प्रकाशित मिति : १७ असार २०८३, बुधबार

साउदी अरब सरकारले ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ। पवित्र रमजान महिनाको अवसर पारेर साउदी सरकारले ती नेपाली कैदीबन्दीहरूलाई आममाफी प्रदान गरेको हो।
साउदी सरकारको यस सकारात्मक कदमको नेपाल सरकारले उच्च प्रशंसा गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार यस उदार कदमलाई नेपाल र साउदी अरबबीचको दीर्घकालीन मित्रता, सद्भाव तथा सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको प्रतिबिम्बका रूपमा मूल्याङ्कन गरिएको छ।
रियादस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको अनुरोधका आधारमा यो आममाफी दिइएको हो। मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि ती कैदीबन्दीहरू नेपाल फर्किनेछन्।
साउदी अरब नेपाली श्रमिकहरूको प्रमुख वैदेशिक रोजगारी गन्तव्यमध्ये एक हो। विगत तीन दशकदेखि लाखौँ नेपाली रोजगारीका लागि साउदी अरब पुगेका छन्। विशेष गरी निर्माण, पूर्वाधार, सुरक्षा, होटल तथा आतिथ्य, सरसफाइ, उद्योग, यातायात र घरेलु सेवाजस्ता क्षेत्रमा नेपाली श्रमिकले महत्त्वपूर्ण योगदान दिँदै आएका छन्।
पछिल्ला वर्षहरूमा, विशेष गरी साउदी अरबका ठूला पूर्वाधार आयोजना र ‘भिजन २०३०’ अन्तर्गतका परियोजनाहरूका कारण त्यहाँ नेपाली श्रमिकको माग उच्च रहेको छ। यसै सन्दर्भमा, नेपाल र साउदी अरबबीच सन् २०२६ मा नयाँ द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ।
उक्त सम्झौताको मुख्य उद्देश्य नेपाली श्रमिकको अधिकार संरक्षण गर्ने, रोजगारी प्रक्रियालाई पारदर्शी बनाउने, श्रमिकको सुरक्षा अभिवृद्धि गर्ने तथा वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउनु रहेको छ।
