिपब्लिकन नेताविरुद्ध चुनौती दिने उम्मेदवारलाई समर्थन गरेको यो पहिलो घटना भने होइन। हालै लुइजियानामा ट्रम्प समर्थित उम्मेदवारले सिनेटर बिल क्यासिडीलाई पराजित गरेका थिए।

केन्टकीमा पनि ट्रम्प समर्थित एड गाल्रेनले वर्तमान सांसद थोमस म्यासीविरुद्ध प्रतिस्पर्धा गरिरहेका छन्। क्यासिडीले सन् २०२१ मा ट्रम्पविरुद्धको महाभियोग मुद्दामा दोषी ठहर गर्न मतदान गरेका थिए भने म्यासीले ट्रम्पका केही प्रमुख नीतिको विरोध गरेका थिए।

टेक्सासमा प्रारम्भिक मतदान सुरु भइसकेको छ। मार्चमा भएको पहिलो चरणको प्रतिस्पर्धामा कर्निन प्याक्सटनभन्दा थोरै मतले अगाडि रहे पनि आवश्यक ५० प्रतिशत मत ल्याउन असफल भएका थिए। कर्निनले प्याक्सटनभन्दा ६ करोड ५० लाख डलर बढी खर्च गरेका थिए। त्यसपछि ट्रम्पले एक उम्मेदवारलाई समर्थन गर्ने र अर्कोलाई चुनावबाट बाहिरिन आग्रह गर्ने बताएका थिए।

यो चुनाव जित्ने उम्मेदवारले नोभेम्बरमा डेमोक्र्याट उम्मेदवार जेम्स टालारिकोसँग प्रतिस्पर्धा गर्नेछन्। टेक्सासमा पछिल्लो ३२ वर्षदेखि कुनै पनि डेमोक्र्याट उम्मेदवारले राज्यव्यापी चुनाव जित्न सकेका छैनन्।

सन् २०२४ को राष्ट्रपतीय चुनावमा ट्रम्पले टेक्सासमा १४ प्रतिशत मतान्तरले जित हासिल गरेका थिए। तर, हालैका जनमत सर्वेक्षणहरूले आगामी नोभेम्बरको आमनिर्वाचन निकै प्रतिस्पर्धात्मक हुने संकेत गरेका छन्।





Source link

Leave a Comment