सिंहदरबारमा बा


“ओहो ! नानी, यही हो सिंहदरबार ?”

स्कुटीको पछाडिबाट बुबाले आश्चर्यमिश्रित प्रश्न मतिर तेर्स्याउनुभयो।

मैले उहाँलाई प्रतिप्रश्न गरें, “थाहा थिएन र बुबालाई ?”

बुबाले एकै शब्दमा जवाफ दिनुभयो, “अहँ!”

“यही त हो सिंहदरबार। अनि टीभीतिर देख्नुभएको थिएन र ?”

मेरो जिज्ञासा मेट्दै बुबाले भन्नुभयो, “देख्या थिएँ। तर एउटा मात्रै भवन। यत्तिका भवन रहेछन् त है ? सबै एकैनासका।”

०००

बुवासँग सिंहदरबारमा प्रगति ढकाल ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार। अनि शक्ति र निर्णयहरूको केन्द्र पनि। जहाँ राष्ट्रको दिशा तय गर्ने नीतिहरू बन्छन्। यहींबाट तय गरिन्छ जनताको भविष्य। अनि देश विकासको यात्रा र सुशासनको मार्ग पनि।

समय बदलिंदै गयो। कैयौं राजनीतिक परिवर्तन भए। ती परिवर्तनका साक्षीहरू कैयौं यस धर्तीमै छैनन्। केही जीवित होलान्। ती सधैं रहने छैनन्। तर कैयौं परिवर्तनका इतिहासको साक्षी रहेको सिंहदरबारको गौरव साँच्चै अमिट छ।

युद्धको धुवाँ, विद्रोहको चर्को स्वर, परिवर्तनका हरेक चरण। सबैको साक्षी बनेर उभिइरहेका छन् सिंहदरबारका कलात्मक भवन। जो मुलुक हाँक्ने असल र खराब नेतृत्वका साक्षी बनेका छन्। जहाँ मुलुकका असंख्य सपना सजाइएका छन्।

पत्रकार भएकाले पनि समाचारका खजाना खोज्दै सिंहदरबार ओहोरदोहोर गर्नु मेरो दिनचर्या नै हो। तर बुबाका लागि सिंहदरबार प्रवेश नै अनौठो भयो। पास लिएर मात्रै प्रवेश गर्नुपर्ने। पास लिन पनि चिनेजानेकै हुनुपर्ने। र, त बुबा र बुबाहरू जस्ता सर्वसाधारणका लागि सिंहदरबार छिर्नु सपना हुन्छ।

लाग्छ मलाई, मेरो बुबा मभन्दा सबै कुरामा जान्ने हुनुहुन्छ। बुबालाई सबै कुरा थाहा हुन्छ। बुबा ठूलो मान्छे हो। तर यतिबेला बुबा सिंहदरबारको बारेमा मबाट जान्न खोज्दै हुनुहुन्छ। अनि सोधिरहनुभएको छ, प्रश्नै प्रश्न। जसरी बालापनमा म उहाँलाई सोध्थें अनगिन्ती प्रश्न। कहिल्यै नथाकी कल्पनामिश्रित जवाफ दिनुहुन्थ्यो बुबा।

बुबा ऊ.. माथि चन्द्रमामा को बस्छ ? बुबा ऊ त्यो डाँडामा गयो भने आकाश पुग्न सकिन्छ ? अनि बुबा चकचक गर्दा सुनथैलीले थैलीमा हालेर कहाँ लान्छ ? माम खान पनि दिन्छ ? रोयो भने स्यालले के गर्छ ? भगवान् कहाँ हुनुहन्छ ? अरूलाई गाली गर्‍यो भने भगवान्‌ले मुख बांगो बनाउनुहुन्छ हो ? अनि दुख्छ ? माम खाएन भने डाक्टर अंकलले सुई हाल्दिनुहुन्छ ? बस घर जस्तो हुन्छ ? ऊ त्यो हवाईजहाजमा को चढ्छ ? राजाको घर जानुभा’को छ ?

यी र यस्ता अनगिन्ती प्रश्नहरू बालापनामा बुबालाई गर्थें। अनि उहाँ पनि झर्को नमानी सबै प्रश्नको उत्तर दिनहुन्थ्यो। फकाउन होस्, डर देखाउन होस्। या जिज्ञासा मेटाउन होस् बुबाले केही सही उत्तर त केही रचेर उत्तर दिनुहुन्थ्यो। मलाई बुबालाई संसारका सबै कुरा थाहा छ जस्तो लाग्थ्यो।

०००

सिंहदरबारभित्र बुबाको पहिलो पाइला। बुबाको जिज्ञासाको उत्तर दिंदै दक्षिण गेटबाट पुरानो गृह मन्त्रालयतर्फ स्कुटी मोडें, जहाँ राष्ट्रिय परिचयपत्र बनाइन्छ।

“अनि बुबा, सिंहदरबार कस्तो होला जस्तो लाग्थ्यो नि ?”

