सिकाइस्तर कमजोर, श्रमबजारमा बिक्न मुस्किल


विद्यालय तहमा विद्यार्थी भर्ना दर, परीक्षामा सहभागिता र नतिजाको विषयमा प्रायः बहस भइरहन्छ। तर विद्यार्थीले कक्षाकोठामा के र कति सिके भन्ने बहस अझै वृहत रुपमा हुन सकेको छैन। विद्यालय तहमा विद्यार्थीको कक्षाकोठाभित्रको वास्तविक सिकाइ उपलब्धि उत्साहजनक नभएको तथ्य सरकारी तथ्यांकले नै देखाएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयमातहतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ ) अन्तर्गत विद्यार्थी सिकाइ उपलब्धिको राष्ट्रिय परीक्षण (नासा) ले सन् २०२३ मा गरेको कक्षा १० का विद्यार्थीको सिकाइ उपलब्धि विषयक अध्ययन प्रतिवेदन हालै सार्वजनिक गरेको छ। सिकाइमा विषयगत र भौगोलिक दुवैमा गहिरो असमानता देखिएका छन्।

विशेषगरी गणितमा ६० प्रतिशत विद्यार्थी ‘प्रोफिसिएन्ट–१’ वा त्योभन्दा तल छन्। यसले विद्यालय तहको सिकाइ गुणस्तरमाथि गम्भीर प्रश्न उठाएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक डा. श्याम आचार्यको विश्लेषण छ। आचार्य इआरओ अनुसन्धानकर्ता पनि हुन्। यसअघि नासाले नै सन् २०१९ मा गरेको अध्ययनअनुसार कक्षा १० का विद्यार्थीको सिकाइ उपलब्धि सूचकांक विज्ञान र अंग्रेजीमा ५००/५०० थियो भने नेपालीमा ४९९.९६ थियो। यही सिकाइ उपलब्धि २०२३ मा आइपुग्दा विज्ञानमा ५०४.८३, अंग्रेजीमा ५१५.११ र नेपाली ४९८.६८ पुगेको छ। ‘यसको अर्थ विज्ञानमा ४.८३ अंक र अंग्रेजीमा १५.११ अंक सुधार हुँदा नेपालीमा १.२८ अंकले गिरावट आएको छ।

गणितमा औसत नै छ’, निर्देशक आचार्य भन्छन्, ‘तर समग्र तस्बिर हेर्दा सिकाइ उपलब्धि अपेक्षितस्तरमा पुगेको छैन। विशेष गरी गणितमा विद्यार्थीको ठुलो हिस्सा न्यूनतम मापदण्डमै पुग्न नसकेको अध्ययन प्रतिवेदनले देखाएको छ। यसबाट गणित शिक्षा सुधारमा विशेष कार्यक्रम तय गर्नुपर्ने देखिन्छ।’

शिक्षा ऐन २०२८ को दफा ७ (ख) मा विद्यालयको शैक्षिक गुणस्तर परीक्षण गर्ने व्यवस्था छ। शिक्षा तथा खेलकुद मनत्रालयले बितेका १४ वर्षमा कक्षा ३, ५, ८ र १० का विद्याथीको सिकाइ उपलब्धिको राष्ट्रिय परीक्षण गर्दै आएको नासाका निर्देशक नारायणप्रसाद झाले बताए। इआरओले पछिल्लो पटक कक्षा १० का विद्याथीको सिकाइ उपलब्धि मूल्यांकन गरेको थियो। मूल्यांकनमा गणित, विज्ञान, नेपाली र अंग्रेजी विषयमा क्रमशः २०.४, २९.४, २५.९, १२.२ प्रतिशत विद्याथी कक्षा तह स्तरभन्दा तल पाइएका छन्। गुणस्तर परीक्षण न्यून संख्यामा गरेको र सिकाइ उपलब्धिस्तर पनि कमजोर पाइएको हुँदा अब सिकाइमा गुणात्मक सुधार ल्याउन विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ। महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा पनि सिकाइ उपलब्धिस्तर कमजोर रहेको उल्लेख छ।

‘इआरओले सन् २०२३ मा गरेको मूल्यांकन ७७ मध्ये ७६ जिल्लाका १८ सय विद्यालयका ४३ हजार दुई १९ विद्यार्थीमा आधारित थियो। मूल्यांकनले कक्षा १० को सिकाइ उपलब्धि मात्र होइन, विद्यालयको प्रकार, प्रदेश, स्थानीय तह, लिंग, घर–विद्यालय दुरी, घरको भाषा, जातीय पृष्ठभूमि, अभिभावकको शिक्षा, घरमा उपलब्ध शैक्षिक स्रोतजस्ता कारकले सिन सिकाइमा कस्तो प्रभाव पार्छन भन्ने पनि देखाएको छ’, नासाका निर्देशक झाले भने, ‘म आफैं पनि गोरखा, धनकुटा र झापाका विद्यालयमा पुगेको थिएँ। सरकारले सार्वजनिक विद्यालयको भौतिक पूर्वाधार, शिक्षक तालिममा पर्याप्त अनुदान दिँदै आएको छ। तर सरकारले कक्षाकोठाभित्रको शिक्षण सिकाइ प्रक्रिया सुधारका लागि खासै काम र लगानी नगरेको देखिन्छ।’

