प्रकाशित मिति : श्रावण २८, २०८२ बुधबार

नेपाली लोक र आधुनिक संगीतको प्रस्तुति लिएर ‘अब गाउँछ अमेरिका’ नामक सांगीतिक कार्यक्रम न्युयोर्कमा हुँदैछ। फ्लाई नेपा ट्राभल्सद्वारा आयोजित र ज्याक्सन हाइट्सस्थित नेपाली भान्साघर मुख्य प्रायोजक रहेको कार्यक्रम अगस्त १६, २०२५, शुक्रबारका दिन गुलशन टेरेस (३९-१५ २९औं एभिन्यू, वुडसाइड, न्युयोर्क ११३७७) मा आयोजना हुँदैछ।
यस सांगीतिक कार्यक्रममा नेपालका चर्चित कलाकारहरूको दमदार प्रस्तुति रहनेछ। वरिष्ठ लोकदोहोरी गायक बद्री पंगेनी, लोकप्रिय गायक प्रताप दास, सुमधुर स्वरकी धनी एलिना चौहान, र लोकदोहोरी गायिका कला लम्सालले आफ्ना हिट गीतहरू प्रस्तुत गर्नेछन्।
लाइभ ब्यान्ड र डीजेको व्यवस्था पनि भएकाले दर्शकले भरपुर मनोरञ्जन लिन पाउनेछन्। कार्यक्रम राति ८ बजे सुरु भई बिहान २ बजेसम्म चल्नेछ। आयोजकका अनुसार कार्यक्रमको तयारी पूरा भइसकेको छ र टिकट बिक्री पनि निकै उत्साहजनक छ।
कार्यक्रम संयोजक निशा सुनारले यो कार्यक्रमले नेपाली मौलिक संगीतको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ। वरिष्ठ कलाकार तथा लोकगायक बिमल डाँगी ले समुदायको माया र उत्साहले आफूहरूलाई थप हौसला मिलेको बताउनुभयो।
आयोजक तथा चर्चित कलाकार संगीता थापा मगरले न्युयोर्कमा रहेका सबै नेपालीलाई यो ऐतिहासिक अवसरको साक्षी बन्न अनुरोध गरेकी छन्। नजिकिँदै गरेका चाडपर्वहरूका लागि पनि यो कार्यक्रम अमेरिकामा रहेका नेपालीहरूका लागि एक सांस्कृतिक उत्सव बन्ने अपेक्षा गरिएको छ। यसले संगीतको माध्यमबाट टाढा रहेका नेपाली मनहरूलाई जोड्ने पुलको काम गर्ने विश्वास आयोजकको छ।