मेरो प्रश्नको जवाफमा बुबाले ठट्यौलो पारामा उत्तर दिनुभयो, “मैले त एउटा मात्रै ठूलो भवन होला, त्यहाँ प्रधानमन्त्री अनि सबै मन्त्रीहरू बस्लान् भन्ने सोचेको नि!”

मैले हाँस्दै भनें, “बुबा तपाईं त भूपू शिक्षक। ताहाचल क्याम्पस पढ्न काठमाडौं नै बसेको भन्नुहुन्छ। कहिल्यै आउनुभएको थिएन त सिंहदरबार ?”

बुबाको सहज उत्तर थियो, “काम नपरी किन आउनु त नि ?”

०००

गोरखा, सिरानचोक गाउँपालिका-३ हर्मीका बासिन्दा हामी। बुबा भने दुई दिन जस्तो गाडी चढेर पुगिने ठाउँ रसुवामा पढाउनुहुन्थ्यो। रसुवा जस्तो विकट ठाउँमा तीन दशकभन्दा बढी आफ्नो जवानीको उर्वर समय बिताउनुभयो उहाँले।

आफ्ना चार जना बचेरालाई माउको जिम्मा लगाएर चारो खोज्न हिंडेको चरा जस्तै क्षितिज पारि–पारिसम्म पुग्नुभएका बुबाको महिमा गाएर के साध्य ? विकट ठाउँका बालबालिकालाई भविष्यको कर्णधार बनाउने जिम्मा काँधमा बोकेर चकको धुलो र डस्टरको सामीप्यतामा ३० वर्षभन्दा बढी शिक्षण पेशामा बिताउँदा कति सहज अनि कति असहज भयो होला ? त्यो उहाँलाई नै थाहा होला। तर त्यति पर परिवारभन्दा अलग, एक्लै बस्नुको बाध्यता भने पक्कै सहज थिएन। अनि पक्कै सहज थिएन आमालाई पनि।

बुबाले पढाउने विद्यालयका कोठा, ब्ल्याकबोर्ड, जहाँ ज्ञानको उज्यालो प्रकाश छर्न असंख्य चकहरू पिस्सिंदै गए। अनि डस्टरले पुराना अक्षरहरू मेट्दै कैयौं बालबालिकाका सुन्दर भविष्यका आशाहरू लेख्दै गयो।

यी हरफहरू लेख्दै जाँदा मेरो मानसपटलमा बालापनका यादहरू छचल्किए। मेरा शिक्षकले बोर्डमा अक्षरहरू कोर्नुहुन्थ्यो। पुराना अक्षर डस्टरले मेट्दै जानुहुन्थ्यो। उहाँको कपडा, अनुहार अनि कपाल चकको धुलोले सेताम्मे हुन्थ्यो। त्यतिबेला मलाई मेरो बुबाको खुब याद आउँथ्यो।

बुबाले चकले लेखेका कैयौं हजार अक्षरहरू मेटिएर गए। तर ती सम्झनाहरू कहिल्यै मेटिने छैनन्। तीन दशक लामो शिक्षण सेवा केवल अवधिको गणना मात्र होइन, कैयौं विद्यार्थीको जीवन सुधार्ने यात्राको दस्तावेज हो। अनि हजारौं विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गर्ने तपस्याको प्रतीक हो।

०००

जीवनको ६ दशक बितिसकेपछि बुबाले पहिलो पटक सिंहदरबार टेक्नुभयो। अरू कैयौं बुबाले टेक्नै बाँकी होला। अनि कैयौं बुबाहरू त सिंहदरबार नदेखी स्वर्गे भइसक्नुभयो होला

बुबा र म सिंहदरबारकै बारेमा भलाकुसारी गर्दै सिंहदरबारभित्र हिंड्दै थियौं।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जाने बाटोमा स्कुटी रोकेर बुबालाई देखाएँ।

“ए बुबा। ह्याँडी गयो भने प्रधानमन्त्री बस्ने अफिस पुगिन्छ।” हामी गोरखालीहरू ‘यहाँबाट’लाई ह्याँडी भन्छौं।

बुबाले थप्नुभयो, “काँडी (कहाँबाट) ?”

मैले फेरि थपें, “ऊ क्या त ? त्यो सेतो बिल्डिङ।”

बुबा, “ए.. ए..।”

म, “बुबा ऊ.. त्याँडी जाँदा रेडियो नेपाल पुगिन्छ। अहिले पछि घुमाम्ला है ?”

हामी गफिंदै सिंहदरबारमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा पुग्यौं।

लाइन त्यति लामो थिएन।

“कस्तो भनेको नलाग्ने है ? लाइन अलि मिलाएर बस्नु त। ह्याँ बाटो हिंड्नै पाइएन”, एक जना प्रहरी भन्दै थिए।

“तपाईं कसको सिफारिसमा आउनुभएको ?” कर्मचारीले लाइनमा रहेका एक युवकलाई सोधे।

युवा बोले- कसैको पनि होइन सर ? मिल्दैन र ?

