ट्रम्पको दोस्रो कार्यकालमा आप्रवासीमाथि कडाइ : ११ हजार अमेरिकी बालबालिकाका अभिभावक पक्राउ



प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार

ट्रम्पको दोस्रो कार्यकालमा आप्रवासीमाथि कडाइ : ११ हजार अमेरिकी बालबालिकाका अभिभावक पक्राउ

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएसँगै आप्रवासीहरूमाथि धरपकड तीव्र पारिएको छ। यसैबीच, फ्लोरिडाको लेकल्याण्डमा एक हृदय विदारक घटना सार्वजनिक भएको छ, जहाँ एक ४ महिनाकी दुधे बालिकालाई उनकी आमाबाट अलग गरिएको थियो । 

डोरीस फ्लोरेस र उनका श्रीमानलाई अध्यागमन अधिकारीहरूले पक्राउ गरी हिरासतमा लिएपछि उनीहरूका अमेरिकी नागरिक सन्तानहरू बिचल्लीमा परेका हुन्। बालिकालाई अन्ततः स्थानीय चर्चका पादरी इजरायल भाज्केज र उनकी पत्नीको जिम्मा लगाइएको छ।

प्रोपब्लिकाले सार्वजनिक गरेको आइसको तथ्याङ्क विश्लेषण अनुसार, ट्रम्प प्रशासनको पहिलो ७ महिनामा मात्रै कम्तीमा ११ हजार अमेरिकी नागरिक बालबालिकाका अभिभावकहरूलाई पक्राउ गरी हिरासतमा लिइएको छ। यो संख्या अघिल्लो प्रशासनको तुलनामा झण्डै दोब्बर हो। तथ्याङ्कले देखाए अनुसार दैनिक औसत ५० जना अमेरिकी बालबालिकाका आमा वा बुवालाई हिरासतमा पठाइने गरिएको छ, जसले गर्दा धेरै परिवारहरू छिन्नभिन्न भएका छन्।

विशेष गरी, आप्रवासी आमाहरूमाथि यसको गम्भीर असर परेको देखिएको छ। प्रतिवेदनका अनुसार बाइडन प्रशासनको तुलनामा ट्रम्प प्रशासनले अमेरिकी नागरिक सन्तान भएका आमाहरूलाई चार गुणा बढी देश निकाला गरिरहेको छ। पहिले यस्ता घटनाहरूमा मानवीय संवेदनालाई ध्यान दिने ‘प्यारेन्टल इन्ट्रेस्ट डाइरेक्टिभ’ जस्ता नीतिहरू भए तापनि, वर्तमान प्रशासनले ती निर्देशिकाबाट ‘ुमानवीय’ भन्ने शब्द नै हटाएर कठोर कार्यान्वयनमा जोड दिएको छ।

पक्राउ परेका धेरैजसो अभिभावकहरूको कुनै गम्भीर आपराधिक रेकर्ड नभएको समेत पाइएको छ। हिरासतमा लिइएका आमाहरूमध्ये झन्डै तीन चौथाइको ट्राफिक वा अध्यागमन सम्बन्धी सामान्य कसुर बाहेक अन्य कुनै आपराधिक रेकर्ड छैन। यद्यपि, उनीहरूलाई घर फर्किन दिनुको सट्टा सिधै देश निकाला गर्ने प्रक्रियामा लगिएको छ।





Source link

Leave a Comment