उनले अगाडि भने, ‘नेपाली विषयमा कमजोर हुनेमा धेरै नेपाली मातृभाषा नहुने विद्यार्थी छन्। बोलीचालीमा राम्रै बोले पनि लेखनमा भने व्याकरण निकै कमजोर देखिन्छ। अंग्रेजीमा बरु सुधार छ। नेपालीको सिकाइ उपलब्धि अंग्रेजीको भन्दा तल हुनु चिन्ताजनक हो।’

अध्ययन प्रतिवेदनअनुसार गणितमा कमजोर सिकाइका कारण उपलब्धि पनि कम छ। इआरओका अनुसार ६० प्रतिशत विद्यार्थी ‘प्रोफिसिएन्ट–१’ वा त्योभन्दा तल छन्। अर्थात् उनीहरूले कक्षा १० को पाठ्यक्रमले अपेक्षा गरेको न्यूनतम सिकाइ लक्ष्यसमेत हासिल गर्न सकेका छैनन्। विद्यालयमा आधारभूत गणितीय सिकाइ कौशलता कमजोर रहेको यसले देखाउँछ।

‘विज्ञान र अंग्रेजीमा भने २०१९ को तुलनामा केही सुधार देखिएको छ। विज्ञानमा ४.८३ अंक र अंग्रेजीमा १५ अंक सुधार भएको भएको छ तर नेपालीमा १.२८ अंकले गिरावट आएको छ। अर्थात् नेपालीमा ५३ प्रतिशत विद्यार्थीले सिकाइ सक्षमता हासिल गर्न नसकेको स्पष्ट हुन्छ।

यसैगरी अंग्रेजीमा विद्यार्थीको सिकाइ सक्षमता ७०.६ प्रतिशत छ। यसले विद्यालय तहमा सिकाइ सुधारको बहस भए पनि त्यो सबै विषयमा समान रूपमा प्रभावकारी रुपमा हुन सकेको छैन भन्ने संकेत गर्छ’, नासाका निर्देशक झा भन्छन्। उनी थप्छन्, ‘गणितलाई शिक्षक र विद्यार्थी दुवैले झन्झटको रुपमा हेरेको पाइयो। शिक्षकले गणित पढाउनै नपरे हुन्थ्यो र विद्यार्थीले पढ्नै नपरे हुन्थ्यो भन्ने सोच राखेको अध्ययनले देखाउँछ। नेपालीमा ५३ प्रतिशत विद्यार्थीले न्यूनतम सिकाइ सक्षमता हासिल गर्न नसक्नुले अब राज्यले कक्षाकोठा शिक्षण सिकाइमा मातृभाषा शिक्षा प्रभावकारी बनाउनुपर्ने देखिन्छ।’

सामुदायिक–संस्थागत अन्तर

नासाका निर्देशक झाका अनुसार सिकाइ उपलब्धिको अर्को महत्त्वपूर्ण पक्ष हो– विद्यालयका प्रकार। प्रतिवेदनअनुसार संस्थागत (निजी) विद्यालयका विद्यार्थीले सामुदायिक विद्यालयका विद्यार्थीभन्दा चारै विषयमा राम्रो प्रदर्शन गरेका छन्। यो अन्तर केवल परीक्षा नतिजामा होइन, वास्तविक सिकाइस्तरमै देखिएको निर्देशक झाले बताए। यसले सार्वजनिक शिक्षाको गुणस्तरबारे पुरानै बहसलाई फेरि बलियो बनाएको छ।

सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी, सरकारी अनुदान, निःशुल्क पाठ्यपुस्तक, दिवा खाजा, छात्रवृत्ति र संरचनात्मक सुधारमा सरकारी लगानी हुँदा पनि किन सिकाइ उपलब्धि कमजोर छ भन्ने प्रश्न उठेको छ।

बागमती–गण्डकी अगाडि

प्रतिवेदनले प्रदेशगत असमानता पनि देखाएको छ। बागमती र गण्डकी प्रदेशका विद्यार्थीले औसतमा राम्रो सिकाइ उपलब्धि हासिल गरेका छन् भने कर्णाली र सुदूरपश्चिमका विद्यार्थी यसमा पछाडि परेका छन्। प्रदेशतर्फ पनि गणित, विज्ञान, अंग्रेजी र नेपाली विषयमा यही प्रवृत्ति दोहोरिएको छ।