कर्मचारीले भने- मिल्दैन नि!

हेलो ! जय नेपाल दाइ। भन्दै ती युवक बाहिरिए।

हामी पनि कसैको सिफारिसमा गएका थिएनौं। एक जना चिनेको गृह मन्त्रालयका हाकिमलाई फोन लगाएँ। उठेन।

तैपनि लाइनमा नै बसिरहें, अनुरोध गर्नुपर्ला, कतै मिलिपो हाल्छ कि भन्ने आशासहित।

हाम्रो पालो आयो।

अघिकै युवालाई झैं उही प्रश्न हामीलाई पनि सोधियो- कसको सिफारिसमा आउनुभएको ?

उसैगरी जवाफ दिएँ- सिफारिस त कसैले गरेको छैन। कसको चाहिन्छ र ?

कर्मचारीले भने- दोस्रो तलामा गएर कुरा गर्नुस्।

कर्मचारीले भने अनुरुप म दोस्रो तलामा गएँ। त्यहाँ कोही चिनेको थिइनँ।

त्यहाँका कर्मचारीलाई गुनासो पोखें, “सर हामी जस्ता सर्वसाधरणले चाहिं यहाँबाट परिचय कार्ड बनाउन नपाउने हो र ?”

कर्मचारी, “पाइन्छ। किन के भयो र ?”

मैले भनें, “बुबाको लागि हो। यो फर्म भरेर ल्याएका थियौं। तपाईंहरू कसैले सिफारिस गर्नुपर्छ भन्छन्, तल त। तपार्इंहरूसँग चिनजान नहुने हामी जस्ता साधारण नागरिकले के गर्नु ?”

पत्रकारको परिचय भने दिइराख्न उपयुक्त ठानिनँ।

कर्मचारीले मुस्कुराउँदै भने, “चिन्नुपर्छ कसले भन्यो ? दिनुस् त फर्म।”

हस्ताक्षर गर्दै उनले भने, “तल पनि खै के के भन्छन्। सरासर काम गर्नु नि! अहिले त भीड पनि छैन क्यारे।”

मैले अनुरोध गरें, “सर हजुरले भन्दिनुस् न। अनि अरू सर्वसाधारणलाई पनि सजिलो हुन्छ।”

उहाँले मेरो आग्रहलाई स्वीकार्नुभयो। तर व्यवहारमा कस्तो छ कुन्नि अहिले ?

हाम्रो भने त्यतिबेला काम बन्यो। सबै कर्मचारीहरू असहज कहाँ हुन्छन् र ? सबैलाई एकै डालोमा हालेर भनिन्छ, “कर्मचारी काम नलाग्ने हुन्छन्।”

कर्मचारी राम्रा र असल पनि हुन्छन् भन्ने हेक्का राख्नुपर्छ।

अफिसबाट एकै छिनका लागि भनेर निस्केको मान्छे म। बुबालाई एकै फन्को सिंहदरबार डुलाउनै बाँकी थियो। म हतारमै थिएँ।

खैर केही थिएन। काम हुनु नै ठूलो थियो।

फर्कने बेलामा फेरि सुरु भयो सिंहदरबारकै प्रसंग।

“अनि क्या बुबा। तपाईं शिक्षक नभएर राजनीतिमा लाग्नुभएको भए त है ?”

बुबा- “के हुन्थ्यो ?”

“मन्त्री पो बन्नुहुन्थ्यो कि !”

बुबा- “सबै मन्त्री बनेका छन् र ?”

“के थाहा तपाईं चाहिं बन्नुहुन्थ्यो कि ?”

अलि झर्किएको स्वरमा बुबाले भन्नुभयो, “भैगो अरू कुरा गर।”

मेरा बारबारको उही राजनीतिक प्रसंगले बुबालाई झर्को लाग्न थालेछ।

बुबालाई मात्रै होइन, धेरैलाई आजभोलि राजनीतिक प्रसंगका गफ नै मन पर्न छाडिसक्यो।

०००

सिंहदरबारको करिब दुई घन्टाको हाम्रो यात्रा सकियो। तर यो अनुभव जीवनको एउटा महत्त्वपूर्ण सम्झनाको रूपमा रहनेछ।

जीवनको ६ दशक बितिसकेपछि बुबाले पहिलो पटक सिंहदरबार टेक्नुभयो। अरू कैयौं बुबाले टेक्नै बाँकी होला। अनि कैयौं बुबाहरू त सिंहदरबार नदेखी स्वर्गे भइसक्नुभयो होला।

बुबाको यही अनुभवलाई अक्षरमा उतार्छु भन्ने सोचेर फोटो खिचें।

यो लेख छापिएपछि बुबालाई सेयर गर्दै सोध्नेछु- कस्तो छ बुबा ?





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School