यसैगरी ग्रामीण नगरपालिकाका विद्यार्थीको सिकाइ उपलब्धि सहरी क्षेत्रका विद्यार्थीको भन्दा कम रहेको देखिएको छ। ‘यसले शिक्षामा पहुँच विस्तार भए पनि गुणस्तरीय सिकाइको अवसर समान रूपमा विस्तार हुन नसकेको देखाउँछ’, निर्देशक झाले सुनाए, ‘विद्यालय र घरबिचको दूरी, शिक्षक उपलब्धता, अतिरिक्त सिकाइ सहयोग, घरको वातावरण र डिजिटल पहुँचजस्ता कारणले ग्रामीण क्षेत्रका विद्यार्थी अझै कमजोर अवस्थामा रहेको अध्ययनले देखाएकाले राज्यले यसतर्फ थप ध्यान दिनुपर्ने भएको छ।’

शिक्षितका सन्तान अगाडि

अध्ययनले सिकाइ उपलब्धि कक्षाकोठाभित्र मात्र तय नहुने देखाएको छ। घरमा नेपाली भाषा बोल्ने विद्यार्थीले चारै विषयमा तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरेका छन्। त्यस्तै शैक्षिक स्तर उच्च भएका अभिभावकका सन्तानको सिकाइ उपलब्धि पनि राम्रो देखिएको छ। जातीय र सामाजिक पृष्ठभूमिले पनि यसमा प्रभाव पारेको छ। अनुसन्धान प्रतिवेदनमा ब्राह्मण/क्षेत्री पृष्ठभूमिका विद्यार्थीको औसत सिकाइ उपलब्धि उच्च तथा दलित र पिछडिएका समूहका विद्यार्थीको सिकाइ उपलब्धि कमजोर भएको उल्लेख छ। यसबाट नेपालमा शिक्षा सामाजिक असमानतासँग गाँसिएको संरचनात्मक समस्या भएको बुझिन्छ।

घरको वातावरण

अनुसन्धानले घरमा उपलब्ध शैक्षिक वातावरणले पनि सिकाइ उपलब्धि निर्धारण गर्ने देखाएको छ। घरमा पढ्न अलग्गै कोठा, अध्ययन टेबल, इन्टरनेट, कम्प्युटर, पुस्तक र अध्ययन सहयोग भएका विद्यार्थीको सिकाइ स्तर तुलनात्मक रूपमा राम्रो छ। त्यस्तै घरमा ट्युसन, साथीसँग पढ्ने, स्वअध्ययन गर्ने र नियमित गृहकार्य गर्ने विद्यार्थीको सिकाइ उपलब्धि पनि राम्रो पाइएको प्रतिवेदनमा उल्लेख छ।

शिक्षकको भूमिका महत्त्वपूर्ण

शिक्षकको नियमितता, कक्षाकोठामा समय व्यवस्थापन, गृहकार्यमा प्रतिक्रिया र सिकाइमा निरन्तर संलग्नताले विद्यार्थीको सिकाइ उपलब्धिसँग प्रत्यक्ष सम्बन्ध राख्ने अध्ययनले देखाएको छ। शिक्षकले नियमित प्रतिक्रिया दिने, कक्षामा नियमिति भएर पढाउने, समस्या समाधानमा विद्यार्थीलाई सहयोग गर्ने र डिजिटल सामग्री प्रयोग गरेर पढाउने विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि तुलनात्मक रूपमा राम्रो पाइएको प्रतिवेदनमा उल्लेख छ।

‘यसले सिकाइ संकटको समाधान केवल पाठ्यक्रम परिवर्तन वा परीक्षा प्रणालीमा हेरफेरले मात्र नहुने रहेछ भन्ने देखायो’, नासाका निर्देशक झा भन्छन्, ‘अब कक्षाकोठाकेन्द्रित सुधार अनिवार्य छ।’

विद्यालय तहको सिकाइ उपलब्धि कमजोर हुनु केवल शैक्षिक समस्या होइन, यो राष्ट्रिय मानव पुँजी, रोजगारी, उच्च शिक्षा र सामाजिक समानतासँग जोडिएको विषय हो। कक्षा १० सम्म आइपुग्दा पनि धेरै विद्यार्थीको सिकाइ उपलब्धि न्यूनतम स्तरमा पनि नपुग्न। भनेको विद्यालय शिक्षा प्रणालीले विद्यार्थीलाई अपेक्षित आधारभूत ज्ञान, विश्लेषण क्षमता र समस्या समाधान सीप दिन नसकेको संकेत हो।

विशेषगरी गणित, विज्ञान र भाषा विषय शिक्षण सीप कमजोर हुँदा त्यसको असर एसइई, कक्षा १२, उच्च शिक्षा अध्ययन, रोजगारी र सीपमूलक शिक्षासम्म पर्छ। विद्यालय तहमै कमजोर सिकाइ भएका विद्यार्थीलाई उच्च शिक्षा वा श्रम बजारमा प्रतिस्पर्धी बन्न कठिन हुने निर्देशक झा बताउँछन्।



Source link

Leave a Comment